एक हल गोरुबाट ५० घर उज्यालो

person access_timeअसार १५, २०७४ chat_bubble_outline0
SHARES


एक हल गोरुबाट ५० घर उज्यालो बनाउन सकिन्छ । 


सुन्दा अचम्म लाग्ला । व्यावहारिक पक्ष थाहा पाउँदै गएपछि विश्वास गर्न करै लाग्छ । पुल्चोक इन्जिनियरिङ कलेज मेकानिकल इन्जिनियरिङ उपप्रशिक्षक रमेश चौधरीले सुनाए, ‘प्रत्येक घरमा चार÷चारवटा बत्तीमात्रै बाल्ने हो भने एक हल गोरुबाट उत्पादित विद्युत्ले ५० घर उज्यालो बनाउन सम्भव छ ।’


एक हल गोरुबाट दुई किलोवाट विद्युत् उत्पादन गर्न सकिन्छ । त्यति विद्युत्बाट एलईडी प्रयोग गरेर ५० घरलाई तीन घन्टा उज्यालो बनाउन सकिने चौधरीले बताए । चौबीसै घन्टा बिजुली बाल्ने हो भने तीन हल गोरु चाहिन्छ । उनका अनुसार साधारण संयन्त्र जोडजाड पारेर गोरुबाट विद्युत् उत्पादन गर्न सकिन्छ । 


‘गोरुबाट विद्युत् उत्पादन गर्नु अनौठो काम होइन,’ चौधरीले प्रस्ट्याए, ‘गोरुले दाइँ गरेको तपाईं÷हामीले देखेकै हो । गोरुको मेकानिकल इनर्जी उसको फिजिकल बिहेबियरबाट आउँछ त्यसलाई सदुपयोग गरेर विद्युत् उत्पादन गर्ने हो ।’ 


त्यसो भए गोरुबाट विद्युत् उत्पादन गर्न के/के चाहिएला ? 


सर्वप्रथम गोरु चाहिन्छ । त्यसपछि जुवा । गोरुलाई घुमाउन मियो चाहियो । मेकानिकल इजर्नीलाई इलेक्ट्रिकल कन्भर्सन गर्ने जेनेटरसमेत चाहिन्छ । त्यो एसी वा डीसी पनि हुन सक्छ । 


त्यसपछि ?


मियोवरिपरि घुम्ने गोरुको भेलोसिटी अथवा आरपीएम (रिभोलुसन पर मिनेट) जेनेरेटरसँग म्याच गर्ने कुनै चीज राखिन्छ । किनकि गोरु कम गतिमा हिँडे पनि जेनेरेटर घुमाए पुग्छ । तर, गोरु बसिहाल्यो भने के गर्ने ? उनले भने, ‘त्यसका लागि बफरिङ मेकानिजम डेभलप गर्न सकिन्छ । कम गतिमा गोरु हिँडे पनि मेकानिकल इजर्नी डेभलप भइरहेको हुन्छ । भोल्टेज फ्लक्चुएसन, बत्ती नबल्ने अवस्था हटाउने फ्याक्टर नै मेन च्यालेन्जिङ हो । गोरु हिँड्दा बत्ती दिन्छ, नहिँड्दा पनि केही समय बत्ती बल्ने सिष्टम हुनुपर्छ ।’ 


गोरुलाई हिँडिरहने बनाउने उपाय पनि त होला ?


‘छ नि,’ उनको तर्क छ, ‘जुवामै केही घाँस झुन्ड्याइदिने । जुवामा झुन्ड्याइएको घाँस खान गोरुले हिँड्नैपर्ने बाध्यता सिर्जना गरिएको हुन्छ । घाँस हुँदाहुँदा पनि कहिलेकाहीं गोरु नहिँड्न सक्छ । त्यतिबेला भोल्टेज कम भएको थाहा पाइने मेकानिजम हुन्छ । भोल्टेज कम हुनबित्तिकै छडीले दुई÷तीनपटक चोट नलाग्नेगरी गोरुलाई पिट्छ । छडीको पिटाइले समेत भोल्टेज मेन्टेन हुन्छ ।’


बत्तीचाहिँ कसरी बल्छ त ?


जेनेरेटरमाथि गियरबक्स हुन्छ । त्योमाथि मेकानिकल बफरिङ (थोरै समयका लागि इनर्जी कलेक्ट गर्ने क्वायल स्प्रिङ) हुन्छ । मेकानिकल बफरिङ गियरबक्समाथि जोडिन्छ । गोरुबाट आएको इनर्जी बफरले लिन्छ । त्यसपछि गियरबक्सले । गियरबक्सले आरपीएम (रिभोलुसन पर मिनेट) मिलाएर जेनेरेटरलाई दिन्छ । जेनेरेटरले बत्ती बाल्छ । 


यो प्रविधिबाट उत्पादित बत्ती टाढाटाढा पुर्याउन ट्रान्सफर्मर चाहिन्छ । तर, विनाट्रान्सफर्मर टोलटोल वा एउटै गाउँमा विनास्वीचको बत्ती बाल्न सकिन्छ । सामूहिक रूपमा चलाउँदा यो प्रविधि खर्चिलो पनि छैन । सम्भव पनि छ । जेनेरेटर चलिन्जेल बत्ती बलिरहन्छ ।


‘गोरुबाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्दा कतिले अभिरुचिपूर्वक सोधखोज गर्थे,’ चौधरीले अतीत सुनाए, ‘कतिले हाँसिदिन्थे । कतिले व्यावहारिक समस्या ठान्थे । यसका लागि व्यवहारिक समस्या छैन । तर, मागचाहिँ हुनुपर्यो ।’ 


बिजुलीबत्ती नपुगेको ठाउँमा यो प्रविधि प्रभावकारी मानिन्छ । सर्वप्रथम गोरु हुनुपर्यो । त्यसपछि आवश्यकता । बिजुली नपुगेको ठाउँमा आवश्यकता भइहाल्छ । यो प्रविधिलाई पाइलट प्रोजेक्टका रूपमा अगाडि बढाउन पाए प्रभावकारी हुने भन्दै चौधरीले सुझाए, 


‘सम्बन्धित नियकायले बत्ती आवश्यक भएको ठाउँ पहिचान गरिदिनुपर्यो । अहिले त यो सम्भव देखिएको छ । तर, यसले साइड इफेक्ट ल्याउँछ कि ल्याउँदैन भनेर पाइलटिङ गरेपछि मात्रै थाहा हुन्छ । फिडब्याक पाएपछि मात्रै साइड इफेक्ट थाहा पाइन्छ । अहिलेको समस्या भनेको गोरु हिँडेन भने हिँडिरहने कसरी बनाउने भन्नेमात्रै हो ।’ 


भारतमा बाबा रामदेव र आचार्य बालकृष्णले झन्डै डेढ वर्षदेखि गोरुबाट विद्युत् उत्पादन गर्ने ‘बुल पावर’ योजना अघिसारेका छन् । तर, बारागढी गाउँपालिका–१ बारानिवासी चौधरीले गोरुबाट विद्युत् उत्पादन गर्न सकिन्छ भनेर ‘गोरुबत्ती’ का नाममा संवत् २०६५ चैत ९ गते उद्योग मन्त्रालयमा मौलिक अधिकार सुरक्षित (प्याटेन्ट राइट) का निवेदन दिएका थिए । 


गोरुमात्रै होइन, राँगा, खच्चड, गधा, गाई र साँढेबाट पनि यही प्रविधिअनुसार विद्युत् उत्पादन गरिन्छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार ३० प्रतिशत नेपाली विद्युत्बाट वञ्चित छन् । विद्युत्बाट वञ्चितलाई यो प्रविधिबाट विद्युत् उत्पादन गर्न सिकाउने हो भने रमेश चौधरीको सपना पूरा हुने थियो ।

पुल्चोक इन्जिनियरिङ कलेजको चमेना गृहबाहिर ‘गोरुबत्ती’ बारे कुराकानी बिट मार्दै गर्दा उनी मज्जाले हाँसे ।

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ