केन्द्रीय संस्करण

कसरी बढाउने कृषिमा उद्यमशिलता ?

person access_timeपुस १०, २०७४ chat_bubble_outline0

अक्टोबर १६, १९४५ मा संयुक्त राष्ट्र सङ्घअन्तर्गत खाद्य तथा कृषि सङ्गठनको स्थापना भएको थियो । १९८० डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले १६ अक्टोबरलाई विश्व खाद्य दिवसको रूपमा मनाउन राष्ट्र सङ्घमा रहेका सबै देशहरूलाई आह्वान गरे अनुरूप नै १९८१ (२०३८ साल) देखि हरेक वर्ष यो दिवस मनाउँदै आएको पाइन्छ । यसरी विश्व खाद्य दिवस एकातिर मनाइरहँदा विश्वको कूल जनसङ्ख्यामध्ये करिब ८० करोड जनता भोकमरीको चपेटामा रहन बाध्य छन् भन्दा उति सान्दर्भिक त नहोला । तर यो तीतो यथार्थ हो । 

नेपाल यस वर्ष पनि (२०७४ कात्तिक २० गते) ३७औँ विश्व खाद्य दिवस भव्यताका साथ मनाइयो । नेपालले विश्व खाद्य दिवस मनाइरहँदा देशका करिब ३८ प्रतिशत जनता शरीरलाई आवश्यक पर्ने न्यूनतम क्यालोरीभन्दा पनि कम क्यालोरीमा बाँच्न बाध्य छन् भन्ने तथ्याङ्क हामीसँगै छ । जसको सोझो अर्थ शरीरका लागि आवश्यक पोषणको न्यूनतम मात्रा समेत ती जनताले पाएका छैनन् । यस वर्ष मनाइएको ३७औँ खाद्य दिवसमा पारित भएको नारा यस्तो थियो– ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइँ सराइ व्यवस्थित गरौँ । विश्वमा खाद्यान्नको सुरक्षा गर्दै यसलाई बचाउँ भन्ने अभियान चलिरहँदा हामी कहाँ सन्तुलित आहार कसरी खाने र स्वस्थ रहने भन्ने विषय नै प्रमुखताका साथ सञ्चालन हुनुपर्ने आवश्यकता छ । हाम्रो देशलाई कृषि प्रधान देश भनिए पनि कृषिमा मात्रै हाम्रो व्यापार घाटा १,१२३ मिलियन डलर (१ अर्ब १२ करोड ३० लाख) रहेको छ । यसरी कृषि प्रधान देश भए पनि हाम्रो देश कृषिमा आत्मनिर्भर हुन सकेको छैन । 

नेपालको कूल जनसङ्ख्यामध्ये गाउँमा बस्नेको जनसङ्ख्या मात्रै ७० प्रतिशतभन्दा बढी छ । जसमध्ये ६५.५ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छन् । कृषि क्षेत्रले मात्रै देशको कूल ग्राहस्र्थ उत्पादनमा करिब ३२ प्रतिशत योगदान दिएको छ । देशका करिब ८० प्रतिशत उद्योगहरू कृषिमा आश्रित छन् । आर्थिक वर्ष २०६९÷०७० मा करिब ३० लाख ९१ हजार हेक्टर जमिनमा खेती गरिएको देखिएकोमा ‘कृषि सूचना केन्द्र’ को तथ्याङ्कले १० लाख ३० हजार हेक्टर जमिन आधुनिक कृषि औजार तथा उपकरणको अभावमा बाँझो अवस्थामा छन् । 

प्रविधिको प्रयोग
पराम्परागत रूपमा हुँदै आएको खेतीमा अहिले सुधार आउन थालेको छ, अर्थात कृषि प्रविधिको प्रयोग बढ्दो छ । पहाडी क्षेत्रमा आजकल सम्भव भएसम्म जोरु जोत्नुको साटो ट्याक्टर प्रयोग हुन थालेको छ । स्वदेशमैं पनि युवाहरू कृषिप्रति आकर्षित भई काम गर्न सुरु गरिरहेका छन् भने विदेशमा अनुभव सँगालेर आएका युवाहरू पनि यस क्षेत्रमा राम्ररी काम गर्न सक्ने भइसकेका छन् । युवाहरू फर्म नै खोलेर पराम्परागत प्रणालीभन्दा माथि उठेर काम गरिरहेकै छन् ।

आकाशे पानीमा भर पर्नुपर्नेमा जेनेरेटर प्रयोग गरी खोलाको पानी तान्ने, टनेल मार्फत उब्जनी बढाउने, माटो परीक्षण गरी माटो सुहाउँदो बाली लगाउने जस्ता कार्यहरू हुँदै आएका छन् । हाल सरकारले पनि सीटीईभीटीअन्तर्गत कृषिलाई एउटा विषयका रूपमा अध्ययनका रूपमा राखेको छ । सरकारले कृषि क्षेत्रकै लागि २६ अर्ब ६४ करोड ३१ लख ९३ हजार रकमसमेत विनियोजन गरेको अवस्था छ । कृषिमै काम गर्ने युवाहरूका लागि सरकारले अनुदान तथा सहुलियतको समेत व्यवस्था गरेको छ भने आधुनिक कृषि प्रविधिका सामग्रीमा सहुलियतसमेत दिने व्यवस्था मिलाएको छ । 

कतिपय ग्रामीण भेगमा अहिले मानिसहरू मकै छोडाउन मेसिन प्रयोग गर्ने, थ्रेसरको प्रयोग गर्ने, ट्याक्टरबाट खेतीको काम गर्नेलगायतका काम गरिरहेका छन् । यसो भनिरहँदा प्रविधिको राम्रै प्रयोग नेपालमा भइरहेको छ भन्ने पनि होइन तर तुलनात्मक रूपमा यसको प्रयोग भने भइरहेको छ । 

प्रविधिसँगै विषादीको प्रयोग 
हुन त कृषिमा विषादी हाल्नै हुँदैन भन्ने छैन तर विषादी आखिर विषादी नै हुन् । यिनीहरूको प्रयोग राम्रवरी हुनु चाहिँ जरुरी छ । नेपालमा खपत हुने रासायनिक विषादीमध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । बालीबाट सीधै भान्छामा प्रयोग हुने तरकारीमा प्रयोग गरिने विषादी कति समयपछि खान योग्य हुन्छन् भन्ने ज्ञान हुनु अति आवश्यक कुरा हो । एक रिपार्टअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा ६९ करोड ४४ लाख रूपियाँको बालीमा प्रयोग हुने विषादी नेपाल भित्रिएको थियो । यसरी भित्रिएको ५७४ टन विषादीको प्रयोग हाम्रै बालीमा प्रयोग भएको छ । विषादी भित्रिनु ठूलो विकराल समस्या त नहोला तर सही रूपले यी विषादी प्रयोग भएका छन् वा छैनन् भन्ने चाहिँ मुख्य चिन्ताको विषय हो ।  
      

     कृषिमा घट्दो रुचि
कृषिमा आकर्षण भए पनि स्वदेशमै रहेर कृषिमा लागेको मानिसहरूको रुचि भने कृषिमा बढ्नुको साटो घट्दो रूपमा छ । अनुदान वा सहुलियत राजनीतिक आडमा रहेकाले पाउने, वास्तविक किसानले कागजपत्र मिलाउन नजान्ने तथा कागजपत्र मिलाउन जान्नेले आफैंलाई सरकारी अनुदान पार्ने, किसाले उत्पादन गरेको उपजका सही मूल्य नपाउने, उन्नत बीउ बिजन नपाउने, समयमा बाली लगाउन नसक्ने, लगानी गर्न नसक्ने जस्ता कारणले पनि कृषिप्रतिको रुचि चाहना हुँदाहुँदै पनि घट्दो रूपमा रहेको छ । कृषि क्षेत्रमा रुचि घट्नुका साथै जमिनको मात्रा पनि घटेको एउटा तथ्याङ्कले हामीलाई एक पटक झस्काउने अवस्था आइसकेको छ । राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्कलाई हेर्ने हो भने २०५८ र २०६८ बीचको दश वर्षमा कृषि उत्पादनमा जमिनको मात्रा सोच्नुपर्ने गरी घटेको छ । जसको तथ्याङ्कअनुसार धान बालीमा ६ प्रतिशत, गहुँ बालीमा ६ प्रतिशत, मकै बालीमा १२ प्रतिशत, कोदो बालीमा १९ प्रतिशत, जौ बालीमा ३५ प्रतिशत, फापर बालीमा ४० प्रतिशत, कोसे बालीमा २१ प्रतिशत र तोरी बालीमा १३ प्रतिशतले घटेको छ । यसरी हेर्दा अबको १० वर्षमा कृषिमा हाम्रो अवस्था के होला ? यो चिन्ताजनक विषय हो । 

कृषि क्षेत्रमा लागेको कतिपय युवाहरू अहिले पनि विदेशिने सोचमा छन् । यो रहर नभई बाध्यता हो । उनीहरूले आफ्नो पारिवारिक अवस्थामा सुधार ल्याउनकै लागि पनि विदेशिनु पर्ने बाध्यता आइलागेको हो । कृषिमा उर्वर मानिने काभ्रे जिल्ला रोशि गाउँपालिका वडा नं. ६ का कृष्णप्रसाद उप्रेती यसका उदाहरण हुन् । घरका एक मात्र छोरा उनले गाउँमै कुखुरा पालन गरी ठिकै कमाई गरिरहेकै थिए । २ वर्ष र ४ वर्षका दुई छोरा, श्रीमती र बूढी आमा छोडेर उनी मलेसिया उडे । खेती गरेर पुग्ने जमिन हुँदाहुँदै पनि वरपरका छिमेकीहरू विदेशिएको र छोराहरूलाई उचित लालनपालन र शिक्षा दिनका लागि भविष्यको चिन्ता गर्दै उनी विदेशिए । परिवारको मन नहुँदा नहुँदै उनीजस्ता कैयौं युवा परदेशिएका छन् । 

कृषिमा सम्भावना र युवा उद्यमशीलता  
आर्थिक वर्ष २०५४÷०५५ मा प्रतिहेक्टर ९ हजार ६ सय ६४ किलो तरकारी उत्पादन हुने जमिनमा आर्थिक वर्ष २०७२÷०७३ मा आइपुग्दा यो उत्पादन गज्जबले बढेको छ । प्रतिहेक्टर १३ हजार ९ सय ९२ पुग्नु साँच्चै नै राम्रो कुरा हो । तर यो उत्पादन बढाउन केके प्रयोग भए भन्ने विषय पनि हुन सक्ला तर उत्पादन बढाउन सकिन्छ भन्ने यो राम्रो उदाहरण हो । धादिङमा एक युवाले करोडौँ खर्चेर भैँसी पालन गरेको समाचार पुरानो भइसक्यो । एक जनाले काठमाडौँमा नै एक सय गाईपालन गरिरहेको समाचार हामीले गाई गोठमा आगो लागेर गाई मरेपछि थाहा पायौँ । यसरी देशका विभिन्न स्थानमा युवाहरूले कृषिमा राम्ररी हात हालिरहेका छन् । उनीहरूले आफूले मात्र नभई अरूलाई पनि यसतर्फ काम गरी आम्दानी बढाउन सकिन्छ भन्दै चेतना बढाइरहेका छन् । 

इजरायल, जापान, कुवेत जस्ता देशमा गएर फर्किएका युवाहरूले कृषिमा राम्रो आम्दानी गरी व्यावसायिक रूपमै कृषिमा काम गरिरहेकै अवस्था छ । कतिपय युवाहरूले त अर्गानिक खेती गर्दै युरोप अमेरिकामा समेत आफ्नो उत्पादन निर्यात गरी मनग्य आम्दानी गरिरहेका छन् । परम्परागत कृषिलाई सुधार गर्दै काम गर्ने हो भने उत्पादन बढाउन तथा युवाहरूलाई उद्यमी बनाउन ठूलो चुनौतीको विषय पनि छैन । सामूहिक खेतिमार्फत पनि युवाहरूलाई आकर्षित गर्न सकिन्छ  भने सुलभ रूपले कर्जा सुविधा भए मात्रै पनि यसले नतिजा निकाल्न सक्छ । 

यसका चुनौतीहरू 
केही समयअघि यो पङ्क्तिकार एक बैङ्कमा कृषि कर्जाका लागि पुगेको थियो । बैङ्कका प्रबन्धकले कृषि कर्जामा पनि उही धितोको प्रक्रिया तथा व्यापारीलाई जस्तै ब्याजदर लिने गरेको बताएपछि पङक्तिकार स्वयं आश्चर्यमा परे । यसको मतलब के हो भने राष्ट्र बैङ्कले लगानीको ७ प्रतिशतसम्म कृषि वा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए पनि कृषिको लगानी बैङ्क स्वयंले सुरक्षित देख्ने गरेका छैनन् । कृषकहरूका लागि सरकारले अनुदानको व्यवस्था गरिदिए पनि यो सही रूपमा कार्यान्वयन हुन सकेको छैन । नेपालमा व्यावसायिक रूपमा अस्ट्रिच पालन गरिरहेका सीपी शर्माले एक कार्यक्रममा भनेका थिए, ‘अनुदानको साटो सहुलियत बनाइयोस्, अनि प्रभावकारी हुन्छ ।’ यो कुराले नै अनुदान कति प्रभावकारी छ भन्ने दर्शाउँछ । 

अहिले पनि किसान उति निराश छैनन् । एक कार्यक्रममा यो पङ्क्तिकारले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा भनेको थियो, ‘सरकारले कृषि उपजको ग्यारेन्टी लिन्छ भने अहिलेकै किसानले आफ्नो उत्पादन दोब्बर बनाउन सक्छ ।’ हुन पनि कृषकले उचित लाभ कृषि पेसाबाट पाउँछ भने उसले निश्चय नै आफ्नो लगानी बढाउँछ । यसरी किसानले उत्पादन बढाउनु भनेको कृषि उपजको मूल्य बढ्नुका साथै कृषि सामग्री, बीउबिजन, कामदार, ढुवानी, कृषि बजार, कृषि उद्योगहरूमा विकास भई रोजगारी तथा स्वरोजगारीमा वृद्धि हुन गई राज्यको कूल ग्राहस्र्थ उत्पादनमा समेत ठूलो योगदान दिन सक्छ । तर, मौसमी खेती, उत्पादकत्व कम, बजारको समस्या र आधुनिक उपकरणको प्रयोग हुन नसक्नु नै कृषि क्षेत्रका मुख्य चुनौतीहरू हुन् । 

कृषिप्रतिको लगाब यसरी बढाउन सकिन्छ 
कृषक भन्नासाथै यसलाई हेर्ने दृष्टिकोण आम मानिसमा फरक छ । यो तल्लो स्तरको भन्ने बुझाइ छ । सरकारले वास्तविक रूपमा कृषिमा लागेकाहरूलाई सहुलियतमा कर्जा सुविधा र उत्पादित उपजको सही मूल्यको निधो गरिदिने वित्तिकै यसप्रतिको आकर्षण बढ्छ । कृषकहरूको वर्गीकरण गरी योजनासहित काम गर्न आएका युवाहरूलाई फरक कृषि उपज उत्पादन बढाउन उत्साहित गर्नुपर्छ । अन्न तरकारी तथा फलफूलको सुपर जोन छुट्याई काम गर्न लगाए मात्र पनि यसको उत्पादन स्वतः बढाउन सकिन्छ । केही सहयोग नपाए पनि कृषिमा राम्रो आय गरिरहेकाहरूलाई सहयोग उपलब्ध गराउने हो भने पनि यसले उत्पादन बढाउन र विदेशिने युवाहरूको सङ्ख्या घटाउन मद्दत पुग्छ । 
 

जयराम सिग्देल

सिग्देल कृषि उद्यमी हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ