बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हो, म मुख्यमन्त्रीको दाबेदार हुँ : जितेन्द्र सोनल (अन्तर्वार्ता भिडियोसहित)

मङ्गलबार, २५ पुस २०७४, ११ : ००
मङ्गलबार, २५ पुस २०७४

राजपा, नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य जितेन्द्र सोनल दुई नम्बर प्रदेशमा मुख्यमन्त्रीका दावेदार हुन् । प्रदेश सभा तथा प्रतिनिधिसभा चुनावमा दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राजपा नेपाल गठबन्धन बनाएर लडेका थिए, जहाँ समाजवादी फोरम पहिलो शक्ति बनेको छ । यस्तोमा राजपा नेता मुख्यमन्त्री बन्न कति सम्भव ? यीनै विषयमा रातोपाटी टीभीका लागि रोहित दाहालले सोनलसँग गरेको कुराकानी :

राष्ट्रिय राजनीतिमा चासो राख्ने तपाईं त प्रतिनिधिसभामा जानुपर्ने हो, प्रदेशसभा नै किन रोज्नुभयो ?

–सङ्घीयतालाई माध्यम बनाएर यो देशमा धेरै पहिलादेखि रहँदै आएको समस्या समाधान गर्न सकिन्छ । सङ्घीयताका लागि हामीले धेरै सङ्घर्ष पनि गर्यौँ र त्यसको उदगमस्थल मधेस नै भएकाले मैले प्रदेशसभा रोजेको हुँ । सङ्घीयतामा त्यसको प्रभावकारितालाई बोध गराउन पनि प्रदेशसभालाई रोजेको हुँ । यसका लागि ठूला नेताहरूले त्यसलाई रोजेनन् भने सङ्घीयता नै प्रभावकारी हुँदैन । त्यतिकै पनि धेरै दलका थुप्रै नेताहरूले सङ्घीयतालाई मनैदेखि स्वीकार गरेका छैनन् । त्यसैले ए वन क्लासका क्याडरहरू जानुपर्छ प्रदेशसभामा भन्ने लागेर नै म त्यहाँ गएको हुँ ।

प्रतिनिधिसभा हारिन्छ कि भन्ने डरले प्रदेशसभा रोज्नुभएको हो कि ?

– म हार्थें कि जित्थेँ, त्यसका प्रमाण दिइरहनु पर्दैन तर म यति भन्छु, जुन क्षेत्रबाट म प्रदेशसभामा चुनाव जितेको छु, त्यहाँबाट एकजना साथीलाई मज्जाले जिताएको छु । हाम्रो पार्टीले प्रदेशसभामा पनि जितेको छ र प्रतिनिधिसभामा पनि जितेको छ । त्यसैले हारिन्छ कि भन्ने डरले होइन, सङ्घीयतालाई अझै बलियो बनाउन मैले प्रदेशलाई रोजेको हुँ ।

त्यसो भए मुख्यमन्त्री बन्नका लागि प्रदेशसभा रोज्नुभएको होला होइन ?

–त्यो पनि एउटा हुनसक्छ तर मैले मुख्य रूपमा प्रदेशको राजनीतिकलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन त्यहाँ गएको हुँ । त्यो प्रकृयामा मुख्यमन्त्री बन्ने, प्रतिपक्षमा बस्ने, मन्त्री बन्ने कुरा चलिरहन्छ ।

त्यसो भए तपाईं मुख्यमन्त्रीको दाबेदार हो कि होइन ?

– हो, म दाबेदार हो । पार्टीले मलाई जिम्मेवारी दियो भने त्यसलाई स्वीकार गर्न तयार छु । तर यहाँ गठबन्धनको कुरा छ । राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले त्यहाँ सरकार बनाउँछ । राजनीतिकमा दाबी स्वभाविक हो तर यो निर्णय दुई दल बसेर गर्नेछ ।

परिणामले एकताका लागि सबैलाई बोध गराएकै हो । तर एकीकरणका लागि सबैको सहमति, केन्द्रीय समितिको सहमतिलगायतका कुराहरू गर्नुपर्छ । मलाई लाग्छ, एकीकरण गरि नै हाल्ने हतार कसैलाई छैन ।

यही चुनावी तालमेलसँगै फोरम र राजपाबीच एकताको कुरा पनि भइरहेको सुनिन्छ, के हो कुरो ?

–हामी चुनावमा गठबन्धन बनाएर गयौँ । गठबन्धनभन्दा पनि चुनावी गठबन्धनभन्दा पनि हुन्छ । चुनावमा निकै प्रभावकारी परिणाम देखियो । यसलाई पार्टी एकीकरणमा नै परिणत गर्नुपर्छ भन्ने लागेको छ । दुवै पार्टीबीच कुराकानी पनि भइरहेको छ । तर संस्थागत वा औपचारिक रूपमा कुराकानी भएको छैन ।

यो एकताको कुरा राजपा नेपालका नेताहरूले जति उठाइ रहनुभएको छ, त्यति चासो फोरम नेपालका नेताहरूले लिनुभएको जस्तो देखिँदैन किन ?

–तपाईंले भनेको जस्ता राजपा नेपाल हतारिएको छैन । गठनबन्धन र तालमेल स्वभाविक हो । त्यसले आएको परिणामले एकताका लागि सबैलाई बोध गराएकै हो । तर एकीकरणका लागि सबैको सहमति, केन्द्रीय समितिको सहमतिलगायतका कुराहरू गर्नुपर्छ । मलाई लाग्छ, एकीकरण गरि नै हाल्ने हतार कसैलाई छैन । जहाँसम्म फोरम नेपालले चासो नलिएको कुरा गर्नुभयो । एउटा कुरा स्मरण गराउँ तपाईंलाई चुनावको बेला सबभन्दा पहिले उपेन्द्र यादवले नै यो कुरा उठाउनुभएको हो । सप्तरीमा आफ्नो चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राजपा नेपालसँग चाँडै एकीकरण हुने धारणा राख्नुभएको थियो र त्यहीँबाट यो कुराको जन्म भएको हो । हामीले त चुनाव सकिएपछि आवश्यकताको बोध गरेर यो कुरा भन्दै आएका हौँ ।

त्यसो भए पार्टी एकताका लागि बाधक को देखिएको छ ?

–अहिले बाधक र साधकको कुरै छैन । किनभने त्यो विषयमा अहिले प्रवेश नै गरेका छैन ।

उपेन्द्र यादवले त सार्वजनिक रूपमै राजपा नेपालमा छ–छ जना अध्यक्ष हुनुहुन्छ, छजनाको छवटा कुरा हुन्छ, त्यसले एकीकरणमा समस्या देखिएको छ भन्नुभएको छ नि ?

–पार्टी एकीकरणको कुरा नेता देखेर हुँदैन । एकीकरण हुँदा न उपेन्द्र यादवले राजपा नेपालका नेताहरूलाई राख्नुहुन्छ, न राजपा नेपालका नेताहरूले फोरम नेपालका नेताहरूलाई राख्नुहुन्छ । एकीकरण त विचार, सिद्धान्त र आवश्यकताको आधारमा हुने हो । साङ्गठनिक पक्षदेखि लिएर सैद्धान्तिक तथा तल्लो तहसम्मको अभिमत लिएर एकीकरण हुने कुरा हुन्छ । अहिले नै यसको कारण वा उसको कारण  एकीकरण हुँदैन भन्ने होइन । पहिला एकीकरणको कुरा छलफलमा आउनुपर्यो ।

तर एउटा समस्या त छ नि, एउटा पार्टीमा छ–छ जना अध्यक्ष छन् । फेरि अर्को पार्टीसँग एकीकरण गर्दा उहाँहरूलाई व्यवस्थापन गर्न त गाह्रो होला नि ?

–छ जना अध्यक्ष होइन, त्यो अध्यक्ष मण्डल हो । अध्यक्ष मण्डलको एकजना मात्र संयोजक हुनुहुन्छ र यो यहाँ मात्र होइन, अन्तर्राष्ट्रिय प्राटिक्स पनि हो । हामी पनि नेपाली सेरोफेरोमा यसलाई प्रयोगमा ल्याएका छौँ र अहिलेसम्म सफल भएका छाँै । एकीकरणको बारेमा छलफल सुरु हुन्छ अनि व्यवस्थापनमा कुनै समस्या हुँदैन । सहमतिमा सबै कुरा समाधान हुन्छ । छवटा दलको एकीकरण हुँदा पनि यस्तै कुराहरू उठेको थियो तर त्यसको व्यवस्थापन भयो नि । त्यसैगरी, फोरम नेपालसँग कुरा हुँदा पनि व्यवस्थापन हुन्छ ।

रह्यो अनिल झाका श्रीमती डा. डिम्पल झाको कुरा । आन्दोलनमा सहभागी हुनुभएको धेरै मधेसी महिलामध्येको एउटा डिम्पल झा पनि हो । त्यसैले उहाँलाई समानुपातिकमा राखिएको हो । छवटा नेताहरूको सहमतिमै भएको कुरा हो यो ।

भनिन्छ, राजपा नेपालभित्र नै धेरै कुरामा विवाद छ, यस अवस्थामा अरू दलसँगको एकीकरण प्रकृयालाई कसरी अगाडि बढाउने हो ?

–एउटा मूल विचारमा आबद्ध भएर पार्टी निर्माण भएको हुन्छ । मूल विचारमा कुनै फरक हुँदैन । लोकतान्त्रिक समाजवादी हौँ, मधेसको थिचोमिचो र विभेदलाई हटाउँदै समृद्ध बनाउने जस्ता कुरा मूल विचार अन्तर्गत पर्छ । हाम्रो लक्ष्य यो हो, हाम्रो उद्देश्य यो हो । यीलगायतको विषयमा दलभित्र कुनै फरक मत हुँदैन । कसैलाई विमति हुँदैन । यो हाम्रो पार्टीमा मात्र होइन, हरेक पार्टीमा त्यस्तो हुन्छ । तर कतिपय अवस्थामा व्यक्ति हुन्छ, समूह हुन्छ, अलग अलग धारणा हुन्छन् । त्यसले गर्दा फरकमत आउन सक्छ । तर तपाईंले भनेको जस्तो राजपा नेपालमा कुनै विवाद छैन ।

अहिले समानुपातिकका लागि तपाईंहरूको पार्टीमा विवाद देखियो नि त । तपाईंहरूले पठाएको नाम आयोगले स्वीकार गरेको छैन, त्यसलाई मिलाएर ल्याउन भनेको छ नि ?

–निर्वाचन आयोगसँग अन्य पार्टी र हाम्रो पार्टीबीचको कथा बेग्लैछ । त्यतातिर हामी नजाउँ । जुन धारामा, जुन उपधारामा, जुन ऐनमा टेकेर हामीलाई आयोगले समानुपातिकको सूची बुझाउन पत्र पठायो । त्यस्तै पत्र नाम सेलेक्सन गर्नका लागि आएन । पहिलाको भन्दा फरक पत्र आयो । त्यसले गर्दा यस्तो परिस्थिति सृजना भएको हो । हामीले पठाएको नाम समावेशी छ । त्यसमा दलित परेका छन्, मुस्लिम परेका छन्, महिला परेका छन्, पुरुष परेका छन् । जुझारु कार्यकर्ता तथा नेताहरू परेका छन् । त्यसैले यो समावेशी हो भन्दै हामीले अन्तिम नामावली भनेर बुझाएका छौँ ।

यो निर्वाचन आयोगको कुरा भयो तर पार्टीभित्र पनि विवाद छ नि ?

–पार्टी हो भने नेताहरूको आआफ्नो विचार हुन्छ । आआफ्नो धारणा हुन्छ र छन् पनि  । तर तपाईंले भनेको जस्तो ठूलो विवाद छ भने होइन । नमिल्ने खालको छैन ।

सडकमा सङ्घर्ष गर्ने आन्दोलन गर्ने नेता तथा कार्यकर्ता नपर्ने तर नेताका श्रीमती पर्ने यो कसरी भयो ? यसलाई तपाईंका नेता तथा कार्यकर्ताले कसरी स्वीकार गर्छन् ?

–हामीले सेलेक्सन गरेका नाममा सङ्घर्ष गरेका आन्दोलनमा लडेका, सहिद भएका परिवार तथा कार्यकर्ताहरू पनि राखेका छौँ । वविता चौधरी सहिद परिवारका छन् । हामीसँग सिटै कम थियो । आन्दोलनमा सहभागी भएकाहरूलाई पनि सहभागी गराइएको हो तर प्रतिनिधिगत रूपमा । आन्दोलनकारी सबैलाई समावेश गराउन सकिँदैन नि हजाराँै आन्दोलनकारी छन् । सहिद परिवार थुप्रै छन् । यस अवस्थामा कसलाई गराउने, कसलाई नगराउने अवस्था छ । तर प्रतिनिधि रूपमा हामीले समावेशी गरेकै हो । रह्यो अनिल झाका श्रीमती डा. डिम्पल झाको कुरा । आन्दोलनमा सहभागी हुनुभएको धेरै मधेसी महिलामध्येको एउटा डिम्पल झा पनि हो । त्यसैले उहाँलाई समानुपातिकमा राखिएको हो । छवटा नेताहरूको सहमतिमै भएको कुरा हो यो ।

दुई नम्बर प्रदेशको सवालमा कहाँ उपयुक्त हुन्छ त्यहाँ सबैका सहमतिमा बनाउँदा हुन्छ । चाहे त्यो वीरगञ्ज होस्, चाहे कलैया होस्, रौतहट होस्, सर्लाही होस्, जनकपुर होस्, लहान होस् वा राजविराज होस् ।

तपाईंले सङ्घीयतालाई बलियो बनाउन प्रदेशसभा रोजेको हुँ भन्नुभयो तर तपाईंहरू त काठमाडौँमै शपथ खाँदै हुनुहुन्छ नि, के भन्नुहुन्छ यसमा ?

–यो षड्यन्त्र भइरहेको छ देशमा । प्रदेशसभाका सदस्यलाई काठमाडौँमा नै शपथ खुवाउँदैछ त्यस्तै पर्यो भने यहीबाट प्रदेशसभा सञ्चालन गर्ने कुरा गर्दैछ, त्यो एकदम निन्दनीय हो । जुन शक्ति सङ्घीयताका लागि लडे, आज त्यही शक्तिले राजधानीका नाममा प्रदेशहरूमा कार्यकर्ता ओरालेर संविधान विरोधी काम गरिरहेका छन् । काठमाडौँमा शपथ ग्रहण गराउनका लागि प्रदेशसभाको चुनाव भएको होइन । राजधानीमा शपथ ग्रहण कार्यक्रम आयोजना गर्नु भनेको असंवैधानिक काम हो ।

त्यसो भए तपाईंहरू काठमाडौमा शपथ खानु हुन्न ?

–कुनै पनि हालतमा खाँदैनाँै । हामी मधेसका लागि जितेका हौँ । त्यसैले प्रदेश २ का आठवटा जिल्लाको कुनै ठाउँमा शपथग्रहण कार्यक्रम आयोजना गरे त्यसलाई स्वीकार गर्दै शपथ खान्छौँ । तर सङ्घीयतालाई समाप्त पार्ने काम जुन काठमाडौँमा भएका छ, त्यसलाई कदापी स्वीकार गर्दैनौँ । आज शपथ खान आउनुभन्छ, भोलि सरकार यहीँबाट बनाउनुस्, फेरि भन्ला यहीँबाट सरकार चलाउनुस् । यो कसरी सम्भव हुन्छ । काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू आन्दोलन गरिरहेका छन् । त्यसलाई सम्झाउनु पर्दैन ? यता, आन्दोलन भयो भनेर अस्थायी राजधानी तोक्न सकिएन भन्ने, उता आफ्नो कार्यकर्तालाई अनसन बस्न भन्ने यो कस्तो राजनीतिक संस्कार हो ? यसको व्यवस्थापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुपर्छ र प्रदेशको अस्थायी राजधानी तोकेर शपथग्रहण गराउनुपर्छ नत्र हाम्रो पार्टीले त्यसको विरोध गर्छ ।

त्यसो भए तपाईं भन्नुस् न, दुई नम्बर प्रदेशको राजधानी कहाँ राख्दा राम्रो हुन्छ ?

–यसको बारेमा सबैले इमानदारीपूर्वक सोच्नुपर्छ । विगतमा हामीले सङ्घीयताका लागि ठूलठूला आन्दोलन गर्यौँ । प्रदेशका लागि राजधानी कहाँ बनाउने त्यसका लागि हामीले आन्दोलन गरेका होइनाँै । प्रदेशको राजधानी प्रदेशको कुनै ठाउँमै रहने हो । त्यसको राजधानी काठमाडौँ वा अन्य ठाउँमा जाँदैन । दुई नम्बर प्रदेशको सवालमा कहाँ उपयुक्त हुन्छ त्यहाँ सबैका सहमतिमा बनाउँदा हुन्छ । चाहे त्यो वीरगञ्ज होस्, चाहे कलैया होस्, रौतहट होस्, सर्लाही होस्, जनकपुर होस्, लहान होस् वा राजविराज होस् । जहाँ भए पनि हुन्छ तर त्यसको बहानामा काठमाडौँमा आएर शपथ खायौँ, यहीँबाट सरकार सञ्चालन गर भन्ने जस्ता काम हुनुहुँदैन ।

संविधान निर्माण तथा त्यसको संशोधनमा दुई दलको जे भूमिका थियो, त्यसलाई हेर्दा यी दुई दल मिल्छ भने जस्तो लाग्दैन । कम्युनिस्ट हुँदैमा सबै कुरा हुँदैन । तर दुवै दल मिल्यो भने म खुशी नै हुन्छु । 

अब केन्द्रीय सरकारका कुरा गरौँ । नयाँ सरकार कहिले गठन हुन्छ ?

–संसारका उत्कृष्ट संविधान बनाउने साथीहरू फस्नुभएको छ । संविधान अनुसार नै फागुनको दोस्रो साता यता सरकार बन्ने सम्भावना छैन । सरकार निर्माणमा अहिले जति पनि ढिलो भइरहेको छ, त्यसको मुख्य दोषी संविधान नै हो । जसरी हतार हतारमा संविधान निर्माण भयो, त्यसले गर्दा यो समस्या भएको छ । सरकारले यतिखेर राजीनामा दिनुपर्ने थियो तर सविधानमा जुन व्यवधान छ, त्यसको कारणले उहाँले राजीनामा दिन सक्नु हुन्न । सरकार निर्माणका लागि सङ्घीय सभा चाहिन्छ, त्यो अहिले पूर्ण नै भएको छैन । त्यो पूर्ण हुनका लागि राष्ट्रियसभाको चुनाव हुनुपर्छ । त्यसैले म फेरि भन्छु, संविधान संशोधन नभएसम्म समस्या समाधान हुँदैन । यसअघि केपी शर्मा ओली प्रधानमन्त्रीले राजीनामा दिँदा बाधा अड्काउ फुकाउ गरेर राजीनामा दिनुपर्यो । अहिलेको प्रधानमन्त्रीका लागि पनि त्यस्तै जटिलताहरू आइरहेका छन् । त्यसैले संविधानलाई नसुधारी अगाडि बढ्न गाह्रो छ ।

नयाँ गठन हुने सरकारमा तपाईंका पार्टी जान्छ कि जाँदैन ?

–जसको अहिले जन्म नै भएको छैन । त्यसको अतोपतो छैन, त्यसको बारेमा अहिले चर्चा नगरौैँ । त्यसको समय आएपछि भनौँला । केन्द्रीय राजनीतिकमा हाम्रो सरोकार भनेका सविधान संशोधन हो । मधेस अधिकारको ग्यारेन्टी हो र प्रदेशमा विकास र समृद्धि हो ।

भावी प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली आउँदै हुनुहुन्छ भनी चर्चा छ, तपाईंलाई के लाग्छ ?

–एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएका धेरै कुरा बाहिर आइसकेको छैन । केही केही कुरा आइरहेका छन् । जस्तै, आलोपालो प्रधानमन्त्री हुने, प्रथम पटक को हुने जस्ता कुरा पनि आइरहेको छ । चुनावमा गठबन्धन बनाएर जसरी जानुभयो, उहाँहरू अब एकीकरणमा पनि त्यसैलाई लागू गर्नुपर्छ । तर नेपाली राजनीतिमा सम्भावनाको धेरै खेल भइरहेको छ । दुई पार्टीको प्रकृति र चरित्र हेर्दा एकीकरण त्यति सजिलो होला जस्तो लाग्दैन । संविधान निर्माण तथा त्यसको संशोधनमा दुई दलको जे भूमिका थियो, त्यसलाई हेर्दा यी दुई दल मिल्छ भने जस्तो लाग्दैन । कम्युनिस्ट हुँदैमा सबै कुरा हुँदैन । तर दुवै दल मिल्यो भने म खुशी नै हुन्छु । 

हेर्नुहोस् भिडियो

भिडियोमा समस्या भए यहाँ क्लिक गर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी अनलाइन टिभी
रातोपाटी अनलाइन टिभी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप