मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी पार्टी एकताका पूर्वसर्त

शुक्रबार, १४ पुस २०७४, ११ : ३६
शुक्रबार, १४ पुस २०७४

१. नेपाली कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट एकता गरेर विशाल समाजवादी केन्द्र गठन गर्ने जनताको चाहाना यस पटक पूरा हुँदैछ ।  तत्काल आसन्न निर्वाचनम वाम तालमेल गरेर बहुमतको सरकार बनाउने र राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हासिल गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने ऐतिहासिक कार्य असोज १७ गतेको नेकपा (एमाले), नेकपा (माके) र अन्य वाम पार्टीबीचको एकता तथा चुनावी तालमेलको लागि संयोजन समितिको घोषणाले गरेको छ । निर्वाचनबाट प्रप्त सफलताले त्यसको जनअनुमोदन समेत भएको छ । अब नेताहरूको अग्नि परीक्षाको समय आएको छ । नयाँ शक्तिको अस्थिर र अवसरवादी चरित्र एवं उसको बहिर्गमनले महान लक्षमा खासै प्रभाव पारेन ।  केही नेता कार्यकर्ताको सानो दायरामा अस्पष्टता, असन्तुष्टि र एकता विरोधी प्रवृत्ति र देशी तथा विदेशी कम्युनिस्ट विरोधी केन्द्रहरूमा आक्रोस एवं छटपटी देखिएको भए पनि व्यापक जनतामा उत्साह आशा र विश्वास जागेको छ । यो ऐतिहासिक एवं चुनौतीपूर्ण अभिभारालाई सार्थक निष्कर्षमा पुर्याउन सजिलो पक्कै छैन । प्रारम्भबाट नै जटिलताहरूलाई सरल तरिकाले फुकाउन वैज्ञानिक विधि, पद्धति र आचरणमा रहेर अघि बढेमा मात्र यो सम्भव हुन्छ । सही विधि पद्धति, आचरण र आपसी विश्वासले चुनौतीहरूलाई सरलतापूर्वक सामना गर्न र सफलताको मन्जिलमा पुग्न मद्दत गर्ने छ । एकता र सहकार्यको अभियन्ता भएको नाताले यहाँ संयोजन समिति परिचालन, वहस, विवाद व्यवस्थापन, सहकार्यका विधि प्रकृया, साधनस्रोतको व्यवस्थापन परिचालन आदि विषयमा चर्चा गर्न खोजिएको छ । जुन पार्टी एकतालाई सफलतामा पुर्याउने आधार तथा पूर्वशर्त हुन् । 

 २. संयोजन समिति परिचालन सम्बन्धमा
निर्वाचन परिचालन तथा पार्टी एकताका लागि केन्द्रीय संयोजन समिति हालको साझा सर्वोच्च निकाय भएकाले यसको सञ्चालन र निर्णय सहमतिको आधारमा गरिनुपर्छ । यसको बैठकको आयोजना र संयोजन नेकपा एमाले र नेकपा माकेका अध्यक्षबाट संयुक्त रूपमा गरिने सम्मान जनक सहमतिले राम्रो छाप छोडेको छ । निर्णय प्रकृया सम्बन्धमा सहमतीय पद्धतिलाई मुख्य आधार बनाउने कुरा आधार पत्रमा नै उल्लेख छ यो पनि सकारात्मक छ । तर कतिपय विवादित तर निर्णय लिनै पर्ने विषयमा सबै पार्टीका नेताहरूको भावना र मतलाई आधार मानेर निर्णय गरिने र यसका लागि आआफ्ना पार्टीमा छलफलको अवसर दिइने व्यवस्था गर्न राम्रो हुन्छ । एकता र समझदारीमा अवरोध ल्याउने बहसका विषय हाललाई स्थगित गरी समझदारी  र सहमतिका विषयमा मात्र केन्द्रित हुने पद्धति बसाल्नु पर्छ । कसैले पनि विवाद र अन्योल सिर्जना गर्ने गतिविधि गरिनु हुँदैन ।  बैठक मूर्त प्रस्ताव र ठोस निर्णयमा केन्द्रित रहनु पर्छ । सन्दर्भ बाहिरका अन्त्यहीन बसह विवादमा फस्ने फसाउने कार्यप्रति सबै सचेत हुनुपर्छ । संयोजन समितिका निर्णय सम्बद्ध सबै पार्टीले निःशर्त रूपमा पालन गरिने व्यवस्था गर्नुपर्छ ।

पार्टी एकताका लागि मिल्नुपर्ने विषयमध्ये नीति सिद्धान्त प्रमुख विषय हुन् । विगतमा फरक–फरक मान्यता तथा कृत्रिम पर्खाल खडा गरेर चलेका पार्टीहरूका आआफ्ना आग्रह र पूर्वाह छन् । नेतृत्व तहमा उच्च समझदारी भए पनि जनस्तरसम्मका पर्खाल भत्काउन निकै मिहिनेतको जरुरी छ ।

संयोजन समितिका निर्णय उपरका आलोचना टिप्पणी सुझाव तथा अपेक्षित राम्रो मूर्त विकल्प भएमा लिखित रूपमा दिन सकिने व्यवस्था गर्नुपर्छ । पार्टीका जिम्मेवार पङ्क्ति असान्दिर्भिक र असामयिक रूपमा सार्वजनिक बहस र विवादमा उत्रिन हुँदैन । आग्रह, पूर्वाग्रह र कुनै पनि बन्धनबाट मुक्त भएर राष्ट्रिय एकता, स्वाधीनता, जनताको हित र समाजवादी लक्षलाई केन्द्रभागमा राखेर द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी दृष्टिकोणको मार्ग निर्देशनमा हरेक समस्याको समाधान गरिनुपर्छ । आपसी सम्मान र मर्यादा, गोप्यता र अनुशासनलाई सर्वोपरि राखेर केन्द्रीय संयोजन समिति नै नमुनाका रूपमा प्रस्तुत हुनुपर्छ । 

प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र बुथ केन्द्रमा पनि साझा संयन्त्र निर्माण गरेको भए एकताको वातावरण वन्न मद्दत पुग्थ्यो । संयन्त्रको परिचालन र प्रकृया साझा सहमतिमा आधारित हुनुपर्छ । प्रदेश र जिल्ला, निर्वाचन क्षेत्र र बुथहरूले निर्वाचन अभियानको क्रममा एकहदसम्म एकता र सहकार्यको नमुना प्रदर्शन गर्ने वातावरण बनेको पनि छ । स्थानीय तहमा समेत आआफ्ना पार्टीका पूर्वमान्यतामा बाँधिएर भन्दा पनि तत्कालिक अवस्थामा सफलता हासिल गर्न साझा सहमतिको विन्दु पहिल्याउने हिसाबले छलफल बहस केन्द्रित गरिनुपर्छ । तलका संयन्त्रहरूले मुख्यतः माथिल्ला सहमतिका निर्णयहरू लागू गर्ने भएकाले स्थानीय विवादमा बल्झिनु हँुदैन ।  स्थानीय विषयमा पनि साझा सहमति कायम गरेर कार्य सम्पादन गर्नुपर्छ  ।

नयाँ पार्टीको साझा नीति सिद्धान्तको निरूपण गर्दा एक निश्चित अवधि महान बहस पैरवीको अवसर दिइनुपर्छ । सिङ्गो नेपाली समाजलाई तरङ्गित गर्ने गरी साझा सहमतिका दस्तावेज तयार गरिनुपर्छ । यसो गरिरहँदा पुराना आफ्ना मान्यतामा बाँधिएर अल्झिने, अनुचित अडान लिने वा प्रतिष्ठाको विषय बनाउनु हुँदैन ।

  ३. एकीकृत पार्टीको नीति, सिद्धान्त निर्माण र बहस पकृया सम्बन्धमा
पार्टी एकताका लागि मिल्नुपर्ने विषयमध्ये नीति सिद्धान्त प्रमुख विषय हुन् । विगतमा फरक–फरक मान्यता तथा कृत्रिम पर्खाल खडा गरेर चलेका पार्टीहरूका आआफ्ना आग्रह र पूर्वाह छन् । नेतृत्व तहमा उच्च समझदारी भए पनि जनस्तरसम्मका पर्खाल भत्काउन निकै मिहिनेतको जरुरी छ । यसैले नेपाली समाजको वर्तमान धरातल र विश्व परिवेशको समुचित विश्लेषण गरेर व्यापक बहस पैरवीबाट प्राप्त निष्कर्षको आधारमा नेपाली समाजवादी क्रान्तिको नीति, सिद्धान्त, कार्यक्रम र विधान तयार गरिने कुरालाई नै प्रस्थान विन्दू बनाउनु पर्छ । पार्टी एकतामा एउटा पार्टी कुनै अर्कोमा टासिएको जस्ता अभिव्यक्ति र हिनताबोध हुने व्यवहारले भावनामा चोट पुगी पार्टी एकतामा नै प्रतिकूलता ल्याइदिन्छ । जनप्रभावको हिसाबले पार्टी ठूलासाना छन र सङ्गठनात्मक एकतामा त्यसको हिसाब हुन्छ, हुनुपर्छ । तर भावनात्मक रूपले नयाँ आधारमा खडा गरिएको सम्मानजनक एकताको भावनालाई स्थापित गर्न सक्नुपर्छ । नेपाली विशेषताको समाजवादी क्रान्तिको नयाँ आधारशिलामा पार्टी एकता  गरिनुपर्छ । सबैतिरका इतिहासका गौरवहरूलाई साझा पुँजीका रूपमा ग्रहण गर्ने र कतिपय विवाद तथा मूल्याङ्कनका विषयहरूलाई ब्यापक अध्ययन अनुसन्धानबाट पुष्टि हुन आएको तथ्य सत्यको आधारमा निरूपण गर्नुपर्छ । विगतमा भएका कतिपय गल्ती कमीबारे सामूहिक आत्म समीक्षा गरी शिक्षा लिइनुपर्छ । यो अहिलेको बहसको विषयभन्दा पनि भविष्यमा टुङ्ग्याउने विषय हो । 

नयाँ पार्टीको साझा नीति सिद्धान्तको निरूपण गर्दा एक निश्चित अवधि महान बहस पैरवीको अवसर दिइनुपर्छ । सिङ्गो नेपाली समाजलाई तरङ्गित गर्ने गरी साझा सहमतिका दस्तावेज तयार गरिनुपर्छ । यसो गरिरहँदा पुराना आफ्ना मान्यतामा बाँधिएर अल्झिने, अनुचित अडान लिने वा प्रतिष्ठाको विषय बनाउनु हुँदैन । तथ्यको आधारमा सत्य पत्ता लगाउने, नयाँ खोजमा लाग्ने कुरालाई प्रोत्साहित गरिनुपर्छ । पुराना सफल परम्पराहरूलाई निरन्तरता दिने र इतिहासको द्वन्द्वात्मक भौतिकवादी समीक्षा भने समयक्रममा गरिनुपर्छ । तत्कालका लागि सहमतिमा जारी गरिएको निर्वाचन घोषणा पत्र र सहमतिका अति आवश्यक विषयहरूलाई मात्र आधार वनाउन उपयुक्त हुन्छ, बाँकी विषय बहसमा लैजानु ठीक हुन्छ । 

४. सङ्गठनात्मक पक्ष
पर्टी एकताको निर्णय र प्रकृया अघि बढ्दा अनेकौँ प्रश्नहरू आउनु स्वभाविक छ ।  अध्ययन, छलफल र सहकार्यको दौरानमा शङ्का, भ्रम र अन्योलहरू समाप्त हँुदै जानेछन् । अन्तरिम कालमा आआफ्ना पार्टी कमिटी जे छन् त्यही रूपमा परिचालन गर्न उपयुक्त हुन्छ । गठन पुनर्गठन गर्ने पकृया चुनावको कारण सम्भव थिएन । तर माओवादी केन्द्रका अनुचित रूपमा गठित अस्वभाविक सङ्ख्याका समितिलाई निश्चित मापदण्डका आधारमा सन्तुलित एवं चुस्त दुरुस्त बनाउन आवश्यक छ । सैद्धान्तिक सवाल प्रमुख भनिए पनि नेपाली कम्युनिस्ट आन्दोलनमा एकता प्रकृयालाई जटिल बनाउने भूमिका सङ्गठनात्मक तथा पद विभाजनले नै खेलेको छ । सन्तुलित रूपमा तथा सामान्यत सम्मान जनक रूपमा पद तथा समिति मिलान गरिनुपर्छ । जसले आन्दोलनमा निरासा होइन ऊर्जा थपोस् । 

महान समाजवादी कम्युनिस्ट पार्टी निर्माण हुने, बहुमतको सरकार बन्ने र देशको नेतृत्व लिनुपर्ने स्थिति सम्हाल्न त्याग समर्पणको आवश्यकता छ । पद र जिम्मेवारी पाउनेहरू हौसिने र नपाउने निरुत्साहित हुन आवश्यक छैन । इमानदारीका साथ पार्टी काममा खटेमा पार्टी र सरकार सञ्चालनका अन्य महत्वपूर्ण अवसर एवं भविष्यमा आलोपालोको व्यवस्था गरिने कुरा सुनिश्चित गर्नुपर्छ ।

 ५. कार्यशैली पद्धति र मूल्याङ्कन सम्बन्धमा
पार्टीका सबै नेता कार्यकर्ताले पार्टी अनुशासन र जनशैलीलाई कडाइका साथ पालन गर्नुपर्ने छ । जनशैली भनेको उत्तरदायी व्यवहार (फोन उठाउने, उचित जवाफ दिने, भेटघाट व्यवस्थित गर्ने, सुप्रिमेसी र आडम्बर नदेखाउने, पक्षपात नगर्ने, पारदर्शी जीवन शैली) विधि र पद्धतिमा चल्ने परिपाटीलाई कडाइका साथ लिनु्पर्छ । कुनै पनि नेता कार्यकर्ताले सस्तो लोकप्रियताका लागि सानातिना बहस विवादका विषयलाई मिडियाबाजी गरिनु हुँदैन । तर ब्यापक जनतामा सकारात्मक सन्देश जाने, सहमति, सहकार्य र एकतामा मदत पुग्ने, एकतामा उत्साह थप्ने रचनात्मक कार्यलाई प्रोत्साहन गरिनुपर्छ । व्यक्तिगत आलोचना गर्ने, आक्षेप लगाउने, मानमर्दन गर्ने, होच्याउने, प्रतिशोध लिने जस्ता अभिब्यक्ति एवं गतिविधिबाट टाढा रहनुपर्छ । कसैबाट त्यस्तो हुन गएमा सचेत गराउने, दोर्याएमा चेतावनी दिने र गतिविधि जारी राखेमा पदबाट हटाउनेलगायतका कारवाही गर्न पछि हट्न हुँदैन । सानातिना टिपणी, आलोचना वा बहसका विषयलाई अनुचित रूपमा मिडियामा लगिनु हँुदैन । साझा निर्णय, सहमति तथा गतिविधीहरू संयोजन समितिले तोकेको प्रवक्ता या आधिकारिक व्यक्ति मार्फत सार्वजनिक गरिनु शोभनीय हुन्छ ।

गुट र दबाबको आधारमा चल्ने चलाउने प्रवृत्तिलाई पूर्ण निरुत्साहित गरी निश्चित मापदण्ड र विधि पद्धतिको आधारमा नेता कार्यकर्ताको मूल्याङ्कन गर्ने परिपाटीको विकास गरिनुपर्छ । न्यूनतम चित्त प्रसन्नता र न्यायको स्थिाति कायम गरेर पार्टीका कुनै पनि नेता कार्यकर्ता अपमानित हुने वा अन्यायमा परेर तनावमा रहने स्थितिको अन्त्य गरिनु पर्छ । राजनीति पेसा होइन, जन सेवा हो भन्ने कुरालाई ध्यानमा राखेर उत्पीडित वर्ग, पछिपरेका जाति समुदायको हितमा सम्पूर्ण नेता कार्यकर्ता समर्पित हुने साथै श्रम गरेर उत्पादनवृद्धि गर्ने कार्यलाई उच्च सम्मान गरिनुपर्छ ।

यसै गरी उपलब्ध साधनस्रोतको परिचालन सम्बन्धमा पनि ठोस नीति बनाउनुपर्छ । कमभन्दा कम खर्च (मितव्ययी), आधुनिक प्रविधिको प्रयोग, व्यापक जनसहभागिता, स्थानीय साधनस्रोतको प्रयोग, समयको सदुपयोग र बढीभन्दा बढी गुणस्तरीय उपलब्धि प्राप्त गर्ने आधुनिक पद्धतिलाई  अवलम्बन गर्नु अहिलेको वैज्ञानिक पद्धति हो । यसलाई गम्भीरता साथ लिन आवश्यक छ ।

६. निष्कर्ष 
नेपाली कम्युनिस्ट आन्दोलनमा पार्टी एकता र पाँच वर्षका लागि लोकतान्त्रिक माध्यमबाट वाम सरकार गठन हने वातावरण निर्माण हुनु आलसम्मकै महान उपलब्धि हो । यसलाई सार्थक बनाउनु सबै क्रन्तिकारीहरूको साझा दायित्व बनेको छ । क्रान्तिकारिताका नाममा वा कम्युनिस्ट आन्दोलन वा सिद्धान्तको रक्षा वा यो वा त्यो बहानामा यसको विपरीत ध्रुवमा उभिनु र मिलेसम्म पदको सौदाबाजीमा लाग्नु सर्वथा अनुचित कुरा हुन् । एकताको विपरीत ध्रुवमा उभिएर बाधा अवरोध सिर्जना गर्दा तत्काल आत्मरति त प्राप्त होला तर भविष्यमा पछुताउने कुरा मात्र बाँकी रहनेछ । निहँु खोजेर भाग्ने पछुताएर पदमा सोदाबाजी गरेर फर्कने विगतका घटनाबाट शिक्षा लिन सक्नु पनि सकारात्मक उपलब्धि हुनेछ । एकता र राष्ट्रको पूरा जिम्मा लिने सहकार्यको यो ऐतिहासिक जिम्मेवारीप्रति कतैबाट पनि खेलवाड गर्नु अपराध ठहरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धर्मदत्त देवकोटा
धर्मदत्त देवकोटा

(लेखक माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन्)
 

लेखकबाट थप