ओली र प्रचण्डलाई खरो खबरदारी

person access_timeपुस १२, २०७४ chat_bubble_outline0

     माओ त्से तुङले कामरेड वु यु चाङको ६०औँ जन्म दिँदाको सन्देसमा कसैले पनि एक दुई राम्रा काम गर्नु गाह्रो छैन । गाह्रो त जीवनभर राम्रो काम गर्नु हो भन्नुभएको थियो । पानी र बानी माथिबाट आउँछ, त्यसैले सबैभन्दा पहिले वाम शीर्षस्थ नेता द्वय के.पी. शर्मा ओली र  पुष्पकमल दाहालबाट कुरा सुरु गर्नु जरुरी देखिन्छ । तपाईंहरू माओले भनेझैँ त्यो उच्च उदात्त भावनाबाट निर्देशित हुनुहुन्छ ? हुनुहुन्छ भने त्यो आदर्श तपाईंहरूको व्यवहारबाट देखिनुपर्छ । जनता यस्तो प्रश्न गरिरहेका छन् । आवाज नहुनेहरूको आवाजलाई यस लेखकले पङ्क्तिबद्ध गरेको छ । तपाईंहरूको बानी व्यहोराको असर तलतल पनि पर्नेछ । तर पुष्पकमल दाहालबाट भड्काउ बोली वचन सुन्नमा आएको छ । यो बेठीक छ ।

आर्थिक इमान मात्र इमान होइन, वैचारिक, दृष्टिकोण र मान्यताको इमान कम महत्वको हुँदैन । यही इमानको राप, ताप र प्रतापले समाजमा मौलाइरहेको आर्थिक हरेकलगायत बेइमानीलाई सच्याउन सक्छ । सपना मूल्यवान् र महत्वपूर्ण देख्ने अनि व्यवहार त्यसको ठीक विपरीत गरेर लक्ष्य हासिल हुँदैन ।

पुष्पलालले ल्याएको संयुक्त जनआन्दोलनको सही नीति बुझ्न तपाईं आदरणीय नेताहरूलाई तीस वर्ष लाग्यो । यस्तो चालाले मुलुक हाँक्न सकिन्न । एकता भनेको टाउको जोड्नु मात्र होइन । आफैँ नबदलिई यो समाजमा जरा गाडेर बसेको सबैखालको विचलन र अपचलन ग्रस्त समाज कसरी बदल्न सक्नु होला ? तपाईंहरूतिर  शङ्काहरू लस्कर लागेको देखिन्छ । यस प्रसङ्गमा प्रसिद्ध लेखक सौरभले आफ्नो पुस्तक ‘असङ्गति’मा जनता लुटेरा एक उपशीर्षक अन्तर्गत नेपाली समाजको नियतलाई उजागर गर्नुभएको छ । उहाँले नेपालमा जल, जमिन, शिक्षा, स्वास्थ्य र अर्थलगायत अनेक विषय र सन्दर्भमा माफिया शब्द जोडिएको सन्दर्भ उठाउनुभएको छ ।  ती माफियाहरू कुनै विदेशी र आयातीत मानिसहरू होइनन् र छैनन् । ती सबै क्षेत्रमा जनताका सन्तानहरूले प्रतिनिधित्व गरेका छन् । मौका पाउने बित्तिकै खरो आर्थिक नैतिक इमानदारिताको वकालत गर्ने अधिकांशतः नेपाली विचलन, अपचलनलाई सहर्ष र गौरव स्वीकार समर्थन गरिरहेको देखिन्छ । त्यही कारण सौरभ जहाँ जनता लुटेरा छन्, त्यहाँ स्वाभिमान र आत्म सम्मान भन्ने कुरा कसरी रहन्छ भन्दै पुनः प्रश्न गर्नुहुन्छ ।  यसको मतलब बाबु वा आमा आफ्ना अमुक सन्तानले भ्रष्टाचार गरेर भए पनि कमाउँदा आय आर्जन गर्दा खुसी हुने तर तिनै अभिभावक आफूले विभिन्न खालै सरकारी काम गर्दा घुस दिनुपर्दा पाखुरा सुर्किने स्थिति टड्कारो देखिन्छ ।

अहिले वाम गठबन्धनकै नेता, कार्यकर्ताहरू र समग्र समाज आफ्ना सन्तानलाई शिक्षक, प्राध्यापक बन्न सल्लाह दिन्छन् ? तिनै अभिभावकले आफ्ना सन्तानलाई हुलाकको जागिर खान र इमानदार हुन सल्लाह दिन्छन् ? आर्थिकलगायत इमानदारिताका सवालमा नेपाली सामाजको नियत विभाजित देखिन्छ । प्रायः सामाजिक नियत देशका लागि इमानदारिताका साथ काम गर्नुपर्छ भन्ने पाइन्न । तथापि देशमा इमानदारिताको शून्य अवस्था भने होइन र छैन । एउटा अभिभावक आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर आदि विशिष्ट  विषयहरू पढाउन किन हत्ते हाल्छन् ? तिनले सन्तानलाई करबलले भए पनि उपर्युक्त विषय पढाउन चाहन्छन् ।

किन चाहन्छन् भने ती ती क्षेत्रमा आर्थिक, भौतिक अपचलन गरेर भए पनि मोटो रकम  हात पार्न सकिन्छ  । समाजमा हर हिसाबले जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मान्यताले घर गरेको छ । माओ त्से तुङले पढ्नुभनेको देशको सेवा हो भन्नुभयो । तर हाम्रो शिक्षण सिकाइ त्यसको विपरीत देखिन्छ । जननेता मदन भण्डारीले महेन्द्र बहुमुखी क्याम्पस धरानमा आयोजित प्राध्यापक भेलामा सम्बोधन गर्दै आर्थिक नैतिक इमानदारिताका विषयमा सुस्पष्ट विचार व्यक्त गर्नुभएको थियो । भण्डारीले मौका नपाएर इमानदार हुनु र मौका  पाइपाई इमानदार हुनु फरक विषय हो । त्यसैले तपाईंहरू इमानदार हुनुहुन्छ भनेर सोझो हिसाबले पत्याउन सकिन्नँ, मदन भण्डारीले उपस्थित शिक्षक र सर्जकहरूलाई भन्नुभएको थियो ।

एमाले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी वामगठबन्धनको सरकार भ्रष्टाचारविरोधी रहने कुरा खुलस्त गर्नु भएको छ र उहाँले भोलि बन्ने सरकार र त्यसले नियुक्त गर्ने तमाम निकायलाई इमानदार रूपमा काम गर्न अहिलेदेखि नै खबरदारी गर्न थाल्नुभएको छ । जब समाजको नियत नै इमानदारितापूर्वक समाज र देशको सेवा गर्ने कुरामा फितलो सोचको हुन्छ । त्यसबेला तमाम तह, तप्का, वर्ग, समुदाय र पार्टीहरूमा आर्थिक अनैतिकता र अनियमिततालाई सामान्य ठान्ने मनोरोगले डेरा जमाएको हुन्छ । अहिले यस लेखकको वामगठबन्धनलाई नै खबरदारी गर्ने हक हुनाले पनि यस विषयमा तिनै गठबन्धनका नेताको नैतिकता शीर्षस्थानमा रहेको हो । अब काङ्ग्रेसलगायत पार्टीका नेता र कार्यकर्ताको कति इमानी र बेइमान भनेर केलाउने विषय होइन । अबको वाम सरकारलाई नै यस विषयमा बेलैमा खबरदारी गर्न सक्ता मात्र आगामी दिन भ्रष्टाचार कम दुँदै शून्य हुन सक्छ ।

त्यसैले यस विषयमा वामगठबन्धन पार्टीका सबका सब नेता, कार्यकर्ता, शुभचिन्तकहरू कमजोरी रहित छन् भन्न सकिने देखिन्न । २००६ सालदेखि हालसम्मको कम्युनिस्ट आन्दोलनको यात्राको समीक्षा गर्दा पनि कतिपय आर्थिक नैतिकलगायत विचलन र अपचलन देखिन्छ । हरेकका घरघरमा र परिवारमा नियमित होस् वा अनियमित जसरी पनि आर्जन गर्नुपर्छ भन्ने भावना कमबेसी देखिने गर्छ । कतिपय वामपार्टीका उपल्ला र स्थानीय नेताका आर्थिक विचलन र अपचलनका कुराहरू यसै लेखकलाई जानकारीमा छ । जब एउटा मन्त्रीलाई रातको १० बजे पार्टीले पदबाट बर्खास्त गर्छ । त्यसबाट मन्त्रीको निक्कै मोटो रकमको आर्थिक अनियमितता स्पष्ट अन्दाज गर्न सकिन्छ । जब एउटा कार्यकर्ता मौकैपिच्छे नियुक्ति, सरुवा र बढुवामा आर्थिक चलखेल गर्छ भने त्यसबाट उसको नियत स्पष्ट हुन्छ । पार्टीमा पति वा पत्नी नेता छ भने पार्टीमा पूर्णकालीन रूपमा सक्रिय नभएको परिवारको सदस्यले केही न केही आय आर्जनमूलक काम र व्यवसाय गर्दा हुन्छ तर त्यसो गरेको देखिन्न । काम गर्दा सानो भइन्छ भन्ने मानसिकताले काम गरेपछि आशामुखी हुन बाध्य भइन्छ ।

अलिअलि अनियमितता गरे हुन्छ भन्ने मानसिकताले फलाम चोर्ने र घरफोर्ने अवस्थासम्म पुुर्याउँछ । वाम गठबन्धन नेता र कार्यकर्ताको परिवारमा नै आर्थिक इमानदारिता विषय कति कटिबद्ध होला ? आफ्नै परिवार, टोल, छिमेक र गाउँमा इमानको छवि स्थापित, विकसित र समृद्ध बनाउन सकेको स्थिति छ ? आर्थिक रूपमा हामीले  आफ्नै छवि जोगाउन सकेका छौँ  ? यस विषयमा हामी आफैँ चाहिँ कति बदलिएका छौँ ? हाम्रा आफ्नै पारिवारिक सदस्यहरू पति राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेको आफ्नो अभिभावक आर्थिक रूपमा इमानदार रहेकोमा गर्व गर्न सक्छन् ? चीनमा अहिले पार्टीका उपल्ला तहमा भ्रष्टाचार व्याप्त देखिन्छ । वर्तमान राष्ट्रपति सिजिङ पिनले देशमा व्याप्त आर्थिक भ्रष्टाचार विरोधी कडा अभियान सञ्चालन गरेर देशलाई जोगाए मात्र होइन देशको उत्थान नै गरेर देखाए ।

बोली, विचार र व्यवहारमा ठेगान नहुने नेताहरू आफैँ ठेगानाविहीन बन्छन् । अनावश्यक लोलोपोतोले देश चल्दैन । अहिले सरकारले राष्ट्रपति समक्ष पठाएको चरम विवादमा रहेको अध्यादेशसम्बन्धी विगत संसद्मा भारीभर्कम छलफलको अभिलेख संसदमा नै छ नि । पुस ११ गते बिहान पूर्वसभामुख सुवास नेम्बाङले अध्यादेशसम्बन्धी विवादको रेकर्ड पल्टाएर हेर्न र सुन्न धमलाको महला कार्यक्रममा भन्दै हुनुहुन्थ्यो । यस्तो भएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले लुकाएर राख्थे होलान् ? अहिलेसम्मको नेपाली काङ्ग्रेस संस्थापन पक्ष हिल्यैदेखि अहिलेसम्म पनि सरासर झुट र फरेवको पैरवी गरिरहेको छ । अनि यस्ता कुरामा संविधान अनुसार र विगतमा तयार गरिएको विधेयकलाई आफ्नो अनुकूल परिवर्तन गरेको विषयलाई हचुवाका भरमा प्रचण्डले दोधारे कुरा गर्न मिल्छ ? यसले आगामी दिनमा ल्याउने जटिलतालाई ख्याल गरेर बोल्नुपर्दैन ? ओली र प्रचण्डले त यो जुनिमा र जिन्दगीमा सबकुछ  पाइ नै सक्नुभयो ।

त्यसैले उहाँहरूले देशको भविष्य र आगामी पुस्ताको समग्र भविष्यप्रति चिन्तित हुने कि नहुने ? उहाँहरू बितेपछि पनि पार्टी, सिद्धान्त, विधि र पद्धति त रहला नि । अनि जहिले जहाँ पनि नितान्त निजी आकाङ्क्षा जनित उद्देश्य र अभिप्राय बोकेर मुलुकको हित हुन्छ ? सानो होस् कि ठूला अनियमितता, अन्य मनष्कता र अलमलले देशलाई भारी नोक्सान गर्छ । एउटा कमन्डर युद्ध मैदानमा आफैँ लुगलुग काँम्यो भने मातहतको दशा के हुन्छ ? 

यस लेखकले पार्टी एकीकरणको अभियानमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी लगायतको भूमिका महत्वपूर्ण ठानेको छ । उहाँले धेरै पटक लिखित र मौखिक अभिव्यक्तिमा कम्युनिस्ट नामका खुद्रे पसल अब बन्द गर्नुपर्छ भनेको यस लेखकले  सुनेको छ । पठन संस्कृतिका एक नमुना नारायणकाजी चुनावमा पराजित त हुनुभयो तर उहाँलगायत नेताहरूले पार्टी नेतृत्वलाई अब लरबरिन किमार्थ दिनु हुँदैन । अहिले माओवादी केन्द्रका किराँती, आहुती, तिम्सिना र रायमाझी लगायतहरू वाम  एकता विरोधमा ज्यान फ्यालेर लागेको अखबारमा आइरहेको छ । बाक्लो दाल खान उद्यतहरू देश र जनताको फोस्रो नारा घन्काएर आफैँ मात्र हसुर्न चाहन्छन्, तिनको खासै अर्थ देखिन्न ।

मियो दह्रो हुँदा बछेडाहरू फनफनी घुम्न बाध्य हुन्छन् । ओली इमान, जमान र कमान्ड कायम राख्न सक्ने अद्भूत सामथ्र्यशाली नेता हुन् । उनी थकाउनेलाई नै गलाइदिन सक्छन् । उनी जे गर्दैछन् भावी नेपाल र नेपालीका लागि गर्दैछन् । उनले आफ्नो  फाउको जिन्दगीलाई निक्कै भाउको बनाइसके र अझै यसलाई मूल्यवान् बनाउन चाहन्छन् तर आफ्नै पार्टीभित्रका लिलिपुट नेताले कत्तिको साथ दिन्छन् हेर्दै जाऊँ ।  यो लेखक नेतालाई द्यौता मान्दैन । माओले नै भूलहरूको आलोचना गर्नुपर्छ भन्नुभएको छ । उहाँले नै आफ्नै आँगन पनि कुचोले बढार्नुपर्छ पनि भन्नुभएको छ । 

माओवादी केन्द्रमा वैचारिक सैद्धान्तिक स्तर एमालेभन्दा पनि कमजोर देखिन्छ । माओले नै   भनेझैँ सैद्धान्तिक वैचारिक क्षमता नेताहरूमा मात्र भएर हुँदैन भनेझैँ वाम गठबन्धनले आम अगुवा कार्यकर्तामा  सामयिक सैद्धान्तिक विषय र प्रसङ्ग समयमै पु¥याउन  सकेन भने एकता जटिल बन्ने छ । यस्तै विषय र पक्षहरूका अभावमा कम्युनिस्ट  पार्टी कम्युनिस्ट नहुने हो ।

हुँदा हुँदा एक एक विचलन र अपचलन  बढ्दै भए पछि पार्टी लोभी, पापी र स्वार्थका भकारीहरूको झुण्ड हुनेछ । हुँदाहुँदा भारतीय प्रमुख पार्टीहरूमध्ये काङ्ग्रेस, बीजेपी क्रमशः पहिलो र दोस्रो अनेक अपराधमा संलग्न नेतृत्व भएका पार्टी हुन् भने कम्युनिस्ट पार्टी यस कुरूप दृष्टिले तेस्रो नम्बरमा पर्नेकुरा प्रा.डा. युवराज सङ्ग्रौलाले एक लेख मार्फत् उल्लेख गर्नुभएको थियो । तसर्थ ओली र प्रचण्डले यी यावत् विषयलाई गम्भीर रूपमा मनन गरेर वाम तालमेलमा जनताले दिएको समर्थनलाई अत्यन्त गम्भीरताका  साथ लिएर वास्तविक वाम एकता गर्ने विषयमा ध्यान दिनुहोस् । 
(लेखक एमाले सांस्कृतिक विभागका केन्द्रीय सदस्य हुन् ।) 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ