शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: अस्तित्वको खोजी

शनिबार, २२ पुस २०७४, ०८ : १७
शनिबार, २२ पुस २०७४

-दिल थापा   

म ढुङ्गा हुँ
अझ भनौँ पहिले पहाडको ढुङ्गा 
अहिले नदीको ढुङ्गा 
वर्षायाममा नदीमा बाढी आउँदा ढुङ्गासँग  
म ढुङ्गै ठोकिएर  
चिल्लो अनि निर्वस्त्र  भएको ढुङ्गा 

मलाई किन हो कुन्नि  
ढुङ्गा भएर नदीको किनारमा शताब्दीसम्म बाँच्दा पनि  
मलाई फेरि बन्न मन छ ढुङ्गै 
जन्मन पाए फेरि जन्मन मन छ भएर ढुङ्गै 
तर नदीको किनारमा 
नदीको पानीसँग होइन 

अहिलेको जस्तो पनि होइन 
मलाई पहिलाकै बन्न मन छ ढुङ्गा 
पहाडका अघिल्ला पाइलामा 
ढुङ्गासँग ढुङ्गो जोडिएर 
अनि अलिकति माटोसँग झगडा परिरहने 
अजीवको प्रेम गरेर ।

म अहिले कति साह्रो चिल्लो 
अनि कति नरम
जता  छामे पनि  
चिल्लैचिल्लो नरमै नरम
पाउँदिन म मेरो कुनै स्वरूप अनि संरचना
फगत चिल्लो र नरम 
देखिँदा लाग्दो हो कति रूपवान  
आँखाहरूलाई 
म अस्तित्वबिना ढुङ्गालाई 

म त कस्तो गोलो 
भकुन्डा जस्तो 
थाहा छ मलाई म पहिलाको  
पहाडको अघिल्लातिरको ढुङ्गा होइन
सुर नमिलेको 
छान्दा पनि  खस्रो स्पर्श दिने

मलाई पहिलाको जस्तै हुन मन छ 
रूखहरूको जराहरूसँग अँगालो हालेर बस्न मन छ
तिखा– तिखा 
अनि चेप्टो चेप्टो 
शिरतिर फुकेको 
बीचतिर सुकेको 
पुच्छरतिर पनि फुकेको 
ठ्याक्कै पहिलाको जस्तै भई 
यो त ढुङ्गा हो भनी सम्झन मिल्ने गरी 

मलाई कुटिल राजनीतिको डोजर लगाई 
धर्मको अफिम प्रयोग गरी 
मेरो अस्तित्व ध्वस्त बनायौँ 
मलाई पहाडको शिखरबाट लड़ायौ 
म गुल्टिएँ नदीतिर 
आफ्नो अस्तित्व मेटाउदै मेटाउँदै
म नदीको बीचमा बजारिएँ
झ्याम्म आवाज आफैले सुनिने गरी  
तिमीले सुर नमिलेको भनी संज्ञा दिने  

मेरा संरचनाहरूलाई हातखुट्टाहरूको निशाना सम्झेको थिएँ 
तर ती सब निकम्मा भइसकेका थिए 
तुरुक्क शीतको थोपा चुहाई
मैले सयौँ शताब्दी अगाडि छोडेर आएको थिएँ ।
हो आज म निकुम्ब छु 
अस्तित्वविहीन छु  
पहिचानविहीन छु 
म तिम्रा लागि ढुङ्गा नै हुँ 
तर
एउटा अस्तित्वको खोजीमा छु ।

-हाल: जापान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप