शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृतक विनिशा शाहको शव नेपाल ल्याइँदै

आइतबार, ०९ पुस २०७४, १८ : ३२
आइतबार, ०९ पुस २०७४


काठमाडौँ– बंगलादेशको राजधानी ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी विनिशा शाहको शव नेपाल ल्याइँदै छ ।  आवश्यक प्रक्रिया मिलाई शाहको शवलाई आजै नेपाल लैजाने व्यवस्था मिलाइएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । 

यही डिसेम्बर १९ मा शाहले आफ्नै कलेजको होस्टेलको सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेको र घटनालगत्तै दूतावासले घटनास्थलको वस्तुस्थिति अवलोकन गरी निजका आफन्तलाई फोनमार्फत जानकारी गराएको नेपाली राजदूतावासले आज विज्ञप्तिमार्फत जनाएको छ । 

साथै घटनाका सम्बन्धमा मृतकका परिवारमा परेको पीडा र असहज परिस्थितिमा अनावश्यक अफवाह फैलने गरी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचारबाजी भएकोप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस दुःखद घटनाप्रति संवेदनशीलतापूर्वक तथ्यगत जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ । 

घटनाको छानबिन तथा शव नेपाल लैजाने प्रक्रियामा बंगलादेश प्रहरी, कलेज प्रशासनलगायत सबैको सकारात्मक सहयोग प्राप्त भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतकका दाजु नरेन्द्र शाह घटना घटेकै दोस्रो दिन ढाका पुग्नुभएको र घटना भएकै दिन प्रहरी मुचुल्का गरी बंगलादेशको ढाका मेडिकल कलेजमा मृतकको शव परीक्षण गरिएको थियो ।

घटनाको थप छानबिनका लागि ढाका महानगरीय प्रहरीमा उजुरीसमेत गरिसकिएको र यी हरेक प्रक्रियामा निजका दाजुसहित नेपाली राजदूतावास संलग्न रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप