शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरसँग वार्ताको तयारी भैरहँदा दक्षिण कोरियाले दियो यस्तो प्रतिक्रिया

आइतबार, २३ पुस २०७४, १९ : ०९
आइतबार, २३ पुस २०७४

एजेन्सी– उत्तर र दक्षिण कोरियाबीच हुन लागेकोे उच्चस्तरीय वार्ताको अन्तिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।  उत्तर कोरियाले आफ्नो देशका तर्फबाट वार्ता गर्न सोल जाने टोलीका सदस्यको नाम आइतबार दक्षिण कोरियालाई पठाएपछि वार्ताको तयारी अन्तिम चरणमा पुगेको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ । 

आइतबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ताले वार्ताका लागि दक्षिण कोरियाले अन्तिम तयारी जारी राखेको बताउनुभएको समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो वार्तामा सहभागी हुने उत्तर कोरियाली अधिकारीको नाम पठाएको बताएको छ । 

दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तयारी छ । वार्ताका लागि दक्षिण कोरियाले आवश्यक सबै तयारी गरेको र त्यो अन्तिम चरणमा पुगेको पनि सो मन्त्रालयले जनाएको छ । 

नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधनपछि उक्त उच्चस्तरीय द्विपक्षीय वार्ताको वातावरण निर्माण भएको हो ।  साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलको पनि तयारी जारी रहेको सो मन्त्रालयले जानकारी दिएको हो । 

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनपछि नै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका थिए  । 

दुई वर्षपछि पहिलो पटक हुन लागेको यो उच्चस्तरीय वार्ताका लागि शनिबार दक्षिण कोरिया र आइतबार उत्तरले वार्तामा सहभागी सदस्यहरूको सूची आपसमा सार्वजनिक गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप