शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईसँग लगानीका लागि पैसा छ, १३ जलविद्युत् कम्पनीको साधारण सेयर आउँदै (सूची)

शुक्रबार, २१ पुस २०७४, १२ : ०४
शुक्रबार, २१ पुस २०७४

काठमाडौ । तपाईसँग पैसा छ भने लगानीका लागि अन्यत्र भौतारिनु पर्दैन । विभिन्न १३ वटा जलविद्युत् कम्पनीले साधारण सेयर(आइपिओ) जारी गर्ने अन्तिम तयारीमा रहेका छन् ।

ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि धितोपत्र बजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा ती कम्पनीको साधारण सेयर जारी गर्नका लागि अनुमति दिने प्रक्रिया समेत सुरु भइसकेको छ ।

बोर्डले बिहिबार मात्रै रु एक अर्ब ६४ करोड बराबरको सिमित आइपिओ निष्काशनका लागि रसुवागढी हाइड्रो पावर कम्पनीलाई स्वीकृति दिइसकेको छ । साधारण सेयर जारी गर्ने तयारीमा रहेका जलविद्युत् कम्पनीहरुले स्थानीय प्रभावित क्षेत्रका बासिन्दा तथा आम सर्वसाधारणका लागि धमाधम साधारण सेयर जारी गरिरहेका छन् ।

१.सान्जेन जलविद्युत कम्पनीः

चिलिमे जलविद्युत् कम्पनीको सहयाक कम्पनी सान्जेन जलविद्युत् कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई मंसिर २६ गते धितोपत्र बोर्डले स्विकृति दिएको हो । कम्पनीलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए ।

उनका अनुसार साञ्जेनले रु ८७ करोड ६० लाख बराबरको रु एकसय अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्नेछ । यो आईपीओमा आम सर्वसाधारणले भने लगानी गर्न पाउने छैनन् । बोर्डका अनुसार पहिलो चरणमा निष्कासन हुने यो आइपीओमा कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउनेछन् ।

सान्जेनको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषलाई नियुक्ति गरेको छ भने सह–निष्कासशन तथा बिक्री प्रबन्धकमा एन.सी.एम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।

२. पञ्चकन्या माई हाइड्रोपावरः

यस कम्पनीले इलामबासीलाई शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर बिक्री गर्ने अनुमति पाएको हो । रु एक सय मूल्यको रु ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको हो । सो कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटल रहेका छन् ।


३ .जोशी हाइड्रोपावरः

यस कम्पनी अन्तर्गतको १४.९ मेगावाटको हेवा खोला ए हाइड्रोपावर आयोजनाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्ताको लागि सो मात्राको सेयर निष्कासन गर्न लागेको हो ।पाँचथर पावर कम्पनीले निर्माण गर्न लागेको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको शेयर विक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल नियुक्त गरेको छ ।

४.लुघिङ बुद्ध पावर नेपाल लिमिटेडः

यस कम्पनीले आयोजना प्रभावित जनताका लागि रु नौ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ । यस कम्पनीको शेयर विक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटलाई नियुक्ति गरेको छ ।

५.युनियन हाइड्रोपावर लिमिटेडः

यस हाइड्रोपावरले सर्वसाधारणलाई रु २५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । लमजुङको फिदिम खोलामा ३.३ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले रु सय अंकित मूल्यमा रु २५ करोड बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

६. सिइडिबी हाइड्रो फण्डः

यस कम्पनीले १७ लाख ६१ हजार कित्तासाधारण सेयर निष्काशन गर्न लागेको छ । बिक्री प्रबन्धकका रुपमा एनसिएम मर्चेन्ट बैंकिङलाई तोकेको छ । कम्पनीले साधारण सेयर निस्कासन गर्न लागेको हो । नेपालमा जलविद्युत आयोजनाको प्रवद्र्धन र विकास गर्न क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा २०६६ मंसिर १५ गते सिइडिबी हाइड्रो फण्ड स्थापना गरिएको हो । विभिन्न जलविद्युत आयोजनामा लगानी तथा निर्माण गर्ने लक्ष्यका साथ कम्पनी स्थापना गरिएको हो ।

७. कालिका पावर कम्पनीः

यस कम्पनीको रू. सयका दरले १८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो, जसमा ६ लाख कित्ता स्थानीयका लागि र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । आइपिओ निष्काशनको लागि यस कम्पनीले २०७४ असार २८ गते धितोपत्र वोेर्डमा आवेदन दिएको छ । यसको विक्री प्रबन्धनका काठमाडौँ क्यापिटल र ग्लोबल आईउम्इ क्यापिटल लिमिटेड रहेका छन् ।

८.युनिक हाइडेल कम्पनीः

यस कम्पनीले रु पाँच करोड ५५ लाख बराबरको ५५ लाख कित्ता बराबरको आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटललाई नियुक्ति गरेको छ ।

 ९. मैलुङ खोला जलविद्युत कम्पनीः

कम्पनीले सर्वसाधारणका लागि रु एक सय अंकित मूल्यमा रु सात करोड ३६ लाख २६ हजार ६०० को सात लाख ३६ हजार २८६ कित्ता शेयर जारी गर्न लागेको हो । पहिलो चरणमा रसुवाबासीका लागि साधारण सेयर जारी गर्ने तयारी गरेको कम्पनीले आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि रु तीन करोड ६८ लाख १४ हजार चार सय ३ लाख ६८ हजार १४३ कित्ता शेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

१० . माउण्टेन हाइड्रो नेपालः

यस कम्पनीले रू. १२ करोड ५० लाख बराबरको १२ लाख ५० हजार कित्ता आइपिओ बिक्रीका लागि निवेदन दिएको छ ।

११. रैराङ हाइड्रोपावरः

यस कम्पनीले रु ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावित स्थानीयबासीलाई पाँच लाख ६० हजार कित्ता साधारण शेयर दिने तयारी गरेको कम्पनीले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

१२. घलेम्दी हाइड्रो लिमिटेडः

यस कम्पनीले स्थानीयबासीका लागि रु ५ करोड ५० लाख बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ । आम सर्वसाधारणका लागि करिब रु ११ करोड बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

म्याग्दीको नारच्याङ–१ मा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

१३.शुभम पावर कम्पनीः

यस कम्पनीले ६ लाख कित्ता आईपिओ निष्काशन गर्ने जनाएको छ । आयोजना प्रभावितका लागि २ लाख कित्ता र बाँकी ४ लाख कित्ता सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर निष्काशन गने तयारी थालेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप