योगेश भट्टराई र नेतृत्वगत औकात विमर्श

person access_timeपुस २०, २०७४ chat_bubble_outline0

एमाले नेताहरू सबै हिसाबले कुशल, सक्षम र प्रभावकारी हुन् भनेर बारबार तिनका कमजोरीमा आधारित लेख यस लेखकले लेखिरहेको छ । यसपालि एमाले सचिव योगेश भट्टराई लेखको प्रतिनिधि पात्र बनेका छन् । यसो हुनुका पछाडि भर्खरै उनले प्रचण्ड र ओलीलाई राजनीतिबाट सन्न्यास लिन दिएको  अर्ती रहेको छ ।

त्यति मात्र होइन उनका विगतका कमजोरी पनि अहिले लेखनका क्रममा आउने नै छन् ।  उनलाई प्रतिनिधि पात्र बनाएर नेता शङ्कर पोखरेलका विषयमा भन्दा पोखरेल  सबै हिसाबले कुशल, सक्षम र प्रभावशाली नेता हुन् । उनले एक वर्षअघि एमाले संस्कृति विभागमा प्रस्तुत गरेको सांस्कृतिक रूपान्तरण विषयको कार्यपत्र अत्यन्त गहन, गवेषणत्मक तथा वैचारिक रहेको थियो । 

त्यही कार्यक्रममा पूर्वजानकारी र आमन्त्रण हुँदाहुँदै पनि पार्टीमा सघन वैचारिक विमर्श हुँदैन भनी बारबार गुनासो गर्ने घनश्याम भुसाल भने बहाना बनाएर आएनन् । तर पोखरेलमा क्षमता हुँदाहुँदै पनि उनमा अन्तर्निहित अन्तर्मुखी स्वभाव टड्कारो कमजोरी देखिन्छ । आफ्नै टोल, छिमेकमा गुमनाम हुनु, सामान्य अनौपचारिक बोलीबचनमा पनि रोबर्टझैँ संवाद गर्नु पोखरेलका कमजोरी हुन् । पार्टी उपाध्यक्ष वामदेव गौतम आफ्नै कारण यसपालिको निर्वाचनमा हार व्यहोरेको स्पष्टै भएको छ । उनले सूर्य थापालाई विनाबित्थामा दोषारोपण गरे । वामदेवमा बेलबेला जबर्जस्त पार्टीभित्रै कठोर प्रतिपक्षी जस्तो भूमिका  देखापर्छ ।

यही सन्दर्भमा उनको हालै प्रकाशित कृतिमा जबज विषयमा विवादास्पद तथा भ्रमपूर्ण विचार प्रवाह गरेको अखबारमा आएको छ । यो गौतमको कृतघ्न चरित्रको उदाहरण हो । माओले पार्टी, सिद्धान्त र जनतामा अविश्वास गर्ने नेता हुनै सक्तैन भन्नुभएको छ । यही सन्दर्भमा जबज रक्षक तथा प्रखर लेखक दयालबहादुर शाहीले जबज विरोधी भुसालसित योगेश भट्टराईको तुलना गर्नै हुँदैनथ्यो । दयालले योगेशको निकट विगत गतिविधिबाट तर्सिएर र झस्किएर उनलाई आरोपित गरेको  हुनसक्छ । गौतमले राष्ट्रिय सभा गठन नभई सरकार बन्दैन भन्ने विवादास्पद अभिव्यक्ति बनेर दुनियाँ हँसाइरहेको देखिन्छ । उम्लिएपछि जेसुकै पोखिन्छ, जोसुकै थेच्चिन्छ ।  उहिले पुर्खाले नमात्तिनु भनेका थिए । मात्तिए पछि त पश्चिम बङ्गालको कम्युनिस्ट पार्टी पचासौँ वर्षपछि धकेलिएको  एमाले वा माओवादी केन्द्रलाई थाहा होस् । मात्तिएर मत्ता हात्ती भएपछि भड्खालोमा पर्नुबाहेक  अरू उपाय नै हुँदैन । 

चुनाव भनेको आम जनसमुदायसितको समुचित जनमैत्री सम्बन्धको कुरा हुन्छ । यस जनसमुदायभित्र एमालेजन मात्रै हुँदैनन् । अझ गोप्य मतदानमा सहभागी पार्टीका आम कार्यकर्ता पनि आफ्नै पार्टीको उम्मेदवार भए पनि त्यसलाई भोट दिउँदिउँ लाग्ने हुनु जरुरी हुन्छ । तर कतिपय एमाले उम्मेदवारहरू चुनावी मनोविज्ञान विपरीतका देखिए । ठसक्क, गजक्क, मसक्क परेका, मिजास विपरीतका  र आफूलाई ठालु ठान्ने  प्रवृत्तिका पनि देखिएका छन् । तिनमध्ये केहीले अहिले पनि चुनाव जिते तर यस्ता उम्मेदवारलाई भोलिका दिनमा यही चालले जित्ने अवस्था छैन ।  नेता राजन भट्टराई पनि मरमिजास विपरीतका कार्यशैलीका कारण चुनावमा पराजित हुन पुगेको यस लेखकको अनुभव छ । पार्टीका सचिव भीम आचार्य व्यक्तिगत व्यवहारका कारण कार्यकर्ता र जनतालाई आकर्षित गर्ने क्षमता राख्दैनन् । उनको नेतृत्वमा यस लेखकले पनि काम गरेको अनुभव छ । त्यस हिसाबले उनमा पनि केही राम्रा पक्ष पहिले थिए तर उनको स्वभाव भने अझै पनि जन विकर्षित गर्ने खालको देखिन्छ । 

प्रदेश नं. १ का १४ जिल्लामध्ये आचार्यकै गृहजिल्ला सुनसरी सबैभन्दा  कमजोर देखियो । अझ उनकै गृहनगरमा पार्टी पराजित भयो ।  यसमा सुनसरी इन्चार्ज चाहिँ चोखो हुन सक्तैनन् । पार्टी अध्यक्ष ओली आफ्नो गृह जिल्ला र गृह नगरमा समय दिएर लागिपर्दा परिणाम अत्यन्त सकारात्मक बन्यो तर त्यस खालको विशेषता अरू कसैले ग्रहण नगरेपछि र जहाँतहाँ ठाडो आदेश, निर्देश र हुकुम छाँटेपछि कसलाई भोट दिन मन लाग्ला ? जबजले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भनेको छ तर नेताको व्यवहार भने त्यसको बिलकुल विपरीत स्टालिन शैलीको हुन्छ । अनि कसरी पार्टी र नेतृत्वप्रति जनता आकर्षित  हुन्छन् ? अझ पार्टीको ठाडो कारवाहीमा परेका नेताले फेरि अवसर पाए भने यो पार्टी र यसले सञ्चालन गरेको सरकार निकम्मा हुनु स्वाभाविक देखिन्छ । जबज आदर्शको बेहाल मोरङ जिल्ला एमाले हेर्दा नै थाहा हुन्छ । मुखले ओली आदर्श मान्नेहरू त्यही  आदर्शविपरीत चरित्र र चिन्तनका छन् र देखिन्छन् । केवल देखावटी रूपमा ओली ढाँचाकाँचा, लोली र बोली देखिन्छ तर जब तिनसित व्यवहार गरिन्छ र तिनको अन्तरकुन्तर थाहा पाइन्छ ।

त्यस बेला कुनै पनि मानिस छाँगाबाट खसेझैँ हुन्छ । जबज र यस अनुसारको नेतृत्वले  पार्टीभित्रका फरक, भिन्न र राय बझाउनेहरूलाई पनि सकेसम्म  सही विचार व्यवहारबाट प्रभावित पार्ने र आकर्षित गर्ने सोच राख्छ तर ओली आदर्शका कतिपय नेता र कार्यकर्ता तदनुसार पटक्क परिचालित भएका छैनन् । यस खालको कार्यशैलीका कारण पनि तिनको गुप्त गुटगत गतिविधि छर्लङ्ग हुन थालेको छ । ओली आदर्श मान्नेहरूभित्र  नाता र स्वार्थका गुट, उपगुट हुनु दुर्भाग्य हो । मोरङ जिल्लाबाट प्रतिनिधि सभामा निक्कै झिनोमतले विजयी बनेका पूर्वप्रमुख सचेतक तथा एमाले नेता भानुभक्त ढकालले जबज अनुसारको कार्यशीलीका लागि निक्कै मिहेनत गर्नुपर्ने स्थानीय कार्यकर्ता र नेताको राय देखियो । मोरङ जिल्लाका सचिव, प्रभाविला पूर्वसभासद् पार्टीगत अन्तर्विरोध र उनकै अहंका कारण निर्वाचनमा पराजित भएको बताइन्छ । यस जिल्लामा विजयको मूल कारण वाम तालमेल रहेको देखिन्छ । यसै जिल्लाका प्रभावशाली नेता घनश्याम खतिवडाले बल्ल पार्टी र जनताबाट न्याय पाएका छन् तर २०३१ सालदेखि विद्यार्थी र युवा फाँटमा काम गर्दै निरन्तर क्रियाशील रहेका नेता बाबुराम कार्की उचित जिम्मेवारीविहीन एक प्रतिनिधि  विम्ब हुन् । ओलीले एक समय पार्टीमा काम पनि गर्नु अनि अपमान पनि सहनु किमार्थ जाति होइन भनेका थिए ।

यस खालको चरित्र र चिन्तन कति एमाले नेतामा होला । पार्टी नेतृत्वको औकातको कुरा गर्दा ओली यस अवधिमा अतुलनीय तथा  शिखर व्यक्तित्व हुन् । उमेर हद पार नगरेका पार्टी महासचिव ईश्वर पोखरेल पहिलो पुस्ताका भएमध्येका अब्बल व्यक्तित्व नेतृत्व हुन् । भीम रावल अत्यन्त प्रभाविला तेजधारका नेता हुन् ।

प्रदीप ज्ञवाली एमाले पार्टीका पठन, लेखन र चिन्तन संस्कृतिका बहुआयामिक  सबैभन्दा अग्ला र अब्बल नेतृत्वका औकात हुन् ।  यहाँ विचारलाई अचार र अचारलाई विचार बनाउनेहरूको बिगिबिगी छ, जुन गोरुको सिङ छैन, उसैको नाम तिखे हुन्छ ।

नत्र ज्ञवाली जतिको बहुआयामिक प्रतिभा, क्षमता र सिद्धान्त निष्ठ नेता पाउन गाह्रो छ । झन् अहिले आआफ्ना बन्द बेपार जस्ता सुसेधन्दा गर्दागर्दै प्रदेश सभा सदस्य बनेका कतिपयको पदीय औकात वृद्धि गर्न बेलैमा ध्यान नदिने हो भने भोलि सरमको भारी हुनसक्ने देखिन्छ । अब योगेश भट्टराईले ओलीलाई पार्टी राजनीतिबाट सन्न्यास लिन दिएको सुझाव कुनै अचम्मको कुरा नै होइन ।

ओली आफैँ जनता, जनजीविको व्यवस्थापनलाई सर्वोपरि प्राथमिकता दिने राजनेता हुन् । उनले आफैँले पनि यो कुरा बताएका हुन् । ओली काम न काज पदमा लिसोझैँ टाँस्सिएर बस्ने नेता होइनन् । यसो हुँदो हो त  उनले यतिका आँटिला काम गर्न सक्ने नै थिएनन् । 


ओली भातका लागि भन्दा भविष्यका लागि लागि पर्ने नेता हुन् । तर ओलीको यो चिन्ता, चासो र चस्को पूरा गर्ने अहिलेको अवस्थामा अरू कोही नेता यो धर्तीमा छ ? एमालेमा छ ? माओवादी केन्द्रमा छ ? यस लेखकको विचारमा अहिले नै छैन । किन पनि छैन भने अरू कोही कसैलाई पनि आम जनताले पत्याउन सकेको छैन र होइन । अब ओली प्रधानमन्त्री हुँदा उल्टो चीन र भारतका अध्यक्ष र प्रधानमन्त्री पहिले नेपालमा चाहिँ राजकीय भ्रमणमा आउने छन् । असम्भवलाई सम्भव गराउने  हुति, मति र गति ओलीमा मात्र देखियो । ओली आफूलाई थकाउनेहरूलाई गलाउने क्षमताका नेता हुन् । नवौँ महाधिवेशनमा ओलीको साथ दिएर ईश्वर पोखरेलले गरेको साथ र सहयोग सदा अविस्मरणीय, अुनकरणीय र आदर्शमय रहनेछ । ओलीको सन्न्यास प्रकरण बारे योगेशको जोणकोण नमिलेकै हो ।

उनका बोलीमा उनकै विगत प्रवृत्तिले पनि झस्काएको देखिन्छ । कहिले काहीँ नेतालाई विगतले धेरै दिनसम्म लखेट्छ, त्यसैले नेताले औकात हेरेर र बुझेर बोल्नुपर्छ । ओलीले नै पनि आफू नेता, पार्टी अध्यक्ष, सभासद्, मन्त्री वा प्रधानमन्त्री हुने बित्तिकै अरूभन्दा निक्कै ठूलो मान्छे भएँ भनेर मख्ख पर्नु हुँदैन भनेका थिए । उनले जिम्मेवारी मात्र ठूलो हो, त्यसैले प्राप्त जिम्मेवारी अनुसार बोल्ने र व्यवहार गर्ने गर्नुपर्छ भनेका थिए । जिम्मेवारी र दायित्व अनुसार व्यवहार नगर्दा कुनै पनि नेताले पदीय हैसियत गुमाउने खतरा हुन्छ । अहिले योगेश भट्टराईलाई त्यही भएको हो । उनको निकट विगत त्यति राम्रो छैन । अर्को प्रसङ्गमा पार्टी ओलीले कब्जा र नाकाबन्दीमा परेको बताए । अर्को पटक अहिलेसम्म हुँदै नभएको पार्टी बैठकमा योगेशले निर्णय पुस्तिकामा लिखित असहमति नै दर्ज गरे ।

यसरी बारबार कसकसको उचालमा परेर बडो मुस्किलले आर्जन गरेको यशलाई भुसालले झैँ  योगेशले आफैँ खसाल्दै गए । तथापि योगेशले विगत निर्वाचनमा पार्टी नेतृत्वलाई काँध हालेर नै लागिपरे तर व्यक्तित्व निर्माण गर्न निक्कै गाह्रो हुन्छ तर त्यसलाई त्यही रूपमा कायम राख्न खुब ख्याल गर्नुपर्छ तर यस कुरामा राम्रो ख्याल गर्न सकिएन भने त्यसलाई छिनभरमा गुमाउन पनि सकिन्छ । योगेशको हकमा भएको यही हो । 

यस खालको गतिविधिलाई माधव नेपालले किमार्थ कहिल्यै सहने थिएनन् तर ओली विगत कोट्याउने र दागा धर्ने, पुरानै इवी साँध्ने र खोटी व्यहार गर्ने तथा उहिल्यैदेखिका आगह पालेर गुत्थ परेर बस्नेभन्दा वर्तमानको विचार, व्यवहार र कार्यशैलीमा मात्र  विशेष ध्यान  केन्द्रित गरेर मुलुकको अग्रगमन गर्ने जबज अनुकूलको उदात्त चेत र चिन्तक हुनाले कसैले तर्सिन आवश्यक देखिन्न । तर सिद्धान्तप्रतिको विचलन र अपचलन भने ओली किमार्थ सहनै  छैनन् र सहनु पनि हुन्न । त्यसैले नेतृत्वले आफ्नो औकात कदापि बिर्सन हुँदैन । बरु औकातको उचाइ बढाउन मिहिनेत भने बारबार गर्नुपर्छ । मओले भनेझैँ जीवनभरि इमानदार हुनु चाहिँ महत्वपूर्ण कुरा हो ।   
   
 लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ