बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आहुतिजी, यी प्रश्नमा सैद्धान्तिक बहस गर्ने हो ?

बुधबार, १२ पुस २०७४, ११ : ०९
बुधबार, १२ पुस २०७४

नेकपा (माओवादी केन्द्र)का नेता कमरेड आहुति (उहाँले माओवादी परित्याग गरेको समाचार सत्य होइन भने) ले वाम एकतालाई केन्द्रविन्दुमा राखेर एउटा लामै अन्तरवार्ता लोकप्रिय रातोपाटी अनलाइनमा प्रकाशित भएको छ । उहाँले एमाओवादीभित्र सैद्धान्तिक बहस नै नगरी हतारमा एमालेसँग एकता गर्ने निर्णय सुनाइएको गुनासो मात्र गर्नु भएको छैन, एमाले–माओवादी एकताले नेपाली कम्युनिस्ट आन्दोलनको विसर्जन हुने हावादारी तर्क प्रस्तुत गर्नुभएको छ । हरेक मानिसका आआफ्ना बुझाइ हुन्छन् । मेरो बुझाइमा आहुति सिद्धान्तमा जडसूत्रवादी र व्यवहारमा अराजकतावादी नेता हुनुहुन्छ । भन्न परोइन, जडसूत्रवादीहरू आफूले घोकेका केही सूत्रहरू र नेताका (स्वदेशी नेताका होइन, अन्तैका नेताका) भनाइलाई मात्र सार्वभौम सच्चाइ ठान्दछन् । आहुतिजी यो रोगबाट बाहिर आउन सक्नुभएको छैन । आहुतिजीको लामो अन्तरवार्ता पढिसकेपछि मनमा उब्जेका केही प्रश्न यहाँ पस्कने जमर्को गरिएको छ ।

१. चुनावअघि तपाईंले भनेजस्तो प्रचण्डले महाबहस गरेर मात्र गठबन्धन गर्ने भनेको भए तपाईंजस्ता बहसवाजले कति दिनसम्म प्रचण्डलाई रिङ्याइदिनु हुन्थ्यो र गठबन्धन गरेर चुनावमा जान सकिँदैनथ्यो । गठबन्धन नगरेको भए वामपन्थीहरूको यो परिणाम सम्भव थियो ?

२. तपाईंले भन्नुभएको छ– “एमालेले वर्तमान पुँजीवादी व्यवस्थाभित्रको बहुदलीय अभ्यासमा प्रतिस्पर्धात्मक राजनीति गरेर क्रमशः व्यवस्थालाई सुधार गर्नसकिन्छ भन्न निष्कर्ष निकाल्यो । हामीले त्यसलाई माक्र्सवादबाट विचलन भन्यौँ ।  एमालेले जनमतको श्रेष्ठतामार्फत् यो समाजको आमूल परिवर्तन गर्न सकिन्छ भन्ने सगौरव आफ्नो सिद्धान्त बनाएरै अघि बढ्यो । केही अपवादबाहेक सबै कम्युनिस्ट पार्टीले चुनाव लड्दै आएका छन् । तपाईं पनि यस्ता चुनावमा पटक–पटक भाग लिनुभएको छ । एमालेसँग मिलेर  चुनाव लड्न चाहिँ किन महावहसको आवश्यक पर्यो ?

३. तपाईंले भन्नुभएको छ– कुनै पनि कम्युनिस्ट पार्टी चल्ने भनेको पद्धति, प्रक्रियामा होतरमा ओवादी पार्टीको नेतृत्व डफ्फाले सैद्धान्तिक जवाफ दिनुपर्ने कयौँ प्रश्नमा आँखा चिम्लँदै व्यक्तिवादी कार्यशैली अपनाउनथाल्यो । ठूलो नेताले जे भन्यो त्यही हुने स्थिति बन्नथाल्यो । जब कि ती सबै सैद्धान्तिक प्रश्नहरूका जवाफमा क्र्सवादी कोणबाट छलफल गरेर त्यसलाई हल गर्नु पर्ने थियो । समग्रमा पार्टीलाई विधिमा ढाल्नुपर्ने थियो । तर उहाँहरूले त्यसको विपरीत गर्न थाल्नुभयो र प्रश्नको विकल्पमा नयाँनयाँ भ्रम दिने विधिको खोजी गर्नथाल्नु भयो । यसको परिणामस्वरूप पद्धति प्रक्रिया मिच्ने, व्यक्तिले पार्टी चलाउने र मनपरेको व्यक्तिलाई मात्र पहुँच दिने हुन थाल्यो । यतिसम्म कि माक्र्सवादी नै नभएको व्यक्तिलाई केन्द्रीय समितिको बैठकै नबसी केन्द्रीय सदस्य बनाउने स्थितिसम्म विकृति बढ्यो । एमाले विधिमा चलेको पार्टी हो । पार्टी अध्यक्षदेखि पार्टी सदस्यसम्म सबैले विधि अनुसार चल्नैपर्ने बाध्यकारी वैधानिक व्यवस्था छ । हरेक सैद्धान्तिक, वैचारिक र सङ्गठनात्मक मामिलामा संस्थागत निर्णय हुने गर्छ । देशको सबभन्दा विधिमा चलेको कम्युनिस्ट पार्टीसँग माओवादी केन्द्रको एकता प्रयासबाट यति धेरै कुण्ठा ओकल्नु आवश्यक थियो र ?

४. आफ्नै पार्टीका नेताहरूलाई तपाईंले गम्भीर आरोप लगाउनु भएको छ “आर्थिक अनुशासनलाई समेत भताभुङ्ग पारी अपारदर्शितामा आधारित समग्र क्रियाकलापले नेतृत्व डफ्फाको हिजोको वर्गर आजको वर्गमा ठूलो खाडल पैदा भइसकेको थियो । यदि नेतृत्वको वर्ग (निम्न, मध्यम) हिजोकै ठाउँमा रहेको भए उहाँहरू सर्वहारावादी हुन कोसिस गर्नु अझै सक्नुहुन्थ्यो । तर पुरानो वर्गबाट च्यूतभइसकेको नेतृत्वका लागि अब पुरानो कुरा पुरानै भइसकेको थियो । यथार्थमा भन्ने हो भने माओवादी केन्द्रको मूल नेतृत्व डफ्फा आजराजनीतिक नोकरशाही पुँजीपति वर्गमा  रूपान्तरित भइसकेको छ  । तपाईंको यो आरोपसँग सहमत हुन सकिँदैन । के तपाईंबाहेक सबै माओवादी तप्का नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित भइसकेको हो ? त्यसो भए त एमालेले विकास गरेको आर्थिक अनुशासनले उक्त तत्कालाई बचाउन सक्थ्यो होला नि ? देशको कम्युनिस्ट आन्दोलनलाई विभिन्न जटिल घुम्तीबाट जोगाएर यहाँसम्म ल्याउने नेताहरूलाई भए नभएका यस्ता आरोप लगाएर मात्र तपाईंको राजनीतिको रोटी कति दिन सेकाउनु हुन्छ ? नेपाली कम्युनिस्टहरूको राष्ट्रव्यापी साङ्गठानिक सञ्जाल विस्तार भएर सत्तामा पुग्न लागेको बखत “साङ्गठानिक रूपमा कम्युनिस्ट आन्दोलन पतन भएको” देख्नु तपाईंको दृष्टिभ्रमबाहेक के हुन सक्छ ? तपाईंजस्तो माओ विचारधाराले लैस व्यक्तिलाई माओको भनाइ “सिद्धान्तविनाको व्यवहार अराजक हुन्छ, व्यावहारविनाको सिद्धान्त लङ्गडो हुन्छ” सम्झाउनुपर्ने हो ?

५. तपाईंले भन्नुभएको छ– “एकताले अहिलेसम्म लडेर संविधानमा स्थापित गरेको जातीय, क्षेत्रीय, लैङ्गिक र दलितलगायतका मुद्दालाई क्रमशः सङ्कुचनमा लैजाने कडीको सुरुवात हो । मेरो स्पष्ट अडान के हो भने यो एकताले सबै उत्पीडित वर्ग र समुदायको अधिकारलाई कटौतीतर्फ लैजान्छ । यसको कारण खुट्याउन तपाईं यी पार्टीहरूको सामाजिक, सांस्कृतिक बनोटतर्फ फर्किनुपर्ने हुन्छ । तपाईंको यो भनाइबाट बुझ्न कठिन छैन– तपाईं वर्गीयभन्दा जातीय राजनीतिलाई प्राथमिकता दिइरहनुभएको छ । सच्चा कम्युनिस्टले वर्गीय राजनीतिको बृहत्तर छाताभित्र जातीय, क्षेत्रीय र लैङ्गिक समस्याको समाधान खोज्नुपर्ने होइन र ?

६. तपाईले मदन भण्डारी, केपी ओलीे र प्रचण्डको समाजवादसम्बन्धी अवधारणालाई ठट्टा देख्नुभएको छ । यो आफैंमा एउटा गज्जबको ठट्टा हो । किनभने अबको वैज्ञानिक समाजवाद विगतमा अभ्यास गरिएको जस्तो निषेधकारी तरिकाले निर्माण गर्न सम्भव छैन । अब निर्माण गर्ने वैज्ञानिक समाजवाद ज्ञान, सीप, दक्षता र सूचनाले समृद्ध मानिसहरूको स्वस्थ एवं इमानदार प्रतिस्पर्धाबाट निर्माण गरिनु पर्दछ । व्यक्तिको सांस्कृतिक एवं चारित्रिक रूपान्तरण, प्रत्येक नागरिकलाई राज्यको समान सेवा, शिक्षा स्वास्थ्य जस्ता नैसर्गिक अधिकारमा समान पहुँच र उपलब्धता प्रतिस्पर्धात्मक समाजवाद निर्माणका प्रस्थानविन्दु हुन सक्छन् । वैज्ञानिक विश्व दृष्टिकोण, सहकारी एवम् सामूहिक प्रयासद्वारा निजी आवश्यकताको परिपूर्ति, प्रगतिशील आरक्षण, समावेशीकरण, सकारात्मक विभेद र लोक कल्याणकारी राजकीय कदमहरूको माध्यमबाट समाजवादतर्फ देशलाई उन्मुख गराउन सकिन्छ ।

 संसारको कुनै शासन व्यवस्थाले  प्रतिस्पर्धालाई निषेध गर्न सक्दैन । प्रतिस्पर्धा मानव स्वभाव हो । समाजवादमा मात्र होइन, साम्यवादमा पनि मानव मानव बीच स्वस्थ्य प्रतिस्पर्धा रहिरहन्छ । यो जन्मजात गुण भएकाले त्यसलाई नियन्त्रण गर्न खोज्नु कसैका लागि सुहाउने कुरो होइन । तर हज्जारौँ वर्षदेखिको शोषणबाट वर्ग, जाति र समुदायलाई आधुनिक विश्वको प्रविधि, सीप, शिक्षा र आवश्यक स्रोत साधन उपलब्ध गराउनुका साथै अकूत सम्पत्तिवालालाई राजकीय पहलबाट नियन्त्रण गर्ने परिपाटी अवलम्बन गर्नु जरुरी छ । पुजीवादी घाँटी कटुवा प्रतिस्पर्धाको अन्त्य गर्न श्रमजीवी सत्ता आवश्यक हुन्छ । अनि तपाईंको जस्तो जडसूत्रवादी बुझाइको समाजवाद अबको गन्तव्य हो कि मदन भण्डारी, ओली र प्रचण्डको गतिशील बुझाइको समाजवाद अबको गन्तव्य हो ? आहुतिजी, पूर्वाग्रह, कुण्ठाबाट बाहिर आएर सौम्य र सार्थक बहस गरौँ, बहसका लागि बहस होइन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मल भट्टराई
निर्मल भट्टराई
लेखकबाट थप