केन्द्रीय संस्करण

कम्युनिस्ट एकताको फड्को कति सजिलो ?

person access_timeपुस ११, २०७४ chat_bubble_outline0

माओवादी केन्द्रका नेताहरू आहुती र गोपाल किराँतीलगायतका चिन्ता जायज नै छन् । उनीहरूका अन्य चासोलाई घालमेल नगरीभन्दा माओवादी आन्दोलन समाप्त नहोस् भन्ने चिन्ताप्रति नकरात्मक बन्नुपर्दैन । आआफ्ना ठाउँबाट चिन्ता चासो र पहल कदमीमा निष्कृय रहने जोकोही माओवादीबाट वैचारिक राजनीतिक नखोजौँ । माओवादी आन्दोलनको पराकाष्टाको भनौँ वा सङ्गीन समयमा क्रिया वा प्रतिक्रिया नगर्नेलाई माओवादी कसरी भनौँ ? 

 यतिबेला हामी सङ्कटमा छौँ कि सम्भावना उन्मुख छौँ, यसको फैसला भइसकेको छैन । यति भन्न सकिन्छ, माओवादी आन्दोलनको चरम उत्कर्ष मा छौँ । राजनीतिक सङ्घर्षको यो उत्कर्षमा सबै नेता कार्यकर्ता सेनानीहरूले सर्वोच्च नेता तथा कमान्डरको कासनलाई मानेर मात्र लक्षमा पुग्न विजय हासिल गर्ला ।

विगत होस् कि वर्तमानमा युद्ध राजनीति होस् कि राजनीतिक प्रतिस्पर्धामा नेतृत्वको भूमिका निर्णायक हुने गर्छ । जब नेतृत्वलाई अर्को महान फड्को मार्ने समयको आभाष हुन्छ, तत्क्षण पार्टीमा व्यापक बहस र सामूहिक निर्णयको समय हुँदैन । त्यसकारण प्राधिकारपूर्ण नेतृत्वको पार्टी र आन्दोलनको लागि अपरिहार्य हुन्छ । प्राधिकार प्राप्त नेतृत्व प्राविधिक होइन, न कि पार्टीको निर्वाचन प्रक्रियाबाट पनि पूरा हुँदैन र नेतृत्वप्रतिको अविश्वास गरेर भड्किएका प्रायः जो कुनै बागीले पार लागेका छैनन् ।

मालेमावादका अनुसार राजनीतिले सबै कुराको निर्धारण गर्छ । राजनीति कार्य वा राजनीतिक सत्ताको प्रश्न छाडेर अन्यत्रै भौँतारिनु कस्तुरीले बिना खोज्न भौँतारिनुजस्तै हुन्छ । आफ्नो पार्टी शक्ति सन्तुलनको निर्णायक स्थानमा भएको बेलामा अरू थप सम्भावनाका लागि प्रयत्न गर्नुपर्ने बेला छ ।
सिद्धान्त र विचारलाई बहस गर्दै जाउँ, समृद्धि र कार्यदिशाबारे माओवादीभित्रै र बृहत कम्युनिस्ट एकतामा महान बहस खोज अनुसन्धान गर्दै जाऔँ । तर राजनीतिक पहल कदमी कुनै पनि हालतमा गुम्न दिन हुन्न । जोकोही राजनीतिक नेताले आफ्नै पहलकदमीमा रहेको राजनीतिक सम्भावना छाडेर अलाप गर्दै भौँतारिँदैनन् ।

बाँकी रह्यो पार्टी एकताको कुरा ! माओवादी नेतृत्व एमाले भएर पार्टी एकताको कुरा गरेको होइन, जस्तो कि केहीले लाञ्छना लगाए जस्तो होइन । पार्टी नामको ब्यानरलाई एकअर्कोमा विलयको लाञ्छना लगाउनु कुनै अर्थ छैन । मुख्य कुरा दुवै पार्टीका समाजवादीलाई एकताबद्ध नगरिकन अब अगाडि बढ्न अधिक चुनौतीपूर्ण छ भनेरै अध्यक्ष प्रचण्डको प्रस्तावमा पार्टी एकता प्रकृयासहितको वाम गठबन्धन भएको हो ।
 

निश्चय पनि कतिपयलाई के भ्रम छ भने पार्टीले माओवादी विचार र नेतृत्व नै त्याग गर्ने हो कि ? माओवादीको अस्तित्व डाइनोसरको कथा जस्तो हुने हो ? यस्ता चिन्ता र चासो मात्रा हो भने जायज छन् । आत्मा रक्षात्मक सोच र प्रवृत्तिले इतिहासमा उल्लेख गर्नलायक काम कहिल्यै गरेको पनि छैन । मुख्य कुरा आफैमा निर्भर हुन्छन् । वैज्ञानिक तथा क्रान्तिकारी विचार प्रतिबद्ध छन् भने अन्तिममा विद्रोह गर्ने अधिकारलाई प्रयोग गर्ने विकल्प जहिले पनि हुन्छ ।

इतिहासमा बिरलै आउने यस्तो ऐतिहासिक अवसरलाई जो क्रान्तिकारी हो उसैले पहलकदमी लिनुपर्छ । माओवादी नै कम्युनिस्ट एकीकरणको पक्षमा रहनुपर्छ र प्रयत्नलाई अन्तिमसम्म गर्नुपर्छ । यदि हामी साँचो अर्थमा कम्युनिस्ट हौँ भने हाम्रा वरिपरिका वाम कम्युनिस्टलाई एकताबद्ध गर्नै पर्छ । त्यसो गर्न सके मात्र हाम्रा विचार सही हुन सक्छ, अन्यथा होइन । कम्युनिस्ट जनआधारबाट अलगाव परेको विचारलाई कसरी क्रान्तिकारीताको रूपमा स्वीकार्न सकिएला र ?
 कतिपय कामरेडहरू प्रतिकृयात्मक रूपले कतिले कृयात्मक रूपले प्रस्तुत भएका छन् । परन्तु पद र प्रतिष्ठामा रहेका माओवादी नेताहरूको गुपचुप भने अर्थपूर्ण रहेकोलाई पनि नजर अन्दाज गर्न मिल्दैन ।

कम्युनिस्ट एकताको पहलकदमी माओवादीबाट नै हुनुपथ्र्याे र भएको छ । राम्रो, अति उत्तम भयो । अझै पनि अन्तिमसम्म एकताका लागि पहलकदमी छोड्नु हुन्न र यो पनि बुझी राखौँ, माओवादी प्रयत्नले मात्रै कम्युनिस्ट पार्टी एकता सम्भव होला ? त्यसको सङ्केत देखिँदैछ । जो कम्युनिस्ट होइनन् तिनीहरूलाई कम्युनिस्ट एकतासँग सङ्गति छैन भने एकताको प्रयास जारी राख्नुको विकल्प माओवादीसँग पनि नरहन सक्छ । 
 

वाम सरकार र पार्टी एकताको अन्तरसम्बन्धित भएको अवस्थामा राजनीतिले जता पनि मोड लिन सक्छ । माओवादी केन्द्रले पार्टी एकतासहितको वाम सरकारको पक्षमा जोड दिइरहेछ । माओवादी स्वयम् एमालेको तुलनामा अल्पसङ्ख्यामा भएको अवस्थामा पार्टी एकतामा जोड दिनु तर एमालेकै मूल नेतृत्व पङ्क्ति कम्युनिस्ट एकतामा अनिच्छुक देखिनुले सार्वजनिक आशङ्का बढायो । एमाले नेता ईश्वर पोख्रेल र शङ्कर प्रोखेलले सार्वजनिक रूपले कम्युनिस्ट एकताको प्रतिकूल र समझदारीको विपरीत मन्तव्य गर्नुले पनि एकताको सम्भावना अत्यन्त जोखिमपूर्ण छ ।

कम्युनिस्ट पार्टी केन्द्र बनाउने उद्देश्य र अवसर युगमा एक पटका आउने हो । अध्यक्ष प्रचण्डले समय र अवसरको सदुपयोग गर्न चाहेको हो । यसका लागि मूल्य चुक्ता गर्न पनि तयार भएकै हो । तर एमालेको उपल्लो वर्गीय आधार र अन्तर्राष्ट्रिय सम्बन्धका कारण कम्युनिस्ट एकता प्रकृया सम्पन्न होला नहोला भन्न सकिने अवस्था बनिसकेको छैन । 

 घटनाक्रम र ऐतिहासिक आवश्यकताले कम्युनिस्ट एकता प्रक्रिया अपरिहार्य छ । तर एमालेकै नेतृत्व पङ्क्ति अझै तयार देखिँदैन भने यसको अर्थ माओवादी नेतृत्व र उसको विचारको सहीपनालाई पुष्टि गर्दैन र ?

 त्यसकारण राजनीतिको धागो चुँडाल्ने गरी बहस नगरौँ, बरु राजनीतिमा विश्वास गर्नेले भोलिका लागि थोरै नै सही स्पेस (ठाउँ) राखेर बहस गरौँ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ