शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पहिलो पुस्ताको ‘डेट एक्सपायर’ दृष्टिकोणले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न सक्दैन’

बुधबार, २६ पुस २०७४, ११ : ५६
बुधबार, २६ पुस २०७४

काँग्रेसका युवा पुस्ताले ७० नाघेका नेतालाई सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गर्दै आएको छ । काँग्रेसभित्र उठेका धेरैमध्ये यो विषय बुलन्द बन्दै गएको छ । 

७० नाघेका नेतालाई सक्रिय राजनीतिबाट बिदा लिनूस् भन्नुको तात्पर्य राजनीतिक नेतामा उमेर हदबन्दी लागू गर्न खोज्नु हो । तर, काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडलको मान्यता छ, ‘मैले उमेरभन्दा नयाँ नेतृत्वमा जोड दिएको हुँ ।’ 

२०–२५ वर्षदेखि काँग्रेस एउटै तहका नेताबाट चल्दै आएको छ । ‘नेपालमा बलियो कम्युनिस्ट केन्द्र बन्ने सुनिश्चित छ । बलियो कम्युनिस्ट केन्द्र बन्दै गर्दा परम्परागत ढंगले चल्ने काँग्रेसले कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सक्छ ?,’ काँग्रेस केन्द्रीय सदस्य पौडेलको भनाइ छ, ‘बीपी कोइरालाको समयमा संगठन नहोला तर काँग्रेस वैचारिक पक्षमा धारिलो थियो । आज देशव्यापी रूपमा काँग्रेसको संगठन छ । त्यसअनुसार काँग्रेसको वैचारिक पक्ष धारिलो बनाउनुपर्छ । तसर्थ, एक्काइसौं शताब्दीसुहाउँदो संगठन निर्माण र संरचना बदल्न नयाँ नेतृत्व आवश्यक छ ।’ 

देश संघीयतामा गएको छ । संघीयतामा गएको देशअनुसारको संगठन निर्माण गर्न अपरिहार्य छ । उनी सोध्छन्, ‘चारित्रिक रूपमा काँग्रेसलाई सुधार्न छँदै छ । उल्लिखित काम पुरानो नेतृत्वबाट सम्भव छ त ? पुरानो नेतृत्व धारिलो र सशक्त थियो भने काँग्रेसमा सुधार्न पर्ने यति धेरै विषय किन हुन्थे ?’

युवाले पहिलो पुस्ताका नेतालाई ‘डेट एक्सपायर’ को संज्ञा दिएका छन् । त्यसलाई उमेरसँग जोडिएको पौडेल मान्न तयार छैनन् । त्यसो भए ७० कटेकालाई विश्राम लिनुस् किन भनिएको होला ? भन्छन्, ‘नयाँ नेतृत्व ल्याउने तरिकामध्ये एक हुन सक्छ ।’

त्यसो भए पहिलो पुस्ता नेतृत्व हस्तान्तरण गर्न बाधक हो ? ‘नयाँ पुस्ता रिप्लेसमेन्टका लागि नभएर काँग्रेसको भविष्य राम्रो बनाउन यसो भनिएको हो,’ उनको तर्क छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको साता दिनमा काँग्रेसले समीक्षा बैठक डाक्नुपथ्र्यो । अहिलेसम्म डाक्ने छाँककाँट छैन । यस्तो कामका लागि पनि झकझक्याइरहनुपर्ने, दबाब सिर्जना गर्नुपर्ने नेतृत्वले पार्टीलाई कहाँ पुर्याउँछ ? पार्टीभित्र गर्नुपर्ने सुधारका पाटा धेरै छन्, त्यस्तो अनुभूति नगर्ने नेतृत्वले पार्टीलाई कहाँ पुर्याउला ?’

आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन १२ लाख मत थप्न आवश्यक छ । यथास्थितिको नेतृत्वबाट त्यो सम्भव छैन । त्यो काम कपाल कालो भएकाले मात्रै सक्ने हो र ? ‘होइन,’ उनले थपे, ‘कपाल फुलेकाले सक्दैनन् भन्न खोजेको होइन । दृष्टिकोण भएकाले मात्रै सक्छ भनेको हुँ ।’ 

त्यसो भए कपाल फुलेकामा दृष्टिकोण नै छैन त ? ‘मैले त्यता लक्षित गरेको होइन,’ उनको जिकिर थियो, ‘मेरो भनाइ, तपाईंहरूले काम गरिसक्नुभयो । आफ्नो क्षमता देखाइसक्नुभयो । यही तरिकाले काँग्रेस नयाँ शिराबाट अघि बढ्न सक्दैन ।’

नेतृत्व परिवर्तन माग गरिरहँदा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्तामा नियुक्ति गरेका छन् । नेता पौडेलका अनुसार केन्द्रीय समिति बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी विषय घनिभूत रूपमा छलफल हुनेछ । त्यसपछि महासमिति बैठकमा समेत प्रक्रियागत रूपमा प्रस्तुत गरिनेछ । उनले सुनाए, ‘साथीहरूलाई यो विषय बुझाउँछौं  । सबैले नेतृत्व परिवर्तन आवश्यक ठानेका छन् ।’

‘जिम्मेवारीमा रहेकाले भूमिका निर्वाह गर्न सक्नुभएन भन्नेमात्रै हो । पहिलो पुस्ताको अपमान गर्ने, मन दुखाउने इच्छा हुँदै होइन,’ उनले प्रस्ट्याए, ‘तर, उहाँहरूले नयाँ परिवेशमा हामीले गर्न नसक्ने रहेछौं, यसलाई प्रतिस्पर्धात्मक प्रक्रियामा लैजान आवश्यक छ । सामूहिक नेतृत्वमा रूपान्तरण गर्न जरुरी छ । विधिप्रधान स्थापित गर्दै नयाँ परिवेश समेट्नगरी चल्न जरुरी छ । त्यसअनुसारको स्वरूप निर्माण, कार्ययोजना र कार्यक्रम निर्माण गर्नुपर्छ । सम्पादन शैली बदल्नु छ । उल्लिखित विषय दृष्टिगत गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी अभिभावक बनिदिनूस् भनेका हौं ।’ 

राजनीति सम्भावनै सम्भावनाको खेल हो । नेतृत्व परिवर्तन असम्भव छैन । ‘तर, यतिबेला पनि काँग्रेस सरकारमा जान खोज्नुहुन्छ ?’ उनले सोधे, ‘सत्तामा जाने म्यान्डेट नै छैन । यस्तो नेतृत्व बदल्न हुँदैन भनेर कसले भन्ला ?’ 

पहिलो पुस्ताले नेतृत्व परिवर्तन स्वीकारेन भने के होला ? ‘विधिबाट निर्धारण हुने कुरा हो । विधिले हामीलाई पराजित गर्यो भने कसैको केही लाग्दैन,’ उनको बुझाइ छ, ‘परम्परागत शैली आत्मसात् गर्दा काँग्रेसको भविष्य छैन भन्ने अनुभूति धेरैले गरेका छन् । त्यसैले रूपान्तरण, मुद्दा उठाउने नेतृत्वको पक्षमा, वर्तमान समेटेर योजना र विचार निर्माण गर्नेहरूको पक्षमा काँग्रेसको माहोल निर्माण हुन्छ भन्नेमा ढुक्क छु ।’ वैचारिक बहस योजनागत आधारमा प्रतिस्पर्धा गर्ने, काँग्रेसको वर्तमान चुनौती सामना कसरी गर्ने ? भन्ने विषयमा वैचारिक र योजनागत पक्षमा हामीले आफूलाई उभ्याउन सक्यौं भने नेतृत्व परिवर्तनको सम्भावना रहेको उनले बताए । 

नेतृत्व परिवर्तन हुँदैमा काँग्रेसमा रहेको यतिधेरै समस्या समाधान होलान् र ? ‘नेतृत्व परिवर्तन हुँदैमा काँग्रेसको समस्या समाधान हुन्छ भन्न खोजिएको होइन तर अहिलेको नेतृत्वले वर्तमान सन्दर्भ जोडिनेगरी विषय ल्याउन सकेन,’ उनको तर्क, ‘तर, नयाँ नेतृत्व पनि पुरानैशैलीको आयो भने त्यसले समस्या समाधान गर्दैन । नयाँ नेतृत्वले बीपीको पालाको जस्तै धारिलो काँग्रेस बनाउनुपर्छ ।’

काँग्रेसलक्षित जे–जे प्रश्न उठेका छन्, नयाँ नेतृत्वले त्यसको उत्तर दिन सक्नुपर्छ । अहिलेको समाजले खोजेकोजस्तो काँग्रेस नेतृत्व आवश्यक छ । विचारगत पक्षबाट बुलन्द व्यक्तित्व र कार्यसम्पादन क्षमता भएको नेतृत्व खोजिएको हो । पुस्ता फेरिए पनि प्रवृत्ति उस्तै रहे अभिशाप हुन सक्छ ।

गिरिजाप्रसाद कोइरालाले राजनीतिमा उमेर होइन, विचार महत्वपूर्ण हुन्छ भनेका थिए । राजनीतिलाई निजामती सेवा ठान्नुहँुदैन भनेर फरकमत राख्नेहरू पनि छन् । कतिले राजनीति धावक वैकुण्ठ मानन्धरले दौडने म्याराथुन र पेलेले खेल्ने फुटबल होइन भनेर भन्दै आएका छन् । ‘तर, राजनीतिमा पनि रिटार्यटमेन्ट हुन्छ,’ पौडेलले सुझाए, ‘पटक–पटक मौका पाएर पनि सन्तुष्ट ढंगले काम गर्न नसकेपछि अन्य विकल्पै नभएजसरी उसैलाई मौका दिइरहन जरुरी छैन ।’ 

नयाँ पुस्तालाई नेतृत्व लिन कसले रोकेको छ ? भन्नेहरू पनि नभएका होइनन् । यही प्रश्न सोध्दा काँग्रेस केन्द्रीय सदस्य पौडेलको भनाइ छ, ‘पद्धतिले रोकेको हो । पद्धतिभित्र रहेर अभ्यास गर्न नसक्ने संस्कृति र काँग्रेस नेता हुन कपाल फुलाउनुपर्छ, फलानो परिवारको हुनुपर्छ भन्ने मनोविज्ञानले रोकेको छ ।’

रंगभेदविरोधी संघर्ष निष्कर्षमा पुर्याउँदा दक्षिण अफ्रिकाका नेल्सन मण्डेला ७० वर्ष पुगिसकेका थिए । अंग्रेज हटाऊ आन्दोलन सफल बनाउँदा महात्मा गान्धी ७७ वर्ष पुगेको दृष्टान्त छँदै छन् । बूढो हुँदैमा कोही अक्षम हुँदैन । ‘वैचारिक प्रतिस्पर्धामा जो अघि आउँछ, उसले नेतृत्व गर्न पाउनुपर्छ । त्यो जुनसुकै उमेरका हुन्,’ पौडेलले जिकिर छ, ‘उमेरका हिसाबले सक्रिय बन्ने अवस्था नभएका, पटक–पटक जिम्मेवारी लिएकालाई अभिभावक बनिदिनूस् भन्न खोजेका हौं ।’ 

काँग्रेसको संगठनात्मक पद्धति बदल्न, नयाँ पुस्तालाई काँग्रेसपट्टि आकर्षित गराउन, नयाँ पुस्तालाई समेट्नगरी दृष्टिकोण निर्माण र नेपाली समाज सुसंस्कृत बनाउँदै काँग्रेसलाई सशक्त र जीवन्त बनाउन नेतृत्व परिवर्तन त्यत्तिकै आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप