शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः कमरेड कहानी

शनिबार, २२ पुस २०७४, ०८ : २२
शनिबार, २२ पुस २०७४

-डा. डीबी धामी   

भर्खरै
पाएको किताब
कुनामा सजाई
एकाछकालै
एउटा बालक
खाली खुट्टा
शीतलाई स्पर्श गर्दै
कुद्दैै थियो गरातिर
पोर्सोको डोको पिठिउँमा बोक्दै
चैतको भोक सम्झिँदै
केही बढी
उब्जेला कि भन्ने आसमा
कुद्दै थियो
ओकाली ओराली
ठीक त्यति नै खेर
ऊ त्यो पूर्व क्षितिजबाट
पड्कियो ठूलो आवाज
स्कुल छेउमै
लडेके हिमालहरु
बढे अगाडि 
 
गर्दै लाल सलाम
छोडाए स्कुल
भन्दै बुर्जुवा शिक्षा
ऊ अकमक्क भयो
किताब बोकी
धेरै पढ्ने धोको
मनमा सजाई
रमाउँदै
पोर्सो बोक्दै थियो
ठीक त्यति नै खेर
बोल्यो एउटा माइलो
रुकुमको हो वा रोल्पाको
सम्बोधन गर्यो
कमरेड लाल सलाम
करायो ठूलो स्वरमा
भन्दै हिँड्यो
पर्दैन अब बोक्नु भारी
पर्दैन पढ्नु बुर्जुवा शिक्षा
आउनेछ अर्को बिहानी
उति नै खेर
पड्कियो बन्दुक खोलातिर
काँप्यो थरथर
मृत्युडरले जङ्गेलोमा
हिँड्यो रुँदैरुँदै
करले अनि डरले
धेरै टाढा
सल्लेरीमा
लड्यो भिड्यो
बिनासित्ति
कैयौँ चिनेकासित
कैयौँ बिरानासित
पटकाउँदै गोलाबारुद
अघि बढ्यो
जित्यो कि हार्यो
पत्तो पाएन
लागिरह्यो ऊ
लडाइँ सकेपछि पनि
तर
विडम्बना आज
न त पायो उसले
नयाँ शिक्षा
न त आयो उसलाई
नयाँ बिहानी
न त उब्जियो अन्न
गरामा धेरै
ढल्यो जवानी
गयो जिन्दगी
पछुतायो अति
भयो ग्लानी
यही हो उसको
कमरेड कहानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप