शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीमा अनुमती विपरीत जग्गा प्लटिङ, स्थानीयले गुहारे नगरपालिका

बिहीबार, २७ पुस २०७४, १३ : २७
बिहीबार, २७ पुस २०७४

ललितपुर, २७ पुस– ललितपुरको गोदावरी नगरपालिका–१० स्थित सल्यानमा अनुमती विपरीत जग्गा प्लटिङ हुन थालेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले असार २६ गतेदेखि लागू हुनेगरी देशभर जग्गा प्लटिङ कार्य रोक्का गरे पनि गोदावरीमा ‘जग्गा सम्याउने’ बहानामा प्लटिङ भइरहेको स्थानीयले बताएका छन् ।
गोदावरी–१० सल्यानमा २९ रोपनी जग्गामा अनिलकुमार अधिकारीले डोजर तथा स्काभेटर प्रयोग गरेर जग्गा प्लटिङ गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् । 
सल्यानको भिरालो जग्गामा माथिल्लो भागमा डोजर तथा स्काभेटरको सहायताले प्लटिङ सुरु भएसँगै बस्ती जोखिममा परेको भन्दै स्थानीयले नगरपालिका र महानगरीय प्रहरी वृत्त चापागाउँमा समेत उजुरी दिएका छन् । 
तर, गाउँलेले प्लटिङ रोक्न उजुरी दिए पनि प्लटिङ सुरु गरेको अनिलकुमार अधिकारीको तर्फबाट फिल्डमा खटिएका कुवेर श्रेष्ठले वडा कार्यालयबाट जग्गा सम्याउनका लागि लिएको अनुमती पत्रको डण्डा लगाएर तर्साउने गरेको स्थानीयले आरोप लगाएका छन् । 
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्तले हस्ताक्षर गरेर अनिल अधिकारीलगायतका व्यक्तिलाई सम्बोधन गरेर दिएको पत्रमा ‘साँध–सँधियार, छरछिमेक तथा सार्वजनिक जग्गालाई असर नपर्नेगरी खेतीयोग्य जमिन बनाउन र आवत–जावतको लागि बाटो निर्माण’का लागि अनुमती दिएको कुरा उल्लेख गरिएको छ । 
नगरपालिकाले खेतीयोग्य जमिन निर्माण गर्नका लागि अनुमती दिए पनि जग्गा धनीले उल्टो खेतीयोग्य जमिन सम्याएर प्लटिङ सुरु गरेका हुन् । अधिकारीले सल्यान सामुदायिक बनको जग्गासमेत मिचेर प्लटिङ गरिरहेका छन् ।  
‘वर्षातमा यहाँ मूल फुट्छ, यस्तो भिरालो ठाउँको बस्तीमाथि डोजर लगाएर प्लटिङ गर्दा हाम्रो बस्तीमा असर परेको छ’ स्थानीय एक महिलाले नाम उल्लेख नगर्ने शर्तमा भनिन– ‘बाँकी सात रोपनीमा हामीले डोजर लाउन दिएका छैनौँ तर जग्गा धनीले पेलेरै डोजर लगाउने भन्न थालेका छन् ।’ 
स्थानीयबासीले दुई पटकसम्म प्लटिङ रोक्नका लागि निवेदन दिए पनि वडा कार्यालयले चासो नदिएको स्थानीयको आरोप छ ।
‘वडा कार्यालयले हामीलाई सहमतीमा आउनुस् भनेको छ’– अर्का एक स्थानीय भन्छन्– ‘प्लटिङका कारण वर्षायाममा यहाँ बस्न नसकिने स्थिति पैदा हुन थालेको छ ।’  
गएको असार २६ गते भूमिसुधार मन्त्रालयले देशभरि प्लटिङ रोक्का गरेपछि अदालतमा मुद्दा परेको थियो । अधिवक्ता जगदीश आचार्यले दायर गरेको मुद्दा अहिले पनि चलिरहेको छ । मन्त्रालयले त्यस्तो निर्णय गर्नुअघि नै नगर विकास प्राधिकरणबाट प्लटिङका स्विकृति लिएका ९ वटा कम्पनीहरूलाई भने मन्त्रालयले प्लटिङ अनुमती दिएको छ । 
तर, गोदावरी–१० मा कुनै पनि कम्पनीले प्लटिङ स्वीकृति नपाएको नगर विकास प्राधिकरणले जनाएको छ । 
अनिल अधिकारीको जग्गामा प्लटिङ गरिरहेका कुवेर श्रेष्ठले आफूहरूले नगरविकास प्राधिकरणबाट स्विृकति नलिएको स्वीकार गर्दैै भने, ‘प्लटिङ गर्न खोजेका हौँ, तर स्थानीयले विरोध गरेपछि नगरपालिकाबाट स्विकृति लिएर सम्याउँदै छौँ ।’ 
‘नगरपालिकाको आफ्नो जग्गामा डोजर लगाउनुस्, घर बनाउनुस् त्यो सबै  पाउनुहुन्छ भनेर स्वीकृति दिएको छ’ श्रेष्ठले भने, ‘जग्गा डेलभप गर्न बाटो बनाउन स्वीकृति लिएका हौँ, सार्वजनिक जग्गा मिचेको छैन ।’
 काठमाडौँ उपत्यकालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुरूप नगर विसका प्राधिकरणले पनि जथाभावी प्लटिङ रोक्का गरेको छ । 
सल्यानमा भइरहेको अनधिकृत प्लटिङको सिफारिस नगरपालिकाले नदिएको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए उनले भने, ‘वडा कार्यालयले उहाँहरूको जग्गालाई खेतीयोग्य बनाउने गरी सम्याउने अनुमति दिएको रहेछ, प्लटिङ गर्नका लागि अनुमती दिएका छैनौँ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप