शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्यो मन्त्रिपरिषद् बैठकमा त कमल थापाले ताण्डव नृत्य देखाए नि ! (निलम्बित मन्त्री दिलनाथ गिरीको अन्तर्वार्ता)

सोमबार, १७ पुस २०७४, १६ : ११
सोमबार, १७ पुस २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री बनेका गिरीलाई राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको दबाबमा प्रधानमन्त्री देउवाले पदमुक्त गरेका थिए । बिहीबारको मन्त्रिपरिषद् बैठकमा सचिव परिवर्तनको विषयलाई लिएर मन्त्री गिरी र उपप्रधानमन्त्री थापाबीच बाझाबाझ भएको थियो । यहीँबाट सुरु भएको विवाद गिरीको पदमुक्तसम्म पुग्यो । आखिर थापा र गिरीबीच के–के विषयमा लडाइँ थियो ? अब के गर्छन् गिरी ? रातोपाटीको अनलाइन टिभी कार्यक्रम ‘वारपार’का लागि रोहित दाहालले गिरीसँग आइतबार बिहान गरेको कुराकानी ।

अरू दलहरूबीच निर्वाचनमा कसरी पराजित भइयो भन्ने छलफल छ । निर्वाचनमा धेरै सिट जित्दा त्यहाँ पदीय हिसाब किताब मिलाउन नसक्दा विवाद छ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चाहिँ नयाँ खालको विवाद देखियो, तपाईंं र पार्टी अध्यक्षबीच त्यो पनि मन्त्री परिषदको बैठकमा त्यहाँ भएको के थियो ?

मलाई यो सबै परिस्थितिलाई हेरेर टीकाटिप्पणी गर्दा कताकता आफैलाई आत्मग्लानि हुन्छ । किनभने मैले एउटा आदर्शका रूपमा स्वीकारेको मेरो अध्यक्ष तथा आदरणीय नेता, जसको बानीव्यहोरासँग म चिरपरिचित भए पनि धेरै उहाँका कमी कमजोरीलाई ढाक छोप गरो । लामो यात्रा ४८ वर्षदेखि हामी निरन्तर रूपमा सहकार्यमा अगाडि बढिरहेका छौँ । हाम्रो सहकार्य विद्यार्थी जीवनबाट सुरु भएको हो ।  धेरै ठूला आरोह अवरोह पार गर्दै, हामी यहाँसम्म आइपुगेका हौँ । यो बीचमा धेरै उत्तरचढाप पनि आए तर पनि मैले मुलुकको भोलिको भविष्य एउटा मान्यतामा विश्वास गरो ।  एउटा समृद्ध नेपालको कल्पना गरो ।

त्यो कल्पना गर्ने एउटा पात्रका रूपमा नेतृत्वदायी भूमिका खेलेर निष्कर्षमा पुग्नको लागि कमल थापानै उपयुक्त पात्र हुनुहुने छ । उहाँलाई नै प्रधानमन्त्री बनाउन मैले सम्पूर्ण आफ्ना कार्ययोजना केन्द्रित राखेर सहयोग गर्दै आएको हो । म उहाँको एउटा असल मित्र हो । असल मित्रभित्र भएका कमीकमजोरीलाई सुधार्नका लागि सुझाव दिन्छ र असल मार्गमा हिँड्नको निम्ति सहयोग गर्छ । तर म मित्रको रूपमा अध्यक्षको दोस्तीमा थिए । दोस्तले के गर्न भने कालोलाई सेतो भन भन्दा सेतो नै भन्ने, होइन हरियो थियो भन भन्दा हरियो नै भन्ने र भने ।

त्यस्तो प्रकारको चरित्र र संस्कार बोकेर हिँडेको म पात्र चाहिँ परिनँ । त्यसैले उहाँ र मबीच विद्यार्थी जीवनदेखि नै कतिपय कुरामा मतान्तर हुन्थ्यो । तर पनि हामी आपसमा बसेर समाधान गथ्यौँै र अहिलेको जुन परिस्थिति निर्माण भयो, त्यो निर्माण हुँदा मलाई आफैलाई आश्चार्य लाग्यो नै तर त्यो मन्त्रिपरिषदमा उपस्थित मन्त्रीज्यूहरूलाई पनि अनपेक्षित लाग्यो । उहाँको त्यो ताण्डव नृत्यको रूपमा देखिने एउटा दृश्य पार्टी अध्यक्षबाट देखियो, त्यसबाट सबै आतङ्कित भए ।

तपाईंंले कमल थापालाई चिन्न ४८ वर्ष लागेछ, होइन ?

होइन, मैले चिन्न त चिनेकै हो तर उहाँका कमीकमजोरीलाई म प्रष्टसँग सल्लाह दिने मान्छेमा हामी दुई जना थियौँ । एक जना म थिएँ भने अर्काे एकजना गम्भीर प्रधान हुनुहुन्थ्यो । उहाँ विति सक्नुभयो । अर्काे एक जना मित्र हुनुहुन्छ, निरञ्जन थापा । उहाँ  अहिले इजराइलमा राजदूत हुनुहुन्छ । उहाँ पनि प्रष्ट सल्लाह दिने व्यक्ति हो । तर उहाँहरूको विभिन्न कालखण्डमा अलिकति नजिक टाढा हुँदै गएको तर निरन्तर रूपमा साथ र सहयोग दिने मान्छे मै हुँ  । मेरो मिसन उहाँलाई प्रदान हुन्छ भन्ने हो । तर म मिसन बोकेर हिँडेको हुनाले उहाँको सानातिना समस्यालाई पनि ढाकछोप गर्दै आफैले  नथापाए जस्तो पनि गर्थें ।

अस्ति मन्त्रिपरिषदको बैठकमा जुन व्यवहार भयो, त्यसपछि तपाईंंलाई ४८ वर्षसम्मको जुन सहकार्य थियो, त्यो बेकार गरोछु भन्ने भयो होइन ?

यो विषयलाई खोतल्ने पक्षमा म थिइनँ । उहाँलाई ढाकछोप गरेर हिँडेको मैले बताइहालो । म उहाँलाई अप्ठ्यारो पर्ने, उहाँको व्यक्तित्वमा असर पर्ने काम गर्दिनँ र गर्ने पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि रहन्नँ ।

तर ४८ वर्षदेखि कमल थापाजीका हरेक कमिकमजोरी जसरी ढाकछोप गर्नुभयो, गर्दै आउनुभयो, अब अहिले तपाईंं नसक्ने अवस्थामा पुग्नुभो भन्ने सुनिन्छ, त्यस्ता ४८ वर्षसम्मको सहयात्रा टुट्ने गरी मन्त्रिपरिषदमा भएको चाहिँ त्यस्तो के थियो ?

वास्तममा यो तपाईंले महत्वपूर्ण कुरा उठाउनु भएको छ । यो धेरै मिडियाको पनि जिज्ञासा थियो, मैले सबैलाई यो कुराको बारेमा विस्तृत रूपमा जानकारी गराइसकेको हुँदा यसलाई किन धेरै खोतल्नुभन्ने मेरो धारणा हो । यसमा  वास्तवमा के भएको थियो भने जुन घटना मन्त्रिरिषदमा भयो त्यो देखेर म चकित भएँ ।

बाहिर सुनेअनुसार तपाईंले आफ्नो मन्त्रालयको सचिवलाई परिवर्तन गर्न खोज्नुभयो । त्यो कुरा तपाईंको पार्टी अध्यक्षलाई जानकारी थिएन् ? मेरो जानकारीविना तपाईंले किन आफ्नो मन्त्रालयको सचिव नियुक्त गर्नुभयो भन्ने अध्यक्षको तपाईंलाई प्रश्न थियो होला नि ?

त्योभन्दा पनि अगाडि के भयो भने मैले कलमजीलाई घरमा गएर कमलजी अब यो एउटा जनादेश आइसकेको छ । त्यो जनादेशको कारणले गर्दा सचिवहरूमा नयाँ ढङ्गको तरङ्ग आएको  छ । त्यसले गर्दा काम गर्दा अलि असहज भयो  र सचिवहरूको सकारात्मक रूपमा सहयोग छैन । यस विषयमा कुरा गर्ने हो कि ? भनेर मैले अध्यक्षलाई आग्रह गरो । उहाँले मेरो कुरा सुन्न चाहानु भएन ।  त्यहीँबाट उहाँको स्वरूप परिवर्तन भयो । यति मात्रै भन्दा नै यहाँको रूप परिवर्तन भयो । ल ठीक छ उहाँले चाहानु भएन, यसमा ठूलो चोट पुग्यो । एउटा सचिवले गरेको कर्तुतबारे मैले मेरो अध्यक्षलाई जानकारी गराउँदा उहाँ आफैलाई असहज  मात्रै होइन उहाँको चेहेरा नै परिर्वन भयो । उहाँलाई मैले राखेको कुरा मन परेन भन्ने मैले बुझेँ भने । पछि ठीक छ तपाईंले दिएको जे निर्देशन हुन्छ, त्यसलाई पालना  गर्ने मेरो कर्तव्य हो र मैले जे देखेँ त्यो पनि मैले सुनाएँ, त्यो पनि मेरो कर्तव्य नै हो ।   

  लामो समयपछि क्याबिनेट बस्यो । त्यो क्याबिनेटको बैठक बस्दाखेरी म यो विषयमा कुरा उठाउने वालामा पनि थिइनँ । सचिव परिर्वतनको कुरा मेरो प्रस्ताव थिएन । सारा मन्त्रीहरूले मुख्य सचिव ज्यूलाई गुनासो गर्नुभयो ।

अहिले यो जनादेश आइसकेपछि मुख्य सचिवले सबै सचिवहरूलाई बोलाएर अब जनाआदेश आइसकेको छ । त्यसो हुँदा अब तपाईंहरूले मन्त्रीले भनेको आदेश पालना नगर्नु अहसयोग गर्नु भनेर निर्देशन भएको धेरै मन्त्रीज्यूहरूले मुख्य सचिवलाई आक्रामक ढङ्गबाट मन्त्रिपरिषदमा प्रस्तुत भए ।  त्यसपछि प्रधानमन्त्रीसँग धेरै मन्त्रीज्यूहरूले बोल्नका लागि समय माग गर्नुभएको थियो । सबैले बोलिसक्नुभयो मैले बोल्न बाँकी थियो । तर प्रधानमन्त्रीज्यूले मुख्य सचिवलाई यो के भएको हो भनेर जिज्ञासा राख्नुभयो ।  

यो सरकारले दिएको निर्देशनलाई अक्षरस पालना गर्नु मेरो कर्तव्य हो, मेरो धर्म हो र मेरो दायित्व पनि हो । दोस्रो कुरा मैले कुनै पनि सचिवलाई बोलाएर अहिलेको ताजा जनादेशको आधारलाई लिएर कुनै प्रकारको निर्देशन गरेको छैन । यो जुन किसिमको कुरा भन्नुभयो, यो सरासर गलत हो । यदि तपाईंहरूलाई कुनै पनि सचिवलाई मैले त्यस्तो कुराको निर्देशन दिएको हो भनेर भन्छ भने म कारवाही गर्छु, नाम दिनुस भन्नुभयो ।  । यस्तै उहाँले मन्त्रालयको सुप्रिम व्यक्तित्व मन्त्री हो र उनलाई सहयोग गर्नु सचिवको कर्तव्य हो । यदि त्यस्तो सचिवले मन्त्रीको आदेश पालना गर्न अस्वीकार गर्र्या भने त्यो मन्त्रीलाई सचिव हटाउन आदेश छ । आदेश दिनुस्, त्यो सचिवलाई म कारवाही गर्छु भनेर मुख्य सचिव प्रस्तुत हुनुभयो ।

 त्यसपछि उहाँलाई के भने भने सबै मन्त्रीज्यूहरूले आआफ्ना मन्त्रालयका गुनासो राख्नुभयो तर मन्त्रीज्यूहरूले राखेको जस्तै गुनासो मेरो मन्त्रालय पनि अछुतो रहन सकेन । मकहाँ  पनि सचिवको सहयोग छैन । त्यसो हुँदा मेरो मन्त्रालयको सचिवको दुई वर्षको कार्यकाल पूरा भइसकेको छ । उहाँ सरुवा हुने परिस्थितिमा हुनुहुन्छ ।  यदि सचिव परिवर्तन नै गर्ने उद्देश्य हो भने त्यो ठाउँ सहरी विकासको विषयमा पी.एचडी गरेको एउटा योग्य, दक्ष पात्र हुनुहुन्छ म कहाँ त्यो हो डाक्टर रमेश यदि उहाँलाई दिइयो भने सहरी विकासको क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण हुन्छ होला भनेर मैले सुझाव मात्रै दिएको हो । त्यसपछि मेरो अध्यक्ष उपप्रधानमन्त्री समेत हुनुहुन्छ, मलाई चाहिँ अमर्यादित ढङ्गबाट, अशिष्ट ढङ्गबाट, अप्रजातान्त्रिक ढङ्गबाट तपाईंले मलाई नसोधी किन यो प्रस्ताव ल्याउनुभयो ? र तपाईंलाई सचिवसँग मिलेर काम गर्ने इच्छा छैन भने राजीनामा ल्याउनुस् म अहिले स्वीकृत गरिदिन्छु । यो ढङ्गको एउटा रूप धारण गर्नुभयो । मन्त्रिपरिषदको बैठकमा सबै चकित भएका थिए ।

यति मर्यादित तथा नेपालको उच्च स्तरको बैठक भइरहेको छ । त्यो बैठकमा उहाँको स्वरूप, उहाँको व्यवहार, उहाँको प्रस्तुति देख्दाखेरी सबै अचम्मित भए फेरि आफ्नै पार्टीको मन्त्री ४८ वर्षको सहयात्रा । किन उहाँलाई त्यो सचिवको नाम लिने वित्तिकै त्यस्तो रूप धारण गरेको ? यसको पछाडि के होला  भनेर सबैले अनुमान गर्छन् । ४८ वर्षसम्म सहयात्र गरेको एउटा अभिन्न मित्र, जसलाई त्यति मात्रै भन्दा त्याग गर्नुपर्ने अवस्था आएको दीपेन्द्र शर्माले के त्यस्तो खुवाउनुभएछ, जसले चाहिँ उहाँ उसको विरुद्धको कुरै सुन्न नसक्ने अवस्थामा त्यहाँ देखियो ।

तर दीपेन्द्र शर्मा राम्रो सचिवका रूपमा मानिएको सचिव बुझिएको थियो ? त्यसकारण तपाईंलाई गलत मान्छेलाई ल्याएर असल मान्छेलाई हटाउन लाग्नुभयो भन्ने विचार थियो कि उहाँको ?

असल भन्नाले रूपमा, खानपानमा हो कि के मा ? असल भन्ने व्यवहार त उहाँको एउटा मन्त्रीलाई असहयोग गर्ने र विभिन्न  अवैध चलखेल द्वारिका होटलमा गर्ने । त्यो कुरा बाहिर आउँदा मन्त्री जिम्मेवार हुनुपर्ने ? ती विषयलाई एउटा अनुशासनको दायरा भित्र ल्याउनुपर्याे भन्दा नमान्दा त्यो सचिव राम्रो हो कि नराम्रो हो । सचिवले त्योसम्मको हर्कत गर्न मिल्छ कि मिल्दैन् ?

तपाईंको पार्टी अध्यक्षले सचिव परिवर्तन गर्नुपर्छ भन्दा अरूको हुँदा मेरो पनि होस भनेर भन्नुभएको हो कि ?

अरूको जसरी सचिव परिर्वतन गरौँ भनेर भनेको होइन, मैले यदि परिवर्तन गर्ने नै हो भने मेरो सचिवको अवधि पुगेको छ । त्यो ठाउँमा त्यही योग्यता त्यो विषयमा पी.एच.डी गरेको मान्छेलाई राख्दा वेटर होला कि भन्नु सुझाव त हो नि । परिवर्त नै गनुृपर्छ भन्ने पनि त छैन् । मेरो प्रस्ताव पनि होइन ।

तर पार्टीगत हिसाबमा तपाईंलाई पार्टीले मन्त्री बनाएको अझ राप्रपाभन्दा त कमल थापा नै राप्रपा हो । उहाँले मन्त्री बनाएको हुनाले उहाँसँग सल्लाह गरेर मन्त्री परिषदमा कुरा गर्नुपर्ने थियो कि ?

पहिला उहाँको घरमा गएर सोध्दा उहाँको रूपै परिवर्तन भयो । मैले त केही पनि बुझिनँ । यो मान्छेले अध्यक्षज्यूलाई के बुटी खुवाइदिएको छ, जसको नाम लिने वितिकै रूप नै परिवर्तन हुने । तर मैले परिवर्तन गराउने उद्देश्य स्टप गरेँ । तर क्याबिनेटमा जुन छलफल भयो सबै मन्त्रीज्यूहरूले मेरो भन्दा कडा कडा कुरा उठाउनु भएको छ । मुख्य सचिवको निर्देशनबाट यस्तो भयो भनेर अभियोग लगाएका छन्, मुख्य सचिवलाई ।

कमल थापाले तपाईंको चैँ क्याबिनेटमा नै राजीनामा माग्नु भयो होइन ?

हो, राजीनामा माग्नु भयो । मैले उहाँलाई के भने भने राजीनामा दिनको निमित्त म तयार छु । मलाई कुनै अप्ठ्यारो छैन । मैले राजीनामा दिएर समस्या समाधान हुन्छ भने म रेडी छु तर मलाई राजीनामा माग्दै गर्दा तपाईंको नैतिकताले त्यो कुर्सीमा बसिरहन मिल्छ कि मिल्दैन ? अहिलेको जनआदेशमा के सोच्नुभएको छ, यो विषयमा भनेर यही प्रश्न गरेको थिएँ । प्रजातन्त्रमा त नैतिकता, इमान हुन्छ । प्रजातन्त्रमा त प्रतिबद्धता हुन्छ र त्यो प्रतिबद्धतालाई धरासायी बनाएर आफू सबैभन्दा सर्वश्रेष्ठ म सबैभन्दा असल हुँ भनेर भन्ने कुरा अरूले भन्ने कि आफूले आफैलाई भन्ने हो ? उहाँको त्यस दिनमा ताण्डव नृत्यको बारेमा अरू मन्त्रीलाई सोध्नुस न ।

अरूमन्त्रीहरू त भाग्नु पो पर्ने हो कि भन्ने त्यस्तो परिस्थितिमा रूप धारण गर्दा प्रधानमन्त्रीले यो विषयलाई डाइभर्ड गर्दिनुभयो ।

पञ्चयतकालकै कमल थापा देखिए कि क्या हो, त्यहाँ ?

 अहिले म यहाँ भन्न चाहान्न ४८ वर्षदेखि सहयात्रा गरेको मान्छे मेरो कमजोरी पनि उहाँलाई थाहा छ, उहाँको कमजोरी मलाई थाहा छ । तर म सबै कुरा आज भन्दिनँ । आवश्यकता पर्यो र भन्ने वातावारण निर्माण भयो भने फेरि अर्काे भेटमा गरौँला ।

कमल थापामा जे कुरा थिएन, त्यो कुरा तपाईंले खोज्नुभएर यस्तो भएको हो कि, नैतिकता, इमानदारीता, आर्थिक ती कुराहरू तपाईंले खोजेर हो कि ?

मैले क्याबिनेटमा जे भनेको कुरा त्यही हो । त्योभन्दा अरू केही पनि खोजेको छैन । जुन किसिमको अवैध ढङ्गको चलखेल सचिव मिलेर द्वारीका होटलमा हुनथाल्यो । त्यो विषयमा खबरदार हुने काम तपाईंहरूलाई गर्न म छुट दिन्न, यस्ता किसिमको काम तपाईं नगर्नुस भनेर मैले सङ्केत मात्रै गरेको थिएँ ।

तपाईंले बारम्बार द्वारिका होटलको कुरा गर्नुभयो, हामीले सुने अनुसार तपाईंको मन्त्रालयको सचिव चाहिँ तपाईंको पार्टीको कोषध्यक्ष र अर्काे कोही व्यक्तिसँग चाहिँ बढी हिमचिम थियो भन्ने सुनिन्थ्यो, हो ?

हो, त्यो विषयको रिपोर्ट मलाई पनि थियो । र सँगसँगै तपाईंको यो मिडिया रातोपाटीसँग म के विनम्रता आग्रह गर्न चाहान्छु भने त्योभन्दा केही समय अगाडि चुनावको दौडानमा म संखुवासभा जाने क्रममा विराटनगरमा थिएँ । विराटनगरमा भइरहँदा मलाई मोरङ र सुनसरी हेर्ने जिम्मा दिइएको थियो । त्यही क्रममा म विराटनगर एयरपोर्ट नजिकैको होटलमा बसेको थिएँ । त्यही ठाँट दुवै जिल्लाको अनुगमन गरिरहेको थिएँ ।  यो ९ गतेको कुरा हो ८ गतेको क्याबिनेटबाट एउटा निणर्य भयो । एउटा सचिव प्रमोसन भयो । त्यो थियो रमेश प्रसाद डीजी थियो । ऊ सचिव भएपछि डीजी खाली भयो । खाली भएपछि राज्यमन्त्री कुन्तिकुमारी शाहीले जानकारी गराउनुभयो– डीजीको पदपूर्ति तुरुन्तै गराउनुपर्ने भयो भनेर । तुरुन्तै काठमाडौँ आउनुपर्ने भयो भन्नुभयो । मैले सङ्खुवासभामा मतदान गरेर ११ गते फर्के पछि नियुक्ति गरौँला भने । त्योभन्दा अगाडि मेरो सम्भावना छैन् भने । त्यसलगतै सचिवको टेलिफोन गयो । ११ गते त म विदेश जाँदै छु, हजुर यो त आजै गर्नुपर्ने भयो भनेर भन्नुभयो । मैले त्यो सम्भव छैन, मैले राज्यमन्त्रीलाई भनेको छु । सहसचिवलाई निमित्त दिनुस् म आएपछि कसलाई गर्नुपर्छ म गर्दिउँला भनेर भने । त्यसको ५ देखि १० मिनेटपछि अध्यक्षको फोन आयो तुरुन्तै काठमाडौँ आउनुपर्ने भयो भन्नु्भयो । मैले सम्भव छैन भने । किन भने म भोट खसाल्न जानुपर्छ । प्लनेको टिकट पनि पाइँदैन, यो सम्भव पनि छैन । त्यसो भए डीजी खाली भएको छ । आज नियुक्ति गर्नुपर्याे भन्नु भयो । होइन, कसरी गर्नु म यहाँ छु । ठीक छ म सचिवलाई भनेर तपाईंलाई  फाइल त्यहीँ पठाइदिन्छु । सदर गर्नुस् भने ।

कसलाई गर्ने नियुक्तिभन्दा उहाँले एक जना व्यक्तिको नाम भन्नुभयो । अनि मैले त्यो व्यक्तिको बारेमा विचार गर्ने हो कि हजुर भने । उहाँले मैले तपाईंलाई भने नि त्यही सदर गर्नुस भन्नुभयो । मैले सदर गरेर पठाइदिए । यस्ता किसिमका कामहरू मैले बुझिनँ, के हो त्यसको पछाडिको रहस्य त्यो पनि मलाई थाहा छैन् । तर पछि मन्त्रालयमा  हल्ली खल्ली रहेछ । मन्त्रालयमा ठूलो चलखेल भयो भन्ने सुने । त्यो विषयमा मैले बुझेर काम गर्ने वातावरण नै भएन । कसले चलायो त मन्त्रालय । म आफू सहरी विकास मन्त्री छु तर मन्त्रालय कसले चलायो भन्ने बारेमा मनै अदृश्य छु । मभन्दा राज्यमन्त्री शक्तिशाली देखियो । त्यहाँदेखि मलाई हटाउने चाजोपाजो सुरु भएको बुझियो ।

सबै तपाईंले भन्नुभएको प्रकरण हेर्ने हो भने तपाईंको अध्यक्ष राज्यमन्त्री, सचिवसँग आर्थिक चलखेलमा थिए ? त्यस कारण त्यसमा तपाईंले असहयोग गर्नुभयो, लेनदेनमा तपाईं बाधक बन्नुभयो । त्यसपछि तपाईंलाई हटाउनु कुरा भयो ?

होइन बाधक पनि, उहाँहरूले केके हर्कत गर्नुभयो । त्यो विषयमा म मन्त्रालय आउँदा सुनेको चलखेल मात्रै हो । तर पनि त्यो भित्रै दबाएर राखेको थिएँ । यो कुरा पनि बाहिर प्रकट गर्ने वाला थिइन म तर अन्यायमा विनाकसुर विनागल्ती, उहाँले जुन ढङ्गबाट मैले अघि क्याबिनेटमा भनेको विषय म द्वन्द्वित हुने विषय होइन । त्यो विषयमा मलाई द्वन्द्वी त हुन्थ्यो भने क्याबिनेटका सबै मन्त्री द्वन्द्वित हुन्थे । मैलेभन्दा धेरै कडा कुराहरू राख्नुभएको छ मन्त्रीहरूले । एउटा देशको राज्य व्यवस्था सञ्चालन गर्ने त्यो बैठक थियो ।

 तर त्यो चाहिँ देखाउने दाँत मात्रै हो ।  घट्नाक्रम के भयो भने विभिन्न अदृश्य रूपमा खेलिने चलखेलमा सचिवले खेलीले जुन हर्कत भयो, त्यो भित्रको कुरा लुकाउनका लागि गरिएको हो । त्यहाँबाट मलाई मन्त्रालयबाट हटाएर कुनै व्यक्तिलाई सञ्चालन गर्न दिने यो नियोजित एउटा प्लान थियो ।

हामीले सुने अनुसार तपाईंको पार्टीको कोषाध्यक्ष उद्धप पौडेल र सिधासिधी सचिव,  कोषाध्यक्षसँग डिल हुने सुनिन्थ्यो ?

  मन्त्रालयमा होइन, द्वारीका होटल काण्ड त्यही हो । होटल प्रकरण भनेको यही नै हो त्यहाँ अरू बिचौलियाहरू पनि छन्, मलाई पनि सूचना छ । र मैले पनि सचिवलाई बोलाएर भने खबरदार यस किसिमको गैरकानुनी ढङ्गबाट नहिँड्नु होला भनेर वार्निङ पनि दिएको हो । यो कुराको रिर्पाेट हाम्रो अध्यक्षलाई गर्नुभएको कारण अध्यक्ष सचिवको कुरा आयो कि नाम नै सुन्न नचाहाने ।  पार्टीबाट फिर्ता गर्ने भनेर चिठ्ठी प्रधानमन्त्री कहाँ दर्ता भयो । त्यही दिन बेलुका मन्त्रालयका सचिवले विशिष्ठ व्यक्तिको लागि उत्सव कार्यक्रमको आयोजना गरेको थियो । दिलनाथ गिरीलाई बल्ल सिध्याइयो भन्ने उत्सव थियो त्यहाँ । भन्दाखेरी यो सबै कुराको के रहस्य रहेछ, त्यहाँ भन्ने त बुझ्नलाई त गाह्रो भएन नि ।

लगभग डोकाले छोपेको जस्तै गोप्य भयो होइन त ? तपाईंको पार्टीले तपाईंलाई हटाउने निर्देशन प्रधानमन्त्रीलाई दिइसकेको छ ? प्रधानमन्त्रीले केही भन्नुभएको छ ?

प्रधानमन्त्रीले म तपाईंसँग पछि यो विषयमा सल्लाह गर्छु भनेर भन्नुभएको छ । अब यो सरकारको आयु दिनगन्ती सुरु भएको छ । केही प्राविधिक कारणले मात्रै हो नत्र हामी अहिलेसम्म रहने स्थिति थिएन, किन भने जनादेश त आइसक्यो । अब त्यो जनादेशलाई च्यालेन्ज गर्ने कसैको तागत पनि छैन । अब यो प्रक्रिया पुर्याउनका लागि एकाध महिना लाग्न सक्छ । त्यो एकाध महिनामा हटाउनुको निमित प्रधानमन्त्रीलाई फिर्ता बोलाउने प्रावधान छ । हाम्रो पार्टी त राष्ट्रिय पार्टी पनि भएन र संसद पनि छैन । सबै विघटन भएको छ । भनेपछि कुन विधि र प्रक्रियाबाट प्रधानमन्त्रीले मलाई हटाउनु हुन्छ । कुन विधि र प्रक्रियाबाट मलाई हटाउनका लागि कमल थापाले सिफरिस गर्नुभयो ? त्यो कुरा मलाई जानकारी छैन ।

एउटा नैतिक दायित्व त हो नि आफ्नो पार्टीले फिर्ता आउनुस् भन्ने विषय त ?  तपाईंले राजीनामा दिइसक्नुपर्ने हो नि त ?

मैले राजीनामा दिइसकेको छ, स्वीकार गर्ने नगर्ने त प्रधानमन्त्रीको कुरा हो ।  कुनै पनि मन्त्रीलाई फिर्ता गर्नुपरेदेखि हाम्रो पार्टीको विधानमा के छ भने कार्यसम्पादन समितिमा छलफल गरेर, स्पष्टीकरण सोध्नुपर्छ । तर मलाई न जानकारी छ न त कसैले भनेको नै छ । त्यहाँ न छलफल नै भएको छ न बैठक नै राखेको छ । अध्यक्षले आफ्नो भजन मण्डलीहरू राखेर १३ शब्दको पत्र प्रधानमन्त्रीलाई पठाइएको छ । एउटा मन्त्रीलाई पार्टीलाई कारवाही गर्दा सुसूचित हुने अवसर पाउनु पर्दैन ?

१३ शब्दको प्रधानमन्त्रीलाई पठाएको पत्र विधान संवत छैन भन्न खोज्नु भएको हो ?

विधान संवत छैन तर पनि म यो मन्त्री पदमा टाँसिएर बस्न पक्षमा छैन म । किनभने मप्रतिको उहाँको जुन अविश्वास बढेर गयो र उहाँको उद्देश्य  र मेरो उद्देश्य फरक पर्याे । त्यस कारण म मन्त्रीपदनमा बस्नु जरुरी छैन । मैले बुझेको कमल थापा के हो भने आवेशमा आएर निर्णय गर्ने र त्यसपछि पछुताउने  व्यक्ति हो । आज मात्रै होइन हिजो पनि जति मान्छेलाई निकाल्नु भयो डा. प्रकाश चन्द्र लोहनी,  पशुपति शमशेर लगायत ठूलो टिमलाई उहाँको विमती राख्ने सबैलाई निकाल्नुभयो । पद्मसुन्दर लावती जसले उहालाई सुरुमै सभापति बनाउनुभयो, उहाँलाई निकाल्नुभयो । केशवराज विष्टलाई निकाल्नुभयो । उहाँको विपक्षमा जो बोल्छन्, उसलाई निकाल्ने अध्यक्षको सिद्धान्त नै हो ।

हिजो ४८ वर्षसम्म कमल थापासँग बस्दा यो कुरा आएन, मन्त्रीबाट तपाईंलाई हटाउँदा यो कुरा आयोभन्दा आवेग र आरोप हो भनेर आउला नि ?

मैले अहिले आएर यो कुरा गर्दा गलत लागिरहेको छ । पहिला नै यो विषयमा मैले बोल्नुपथ्र्याे । त्यो मैले गरिनँ, त्यो मेरो गम्भीर त्रुटि हो । किनभने उहाँको निरङ्कुशता सोच, तानाशाही प्रवृत्तिले यो पार्टी गनतव्यमा पुग्दैन भन्ने मलाई लाग्थ्यो । तर उहालाई बाहेक अर्काेलाई ल्याउने विकल्प पनि थिएन हामीसँग । उहाँले म पनि अर्काे नेता बनाउनुपर्छ भनेर कहिले पनि सोच्नु भएन । यो विषयमा सुन्न पनि चाहानुहुन्न थियो । गल्ती नै भए पनि म यो कुरालाई ढाकछोप गर्दै हिँड्छु भनेर म हिँडे । आखिरी एक दिन लक्ष्मीप्रसाद देवकोटालाई सारै नराम्रो पीडा परेछ । नास्तिक हुनुहुन्थ्यो, कहिले पनि यो धर्मको विषयमा विश्वास गर्नुहुन्न थियो । तर उहाँले अन्तिम उताराद्र्धमा के भन्नु भयो भने “न भक्ति भो न ज्ञान भो, न भो विवेक, आखिर श्री कृष्ण रहेछ” यति भनेर स्वीकार गर्नुभयो । आज मलाई पनि त्यही भएको छ ।

वि.सं २०७० सालको निर्वाचनमा राप्रपाले जुन सिट प्राप्त गरेको थियो अहिले २०७४ मा हेर्दा पार्टी नै कोल्याप्स हुने अवस्था आयो, राष्ट्रिय पार्टी बन्न सकेन ? यो विषयमा पार्टीभित्र छलफल भयो कि भएन ?

यो विषयमा अहिलेसम्म पार्टीभित्र छलफल भएको छैन । २०६४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीसम्म नरहने गरी आएको परिणामको जिम्मा अध्यक्ष र हामी सबै नेतृत्वमा बस्ने व्यक्तिले लिनुपर्छ । म एउटा मन्त्री भएको नाताले यो सम्पूर्ण कुराको जिम्मेवारी म लिन्छु । प्रजातन्त्रतको मूल्य र मान्यतामा हामी आत्मसाथ गर्दै जाने हो भने आफ्नो एजेन्डा फेल हुँदा पार्टी अध्यक्षले राजीनामा दिने प्रचलन रहेको छ । अब कमल थापासँग वैकल्पिक प्रजातन्त्र साँचिकै स्थापित गर्ने नै मिसन लिएर हिँड्नु भएको हो भने अस्ति नै उहाँले राजीनामा दिइसक्नु पर्ने हो ।

निर्वाचनमा किन हार्र्या भन्ने पार्टीमा छलफल नभए पनि व्यक्तिगत चैँ के छ धारणा ?

३ वटा कारणबाट निर्वाचनमा हामी हारेका हाँै । पहिलो कुरा एजेन्डाप्रति हामी इमानदार भएनौँ । दोस्रो हिन्दुराष्ट्र संवैधानिक राजसंस्थाप्रतिको हाम्रो धारणा अत्यन्त कमजोर भयो । यो कुरामा मेरो अध्यक्षसँग जहिले पनि विमती रहन्थ्यो तर उहाँले राजासँग पनि विमती राखेर हिँड्ने र राजाले नै यो पार्टी फुटायो भन्न पनि पछि पर्नु भएन । उहाँको कारणले गर्दा संसदहरूले पनि छोड्नुपर्याे । पार्टी विभागज पनि भयो । त्यसपछि हिन्दु धर्मको नाममा कमल थापाले गाई पनि बेच्यो, धर्म पनि बेच्यो भन्ने प्रभाव जनतालाई पर्नथाल्यो । व्यक्तिगत स्वार्थमा डुब्यो भन्ने जुन कुरा थियो यस्तो व्यक्तिगत प्रभावलाई हामीले रोक्न सकेनौं ।

तेस्रो कुरा पार्टीलाई बृहत् एकता गरेर बलियो पार्टी बनाउनेमा हामी लागेका थियाँै । यो काम एक महिनासम्म पनि टिक्न नदिनु यो गम्भीर भूल थियो । सत्तामा फोहोरी खेलमा रमाउने प्रवृत्तिले गर्दा हामी नाङ्गै भयौँ । पहिलो चरणमा केपी शर्मा ओलीको नेतृत्वमा गएको सरकारले बहुत राम्रो काम गरेको थियो । त्यसपछि  प्रचण्डको नेतृत्वमा जानु गम्भीर भूल थियो । सत्ता लिप्सा देखियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा त्यो वार्ता टोलिमा म नै थिए । त्यो बेलामा कमल थापालाई सरकारमा लिन नसक्ने भनेको थिए । लिए पनि कमल थापाबाहेक अरू ४ जना मन्त्री ल्याउनु भनेको थिए । यो विषयमा मैले मानिनँ, त्यो समयामा मैले मानेको भए मलाई नै कारवाही हुन्थ्यो ।

पार्टीमा छलफल हुँदा ४ जना मन्त्री पठाउने तर कमल थापालाई होइन भनियो । त्यो विषयमा पशुपति शमशेरले पनि हुन्छ भन्नुभयो तर उहाँले मान्नु भएन । उपप्रधानमन्त्री उहाँ नभए सरकारमा हामी नजाने भन्ने अडान कायमै रह्यो ।

यसले गर्दा सरकारमा जाने कुरा बन्द भयो पशुपतिजीहरू जानुभयो । चुनाव मुखैमा आएपछि चुनाावमा एमालेसँग सहकार्य गरेर जाने कुरा भयो ।  मैले एमालेसँग कुरा राखे कुरा राख्दा सुरुमा त उहाँहरू सकारात्मक हुनुहुन्थ्यो तर भित्रभित्रै एमालेसँग माओवादी सहकार्य गरेर जाने र पछि एकीकरण गर्ने भन्ने कुरा आयो । हामीसँग छलफल गरेपछि पहिला त एमालेले हामीलाई १० देखि ३० सिट दिन तयार थिए । पछि वामदेव गौतम, सुवास नेम्वाङ, विष्णु गौतम र मसमेत बसेर ल फाइनल गरौँ भन्दा ५ सिट दिने कुरा भयो ।

५ सिटमा हुन्छ भने गरौँ, हुन्न भने त्यहाँभन्दा माथि आकासै झरे पनि हुँदैन  भनेर वामदेव गौतमले भन्नुभयो ।  यही रिपोर्ट अध्यक्ष कमल थापालाई गरेँ । उहाँले त्यसो भए काङ्ग्रेसँग सहकार्य कुरा राख्नु भयो ।  

अब काङ्ग्रेससँग कुरा गर्दा समस्या चैँ के थियो भने प्राविधिक रूपमा यदि हामी काङ्ग्रेसलाई सपोर्ट नगरेको अवस्थामा माओवादीले सरकार छोडी सकेको थियो । त्यो समयमा माओवादीले काङ्ग्रेसलाई दिएको विश्वास फिर्ता गरेको पनि छैन र राजीनामा पनि दिएको छैन । तर माओवादी र एमालेको एकता भइसकेको थियो । एमाले र माओवादीले मात्रै बहुमत नपुग्ने स्थिति थियो । हाम्रो सहकार्य हुने हो भने माओवादी र एमालेमा बहुमत पुग्ने,  यता काङ्ग्रेसमा जोडिँदा पनि पुग्ने । अब यो स्थितिमा मैले काङ्ग्रेसलाई भने– ल के गर्नु हुन्छ भन्नुस्, हामीलाई एमालेतिर जाने बाटो प्रशस्त गर्नुहुन्छ भने तपाईं प्रधानमन्त्री बन्न पाउनु हुन्न, यदितपाईंलाई जोगाउनुपर्ने हो भने हामीले भनेको कुरा पनि त मान्नु पर्याे नि । यो कारणले गर्दा उहाँहरूले जे पनि दिन तयार हुनुभयो ।

वार्ताटोलीमा हाम्रोतर्फ बुद्धिमान तामाङ र काङ्ग्रेसबाट विमेलेन्द्र निधिबीच सम्झौता भयो । ३२ वटा प्रदेशमा दिने ७ वटा प्रतिनिधि सभामा दिने भनेर छलफल भयो । त्यो समयमा राप्रपालाई गृहसहित ४ वटा मन्त्रालय दिएको थियो ।

सरकारमा हामी जाँदा हाउस पनि विघटन भइसकेको थियो । त्यसपछि काङ्ग्रेसले तोकेअनुसार हामीलाई सिट नदिने भन्ने कुरा आयो । काङ्ग्रेससँग भन्दा त एमालले पहिला ५ सिट लिनु भन्दा नै मानेको भए सबै जितहुन्थ्यो ।

४८ वर्षदेखिको सहकर्मी मित्र कमल थापासँग तपाईं बस्नुहुन्छ कि बस्नुहुन्न ?

कमल थापासँग नबस्ने भन्दा पनि उहाँ सच्चिनुपर्छ भन्ने मेरो अभियान हो । निरङ्कुशता, तानाशाही र सामान्तवादी प्रविधिको सोच पार्टीमा चल्दैन । प्रजातानन्त्रिक मूल्य मान्यता, संस्कार हुनुपर्छ र हिँड्नुपर्छ उहाँ मेरो आजको पनि साथी हो ।

यो तपाईंले भन्नु भएको कुरा कलम थापाको शब्द कोष मा छ र ?

छैन भनेर सँगै हिँड्दा उहाँ पार्टीमा रहनुहुन्न होला ।

उहाँ चैं हट्नु हुन्छ ?

यस्तो परिस्थितिमा प्रजातन्त्रलाई लिएर हिँड्नु भएको भए जनताले भोट दिनुहुन्थ्यो होला नि त । जनताले यो कुराको मूल्याङ्कन गरिराखेकै होलान् ।

भनेको राप्रपाको अध्यक्षबाट अब कमल थापालाई हटाउने अभियानमा तपाईं लाग्नुहुन्छ ?

अभियान होइन, उहाँले नैतिक आधारबाट राजीनामा गर्नुपर्छ ।

नैतिकता भएन भने ?

भएन भने हाम्रो यो एजेन्डालाई स्थापित गर्नका लागि अहिलको नयाँ पार्टी विवेकशील, नयाँ शक्ति सबैसँग मिलेनर कसरी हिन्दू राष्ट्रको मान्यता र संवैधानिक राजसंस्थालाई कसरी स्थापित गर्ने भन्ने विषयमा हामी गम्भीर छलफल गर्छौं । यसलाई हामी एउटा मोर्चा बनाएर अगाडि बढ्ने र स्थापित गर्ने अभियानमा लाग्छौँ ।

त्यसो भए राप्रपा पार्टी छोड्नुहुन्छ तपाईं ?

राप्रपा नै नाम राखौँला अथवा के हुन्छ, त्यो मोर्चामा म कोसिस गर्छु राप्रपा नै नाम राखेर जाने ।

तपाईं मन्त्री हुँदा जुन विवाद आयो, पार्टीले नै मन्त्रीबाट राजीनामा दिनु भन्ने कुरा आयो । यो कस्तो खालको कर्मचारी छ, हाम्रो देशमा तपाईंले कस्तो अनुभव गर्नुभयो ?

अहिले हाम्रो संरचनामा कस्तो भयो भने सबै कर्मचारीतन्त्रमा राजनीतीकरण गरेका छौँ । कर्मचारीतन्त्र कर्मचारीलाई स्वतन्त्र राख्नुपर्छ र उसलाई कुनै राजनीतिक प्रभावबाट माथि उठ्नु पर्छ । कुनै पनि मन्त्रीले हटाउन सक्ने प्रवधान राख्नुहुन्न । यदि राजनीतिलाई प्रभावित पार्ने खालको कुनै पनि भूमिका खेल्यो भने त्यो कर्मचारीलाई अविलम्ब कारवाही गर्नुपर्छ । अनि मात्रै हामीले संवृद्ध राष्ट्र निर्माण गर्न सक्छौँ । कानुनमा जे कुरा लेखिएको भए पनि व्यवहारमा हामीले मान्नुपर्छ ।  

अहिले भ्रष्टचार मौलाउनुको कारण हरेक मन्त्रालयको योजनामा सेटिङ छ । त्यो सेटिङभन्दा बाहिरको मान्छेले प्रतिस्पर्धा गर्न नपाउँदो रहेछ । त्यो सेटिङमा अवैध चलखेल हुँदो रैछ । त्यसले गर्दा समयमा कुनै पनि योजनाको काम सफल नहुने  र भएको खण्डमा त्यो काम नलाग्ने पैसा जति सबै बाढिसकेको हुन्छ ।

यो कामको अन्त्य गर्ने हो भने कर्मचारीलाई पूर्ण रूपमा स्वतन्त्र राख्नुपर्छ । राजनीति भन्दा माथि राख्नुपर्छ । यो भएको खण्डमा कुनै पनि मन्त्रीले अवैध धन्दा गरेर राष्ट्रलाई हानी पुर्याउन सक्दैन ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरूले कर्मचारीको असहयोग भयो । कर्मचारी भ्रष्ट छन् कर्मचारीको कारण विग्रिएको हो भन्ने छन्, यो कुरा तपाईंले महसुस गर्नु भयो कि भएन ?

गरेको छु, यही राजनीतिक कारणले हो ।  दोष फेरि नेताले नै लिनुपर्ने हुन्छ । हामीले यो दोष लिनुपर्छ, हाम्रो कारणले यस्तो समस्या भएको हो । हरेक ठाउँमा भागबण्डा गरेर हाम्रो निहीत स्वार्थ परिपूर्ति गर्ने माध्यम हामीले बनायौँ । त्यो दुर्भाग्य हो भन्नुपर्ने हुन्छ ।

भनेको कर्मचारीहरू क्यापेबल छन् ?

सबै कर्मचारीहरू छैनन् । यो पनि भाग बण्डामा आएका कर्मचारी क्यापेबल हुँदैनन् ।

तपाईंले मन्त्री भएपछि के काम गर्नुभयो ?

मैले काम गर्ने मन्त्रालय भनेको प्राविधिक मन्त्रालय हो । विकास गर्ने मन्त्रालय, भवन, सडकदेखि स्मार्ट सिटी, मेगा सिटी, सेटलाइट सिटी, नयाँ सहरको विकास, बाहिरी चक्रपथ जस्ता धेरै महत्वपूर्ण योजनाहरू यो मन्त्रालयमा रहेका छन् । बाहिरी चक्रपथको विषयमा ७२ किलो मिटरको त्यो चक्रपथको हामीले कसरी कल्पना गरेका छौँ भने काठमाडौ वल्ड काठमाडौं हुन्छ ।  न्यू काठमाडौँको त्यो चक्रपथ हुन्छ ।

त्यहाँ सबै आधारभूत आवश्यकता परिपूर्ति गरिन्छ । यो काम अहिले सुरु गर्ने कुरा मैले गरे तर मलाई सचिवले रोक्नुभयो । यो काम आउने सरकारले गर्छ अहिले नगरौँ भन्नु भयो । तर मैले बाहिरी चक्रपथको विषयलाई जबरजस्ती क्याबिनेटमा पुर्याएको छु । त्यो क्याबिनेटमा लिएर जाने वित्तिकै मैले मेरो अध्यक्षलाई पनि भने नेपाली जनताको १६ वर्षदेखिको सपना छ, लगानी गर्न पनि दातृनिकायहरू तयार छन् भने यति राम्रो काम गर्ने अवसर हामीलाई आएको छ के गर्ने त भन्दा खेरी छोड्दिनुस भन्नुभयो । अन्य २० वटा नयाँ योजनाहरू मैले ल्याएको छु ।

यस्तै अर्काे राष्ट्रिय जनता आवास, दलितहरूलाई मात्रै यो योजना दिने तयारी छ । एउटा घर बनाएबापत दलित परिवारलाई ३ लाख ५० हजार दिने तयारीमा छौँ । यसका लागि १२ अरबभन्दा बढी बजेट छुट्याएको छ । प्रभावकारी रूपमा अगाडि बढाउनका लागि कार्यक्रम गरेको थिएँ तर काम हुन सकेन । छोटो समयको कारण मैले गरेको कामहरू पाइप लाइनमा मात्रै रहेका छन् ।

राम्रो गर्न नसके पनि नराम्रो पनि गर्नु भएन, होइन ?

मेरो चेतनाले भ्याएसम्म मैले कुनै पनि काम नराम्रो गरिनँ ।

अब कमल थापा र दिलनाथ गिरी एउटै पार्टीमा हुँदैनन् होइन ?

म त उहाँलाई साथ र सहयोग दिने पक्षमा नै हो । तर उहाँको के हुन्छ विचार उहाँमा भरपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप