केन्द्रीय संस्करण

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

person access_timeपुस १७, २०७४ chat_bubble_outline2

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु गर्न चाहन्छु । कथाले के भन्छ भने– एउटा अँध्यारो गुफाभित्र मानिसहरू बसेका छन् । त्यहाँ उज्यालोको कुनै सम्भावना छैन । 

प्लेटोको भनाइ अनुसार त्यस गुफामा मानिसहरू चेनले बाँधिएका छन् । मानिसहरूलाई त्यसरी नै बस्ने बाँनी भएपछि उनीहरूलाई उज्यालोसँग समेत डर लाग्छ । अनि गुफाभित्रको कुनै एक जना मान्छे कसैको उत्प्रेरणाले उज्यालोतिर अघि बढ्छ र उज्यालोमा पुग्छ । उज्यालोमा पुग्नु उसका लागि सहज थिएन । उसका आँखा तिर्मिराए । उसले राम्रोसँग प्रकृतिलाई हेर्न सकेन किनभने उसका आँखा अँध्यारोका लागि अभ्यस्त भइसकेका थिए । अनेक प्रयास गर्दै उसले आफूलाई उज्यालो हेर्न सक्ने बनायो । 

उज्यालो संसार हेरिसकेको मानिस गुफाका मानिसहरूलाई उज्यालोमा ल्याउन र स्वतन्त्र संसार देखाउन चाहन्थ्यो । जब ऊ गुफामा पुग्यो र त्यहाँका मासिसहरूलाई– हामीहरू अँध्यारो गुफामा बस्दा रहेछौँ, यो भनेको चेनले बाँधिएको अवस्था हो तर बाहिर उज्यालो र स्वतन्त्रता छ । भनेर भन्यो, त्यहाँका मानिसहरूले पत्याएनन् । जबकि त्यो उनीहरूकै बीचको मान्छे थियो । 

यो कथा मैले यहाँ किनभनेको भने म तपाईंहरूमा भोलिको समाज नेतृत्व गर्ने स्वरूप देखिरहेको छु । त्यो अवतार जुन तपाईंहरूको मुहारमा धप्धपी बलिरहेको म महशुस गर्दैछु, म चाहन्छु त्यस्तो सम्भावना बोकेको मान्छे आजै गुफाको प्राणी नहोस् । उसले उज्यालोको सपना देखोस् र स्वतन्त्रतापूर्वक समाजका अघिल्तिर आफ्ना अहम् सवालहरू खडा गरोस् । उसले नयाँ ढङ्गले सोचोस । नयाँ ढङ्गले बोलोस् र नयाँ ढङ्गले चिन्तन गरोस् । 

तपाईंहरूले ख्याल गर्नुभएको छ ? हामीले केही कार्यक्रम गर्नुपर्यो भने अधिकांश कार्यक्रम ढिला गरी सुरु गर्छौँ । वास्तवमा हामी संसारका अघिल्तिर निकै ढिला छौँ, त्यसैले कार्यक्रम पनि ढिला गरी सुरु गर्छौँ । हाम्रो समय ढिला छ । हाम्रो देश ढिला छ । हाम्रो परिस्थिति, हाम्रो अनुभव, हाम्रो ज्ञान ढिला छ । 

३५ वर्षको उमेर भएपछि बल्ल मैले थाहा पाएँ– हाम्रो देशमा चलेका चिन्तन, हाम्रो देशमा निर्माण भएका विचार, हाम्रो देशमा हुर्केको परिस्थिति र परिवेश । त्यस परिस्थितिमा हामी आफैले आफैलाई कसरी हेर्दछौँ । कसरी चिन्दछौँ । हामी आफ्नैबारे कसरी सोच्दछौँ । हामी कसरी हिँडिरहेका छौँ । हाम्रो चिन्तन गर्ने प्रणाली के थियो र त्यो चिन्तन गर्ने प्रणालीको मूल विचारधारा के थियो ? त्यसमै टेकेर म कसरी यो समाजमा आफ्नोतर्फबाट क्रान्तिकारी योगदान गर्न सक्छु भनेर लागि रहेको थिएँ । 

कहिलेकाहीँ हाम्रो इच्छा र स्प्रिट निकै राम्रो हुन्छ । तर समाजको गतिले तपाईंलाई १० वर्षपछि हिँडाइ रहेको हुन्छ भन्ने कुरा तपाईंलाई थाहा पाउन मात्र धेरै समय लाग्छ । अझ महत्वपूर्ण कुरा त के हो भने तपाईंले त्यो कुराको महशुस नगरेसम्म तपाईंलाई थाहासमेत हुन्न । जसरी उज्यालो र स्वतन्त्रताको भोग नगरेसम्म त्यसको विशेषता त्यसका कमीबारे तपाईंलाई थाहा हुँदैन । 

साथीहरूले मलाई इतिहासबारे बोल्न डाँक्नुभएको छ । मैले मेरो भर्खर प्रकाशित पुस्तक ‘माङ्गेना ः नेपाल मन्थन’मा यस कुरालाई निकै महत्वका साथ उठाएको छु । अरू थप केही विषयहरूलाई मैले त्यसमा समेट्ने प्रयास गरेको छु । तर ती सबै विषयहरूमा इतिहासको आँखाबाट हेर्ने प्रयास गरिएको छ । जस्तै त्यहाँ भएको– विकासको भाष्य, बौद्धिकता, मिडिया आदिबारे मैले इतिहासको आँखाबाट चल्दै गरेको बहसलाई ब्याख्या गरेको छु । 

साथीहरूलाई लाग्ला आजको दिनमा पनि इतिहासको तथ्याङ्क घोकेर को बसिरहला र ? तर म युवा साथीहरूलाई भन्न चाहन्छु इतिहास निकै महत्वपूर्ण विषय हो । तपाईंको आफ्नै इतिहास नविगारियोस भन्न पनि तपाईंले इतिहास पढ्नु र बुझ्नुपर्ने हुन्छ । तर दुःखको कुरा हाम्रो इतिहासको डिपार्टमेन्टमा जम्मा एक जना विद्यार्थी भर्ना भएको कुरा सुन्नमा आएको छ । यसले के देखाउँछ भने कम्तीमा हामीलाई कक्षा कोठामा बसेर पढ्ने इतिहासप्रति कुनै रुचि छैन । कक्षा कोठाले पैदा गर्न नसकेको हाम्रो रुचि बाहिर विस्तारित हुने कुरा पनि सजिलो छैन । 

जब तपाईंलाई इतिहासप्रति कुनै रुचि हुँदैन भने जुन कुनै दिन मेरो इतिहास के रहेछ भनेर तपाईंले जान्न खोज्दा त्यही इतिहास पिउनु पर्ने हुन्छ, जुन तपाईंलाई पिलाइन्छ । त्यही पिलाइएको इतिहास पढ्दै हुर्कंदै गर्दा त्यो आदतमा परिणत हुन्छ । यही इतिहासको राजनीति हो । इतिहासको राजनीति सीमान्तमा बसेकाले होइन, सत्तामा बसेकाले गर्ने हो । हाम्रो इतिहासको बारेमा यही भएको हो । 

म आफैले जब कि म जान्न उत्सुक थिएँ र पनि यी कुराहरू थाहा पाउन ३५ वर्ष खर्चनु पर्यो । मैले ३५ वर्षमा थाहा पाएको कुरा आजको युवाले २० वर्षमै थाहा पाओस् भन्ने चाहन्छु । मैले भर्खर लेखेको पुस्तक मलाई यही कुराले घोतलेर लेखेको हो । जो युवा समाजलाई अगाडि बढाउन आफ्नो भूमिका खोज्छ, त्यो युवा १० थरीका भ्रम जालमा नपरोस् भनेर यो पुस्तक लेखिएको हो । 

त्यसैले मेरो पुस्तक प्रश्न गर्न खोज्ने युवाहरूलाई हो । समाज निर्माणमा प्रश्नहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसैले प्रश्नमाथि प्रश्न गर्ने नयाँ अभियान चलाउनुपर्छ भनेर म हिजोआज त्यही उद्योगमा लागिरहेको छु । हिजोआजको मेरो उद्योग मानिसहरूलाई प्रश्न गर्न सिकाउने हो । इतिहासको बारे कुरा गर्दैगर्दा म तपाईंहरूलाई एउटा प्रसङ्ग उल्लेख गर्छु । 

एउटा कार्यक्रममा गएको बेला पृथ्वीनारायण शाहबारे प्रसङ्ग चल्यो । त्यहाँ साथीहरू बीच पृथ्वीनारायण शाहको महानताको कुरा भयो । अनि मैले त्यसमा प्रश्न उठाएँ । मैले साथीहरूसँग जान्न चाहेको के थियो भने, पृथ्वीनारायाण शाहलाई महान भनेर कसले भनेको हो र किन महान भनेको हो ? किनभने त्यो मेरा लागि चासोको विषय थियो । पुस्तक लेख्ने क्रममा म यी विषयहरूमा शोध गरिरहेको थिएँ । तर मैले कहीँ पनि उनी किन महान हुन् भनेर लेखेको भेट्टाइरहेको थिइन । पृथ्वीनारायण शाहले के भनेका हुन् र उनको त्यो भनाइ महान हो कि होइन ? त्यस विषयमा विभिन्न कोणबाट व्याख्या र मूल्याङ्कन हुनुपर्छ । तर हामीले पृथ्वीनारायण शाहको शालिकलाई टाउकोमा बोकेर हिँड्नुपर्ने किन ? शाहहरूको शालिकलाई हामीले टाउकोमा राख्ने हो कि म्युजियममा ?  

नयाँ पुस्ताका युवाहरू जसले यो देश अगाडि बढाउने हो, उनीहरू पृथ्वीनारायण शाहको शालिकलाई टाउकोमा बोकी हिँड्न अभिशप्त छैनन् । त्यसैले हामी शाहहरूको शालिक म्युजियममा देख्न चाहन्छौँ । बरु उनका बारेकामा हामीहरू पचासौँ किसिमका भाष्य, अध्ययन सामग्री, तथ्य तथा दृष्टिकोण हेर्न–पढ्न चाहन्छौँ । त्यसमाथि पुनर्विचार गर्न चाहन्छौँ । तर तिनको महानताको कुरा त्यसै चुपचाप स्विकार्ने पक्षमा छैनौँ भनेको मेरा एक जना मित्रले इतिहासमाथि प्रश्न उठाउने र इतिहास भत्काउने काम गर्नु हुँदैन भन्नुभयो । 

अब कुरा आउँछ इतिहास के हो ? के इतिहास साश्वत हुन्छ ? के इतिहास अमर, अकाट्य हो ? अथवा कसैले लेखिदिएको हो ? त्यति बेला के भएको थियो भन्ने तपाईं–हामीलाई ठ्याक्कै थाहा छ ? अथवा त्यसका बारेमा हामीले कतिवटा भाष्य, ब्याख्या पढेका छौँ । इएचकार जो इतिहासका सिद्धान्तकार हुन् अथवा रोमीला थापर जो भारतकी इतिहासकार हुन् उनीहरू दुवैले भन्ने एउटै कुरा छ । त्यो के भने– इतिहास भनेर जे लेखिन्छ त्यो भाष्य हो । 

अब प्रश्न उठ्छ भाष्य कसको दृष्टिकोणबाट लेखियो ? यो नै महत्वपूर्ण कुरा हो । त्यसकारण इतिहासका केही खास कुराहरू महान थिए अथवा के ? भन्नेबारे थप व्याख्या हुनुपर्छ । त्यसको व्याख्याका आधारमा, त्यसको तर्कका आधारमा, त्यसको प्रमाणका आधारमा हामीले हाम्रो धारणा बनाउनु पाउनु पर्छ । तर राज्यले आफ्नो सत्ता प्रयोग गरेर महानताको बोझ यो पुस्ताको मष्तिष्कमाथि शालिक बनाएर उभ्याउन पाउँदैन् । त्यसैले हामी शालिकहरू म्युजियममा देख्न चाहन्छाँै भनेको हो । 

मैले यही कुराभन्दा मानिसहरूलाई इतिहास भत्काएको जस्तो किन लाग्यो ? किनभने इतिहासको एउटा भाष्यलाई साश्वत इतिहास ठान्ने हामीमा चलन बस्यो । यही चलनले हामीलाई गुफाको मानिस बनायो, जो उज्यालोसँग डराउँछ र आफ्नो अँध्यारोपनलाई माया गर्छ । ऊ आफूलाई बाँध्ने सिक्रीलाई माया गर्छ । समाजमा यस्तो पनि हुने गर्छ । मानिसहरू अनेक अवस्थाबाट गुज्रेका छन् । उनीहरूका अनेकौँ इतिहास छन् । 

मान्छे त्यो प्राणी हो जसलाई तपाईंले त्यस्तै चेतना दिनु भयो भने आफ्नो बच्चालाई निमोनिया भएर मर्न लाग्यो भने पनि ऊ यो निमोनिया हो र डाक्टरकोमा लानु पर्छ भन्ने ठान्दैन । उसले आफ्नो बच्चा भूतप्रेतले गर्दा सिकिस्त भएको भन्ठान्छ र अन्तिम अवस्थासम्म पनि धामी खोजेर बस्छ । उसले आफ्नो बच्चालाई मार्न खोजेर धामी खोजेको होइन । तर उसको मष्तिष्कमा रहेको चेतनाले उसलाई अन्यत्र विश्वास गर्न नसकिने बनाई दिएको हुन्छ । जब कि खासमा भूतले उसको बच्चालाई होइन कि उसको मष्तिष्कलाई ग्रसित गरेको हुन्छ । 

मलाई यही कुराले विथोल्छ कि हाम्रो समाज र हामी कहाँ छौँ ? मधेस आन्दोलन उठ्दा हामीले मधेसलाई कसरी बुझ्यौँ ? मधेसी जनताको अभिव्यक्तिलाई हामीले कसरी बुझ्यौँ ? म गणतन्त्रका लागि सडकमा आएको दिन महान भनेर बुझ्ने तर एउटा मधेसी अधिकारका लागि सडकमा आएको दिन मैले महान बुझ्न नसक्ने किन ? म सडकबाट ज्ञानेन्द्रको सत्तालाई चुनौती दिँदाको दिन म अराष्ट्रिय तत्व थिएँ । त्यसैगरी यो राज्यसत्ताको चरित्रमाथि प्रश्न उठाउँदा एउटा मधेसी अराष्ट्रिय तत्व थियो । तर यही कुरालाई हामीले सहजताका साथ किन लिन सकेनौँ । हाम्रो अराष्ट्रिय र उसको अराष्ट्रियमा पनि भिन्नता किन ? यो मेरा लागि गम्भीर प्रश्न थियो । 

हामीले हाम्रै समाजका, माटोका, दुनियाका र वरिपरिका मानिसहरूलाई कसरी चिन्यौँ त ? यो कुरा सजिलो होइन रहेछ । त्यसैले मैले अबको युवा पुस्ता यी कुरा थाहा पाउनबाट पछिपर्नु हुँदैन भन्छु । 

तपाईंहरूलाई म अर्को उदाहरण दिन्छु । सामान्यतः तपाईंमा निर्माण भएको चेतना राज्यनिर्मित चेतना हुन्छ । जसलाई माक्र्सको शब्दमा राज्यसत्ताको चेतना भन्न सकिन्छ । राज्यसत्ताको चेतनाको स्वर जहिले पनि चर्को हुन्छ, भन्नुको अर्थ ठूलो स्वर, ठूलो स्तरमा निर्माण गरिएको हुन्छ । राज्यको त्यो चेतना जहिले पनि हावामा तैरिरहेको हुन्छ । किनभने राज्यसत्ताको चेतनालाई त्यहाँको उच्च वर्गबाट सञ्चारमाध्यम हुँदै आम मान्छेलाई समेत बोकाइएको हुन्छ । 

आम मान्छेले थाहै नपाई राज्यको चेतनालाई चिया पसलदेखि भट्टी पसलसम्म बोकिरहेको हुन्छ । आम मान्छेले राज्यको चेतना बोक्ने कुरा मच्छरले मलेरिया बोकेसरह हो । मच्छरलाई नै कहाँ थाहा हुन्छ र उसले मलेरिया बोकिरहेको छ भन्ने तर उसले बोकिरहेको हुन्छ । त्यसैले मैले भन्ने गरेको छु, चेतना भनेको त्यस्तो कुरा हो यदि पुरानो विचार बोकेको मान्छेलाई तपार्इंले अत्याधुनिक यानमा राखेर अत्यधिक सुविधासहित अन्तरिक्षमै पठाउनुभयो र उसलाई त्यहाँबाट घरमा फोन गरेर परिवारसँग कुरा गर्ने छुट दिनुभयो भने उसले पहिलो कुरा छिमेकीले के गर्यो ? र दोस्रो, युग पाठकले झण्डा च्यातेकोमा के भयो ? भन्छ । जबकि उसले अन्तरिक्षबाट गर्नुपर्ने अरू धेरै कुराहरू हुन सक्थे । 

मानौँ त्यो यान समाजवादको विचारधाराबाट निर्मित यान रहेछ भने उसले अबको समाजवाद कस्तो हुने भन्नेमा उसको चिन्ता हुनुपर्ने थियो तर उसलाई त्यसको चिन्ता नभएर छिमेकीले जग्गा मिच्यो कि, युग पाठकले झण्डा च्यातेकोमा कारवाही किन नभएको भन्ने हुन्छ । मानिसहरूमा त्यो चिन्ता, व्यक्तिवाद र राष्ट्रवाद कहाँबाट पलाउँछ ? के यी विषयहरूमा हामीले चिन्तन गर्नु पर्दैन ? के यी विषयहरूमा हामीले आँखा चिम्लिएर अथवा यी विषयलाई हामीले पन्छाएर सही ठाउँमा पुग्न सक्छौँ ?

मलाई लाग्छ यो चिन्ताको जग पञ्चायतले निर्माण गरेको राष्ट्रवाद हो, जसको जगमा उभिएर मानिसले व्यक्तिवाद र राष्ट्रवादलाई सँगसँगै लिएर अगाडि बढ्छ । हाम्रो पाठ्यपुस्तकमा निकै सोची विचारी राखिएको राष्ट्रवाद, त्यो पुस्ताको दिमागमा छपक्कै बसेको छ । सन् १९५० मा विद्यालय, क्याम्पस खुलेपछि पहिलो चरणमै राष्ट्रवादको जुन झोल हाम्रो त्यो पुस्तालाई पिलाइयो त्यसो गर्नुका पछाडि कारण थियो । मैले आफ्नो पुस्तकमा यही कारणहरूबारे व्याख्या गरेको छु । 

यहाँ तपाईंहरूलाई त्यसका पक्षहरू भन्न चाहन्छु । पहिलो, एक राष्ट्र हुनका लागि एक भाषा, एक धर्म, एक संस्कृति हुनुपर्छ भनेर पञ्चायतले संविधानमा घुमाएर लेख्यो । तर त्यस कुरालाई गाउँ–गाउँसम्म पुर्याउन साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समदेखि ठुल्ठुला भनिएकाहरूले भूमिका खेले । उनीहरूले नै एक भाषाका रूपमा नेपाली भाषालाई, एक धर्मको रूपमा हिन्दु धर्मलाई, एक संस्कृतिका रूपमा हिन्दू खस संस्कृतिलाई सबै माझ पुर्याए र सबैलाई एकै रूपमा ढाल्ने काम गरे । 

पञ्चायतलाई के लाग्थ्यो भने राष्ट्रका रूपमा नेपाललाई मजबुत बनाउन एउटै भाषा, धर्म, संस्कृति भयो भने सबै मानिसहरूको सोच्ने, बोल्ने र महशुस गर्ने एउटै तरिका हुनेछ, जुन राष्ट्रलाई एकबद्ध गर्न सहयोगी हुन्छ । एक हिसाबले हेर्दा त्यो विचार ठिकै हो जस्तो लाग्छ । तर त्यो विचारले नेपाललाई कहाँ पुर्यायो ? आजको दिनमा आइपुग्दा हरेक १०–१० वर्षमा नेपालमा क्रान्तिहरू भएका छन् । त्यसको पछिल्लो कडीका रूपमा रहेको जनयुद्ध र दोस्रो आन्दोलनलाई नियालेको युवालाई आफ्नो समाज र देशका बारे सोध्नुस् त उसले तपाईंसँग अन्तत्र्रिmया गर्ने बेला उत्साहित भएर कुरा गर्दैन्, निरास भएर कुरा गर्छ । 

हामीलाई के कुराले निराशामा घचेटेको छ ? के समाजको आम चरित्र निराशा हो ? मलाई लाग्छ समाजको आम चरित्र निराशा होइन तर यसका पछाडि केही कारण त छ । यसको महत्वपूर्ण कारण हाम्रो इतिहासको भाष्य हो । महानताको जगमा जहाँ– पृथ्वीनारायण शाह महान, भानुभक्त सर्वश्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा महाकवि, बुद्ध जन्मेको, बलभद्र कुँवरको देश हुँदै आदिकवि, राष्ट्रकवि बनाउन थालेपछि कसलाई तपाईंले यो अराष्ट्रिय कवि हो भन्ने ? ज्ञानेन्द्रले दिएको राष्ट्रकविको उपाधि देखाएर अरूलाई तपाईंले अराष्ट्रिय कवि भन्न थाल्नुभयो भने मानिसको अघिल्तिर दुइटा कुरा जसन्मियो ।

आफ्नो जीवन हेर्यो साग किन्न नसकेर विदेशिनुपरेको छ तर राज्यको भाष्य भने महानताको भाष्य छ । जसले ‘बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस’ र ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘हाम्रो सगरमाथा संसारकै शिर’ भन्ने गीत सुनेर बिउँझेको छ  ।उसले दिनभरिको जीवनमा ज्याला नपाएर अपमानित हुनुपरेको छ । साहुको ऋण तिर्न नसकेर साउदी, कतार, मलेसिया र भारतमा मजदुरी गर्न जानुपरेको छ । लुकेर डीभी चिठ्ठा भर्नु्परेको छ । जनजातिले अरूको सेनाका लागि रगत बगाउनु परेको छ तर गीत भने महानताको गाइरहको छ । त्यसले तपाईको जीवनमा ‘डबल एलिनेसन’को विकास गरिदिएको छ । 

हामीले हाम्रो जीवनमा महानता अनुभूत गर्न कहिलै पाएनौँ तर हाम्रो इतिहासको भाष्यमा भने हामी जहिले पनि महान नै रहिरहने कुरा सही थिएन । यसैले हाम्रो जीवनमा ‘डबल एलिनेसन’को विकास गरिदियो । यो त कस्तो कुरा भयो भने भित्र गुन्द्रुक र ढिँडो खानुपरेको छ तर जुठेल्नामा चामल खाएको देखिने थाल ल्याएर मोहीले हात चुठ्नुपरेको छ । आजको दिनमा लुकेर डीभी भर्नुपरेको छ तर कुरा चाहिँ नालापानी युद्ध र ग्रेटर नेपालको गर्नुपरेको छ । 
 

युग पाठक

लेखक उर्गेनको घोडा तथा माङगेनाः नेपाल मन्थन पुस्तकका लेखक हुन् ।

कमेन्ट

  1. Jan. 8, 2018, 4:37 a.m. Sane chaudhari

    Is Yug Pathak a Christian? Hiding behind his pseudo intellectual propoganda. This pseudo intellectual thinks by degrading few who bleed for this nation, he will be counted among revolutionary. Well nepal as a nation is better than what this crazy Trump kindda guy thinks of anyway. In his book about Prithvi Narayan he does not bother to present his case in a factual manner with evidence but he lacks evidence in every hatred he spews against PN Shah in his books. This Indian agent is just writing some fiction, if he wants to help indians why does he not move to bihar himself? What does pathak say about the genre of his book? A fiction or facts. To be facts we need evidence not some hatred towards our national leaders who wanted to unify nepal. They United nepal, what’s wrong in it? If this pathetic pathak wants to feel equal than why dont he move to modis palace? We dont need these kindda pseudo intellectual who present things without facts and claim it as their truth. Only the foreign agents would believe in this pathetic pathaks intellect.

  2. Jan. 3, 2018, 5:58 p.m. suraj Raika

    आज युग पाठक सर ले पश्चिमेली ईशाई मिसिनरीबाट भात खाएर लेख लेखे भन्नेहरुलाई के भन्नु । किन आवश्यक भो ? युग पाठक सर लाई बिदेशी भात्ता लिनु । । । । । । । । । । । जबकी सिङो देशको अर्थतन्त्र नै बिदेशी भात्ताबात चल्नु परेको जो छ । । कसले पुर्याएको हो आज को यो अवस्थाम देशलाई । । । । । । । । । ।

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X