केन्द्रीय संस्करण

‘किड्नी फेल’ भएपछि गिद्ध लोपोन्मुख

person access_timeपुस १८, २०७४ chat_bubble_outline0

अन्टार्टिका र अस्ट्रेलियाबाहेक गिद्ध संसारभरि पाइन्छन् । सन् १९८० ताका नेपालमा १६ लाख गिद्ध रहेको अनुमान गरिएको थियो । त्यतिबेला लाखमा रहेका गिद्ध हजारमा झरिसकेका छन् । 

प्रकृतिका कुचिकार भनिने गिद्ध मांशाहारी भए उसले सिनोमात्रै खान्छ । ‘गिद्धले आफैं सिकार गर्दैन,’ गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले भने, ‘उसले सिनो खाएर प्रकृति स्वच्छ राख्छ । कुनै जनावर मरेपछि छिटोभन्दा छिटो खाएर वातावरण दुर्गन्धित बन्न दिँदैन ।’ 

गिद्धले कुशलतापूर्वक सिनो खपत गरेजस्तो अरूले गर्न सक्दैनन् । ‘गिद्ध भएनन् भने कुकुर, स्यालले पनि सिनो खान्छन्,’ गिद्ध संरक्षण कार्यक्रम अधिकृत भुसालले थपे, ‘तर, उनीहरूले धेरै दिन लगाएर खाने गर्छन् । त्यसो भएपछि दुर्गन्ध फैलन्छ । कुकुर र स्यालबीच सिनोमा लुछाचुँडी होला । दुर्गन्ध फैलिएपछि झिँगा भन्कन्छ । हैजा, रेविज आउँलगायत संक्रमण फैलन सक्छ । त्यस्तो हुन नदिन गिद्धको अहम् भूमिका रहेको छ ।’ 

हिन्दु धर्मावलम्बीले गिद्धलाई शनिको वाहनका रूपमा लिएका छन् । रावणले हरण गरेर लंका लैजाँदा सीता बचाउन जटायुले अन्तिम समयसम्म प्रयास गरेको रामायणमा उल्लेख छ । त्यतिमात्रै होइन, नेपालका विभिन्न समुदायका संस्कार, संस्कृति र धर्मसँग गिद्ध जोडिएका छन् । मनाङ, मुस्ताङ, डोल्पा, हुम्लालगायत उच्च हिमाली क्षेत्रका लामा समुदायमा जोकोहीको निधन हुँदा गिद्धलाई शव खुवाउने प्रचलन विद्यमान छ । सांस्कृतिक रूपमा त्यस्तो प्रचलन रहे पनि यसको वैज्ञानिक कारण पनि भेटिन्छ । ‘उच्च हिमाली जिल्लामा शव जलाउन दाउरा हुँदैन । भूक्षय भइरहने भएकाले शव राम्ररी गाडिँदैन,’ उनको तर्क छ, ‘बगाउन सम्भव छैन । त्यस्तो ठाउँमा दाहसंस्कार गर्ने उत्तम विकल्प भनेको शव गिद्धलाई खुवाउनु हो ।’ हिमाली क्षेत्रमा बसोवास गर्ने तिब्बतियन समुदायले गिद्धलाई मृतकको आत्मा स्वर्ग पुर्याउने दूतका रूपमा पुज्दै आएका छन् ।

सन् ८० को दशकमा संसारकै सबैभन्दा धेरै पाइने पाइने ठूलो चरा गिद्ध हुन् । संसारभरि २३ प्रजातिका गिद्ध पाइन्छन् । २३ प्रजातिका गिद्धलाई पुरानो विश्व र नयाँ विश्वको गिद्धका रूपमा वर्गीकरण गरिएका छन् । दक्षिण एसियालगायत नेपालमा पाइने ९ प्रजातिका गिद्ध पुरानो विश्वको गिद्ध हुन् । ९ मध्ये ६ प्रजातिका गिद्ध नेपालका रैथाने छन् । दुई प्रजातिका जाडोयाममा बसाइँ सराइक्रममा नेपाल आउने गरेका हुन् भने लामो ठुँडे गिद्ध भारत र पाकिस्तानका रैथाने भए पनि नेपालमा समेत देखिएका छन् । 

सबै गिद्धले सिनो खाने गरे पनि हाडफोर गिद्धले हाडमात्रै खान्छ । हाडफोरले अरू गिद्धले सिनो खाइसकेपछि रहेको हाड खाने गरेको हो । उसले हड्डी समातेर माथि लैजान्छ र पहरामा छाडिदिन्छ । माथिबाट छाडेको हड्टी टुक्राटुक्रा हुन्छ । हाडफोरले त्यही हड्डी र त्यसभित्रको बोनम्यारो खान्छ । उसले ३० सेन्टिमिटर लम्बाइको हड्डी निल्न सक्छ ।

‘सिनो पूर्ण रूपमा खपत गर्ने गिद्धको आ–आफ्नै तरिका छ,’ भुसालले सुनाए, ‘हिमाली र डंगर गिद्धले सिनो खान्छ । तर, राजगिद्धले सिनो खाँदैन । उसले अन्य गिद्धले थुतेको सिनो खोसेर खान्छ । अरू गिद्धले सिनो भएको ठाउँभन्दा बाहिर नलैजाओस् भनेर राजगिद्धले रखबारी गरेका हुन् भन्ने गरिन्छ ।’ सेतो गिद्धले सिनोका रूपमा रहेका स–साना टुक्रामात्रै खाने गर्छ । गिद्धले मरेको, सडेको सिनो खाए पनि पचाउन सक्ने ‘एसिडिटी’ उच्च हुन्छ । 

गिद्धले वर्षमा एकपटक एउटामात्रै अन्डा पार्छ । नेपालमा ८८० भन्दा बढी प्रजातिका चरा पाइन्छन् । उनीहरूले वसन्त ऋतुमा गुँड बनाए पनि गिद्धले जाडोयाममा गुँड बनाउँछ । अन्यका तुलनामा जाडोयाममा बूढाखाडा गाईबस्तु बढी मर्छन् । यो समयमा आहारा बढी पाइने भएकाले गिद्धले जाडोयाममा गुँड बनाउने गरेका हुन् । उसले ६–७ महिनासम्म अन्डा कोरल्छ । 

गिद्धले एकैपटक ३०० किमि आकाशीय दूरीमा उडान भर्न सक्छ । प्रजातिअनुसार गिद्धको वासस्थान फरक छ । हिमाली गिद्ध, सेतो गिद्ध र हाडफोर गिद्ध चट्टानी भीर, ओडार, गुफामा बस्छन् भने डंगर र सानो खैरो गिद्ध तराईमा बस्छन् । सुन गिद्धको वासस्थान मध्यपहाड हो । नेपाल पन्छी संरक्षण संघको अध्ययनअनुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरक–फरक रूखमा गुँड बनाएको पाइन्छ । जाडोमा बच्चा पार्ने भएकाले अग्लो र पात नभएको रूखमा गिद्ध बस्न रुचाउँछ । सहज रूपमा घाम लाग्ने र शत्रुबाट जोगिन गिद्धले ठूलै रूखमा वासस्थान बनाएका हुन्छन् । 

खाद्यशृंखलाको हिस्सेदारमध्ये एक गिद्ध ९० को दशकदेखि घट्दै गएका हुन् । नेपालमा पाइने हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, लामो ठुँडे गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध र सुन गिद्धमध्ये चार प्रजातिका गिद्ध अतिसंकटापन्न हुन् । डंगर गिद्ध (तराईका रैथाने), सानो खैरो गिद्ध (जसको संख्या ५० देखि ७५ मात्रै छ), सुन गिद्ध (५ सयका हाराहारीमा छन्) र लामो ठुँडे गिद्ध अतिसंकटापन्न अवस्थामा छन् । 

प्रजातिअनुसार गिद्धको संख्या फरक छ । डंगर गिद्ध २ हजार, हिमाली गिद्ध १० हजार, हाडफोर ५ सय र सानो खैरो गिद्ध ५० देखि ७५ को हाराहारीमा रहेको गिद्ध संरक्षण कार्यक्रम अधिकृत भुसालले जानकारी गराए ।

गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफेनेक विषादिलाई मानिएको छ । ९० को दशकपछि यो विषादि पशुचौपायलाई खुवाइएको थियो । डाइक्लोफेनेक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादि खाएका हुन्छन् । डाइक्लोफेनेकले गिद्धको मिर्गौला काम नलाग्ने बनाउँछ । ‘आठ प्रजातिका गिद्धले सामूहिक रूपमा खाने गर्छन् । डाइक्लोफेनेक प्रयोग भएको एउटै सिनो खाएका ३५० देखि ८०० गिद्ध एकैपटक मर्छन्,’ भुसालले यथार्थता जानकारी गराए, ‘तसर्थ लाखमा रहेका गिद्ध हजारमा झरे ।’ सरकारले संवत् २०६३ जेठ २३ देखि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक उत्पादन, आयात र प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । 

वासस्थान र आहारा कमीले पनि गिद्ध लोप हुँदै गएका हुन् । नेपालमा पनि सन् २००० देखि २०११ को अध्ययनले डंगर गिद्ध ९१ प्रतिशले घटेका छन् । 

गिद्ध संरक्षणका सालिन्दा सेप्टेम्बर पहिलो शनिवारदेखि साताव्यापी गिद्ध दिवस मनाउने गरिएको छ । गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट खोलिएका छन् । सन् २००९ बाट गिद्ध सुरक्षित क्षेत्र अवधारणा अघिसारिएका छ । उल्लिखित काम अघि सारिएपछि नेपालमा पछिल्लो समय गिद्धको संख्या स्थिर रहेको नेपाल पन्छी संरक्षक संघले जनाएको छ । संघले विभिन्न संघ–संस्थाको साझेदारी गिद्ध संरक्षण अभियान जारी राखेको छ । त्यतिमात्रै होइन, संसारमै पहिलोपटक कृत्रिम प्रजनन गराएर ६ गिद्ध उत्पादन गरिएका छन् ।  

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X