बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृत भाषाको नाटक देखाइने

आइतबार, २३ पुस २०७४, १४ : ०४
आइतबार, २३ पुस २०७४

काठमाडौँ– पछिल्लो समय रंगमञ्चमा नेपाली नाटक देखाउने क्रम बढेसँगै पहिलो पटक संस्कृत नाटक प्रदर्शन गरिने भएको छ ।  नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको भने यो पहिलो अवसर हो ।

श्रीपञ्चमीका अवसरमा श्रीकान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का विद्यार्थीले ‘तमसो ज्योतिर्गमय’ अर्थात् ‘मलाई अन्धकारबाट उज्यालोतिर लैजाऊ’ शीर्षक नाटक प्रदर्शन गर्न लागेका हुन् । गुरुकुलको सहयोगका लागि सामाजिक विषयवस्तुमा आधारित नाटक प्रदर्शन गर्न लागिएको हो । 

नाटक आगामी माघ ७, ८ र ९ गते सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सहप्रा डा.श्रीराम अधिकारीले जानकारी दिए । गुरुकुलले यसअघि २०७१ साल चैतमा वाल्मीकि विद्यापीठमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि पहिलो पटक नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको हो । 

नाटक त्रिवि संस्कृत अध्ययन संस्थानका पूर्वडिन स्व.तोयनाथ पाण्डेयले   लेखेका हुन् । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गरेका डा.घनश्याम खतिवडाले गरेका छन् । नाटक अपराह्न ४ देखि ६ बजेसम्म प्रस्तुत गरिनेछ । माघ ८ गते श्रीपञ्चमीका दिन भने विद्यार्थीका लागि अतिरिक्त अपराह्न १ देखि ३ बजेसम्म पनि नाटक प्रदर्शन गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप