शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हाइड्रो एक्सपो शुरु : जलविद्युत्मा लगानी बढाउन राष्ट्रपतिको आग्रह (फोटोफिचर)

शुक्रबार, २१ पुस २०७४, १५ : २१
शुक्रबार, २१ पुस २०७४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिको आधार जलविद्युत् क्षेत्र भएकाले यसमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेकी छिन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्पो २०१८’ को आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत् उत्पादन गर्ने मुलुक भएर पनि नेपाल पछाडि पर्नाका कारण खोजी गर्दै लगानी बढाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराइन्। 

ऊर्जा क्षेत्रको विकासबाट मात्रै मुलुकको समग्र आर्थिक क्षेत्रको विकास हुने भएकाले नयाँ प्रविधिको अन्वेषण गर्न, लगानी बढाउन र नीतिगत रुपमा कमीकमजोरी रहेको भए त्यसलाई सुधार गरेर जानसमेत राष्ट्रपति भण्डारीले अनुरोध गरिन् । 

अपार जलस्रोतको सदुपयोग गर्नु हामी सबैको दायित्व रहेकामा जोड दिँदै राष्ट्रपति भण्डारीले भनिन्, “ठूलो सम्भावना बोकेको यो क्षेत्रलाई प्रविधि, विधि र कार्यक्रममा समेटेर अगाडि बढाउनु पर्दछ । सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्दछ ।” 

परम्परागत ऊर्जाको स्रोतमा कमी हुँदै आएको र महँगो समेत पर्ने भएकाले हरित ऊर्जाको उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपतिको कथन थियो । विद्युत् आयात गर्ने प्रवृत्तिको अन्त्य गरेर आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले भरपर्दो ऊर्जाको आपूर्ति, प्रयोग तथा व्यवस्थापन गरेर मुलुकलाई सबल तथा सक्षम बनाउन लाग्नुपर्नेमा जोड दिइन् । 

फरक एक प्रसंगमा राष्ट्रपति भण्डारीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान कार्यान्वयन भएर राजनीतिक स्थिरताको चरणमा मुलुक अगाडि बढेकाले आर्थिक समृद्धिको मार्ग प्रशस्त भएको उल्लेख गरिन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सन् २०३० सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऊर्जा क्षेत्रको विकास नै महत्वपूर्ण शर्त भएको बताए । 

व्यापार घाटा कम गर्ने उपयुक्त माध्यम र विधि भनेकै ऊर्जा क्षेत्र भएकाले यसमा लगानी बढाउन, प्रविधिको खोजी गर्न निजी क्षेत्र लागिपर्ने उनको जोड थियो । 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले अब बन्ने सरकारले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै ऊर्जा क्षेत्रको विकासमा लागि पर्ने विश्वास व्यक्त गरे । 

आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा क्षेत्रको विकासका लागि नीति निर्माता, प्रविधिको हस्तान्तरण, लगानीका स्रोतको पहिचान तथा लगानीमैत्री वातावरणका लागि अवसर जुटाउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । 

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा चीन, भारत, ब्राजिल, स्विडेन, इटली, दक्षिण कोरिया, नर्वेलगायतका मुलुकमा उत्पादन भएका जलविद्युत् क्षेत्रका नवीनतम प्रविधि तथा उपकरण राखिएका छन् । प्रदर्शनीमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको आयोजक संस्थाले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप