केन्द्रीय संस्करण

चुनावको ऐतिहासिक महत्व

person access_timeपुस १३, २०७४ chat_bubble_outline0

 नेपालमा धेरै निर्वाचनहरू सम्पन्न भइसकेको छ । विस २०१५ मा पहिलो बहुदलीय आम निर्वाचन सम्पन्न भएको थियो । तर राजा महेन्द्रले डेढ वर्षमा नै विघटन गरी निरङ्कुश पञ्चायती तानाशाही शासन व्यवस्था लागू गरे । त्यसपछि पञ्चायती कालमा पनि विस २०२७, २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यको निर्दलीय चुनाव भयो ।

यता बहुदलीय प्रजातन्त्रको पुनः स्थापनापछि २०४८ मा पहिलो आम निर्वाचन, २०५१ मा मध्यावधि चुनाव र २०५६ मा तेस्रो संसदीय चुनाव गरियो । यसपछि जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त गणतन्त्रको स्थापनापछि २०६४ मा पहिलो र २०७० मा दोस्रो संविधानसभा चुनाव भयो । दोस्रो संविधानसभाले नया अग्रगामी तथा उत्पीडितमैत्री संविधान जारी गरेको छ । यसको कार्यान्वयन गर्नु आज हाम्रो प्राथमिक दायित्व हो । यसै क्रममा मङ्सिर १० मा पहिलो र २१ गते दोस्रो चरणअन्तर्गत सङ्घीय तथा प्रदेश प्रतिनिधिसभाको महान चुनावी पर्व सकिएको छ । यसमा वाम गठबन्धनले भारी बहुमत प्राप्त गरिसकेको छ ।
   

 नेपालमा जनताले धेरै चोटि मतदान गरिसकेका छन् । हाम्रा लागि चुनाव नौलो र अनौठो विषय होइन । मूलतः आवधिक चुनावलाई लोकतन्त्रको जीवन मानिदै आएको छ । तर पनि पछिल्लो समय यो निकै विकृत र प्रदूषित हुँदै गएको छ । यसले गणतन्त्रलाई समेत प्रभाव नपार्ला भन्न सकिन्न, जुन आम चिन्ता र चासोको विषय बनेको छ । यसलाई सुसंस्कृत, मर्यादित र कम भड्किलो बनाउन गम्भीर चुनौती खडा भएको छ । २०१५ सालको पहिलो संसदीय निर्वाचन यता १० वटा आम निर्वाचन सम्पन्न भइसकेको छ । चुनावी निरन्तरताको इतिहास निकै लामो देखिन्छ ।

यद्यपि मङ्सिर १० र २१ गतेको आम निर्वाचनले भने  ऐतिहासिक र युगान्तकारी राजनीतिक महत्व बोकेको छ । यो निरन्तरताको आवधिक चुनाव मात्र होइन । यसले विगतको चुनावी निरन्तरतालाई क्रमभङ्ग गर्ने हैसियत राख्नैपर्नेछ । विशेषतः यसको ऐतिहासिकताको आधार वा आयामहरू यस प्रकार रहेको छ ।
 

   पहिलो, नेपालमा विभिन्न कालखण्डमा भएका सङ्घर्षको कारण आम जनतामा नाटकीय रूपमा राजनीतिक चेतना बढेकोछ । पछिल्लो समय भएको जनयुद्ध र जनआन्दोलनले राष्ट्रिय राजनीतिक पँहुच एवम् दायरा फराकिलो र सहज बनाएको छ । मुलुकमा विकास भएको राजनीतिक माहौलले आम जनता सचेत भएका छन् । सार्वभौमतः राजनीतिक क्रान्तिपछि मात्र योजनाबद्ध आर्थिक क्रान्ति सम्भव हुन्छ । यसमानेमा कुनै पनि समाजमा सर्वप्रथम राजनीतिको अग्रगामी व्यवस्थापन इतिहासको अपरिहार्य आवश्यक्ता हुनपुग्दछ । राजनीतिक व्यवस्थापनपछिको आर्थिक तथा सांस्कृतिक क्रान्ति मात्र वैज्ञानिक, वस्तुवादी र सार्थक हुन्छ । अन्यथा भोट ब्ल्याकमेलिङ गर्ने झुठो आश्वासन मात्र हुन्छ । जसबाट जनता आजित हुँदै आएका छन् ।

     वास्तवमा विगतमा आर्थिक क्रान्तिको प्रतिबद्धताहरू नारामा मात्र सीमित हुनु  उचित राजनीतिक व्यवस्थापन नहुनुकै परिणाम हो । तर आज हाम्रो समाजमा उल्लेख्य राजनीतिक उपलब्धि भएको छ । सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका नागरिकहरूले सबै खाले अधिकारहरू पाउने वातावरण बनेको छ । आफ्नो हक अधिकार आफै खोज्न सक्ने भएका छन् । अन्याय र विभेदविरुद्ध लड्ने राजनीतिक शक्ति र सोच पैदा भएको छ । जनताले राजनीतिक अधिकार पाएका छन् । यो ज्यादै सुखद र राष्ट्रिय गौरवको विषय हो । अर्थात राजनीतिक क्रान्ति एक खुट्किलो पूरा भएको छ । हामी राजनीतिक परिवर्तनको एउटा अध्याय पूरा गरी आर्थिक क्रान्तिको नयाँ अध्याय थालनीको सार्वभौम प्रक्रियामा छौँ । राजनीतिक अधिकार प्राप्तिपछिको आर्थिक क्रान्ति मात्र सार्थक र सफल हुन्छ । यसकारण यो चुनाव आफैमा एतिहासिक रहेको छ ।
   

दोस्रो, नयाँ संविधान जननिर्वाचित संविधानसभाबाट जारी गरिएको दस्तावेज हो । यसलाई विश्वकै उत्कृष्ट भनेर दाबी गरिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका अग्रगामी एजेन्डाहरू नयाँ संविधानमा समावेश गरिएको छ । यसमा तमाम उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, अल्पसङ्ख्यक, सीमान्तकृत एवं लोपोन्मुख समुदायको हक अधिकार सुनिश्चित गरिएको छ । उनीहरूको समान सहभागिता र पँहुचको संवैधानिक व्यवस्था गरिएको छ । गत स्थानीय निर्वाचनमा महिला र दलित महिला उम्मेदवार पाउन मुस्किल भएबाट पनि यसको प्रगतिशील चरित्रलाई सङ्केत गर्छ । यता प्रतिनिधिसभा र प्रदेशसभालगायत राज्यको सबै निकायहरूमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरिएबाट पनि यो संविधानको अग्रगामी चरित्र स्पष्ट हुन्छ । अर्थात यो संविधान तमाम किसान, मजदुर वा उत्पीडित वर्गमैत्री रहेको छ । यति धेरै परिवर्तनका मुद्दा समेटिएको अनि सम्पूर्ण उत्पीडितको परिवर्तन, विकास, स्थायित्व, समृद्धि र शान्तिको रणनीतिक सपना बोकेका संविधानलाई संस्थागत गर्ने पहिलो राजनीतिक प्रक्रिया भएकाले यसलाई ऐतिहासिक निर्वाचन भन्नैपर्ने हुन्छ । थुप्रै जनअधिकारहरू संस्थागत गर्ने प्रक्रिया हुनाले यसको ऐतिहासिक महत्व रहनेमा दुई मत छैन ।

  तेस्रो, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृति र बहुधार्मिक मुलुक हो । यस्तो विविधताले भरिएको मुलुकमा सबै जाति, भाषा, सांस्कृति र धर्मको समानुपातिक संरक्षण, विकास र प्रवद्र्धन अपरिहार्य हुन्छ । यही वस्तुगत सच्चाइलाई आत्मसात गर्दै सङ्घीयतासहितको संविधान पाएका छौँ । नेपाललाई सातवटा प्रदेशमा विभाजन गरिएको छ । इतिहासमै पहिलो पटक प्रदेश प्रतिनिधिसभाको चुनाव भइरहेको छ । पुषको पहिलो हप्तासम्ममा सातै प्रदेशमा प्रादेशिक सरकार गठन हुँदैछ । यद्यपि यसको राजकीय चरित्र, पद्धति र विधिको सन्दर्भमा भने ठोस निर्णय भएको छैन । यस्ता पक्षहरू सङ्घीयताको महत्वपूर्ण राजनीतिक अन्तरवस्तु हुन् । प्राविधिक सवाल भए पनि नामकरण र सदरमुकाम बन्दोबस्ती पनि तय भएका छैन । हामी प्रदेशसभाको चुनाव मार्फत हाम्रै स्थानीय परिवेशमा केही हप्ताभित्रमा नयाँ प्रादेशिक सरकार पाउँदैछौँ । यसले सङ्घीयताको अभ्यासलाई कार्यान्वयन गरी संस्थागत गर्दैछ । यो नेपाली राष्ट्रिय राजनीतिक इतिहासमा नितान्त पहिलो र नयाँ पाइला हो । यसकारण पनि यो चुनाव ऐतिहासिक रहेको छ ।
 

   चौथो, नेपाली कम्युनिस्ट आन्दोलन विगत लामो समयदेखि टुट, फुट र विग्रहबाट गुज्रिँदै आएको छ । कतिपय फुट सैद्धान्तिक, राजनीतिक कार्यदिशा र कार्यनीतिमा भएको देखिन्छ । अर्कोतिर कतिपय फुट नितान्त पदीय भागवण्डा, गुटगत चिन्तन र नेत्रृत्व टकराव जस्ता प्राविधिक सवालहरूमा मात्र रुम्मलिएको छ । यस्तो गलत विरासतका कारण कम्युनिस्ट पार्टीले आफ्नो आधारभूत सिद्धान्त र रणनीतिक लक्ष्य सही हुँदाहुँदै पनि समाज परिवर्तनका मूलभूत काम गर्न नसकेको विडम्बनापूर्ण इतिहास जगजाहेरछ । परिणामस्वरूप जनताले कम्युनिस्ट पार्टी र दक्षिणपन्थी पार्टीहरू बीचमा सारभूत भिन्नता अनुभूति गर्न सकेन ।  यसले तमाम दुःखी, गरिब, किसान, मजदुर तथा उत्पीडितहरूको उन्मुक्तिको संवाहक भएर पनि कम्युनिस्ट पार्टीले आफ्नो ऐतिहासिक राजनीतिक भूमिका निभाउने अवसर पाएन । यो दुःखद विषय हो ।
   

 यही वस्तुगत यथार्थतालाई आत्मसात गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने लक्ष्यसहित चुनावी गठबन्धन बनेको छ । यो कसैको लहड, सनक, इच्छा र महत्वाकाङ्क्षाभन्दा पनि इतिहासको अपरिहार्य आवश्यकताको उपज हो । परिपक्व आत्मगत तथा वस्तुगत परिस्थितिको परिणाम हो । यसले एउटै कम्युनिस्ट पार्टी बनाउने लक्ष्य समेत राखेको छ । यसरी विगतमा आआफ्नै दलगत एकतारे रेटेर चुनावी प्रक्रियामा भाग लिँदै आएको दुवै ठूला कम्युनिस्ट पार्टीहरू बीचमा आज गठबन्धन भएको छ । एउटै नारा र प्रतिबद्धतासहित एक साथ चुनावी अभियानमा जुटेको छ । यो सकरात्मक र सिर्जनशील पहलको थालनी हो । यसकारण यो विगतको जस्तो औसत निरन्तरताको चुनाव नभएर नितान्त ऐतिहासिक क्रमभङ्गतामा आधारितछ । त्यसैले यो चुनाव ऐतिहासिक रहेको छ ।

यो भीषण राजनीतिक क्रान्तिपछिको चुनाव हो ।  सङ्घर्षको बलबाट प्राप्त व्यापक परिवर्तनपछिको चुनाव हो । अग्रगामी एजेन्डाहरू सतहमा छताछुल्ल हुँदै गाउँ सहर राजनीतीकरण भएपछिको चुनाव हो । आम नागरिकहरूमा उच्च राजनीतिक उद्वेलना र चेतना पैदापछिको चुनाव हो । सम्पूर्ण उत्पीडितहरूको हक अधिकार सुनिश्चिततातर्फको चुनाव हो । राजनीतिक क्रान्ति समापन गरी आर्थिक क्रान्ति प्रारम्भको चुनाव हो । जनतालाई सबैखाले अधिकारको ग्यारेन्टीसहितको नयाँ संविधान जारी गरी त्यसलाई कार्यान्वयन गर्ने मिसनमा आधारित चुनाव हो । नयाँ राजनीतिक परिवेश र धरातलमा गरिएको चुनाव हो । प्रगतिशील सोच, चिन्तन, मनोविज्ञान, बुझाइ, विश्लेषण र सश्लेषण विकासपछिको चुनाव हो । इतिहासमै पहिलो पटक प्रादेशिक सरकार गठनको प्रक्रिया आरम्भ भएको छ । यसले सङ्घीयतालाई कार्यान्वयन गर्दैछ । त्यस्तै टुट्फुट, विचलन र विग्रहको तीतो ऐतिहासिक विरासत बोकेको कम्युनिस्ट पार्टी एकताको दिशातर्फ अघिबढेपछिको चुनाव हो ।

     फरक फरक धारमा विभाजित दलहरू आज एउटै नारा लिएर चुनावमा सहभागी भई बहुमतसमेत हासील गरिसकेको छ । दुई ठूला वामपन्थी दलहरू बीचको यो समीकरण आफैमा ऐतिहासिक रहेको छ । साधरण गरिब निमुखा जनताले सम्मानपूर्ण अधिकारहरू पाएका छन् । शिर ठाडो पारेर बोल्न सक्ने भएका छन् ।

उनीहरूमा राजनीतिक चेत ह्वात्तै बढेको छ । पुरानो अवैज्ञानिक र अवस्तुवादी प्रचलन, परम्परा संस्कृति बढारिँदैछ । शोषण, विभेद र अन्याय जस्ता गैरन्यायिक संस्कृति पाखा लाग्दैछ । नयाँ प्रगतिशील सोच, चिन्तन व्यवहार, कार्यशैली विकास हुँदैछ । यद्यपि राजनीतिक कार्यभारहरू पूरा गर्न अझै बाँकी छ ।

जनताको स्थायित्व, परिवर्तन, विकास, समृद्धि र शान्तिको मर्म र भावनाको सम्बोधन गर्नुछ । यसो नभए अन्य शक्ति राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने सम्भावनालाई नजरअन्दाज गर्नुहुँदैन । जनताका आशा र अपेक्षा धेरै रहेको छ । चुनावपछि गर्ने कामहरूको चाङ असाध्यै धेरै देखिन्छ । यति धेरै कार्यभार पूरा गर्ने प्रक्रिया भएकाले यसले राष्ट्रिय राजनीतिमा ऐतिहासिक महत्व राख्ने नै छ ।  चुनावले थुप्रै ऐतिहासिक आयामहरूलाई सम्बोधन गर्नुछ । त्यसैले यो चुनावको मर्म र गर्भमा सिङ्गो नेपाली समाजको ऐतिहासिकता अन्तरनिहित रहेकोमा दुई मत छैन ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X