शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कथा: स्वस्थानी सत्ता कथा

शनिबार, २२ पुस २०७४, ०८ : ३७
शनिबार, २२ पुस २०७४

-दीपक घिमिरे   

हे प्रचण्डेमुनि ! 
नेपाल राज्यमा ठुलै राजनीतिक सङ्कट उत्पन्न हुने अवस्था स्वर्गलोकबाट नियाली रहेका दैवहरूले ठुलै पूजाको आयोजना गर्न थाले । 

तहाँ उप्रान्त दैवहरूको जमघट हुन थालेपछि दैत्यहरूले मत्र्यलोकमा देउपा दैत्यलाई नेपाल राज्यको गद्दी नछाड्न रातोदिन धम्की दिनथाले । उता स्वर्गलोकबाट बीपी, पुष्पलाल, गिरिजा, बोगटी, मदन अनि मनमोहन लगायतका दैवहरूले नेपाल राज्यको समृृद्धिका लागि पूजाअर्चना सुरु गरे । 

हे प्रचण्डेमुनि ! 
देशले राजनीतिक स्थिरता चाहेको भन्दै वाम गठबन्धनको पासो थापेर कुर्सीको लोभमा परेका दुईचार जना दैवरूपी दैत्यहरूकै कारण वाम गठबन्धन धरापमा पर्न थालेपछि नेपाल राज्यमा बसोबास गर्ने निमुखा जनता फेरि एक पटक तालु खुइले ऋषिमुनिहरूको शरणमा पर्न गए । 

देशलाई बचाउन तालुखुइले ऋषिमुनिहरू निरन्तर स्वर्गलोकमा बसेका दैवहरूको सम्पर्कमा थिए । तालुखुइले ऋषिमुनिहरू कस्ता भने झट्ट हेर्दा पत्रकार जस्ता, पैसाले पुगेका । सात पुस्ता सुतेर बसे पनि खान पुग्ने । हेर्दा नारद जस्ता देखिए पनि धनले कुवेर जस्ता मोटा । उनीहरूको बयान पनि हजार जिब्रा भएका शेष नागले गर्न सक्दैनन् भने म त एउटा मनुश्य न परेँ महाराज । 

देशलाई यो महासङ्कटबाट बचाउन नेपाल राज्यका जनताहरू तलु खुइले ऋषिमुनि कहाँ धाए पनि सतीले सरापेको देश न रहेछ । स्वर्गलोक, मत्र्यलोक अनि पाताललोक । यी तिनै लोकबाट जतिसुकै पूजा आराधना गर्दा पनि देशलाई अनिष्ट हुनबाट कसैले बचाउन सकेन । 

तालुखुइले ऋषिमुनिहरूको असली चेहरा पनि ती निमुखा नेपालीले बुझिहाले, देशले काँचुली फेर्न सकेन । 

हे प्रचण्डेमुनि ! 
गरिब जनताको हातमा सत्ताको पहुच पुर्याउने सपना बाँडेर महाभारतभन्दा ठूलो युद्धको शुभारम्भ गरेका माओ ऋषिहरूको समूहले पनि सत्ताको स्वादमा भुलेर युद्धको लक्ष्यबीचमै छाडिदियो । 

युद्धको मोर्चा सम्हालेका माओ ऋषिका शिष्यहरूले धन, दौलत अनि मोज मस्तीमा समय कटाउन थालेपछि देशले उल्टो गति लियो । अनि जनता निराश हुँदै कहिले कसलाई सत्ताको पहँुचमा पुर्याए त कहिले कसलाई । 

नेपाली मनुष्यको दुर्भाग्य ! 
यस्तैमा एक दिन सत्ताको बागडोर देउपा नामक दैत्यको हातमा पर्न गयो । 
देउपा दैत्य कस्तो भने ! हेर्दा ठ्याक्कै डाकू जस्तो, बोल्दा मुखबाट र्याल, थुक अनि नाकबाट सिँगान छाड्ने, बोलेको आफूले मात्र बुझ्ने । अरूलाई झपारेरै आफू अगाडि बढ्ने । त्यस्तो खतरनाक दैत्यको हातमा सत्ताको बागडोर परेपछि मनुष्य जति विस्थापित हुँदै गए । 

देशले प्रगतिको बाटो छाडेर दुर्गतिको उल्टो बाटो पकड्यो । जनता अलमलमा परे । कहिले माओ ऋषिको शरणमा गए त कहिले ओली ऋषिको शरणमा । त कहिले तालुखुइले ऋषिको शरणमा । 

हे प्रचण्डेमुनि ! 
यी ओली ऋषि कस्ता भने, हेर्दा चटके जोकर जस्ता । उखानै उखानले संसार जित्न खोज्ने । आधा कुरा हावाबाटै पूरा गरिदने । ओलीको बोलीको ठेगानै नभाको जस्ता । 

फुस्स बोल्दिने तर काम सिन्को नभाँच्ने जस्ता । पदका लागि मरिहत्ते गर्ने । यस्ता थिए ओली । उनका पुर्खा पनि वाम ऋषिबाट आएका खलक हुनाले माओ ऋषि र ओली ऋषिको हल्का आचरण मिल्दो जुल्दो नै थियो । 

उता स्वर्गलोकमा पूजा सकिनै थाल्दा नेपाल राज्यमा ज्ञानेन्द्र नामक दैत्य देश दौडाहमा निस्कियो । ज्ञानेन्द्र दैत्य देश दौडाहमा निस्कदा सबैभन्दा पिरलो माओ ऋषिमुनिका शिष्यहरूलाई पथ्र्यो । यस्तो अवस्था स्वर्गलोकमा बसेर होम, स्वाहा गरिरहेका मदन, पुष्पलाल अनि बोगटीले देखेपछि नारद मार्फत छिटो वाम एकता गर्नु अनि देशलाई अनिष्ट हुनबाट जोगाउनु भन्ने सन्देश पठाइबक्सियो । 

नारदले स्वर्गलोकबाट ल्याएको खबर वाम ऋषिमुनिका शिष्यहरूका कानमा परेपछि देशले अलिकति प्रगतिको गति लिन्छ कि भन्ने आशा लिएर नेपाल राज्यका मनुष्यहरू बसेका थिए ।

हे प्रचण्डेमुनि 
त्यहाँ उप्रान्त देउपा दैत्यले कुर्ची नछाडेपछि स्वर्गलोकबाट मदन र वीरेन्द्रले  श्राप दिन सुरू गरे । ओलीको गुनगान गाउने १००८ शिष्यहरूले सडकमा टायर रूपी धुप बालेर पूजा अर्चना सुरू गरेपछि मत्र्यलोकमा दैत्य देउपाको कुर्ची डगमगाउन थाल्यो । 

उता हजार जिब्रा भएका शेष नागले समेत बयान गर्न नसक्ने विष, भाङ धतुरो खाई लठ्ठिने ज्ञानेन्द्रको बयान म कसरी गरूँ ? ज्ञानेन्द्र कस्ता भने ! झट्ट हेर्दा हिरो जस्ता तर मन गुण्डाको जस्तो, नाक हेर्दा फेटारे सर्प जस्ता तर आनिबानी हेर्दा तानाशाह जस्तो । उनको बयान अहिले यत्तिमै सीमित गरेँ । 

 संसार जित्न निस्केका माओ ऋषिका चेलाहरूले ओली ऋषिसामु देउपा दैत्यको अन्त्यका लागि हातेमालो गर्न थालेपछि पौराणिक कथामा भेटिने वाम ऋषिको जन्म हुने निश्चित जस्तै भयो । 

यो वाम ऋषिहरूको पुनर्जन्मलाई आफ्नो अन्त्यको डरलाग्दो रूपमा देखेको देउपा दैत्यले आफ्नो महत्वपुर्ण बैदेशिक शैन्य लगायर माओ ऋषिलाई ओली ऋषि बाट अलग गर्न चाल चल्न थाल्यो । उ कहिले ठुलै सिंहासनमा माओ ऋषिका कमान्डरलाई बिराजमान गराएर आफू अझ शक्तीशालि बन्न चाहन्थ्यो त कहिले बैदेशिक कुटनिति प्रयोग गरेर गठबन्धन तोडन चाहन्थ्यो । 

हे प्रचण्डेमुनि ! 

दर्जनौ बर्ष देखि अलग अलग धार पकडेर मनुश्यको सेवामा लागेका बाम ऋषिका चेलाहरू यतिबेला कुनैपनी बैदेशिक हस्तक्षेप या षडयन्त्रबाट छुट्टिने वाला थिएनन् । पत्रकार जस्ता देखिने बहुरूपी ऋषिहरू समेत वाम ऋषिहरूलाई अलग्याउन लागिपरे । तर वाम ऋषिहरूको हातेमालो यति कडा थियो कि सुमेरु पर्वतबाट ल्याएको बालुवा र ढुङ्गाले बनेको मजबुत ढलान थियो जसलाई रावणको वाणले समेत तोड्न सक्दैनथ्यो । 

पत्रकारको जस्तो अनुहार भएका तालुखुइले ऋषिरूपी दैत्यहरूले पनि नेपाल राज्यलाई आफ्नो पकडमा राख्न निक्कै कोसिस गरे । अनेक जाल, झेल गरेर सत्ताको पकडमा आफूलाई उभ्याउन अनवरत लागेका दैत्यहरूलाई स्वर्गलोकबाट निरन्तर नियाल्ने बीपी, पुष्पलाल, गिरिजा, बोगटी, मदन अनि वीरेन्द्रले सफल हुन दिएनन् । 

ती स्वर्गलोकमा बस्ने दैवहरू कस्ता भने ! आफू स्वर्गलोकमा बसे तापनि नेपाली माटोको निक्कै इजत गर्ने, नेपालमा बस्ने मनुष्य जातिको हितका लागि निरन्तर पूजा पाठमा तल्लीन रहने । ठ्याक्कै रामायणका रामचन्द्र जस्ता । 

तर बिडम्बना ! उनीहरूमा पनि बुद्धि थिएन होला र त छिट्टै स्वर्गलोक रोजे । होइन भने नेपाल राज्यलाई समृद्धिको बाटोमा हिँडन सिकाएर आफू स्वर्गलोक जानूपर्ने । राज्यलाई लथालिङ्ग अवस्थामै छाडेर स्वर्गको मस्ती लुट्न गएकै कारणले होला, आजभोलि नेपाली मनुष्यहरू जनताको बहुदलीय जनवादलाई भुलेर टुक्के समाज निर्माणतर्फ अग्रसर छन् । 

हे प्रचण्डेमुनि ! 
सतीले सरापेको देश त्यसै भनिएको पक्कै होइन रहेछ । दैव रूपी ऋषिहरू स्वर्गलोकमा बसाइँ सरेपछि नेपाल राज्यमा सधैँ दानवले राज गर्न थालेका हुन् । कहिले सत्ताको लोभमा दलाली गरे त कहिले सम्पतीको लोभमा । सरापेको देशमा अर्को दैत्यले बास गरिसकेको छ । स्वर्गलोकमा बस्ने दैवहरूले मधेसी नाम दिएका ती दैत्यहरूको चर्चा अर्को अध्यायमा गर्ने छु । आजका लागि स्वस्थानी सत्ता कथा यति नै ।  
इति इस्कन्द पुराणे ! माघ महात्मे राजनीतिक सत्ता कथाए पहिलो अध्याय समाप्त । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप