बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारका म्युचुअल फन्डको कारोबार : कतै फाइदै फाइदा, कतै पुर्पुरोमा हात

आइतबार, २३ पुस २०७४, १२ : १७
आइतबार, २३ पुस २०७४

काठमाडौँ । धितोपत्र बजारमा लगानी गर्ने विभिन्न माध्यमहरू छन् । त्यसमध्ये म्युचुअल फन्ड पनि एक हो । नेपालमा पछिल्लो समयमा विभिन्न कम्पनी तथा वित्तीय संस्थाले एकपछि अर्को गर्दै उक्त फन्डको कारोबार गर्ने गरेका छन् ।
लगानी विविधीकरणका लागि यस्ता फन्डको कारोबारलाई सहज रूपमा लिने गरिन्छ । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षमा मात्रै चारवटा फन्डलाई कारोबारका लागि स्वीकृति दिइसकिएको छ ।

रु. चार अर्ब ७० करोड बराबरको फन्ड कारोबारका लागि स्वीकृति दिएको बोर्डले पाइप लाइनमा दुईवटा फन्ड रहेको जनाएको छ ।

बोर्डका प्रवक्ता निरज गिरिकाअनुसार सिद्धार्थ इक्विटी फन्ड, सानीमा इक्विटी फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड र सिटिजन म्युचुअल फन्डले बिक्रीको स्वीकृति पाएको छ ।

उक्त फन्डको बिक्री आगामी माघ २ गतेदेखि हुने भएको छ ।  रु. एक अर्ब बराबरको उक्त फन्डको सीबीआईएएल क्यापिटलले बिक्री प्रबन्ध गर्ने छ ।

सिद्धार्थले रु एक अर्ब ५० करोड बराबरको १५ करोड एकाइ बिक्री गर्ने स्वीकृति पाएको हो ।

यस्तै सानिमाले रु एक अर्ब २० करोड बराबरको १२ करोड एकाइ, एनआईसी एसियाले रु एक अर्ब बराबरको १० करोड बराबरको एकाइ बिक्रीको स्वीकृति पाएको हो ।

पाइपलाइनमा रहेका ग्लोबल आईएमई ब्यालेन्स फन्डले रु एक अर्ब २० करोड बराबरको १२ करोड एकाई र एनआईबीएल सहभागिता फन्डले रु ५० करोड बराबरको ५ करोड एकाइ बिक्रीको प्रतीक्षामा रहेको छ । यी दुई फन्डको कारोबारको स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ ।

नेपाल स्टक एक्चेन्जमा ११ वटा त्यस्ता फन्ड सूचीकृत छन् र कारोबार गरिरहेका छन् । त्यसमध्ये केहीको मात्रै कमाइ राम्रो रहेको छ । केहीको औसत रहेको छ ।

सेयर बजारमा देखिएको उतार चढावको प्रभावसमेत फन्ड कारोबारमा समेत परेको लगानीकर्ताको भनाइ छ । नेपाली लगानीकर्ता सङ्घका सदस्य केशव भण्डारीले बैङ्किङ क्षेत्रमा देखिएको तरलताको प्रभाव सेयर बजारमा पनि देखिएकाले अन्य सेयरको जस्तै म्युचल फन्ड पनि प्रभावित भएको बताए ।

ग्लोबल आईएमई सुमन्नत स्किमको १० करोड एकाई कारोबारमा छ । तर रु १० एकाइमा बिक्री भएको उक्त फन्डको मूल्य घटेर प्रतिएकाइ रु ९.७६ पैसामा आइपुगेको छ ।

यस्तै स्टकका सूचीकृत लक्ष्मी इक्विटी फन्डको समेत मूल्य घटेको छ । उक्त फन्डको प्रतिएकाइ कारोबार रु ९.८१ पैसामा भइरहेको छ । १२ करोड ५० ला एकाइ बजारमा भए पनि बजार मूल्य घटेपछि उक्त फन्डमा लगानी गर्नेले प्रतिफल भने पाउन सकेका छैनन् ।

यस्तै सोही कम्पनीको लक्ष्मी भ्यालु फन्ड पनि स्टकमा सूचीकृत छ । उक्त फन्ड भने नाफामा रहेको छ । प्रतिएकाइ रु १० मा खरिद गरेका लगानीकर्ताले प्रतिएकाइ १ रुपियाँ ४५ पैसा आर्जन गरेका छन् । स्टकमा उक्त फन्डको ५ करोड एकाइ सूचीकृत छ । त्यसको कुल मूल्य रु ५० करोड रहेको छ ।

उता एनआईबीएल प्रगति फन्डमा लगानी गर्नेको कमाइ भने बढेको छैन । उक्त फन्ड रु १० प्रतिएकाइमा नै कारोबार भइरहेको छ । कुल सात करोड ५० लाख एकाइ कारोबार भइरहेको उक्त फन्डको बजार मूल्य रु ७५ करोड बराबरको रहेको छ ।

एनआईबीएल समृद्धि फन्डको भने प्रतिएकाइ १ रूुपियाँ ७२ पैसा नाफामा रहेको छ । कुल सात करोड ५० लाख एकाइ कारोबार भइरहेको उक्त फन्डको बजार मूल्य रु ८७ करोड ९० लाख बराबरको रहेको छ ।

चमत्कार देखाएन एनएमबी हाइब्रिड फन्डले
उता एनएमबी हाइब्रिड फन्डमा लगानी गरेकाले पनि कमाउन सकेका छैनन् । किनकि उक्त फन्डले पनि बजारमा चमत्कार देखाउन सकेको छैन । रु १० प्रतिएकाइ कारोबार भइरहेको उक्त फन्डको बजार मूल्य रु १० करोडको छ ।

तर एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ मा लगानी गर्नेले भने प्रतिएकाइ २ रूपियाँ ८२ पैसा आम्दानी गरेका छन् । कुल ७ करोड ५० लाख एकाइ स्टकमा सूचीकृत गरेर कारोबार गरिरहेको छ ।

यस्तै सिद्धार्थ इक्विटी ओरेन्टेड स्किमका लगानीकर्ताले पनि प्रतिएकाइ २ रूपियाँ २० पैसा आम्दानी गरेका छन् । उक्त फन्ड १२ रूपियाँ २० पैसामा कारोबार भइरहेको छ ।

सिद्धार्थ इन्भेस्टमेन्ट फन्डको कमाइ राम्रो
सबैभन्दा राम्रो कमाइ भने सिद्धार्थ इन्भेस्टमेन्ट फन्डको छ । उक्त फन्डको प्रतिएकाइ रु २० मा कारोबार भइरहेको छ । रु १० मा प्रतिएकाइ खरिद गरेका लगानीकर्ताले रु १० नै कमाइ गरेका छन् । कुल पाँच करोड एकाइ स्टकमा सूचीकृत रहेको उक्त फन्डको बजार मूल्य कुल रु एक अर्ब ४५ लाख बराबर रहेको छ ।

नविलका लगानीकर्ता नाफामा
सबैभन्दा राम्रो कमाइ गर्नेमा नविल ब्यालेन्स फन्ड रहेको छ । उक्त फन्डले प्रतिएकाइ  ६ रूपियाँ ६५ पैसा कमाएको छ । बजारमा उक्त फन्डको मूल्य प्रतिएकाइ १६ रूपियाँ ६५ पैसा रहेको छ ।

सेयर बजारमा देखिएको तरलताका कारण उक्त फन्डको प्रतिएकाइ १ रूपियाँ ८९ पैसा घटेको छ । कुल ७ करोड ५० लाख एकाइ कारोबारमा रहेको उक्त फन्डको बजार मूल्य रु एक अर्ब २४ करोड ८७ लाख ५० हजार रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप