शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाडी किन्दै हुनुहुन्छ भने जान्नुहोस् ११ टिप्स

सोमबार, २४ पुस २०७४, १० : २९
सोमबार, २४ पुस २०७४

मध्यम वर्गीय परिवारको वृद्धिसँगै नेपालमा गाडी खरिदको संख्या पनि अत्यधिक बढ्दो छ । कुनै समय विलासिताको रूपमा हेरिने गाडीलाई पछिल्लो एक दशकदेखि आवश्यकताको रूपमा लिन थालिएको छ । त्यसैले पनि हुनुपर्छ, विश्वमा चर्चित प्रायः गाडी कम्पनी नेपालमा भित्रिसकेका छन् । काठमाडौंमा बढ्दो प्रदूषणका कारण पनि गाडीप्रति मानिसको आकर्षण बढ्दो छ । तर, गाडी किन्नुपूर्व के–के कुराको विचार गर्नुपर्छ त ? यस विषयमा लक्ष्मी इन्टरकन्टिनेन्टलका डेपुटी जेनेरल म्यानेजर सेल्स एन्ड मार्केटिङ रुपेश शर्मा भट्टले केही टिप्स दिएका छन् :

१. सबैभन्दा पहिले गाडीको ब्रान्ड हेर्नुपर्छ । त्यसका लागि सडकमा कुन ब्रान्डका गाडी बढी गुडिरहेका छन् भन्ने कुराले ब्रान्ड पपुलारिटीलाई देखाउँछ । किनभने प्रोडक्ट राम्रो नभईकन बजारमा कुनै ब्रान्डले आधिपत्य जमाउन सक्दैन । यस विषयमा ध्यान दिनुपर्ने अर्को कुरा के भने विश्वमा पपुलर भएको ब्रान्ड निश्चित देशमा नहुन पनि सक्छ ।

२. गाडी किन्दा त्यसको रिसेल भ्यालुबारे पनि सचेत हुनुपर्छ । यदि ४–५ वर्ष चढेर बिक्री गर्नुपर्‍यो भने उक्त गाडीको राम्रो मूल्य पर्ने खालको हुन आवश्यक छ ।

 

३. गाडी वेलावेला सर्भिसिङ गरिरहनुपर्‍यो । बिग्रिएको खण्डमा मर्मत गर्नुपर्‍यो । त्यसका लागि ब्रान्डको आफ्टर सेल्स सर्भिसलाई पनि ध्यानमा राखेर मात्र गाडी खरिद गर्नुपर्छ । सजिलैसँग पार्टस् पाउन सक्ने गाडी मात्र खरिद गर्न आवश्यक हुन्छ । हुन्डाईको कुरा गर्दा मुख्य–मुख्य सडकमा आफ्टर सेल्स सर्भिसको व्यवस्था गरेका छौँ ।

४. गाडीको मेन्टिनेन्ट कस्टलाई पनि ध्यानमा राखेर गाडी खरिद गर्दा राम्रो हुन्छ । मेन्टिनेन्ट कस्ट हाई भएको गाडीले डुबाउन पनि सक्छ ।

५. त्यसपछि कुरा आउँछ, गाडीको फिचरको । खासमा गाडीमा मूल्यअनुसारका फिचर हुन्छन् । पछिल्लो समय २५ देखि ३५ लाख रुपैयाँसम्मका गाडीमा पनि धेरै राम्रा फिचरको व्यवस्था गरिएको छ । गाडी खरिद गर्दा माइलेजलाई विशेष ध्यान दिन आवश्यक छ ।

६. गाडी कतिको आरामदायी छ भन्ने कुरालाई पनि ध्यानमा राखेर गाडी खरिद गर्दा पछि पछुताउनु पर्दैन । त्यसका लागि टेस्ट ड्राइभ गर्न सकिन्छ ।

७. हामीकहाँ १८ लाख १९ हजारदेखि एक करोड २२ लाख ९६ हजार रुपैयाँसम्मका गाडी छन् । त्यसैले नेपालीलाई आवश्यकताअनुसारको गाडी खरिद गर्ने सुविधा नेपालमै छ ।

८. पछिल्लो समय ह्याजब्याक गाडीहरू प्रचलनमा छन् । किनभने कम्पनीहरूले ह्याजब्याकमै लग्जरियस सुविधाको व्यवस्था गरेका छन् । १० देखि १२ सिसीको इन्जिन जडान छ, जसले राम्रो माइलेज दिन्छ र काठमाडौंमा हाँक्न पनि सजिलो पर्छ । अहिले ह्याजब्याकमै अटोमेटिक एसी, ह्यान्ड्स फ्री ब्लुटुथ, सेफ्टी स्पिकर, अडियो सेन्सर स्टेरिङसमेतका व्यवस्था छन् ।

९. बढी पैसा हालेर मात्र राम्रो गाडी आउने पनि होइन । त्यसैले ‘भ्यालु फर मनी’लाई ध्यान दिएर गाडी खरिद गर्नुपर्छ ।

 

१०. अहिलेका मानिस सूचना प्रविधिमा अभ्यस्त हुन थालिसकेका छन् । कम्पनीको लोकेसनलगायतका विषयमा जनकारी राख्नका लागि त्यति गाह्रो नहोला । कम्पनीका वेबसाइटमा सम्बन्धित गाडीका फिचरबारे पनि जानकारी दिइएको हुन्छ । गाडी खरिदका लागि कम्पनीमा पुगे स्टाफहरूले पनि सबै विषयमा जानकारी दिन्छन् ।

११. नेपालमा फाइनान्स गरेर गाडी खरिद गर्नेको संख्या ठूलो छ । फाइनान्समा गाडी खरिद गर्दा गाडीको मूल्यको ३५ प्रतिशत न्यूनतम डाउनपेमेन्ट गर्नुपर्छ । यो नेपाल राष्ट्र बैंकले नै लागू गरेको नियम हो । त्यसबाहेक आफ्नो इच्छाअनुसार रकम भुक्तान गरेर पनि गाडी खरिद गर्न सकिन्छ । डाउन पेमेन्ट बढी गरे टिएनआई कम हुन्छ र कम डाउनपेमेन्ट गरे बढी ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप