केन्द्रीय संस्करण

बहस : पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ मान्नु जनताप्रति धोका हो

person access_timeपुस २७, २०७४ chat_bubble_outline0

प्रसङ्ग–१ 
‘कोलिण’ नाम ‘वीर भडु कु देश, बावन गढ कु देश’ अर्थात वीर, बहादुर र बाउन्न किल्लाको मुलुक गढवालमा आस्थाका साथ बोलाइने एक वीर महिला र देवीको नाम हो । सन् १८०४ पछि गोरख्याणीको (त्यसबेला गोर्खालीलाई गढवालीहरूले गोरख्याणी भनी बोलाउथेँ, अहिले गोरख्याणी शब्द ‘क्रुरता र अमानवीयता’को पर्यायवाचीका रूपमा प्रयोग गरिन्छ) कब्जामा रहन गएको गढवाल क्षेत्रमा भएको अत्याचारको कहर विरुद्ध एक्लै लडेकी योद्धा हुन् कोलिण । 
गोरख्याणीहरूले उनको नृशंस तरिकाले हत्या गरेका थिए, उनको नाक, कान र स्तन काटेर ज्यूँदै जलाएका थिए । स्थानीय विश्वासअनुसार उनलाई जगतकी देवी मानेर पूजा पनि गरिन्छ । जगत देवी अर्थात् ‘जगदेई’ले रक्षा गर्छन् भन्ने मान्यता राखिन्छ । ‘जगदेई की कोलिण’को नाक, कान र स्तनविहीन मूर्तिलाई गढवालको एक मन्दिरमा स्थापित गरेर राखिएको छ । उत्तराखण्ड भारतका जनता अझै पनि ‘जगदेई की कोलिण’लाई स्वाभिमान र सहादतकी प्रतीकका रूपमा लिन्छन् ।

प्रसङ्ग–२
वि.सं १९०४ को कोतपर्वबाट उदाएका जङ्गबहादुर राणा र राज्यको अत्याचारबाट मुक्ति पाउनविरुद्ध गोर्खाली फौजविरुद्ध छापामार युद्ध लडेका अछामका बलदेव शाही ‘बाँकावीर’लाई वि.सं. १९०५ मा प्राइममिनिस्टर एवं कमान्डर इन चिफ जङ्गबहादुर राणाले काट्ने आदेश दिएका थिए । बाँकावीर नेपालको पहिलो ज्ञात सहिदका रूपमा चिनिन्छन् ।

प्रसङ्ग–३ 
सन् १९६२ महाअष्टमीका दिन राजा महेन्द्र र गोर्खा राज्यको अत्याचारविरुद्ध डोटी र बझाङ क्षेत्रलाई नेपालबाट मुक्त गर्न भएको सशस्त्र विद्रोहका नेता ओमजङ्ग बहादुर सिंहको हत्या गरियो ।
 
प्रसङ्ग–४
‘और जे गर्यालै पूर्वीया या नेपाल्यान जिन ले आया या उनरा जिन झ्या भौत कपटी भ्या तन ।’ अर्थात अरू जेसुकै गर पूर्वीया अथवा नेपाली (कर्णाली पारिको नेपाली भाषा बोल्ने समुदाय)सँग बिहेवारी नगर्नु तिनीहरू निकै कपटी हुन्छन् । 

प्रसङ्ग–५ 
गोर्खालीहरूले १२ वर्ष छलकपटपूर्ण लडाइँबाट कीर्तपुरमाथि जीत हासिल गरे । जितको उन्मादमा गोर्खाली सेनाहरूले कीर्तिपुरका जनताको नाक काटिदिए र कयौँको हत्या गरे । काठमाडौँ उपत्यकामा आफ्नो दरबार सारेका गोर्खालीहरूले वसन्तपुर दरबारबाट शासन चलाए । 
युद्धमा पराजित कीर्तिपुरका जनता पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिन पारेर ‘छ्याखः ल्वहं’ छ्याके ढुङ्गामा उभिएर वसन्तपुर दरबारतिर थुक्ने चलन ल्याए । हालसम्म पनि यसलाई कीर्तिपुरका जनताले सक्रियतासाथ निरन्तर दिइरहेका छन् । पुनर्जागरण अभियानका अभियन्ता श्रीकृष्ण महर्जन गोर्खाली शासकको अत्याचार र साम्राज्यवादप्रति रिस पोख्न यो चलन चलाउने गरिएको बताउँछन् । 

प्रसङ्ग–६ 
कीर्तिपुरमा गोर्खाली युद्ध हुँदा पृथ्वीनारायण शाह जनताका घेरामा परेका थिए । जनताले राजा मार्नु हुन्न भन्ने सामाजिक मान्यताका कारण पृथ्वीनारायण शाह जोगिए र त्यहाँबाट भागे । भाग्ने क्रममा एउटा ढुङ्गामा चिप्लिएर लडेका थिए पृथ्वीनारायण शाह । कीर्तिपुर देवढोकास्थित सडकमा रहेको त्यो ढुङ्गालाई अहिले पनि स्थानीय कीर्तिपुरवासी पूजा गर्छन् ।  
प्रसङ्ग–७  
कीर्तिपुरमा युद्ध हुँदा गोर्खालीसँग मिल्न गएका कीर्तिपुरका धनवन्त सिख्वाल (धन्च बुढा) र उनको परिवारलाई व्यङ्ग्य गरेर गाईजात्रामा मुकुण्डो नाच नाचिन्छ । उक्त नाच धेधे पापाः (काटमार ताल)मा नाचिन्छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले पुस २७ गते पृथ्वीनारायण शाहका जन्मदिनका दिन ‘राष्ट्रिय एकता दिवस’ मनाउने र सार्वजनिक बिदा दिने निर्णय गर्यो । यसअघि ०६२–०६३ को जनआन्दोलनपछि एकता दिवस मनाउन बन्द गरिएको थियो । 

एकता दिवस मनाउने सरकारी निर्णयले मलाई माथिका उपक्रम सम्झिन बाध्य तुल्यायो । थुप्रै प्रश्नहरू मेरो दिमागमा खेलिरहे । जस्तै, के यो मुलुकका हरेक जनताले मुलुकमा अपनत्व महसुस गरिरहेका छन् ? के यो मुलुकका हरेक समुदाय, भाषा–भाषी, जातजाति, क्षेत्र, लिङको चित्र मुलुकको सत्तामा भेटिन्छ ? यस मानेमा के हाम्रो मुलुक एक छ ? यी प्रसङ्गहरूसँगै पृथ्वीनारायण शाहको भूमिका र उनले राज्य विस्तारमा खेलेको भूमिका सम्झन्छु ।

माथिका प्रसङ्गहरू केही प्रतिनिधि घटना र ‘न्यारेटिभ’ (इतिहासका भाष्य) हुन् । जसले हाम्रो मुलुक गोर्खाली साम्राज्यका नाइके पृथ्वीनारायण शाहले यो मुलुकको एकीकरण गरेका हुन् भन्ने राज्य निर्मित इतिहासको भाष्यलाई मज्जैले चिर्छन् । आन्तरिक उपनिवेशको सिकारका रूपमा रहेको अहिले डोटी क्षेत्रमा मेरो घर भएकाले मैले यी प्रसङ्गहरू पश्चिमतिरबाट ल्याउने जमर्को गरेको हुँ । 

पहिलो प्रसङ्ग पृथ्वीनारायण शाहले सुरु गरेको राज्यविस्तार तत्कालीन गोरखा राज्यको सरहदमा पर्ने गढवालको हो । तर्क गर्न सकिएला त्यो गढवाल अहिलेको नेपालको नक्सा बाहिरको क्षेत्र भनेर तर तथाकथित ‘एकता’ कसरी भएको थियो भन्ने कुरा पहिलो प्रसङ्गले स्पष्ट गर्छ । उक्त प्रसङ्गमा गोर्खालीहरूद्वारा हराइएका सबै जाति, क्षेत्र एवं समुदायको हारको पीडा महसुस गर्न सकिन्छ । 

अहिलेकै स्वरूपको नेपालमा पनि राज्यसत्ता विरुद्ध प्रतिरोध र विद्रोह नभएका होइनन् । ती प्रतिरोधहरूलाई नृशंस ढङ्गले दबाइयो र इतिहासका पानाहरूमा ती कतै अटेनन् । हाम्रो समाज विज्ञान र इतिहासले कहिल्यै पनि बाँकावीर र ओमजङ्ग बहादुर सिंहका बारेमा जानकारी दिएन । राज्यले आफू अनुकूल शिक्षा र भाष्य सञ्चार गराउनु स्वाभाविक हुन्छ नै यद्यपि राज्य प्रतिका असन्तुष्टि समाजमा भाष्य बनेर छरिन्छन् । 

माथिको प्रसङ्ग ४ एकदमै तुच्छ र ‘जÞनोफोबिक’ (निकै सङ्कीर्ण र क्षेत्रवादी) छ र यो भाषा मेरै घर र समाजमा बेला–बेलामा बोलिने गरिन्छ । भाष्य घटिया वा जस्तो भए पनि भाष्य त्यसै समाजमा बन्दैनन् । त्यसका ऐतिहासिक आधारहरू हुन्छन् र प्रसङ्ग ४ को भाष्यको कारण गोर्खाली अमानवीय र छलकपटवाला नीति हो भन्नेमा कुनै शङ्का छैन र अन्य कुनै कारण पनि भेटिँदैन । 

प्रसङ्ग ५, ६, ७ मा एक समृद्ध र संस्कृतिको धनी तत्कालीन राज्य नेपालमा गोरखा राज्यको अत्याचारको फेहरिस्त देखाउँदछ र केन्द्रमै उपनिवेशमा बनेको नेवा सभ्यताले राज्य अत्याचारका विरुद्ध सांस्कृतिक रूपमा प्रतिरोध गर्दैआएको देखिन्छ । 

यी त भए इतिहास र समाजमा रहेका गोरखा राज्यको अत्याचारका प्रतिनिधि प्रतिरोध र असन्तुष्टिहरू । यस्ता असन्तुष्टिका भाष्यहरू थुप्रै छन् र खोतल्दै जाँदा अझै धेरै भाष्यहरू भेटिनेछन् । यी असन्तुष्टिलाई माओवादी जनयुद्ध र मधेस आन्दोलनले राजनीतिक रूप दियो र फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो । 

दुर्भाग्य यो गणतन्त्रमा राजा ज्ञानेन्द्र र उनका परिवारको ताज मात्रै खोसियो र शासन ज्ञानेन्द्रकै विरासतले गर्यो अर्थात उनका सहगोत्री पहाडे खस आर्यहरूले । त्यसैको फलस्वरूप सङ्घीयता एक भद्दा मजाक मात्रै बन्न पुग्यो । मुलुकमा जित्नेले शासन गरिरहेको र हार्ने शासित भइरहेको अवस्थामा कुनै परिवर्तन आएन । 
यदि राष्ट्रिय एकता मुलुकका भूखण्डहरूको अखण्डतालाई मात्रै नमान्ने हो भने राज्यको अवस्था र प्रतिरोधहरू हेर्दा नेपाल खण्ड खण्डमा विभाजित छ भन्ने प्रष्टै देखिन्छ । तत्कालीन महत्वाकाङ्क्षी राजा पृथ्वीनारायण शाह र उनको विरासतले राज्य विस्तारका क्रममा अनेक तिकडमबाट भूगोल जोडेकै हुन् । तर त्यसले जनतालाई जोड्न सकेन । 

भूखण्ड मात्रैले राष्ट्र बन्दैन, राष्ट्र बन्न अनिवार्य जनता, तिनका भाषा संस्कृति चाहिन्छ र नेपालमा जित्ने समूहको अर्थात मध्य र पूर्व नेपालका खस आर्यको मात्रै हालीमुहाली र रहनगयो । तर्क गर्नेहरू भन्छन पृथ्वीनारायण शाह नभएका भए अहिले नेपालको अस्तित्व नै रहने थिएन भन्ने तर्क गर्छन् । तर्क नै जवाफ दिने हो भने रैतीका रूपमा रहेका गैर–खस पहाडे जनतालाई देश हुनु र नहुनुले केही फरक पर्दैन थियो । आधुनिक राज्यको जग भनेको राज्यमा जनताको समान स्वामित्व, अपनत्व र जनताप्रतिको समान अभिभावकत्व हो । यदि यी कुरा नहुने हो भने देश हुनु र नहुनुको कुनै अर्थ छैन । 

संसारको उदाहरण हेर्ने हो भने भूगोल मात्रै जोड्ने शक्तिलाई राष्ट्रिय एकताको प्रतीक मानिँदैन । उदाहरणका लागि भारतको भौगोलिक एकता गर्ने बेलायती राज्यसत्तालाई भारतले कहिले पनि एकताको प्रतीक मान्दैन । 

दक्षिण अफ्रिका, जिम्बाबे जस्ता मुलुकहरूलाई भौगोलिक स्वरूप दिने र भौतिक पूर्वाधार बनाउने सन् १८९०–१८९६ सम्मका साउथ अफ्रिका कम्पनीका प्रधानमन्त्री सेसिल रोड्सका मूर्ति खसाउन ‘रोड्समस्टफल’ भनेर आन्दोलन हुन्छ । यहाँसम्म उनकै मुलुक बेलायतमा पनि उनको मूर्ति खासालिनुपर्छ भनेर आन्दोलन हुन्छ । जमिन जोडेकै कारण कुनै व्यक्ति वा शक्तिलाई एकताको प्रतीक मान्न सकिँदैन । 

जनताले गणतन्त्रको सङ्घर्ष एकल जातीय, भाषिक, धार्मिक र क्षेत्रका ‘हेजिमोनी’ प्रभुत्व हटाएर मुलुकलाई सबैको साझा बनाउन गरिएको हो । राष्ट्र बन्न नसकेको राज्यलाई राष्ट्र बनाउन भएको हो । सङ्घर्षको पहिलो कदम एकल जातीय प्रभुत्वको केन्द्र राजसंस्था हटाउनु थियो । त्यसमा जनता सफल भए पनि तर त्यसभन्दा बढी कुनै उपलब्धि र उन्नति गर्न सकिएन । अन्ततः गणतन्त्रको आवरणभित्र जित्नेले नै शासन गर्ने गरी संविधान बन्यो । जित्नेहरूकै पुर्खा पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकताको दिन मानियो ।  

राज्यको निर्माण, समृद्धि र इतिहास शासक नभई जनताको श्रम पसिनाले निर्माण गर्ने हो । कुनै एक व्यक्तिलाई राज्यको इतिहास र विकासको कारक मानिन्छ भने त्यो जनताप्रति धोका हो । कुनै एक व्यक्तिलाई राष्ट्रको एकताको कारण मानिनु सामन्तवादको द्योतक हो । 

समाजवाद उन्मुख गणतन्त्रमा एउटा राजाको जन्मदिनलाई एकता दिवस मनाउनु, सामन्तवाद र देवत्वकरणलाई पोस्ने संस्कृतिको विकास गर्नु हो । यस्तो संस्कृति जन्मिनु दुर्भाग्यपूर्ण हो । स्पष्ट कुरा के हो भने यस्तो संस्कृतिले गणतन्त्रको मूल मर्मलाई निरन्तर प्रहार गरिरहने छ, जसका लागि हाम्रा सहिदहरूले रगत बगाए । 

राज्यमा एकता हुने नहुने राज्यको संविधान, नीति र जनताको सन्तुष्टिले निर्धारण गर्छ । त्यसैले एकता दिवसका नाममा उत्सव मनाउनु र बिदा दिनुको कुनै औचित्य छैन । यदि मुलुकमा साँच्चिकै राष्ट्रिय एकता दिवस मान्ने अवस्था सृजना गर्ने हो भने सर्वप्रथम पुस २७ गतेका दिनको तथाकथित ‘राष्ट्रिय एकता दिवस’ खारेज गरिनुपर्छ । संविधान पुनर्लेखन वा संशोधन गरेर सम्पूर्ण जनतालाई अपनत्व दिने संविधान जारी गर्दै त्यही दिनलाई अथवा संविधान जारी गरेको दिनलाई राष्ट्रिय एकता दिवस मनाउन सकिन्छ ।

 

दिनेश पन्त

दिनेश पन्त रातोपाटीका स्तम्भकार तथा अनुवादक हुन् । उनी इतिहास अध्ययन तथा अनुसन्धानमा रुचि राख्छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X