केन्द्रीय संस्करण

परीक्षणमा राष्ट्रवादको मोदी आयाम

person access_timeपुस १२, २०७४ chat_bubble_outline0

सरकार लगातार भनिरहेछ कि देशका जनतामाथि गर्व गरौँ । अपेक्षा यो गरिएको छ कि यो फर्मुला लागू भएपछि जनताले देश चलाउनेप्रति पनि जनताले गर्व गर्न थाल्नेछन् । किनकि देश, सरकार, भाजपा, हिन्दु र मोदी एकै हुन् ।

मोदीले यो फर्मुला गुजरातको राज्यसभा चुनावमा पनि मज्जाले प्रयोगमा ल्याए । चुनावमा बहुमत ल्याएपछि प्रधानमन्त्री मोदीले विजय र्यालीमा पुगेर गुजराती गौरवको शङ्खनाद गरेका छन् । चुनावपूर्व पनि उनले यस्तै गौरवपूर्ण अभिव्यक्ति दिएका थिए । जस्तो, गुजरातको छोराले संसारभर भारतको नाम राखेको छ । त्यसैले देशमाथि, मोदीमाथि, सरकारमाथि र भाजपनामाथि गर्व गर्नुपर्छ । भोट माग्नका लागि योभन्दा ओजनदार गौरवपूर्ण अभिव्यक्ति अरू के हुन सक्ला ?

यस गौरवपूर्ण अभिव्यक्तिमा असहमत हुनेहरूलाई सरकारले एउटै कोटामा राखेको छ । काङ्ग्रेसी, स्वतन्त्रतावादी, बुद्धिजीवि,  मुसलमान, पाकिस्तान समर्थक, हिन्दु विरोधी, राष्ट्रविरोधी, आतङ्कवादीलगायत सबैलाई सरकारले यही कोटामा राख्छ । यस्ता व्यक्तिहरूले बेला बेलामा चिन्ता व्यक्त गर्ने गरेका छन् । कहिले संविधानको चिन्ता, कहिले लोकतन्त्रको चिन्ता, कहिले संसद्को चिन्ता, कहिले विभिन्न संस्थाहरूको चिन्ता, कहिले दलितको चिन्ता, आदिवासी, महिला, मुसलमान, किसान र मजदुरको चिन्ता ।

यसरी केही व्यक्तिहरूले बारम्बार चिन्ता व्यक्त गर्दा कहिलेकाहीँ सरकार पनि थोरबहुत चिन्तित हुन्छ । चिन्ता गर्नेहरूले गर्व गर्नेलाई भ्रममा पार्लान् कि भन्ने चिन्ता सरकारलाई पर्ने गरेको छ । यस्ता कुराले नकारात्मक चिन्तन बढाउन सक्नेतर्फ सरकार संवेदनशील हुने गरेको छ ताकि देशले कुनै बाधा अवरोधबिना गर्व गर्न सिकोस् ।

यसरी केही व्यक्तिहरूले बारम्बार चिन्ता व्यक्त गर्दा कहिलेकाहीँ सरकार पनि थोरबहुत चिन्तित हुन्छ । चिन्ता गर्नेहरूले गर्व गर्नेलाई भ्रममा पार्लान् कि भन्ने चिन्ता सरकारलाई पर्ने गरेको छ । यस्ता कुराले नकारात्मक चिन्तन बढाउन सक्नेतर्फ सरकार संवेदनशील हुने गरेको छ ताकि देशले कुनै बाधा अवरोधबिना गर्व गर्न सिकोस् ।

त्यसो त सरकारको प्राथमिकता स्पष्ट छ । चिन्ता गर्नेहरूका विषयमा सरकारले चिन्ता गर्दैन । तर जब गर्व गर्नेहरूले नै चिन्ता गर्न थाल्छन् । त्यसपछि सरकार गहिरो चिन्तामा डुब्छ । जस्तो, रानी पद्मावतीको सम्मान बचाउनका लागि चिन्तित भएकाहरूले तरबार निकाले ।

सरकारले तत्कालै प्रतिक्रिया देखायो । रानी पद्मावतीलाई भारत माता, गौमाता, गङ्गा माता र राष्ट्रमाता बराबरको दर्जा दिइयो । फिल्म पद्मावतीलाई रिलिज हुनभन्दा अघि नै प्रतिबन्ध लगाइयो ताकि क्षणिक चिन्ताले घेरिएर जनतालाई गर्व गर्ने अवस्थाबाट पछि हट्नुपर्ने बाध्यता नहोस् ।

चिन्तामुक्त र गर्वयुक्त समाजको सपना सजिलो छैन । मानिसहरू निर्दोष सर्वसाधारण मारिएका तथा महिलाहरूले बलात्कारको शिकार भएपछि बाध्य भएर आत्महत्या गरेका भिडियो सामाजिक सञ्जालबाट सेयर गर्छन् । यस्ता भिडियोले गर्व गर्ने अवस्थामा बाधा उत्पन्न गर्छ । त्यसैले यस्ता घटनामा प्रतिक्रिया दिनुको सट्टा धैर्यताका साथ  मौन बस्ने उपाय सरकारले लगाउने गरेको छ । चुप रहेर प्रतीक्षा गर्ने, चाँडै मानिसहरू गर्व गर्ने मनोदशामा फेरि फर्कनेछन् ।

भारत सरकारलाई के लागेको छ भने चिन्ता गनेहरूको दृष्टिकोण नै गलत छ । जस्तो, झारखण्ड प्रान्तमा एक बच्ची आधार कार्ड नभएका कारण भोकले मरिन् । त्यही प्रान्तमा गाईका लागि एम्बुलेन्स सेवा पनि छ सफलतापूर्वक चलिरहेको छ । गाईका लागि पनि त आधार कार्ड बनाउँदैछ सरकार, यस विषयमा गर्व गर्नुपर्छ या पर्दैन ?

गर्व र चिन्ता, यी दुईमध्ये के गर्ने । कुन कुरामा गर्व गर्ने, कुन कुरामा चिन्ता गर्ने र कति मात्रामा गर्ने, यस विषयमा अझै स्पष्ट भइसकेको छैन । यस्तो लाग्छ कि सरकारले स्पष्ट नीति बनाएर नै देशलाई एकजुट भएर गर्व गर्ने अवस्थामा पुर्याउन चाहन्छ ।

जस्तो गर्वयुक्त समाज उत्तर कोरियाको छ । जहाँ कसैले चिन्ता वा गुनासो गर्दैनन् । चिन्ता गर्नेलाई सधैँका लागि चिन्तामुक्त गर्ने सरकारको स्पष्ट नीति छ । त्यसैले कोरियामा सबैले गर्व मात्रै गर्छन् ।

उत्तर कोरियालाई नजिकबाट हेर्दा के स्पष्ट बुझ्न सकिन्छ भने चिन्ता नगर्नका लागि लोकतन्त्र बाधक छ । भारत सरकारको कार्यशैली पनि यस्तै देखिएको छ । लोकतन्त्रको चक्कर लगाएका ठाउँमा धेरैभन्दा धेरै गर्व गर्नलायक कुरा हुँदाहुँदै पनि त्यहाँ चिन्तितहरूको प्रश्न गरिरहनेछन् ।

खासमा सरकारलाई मानिसहरूलले गरेका चिन्ता चिन्ता जस्तो लाग्दैन । त्यसैले भाजपा सरकारले चिन्ता व्यक्त गर्नका लागि नागरिकहरूलाई सूची नै बनाएर दिए हुन्छ । जस्तो, गान्धी परिवारको वंशवाद, काङ्ग्रेस, लालु, मुलायम, मायावतीको भ्रष्टाचार, पाकिस्तान, आतङ्कवाद, मुसलमानको बढ्दो जनसङ्ख्या, लब जिहाद, विद्यालयमा पढाइएको गलत इतिहास आदि ।

देशमा जम्मु कास्मिर मात्रै एउटा अपवाद छ । जहाँ गर्व गर्नेहरू सरकारमा छन् र चिन्ता गर्ने मुसलमानहरूको जनसङ्ख्या धेरै छ । त्यसैले यहाँ गर्वका साथ जवानहरूले गोली चलाउँछन् । त्यही गोलीबाट घायल भएका जवानहरूको चिन्ता सरकार गर्छ । उपचारका लागि विज्ञहरू पठाउँछ ।

गरिबी, बेरोजगारी, भोकमारी, किसानको दुदर्शालगायतका विषयमा चिन्ता गर्नेहरूलाई सरकारले सिकाउन जरुरी छ कि उनीहरूले भारतका अरबपतिमाथि गर्व गरून् । त्यस्ता अरबपतीबाट प्रेरणा लिऊन्, जसले आफ्नो परिश्रमको बलबाट संसारका ठूलाठूला धनढ्यसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

दलितका विषयमा बोल्नेहरू त जातिवादी नै भइहाले, आदिवासीका विषयमा बोल्नेहरू माओवादी । त्यसैले उनीहरूप्रति धेरै ध्यान दिन जरुरी छैन । मुसलमानको चिन्ता जसलाई छ उनीहरूलइ यो सम्झाउन आवश्यक छ कि रोहिंग्या मुसलमानभन्दा कति राम्रो अवस्थामा छन् भारतका मुसलमान ।

विज्ञानको क्षेत्रमा पुष्प विमानमाथि अनुसन्धान हुँदैछ । चिकित्सा क्षेत्रमा गोमूत्र बारे गहन शोध हुँदैछ । ऊर्जा क्षेत्रमा भारतले गोबरको माध्यमबाट अरब देशहरूलाई पछि छाडेको बताइएको छ । उद्योगका विषयमा कुरा गर्ने हो भने बाबाको आयर्वेदिक उत्पादनले विदेशी ब्रान्डलार्ई पछि पारिसकेको छ । रक्षा क्षेत्रमा रफायल विमान पूरै रिलायन्स कम्पनीको छ । शिक्षा क्षेत्रको कुरा गर्ने हो भने हरेक विश्वविद्यालयमा राष्ट्रवादको गहन अध्ययन  अध्यापन भइरहेछ । विदेश नीति हेर्ने हो भने त्यस्तो कुन देश छ, जसको कार्यकारी व्यक्तिले मोदीसँग गला नमिलाएको होस् ।

यस्तो तार्किक दृष्टिबाट हेर्ने हो भने भारतमा सबै कुरा गर्व गर्नलायक छ । जुन कुरा गर्व गर्नलायक छैन त्यसलाई तत्कालै बदल्न सकिन्छ ।  अन्त्यमा, हरेक रेलवे स्टेसनमा पछिल्ला चालीस वर्षदेखि निरन्तर बिक्री भइरहेको छ, स्वेट मार्डेनको एक चर्चित भनाइ, स्मरणीय छ, ‘चिन्ता छोड, सुखले बाँच ।’

यसको परिमार्जित संस्करण भारतले हरेक कोर्समा अनिवार्य राख्न आवश्यक छ । ‘चिन्ता छोड, गर्व गर ।’
 

राजेश प्रियदशी

डिजिटल एडिटर, बीबीसी हिन्दी
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X