बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्यसो भयो भने त नेपाली जनताप्रति गद्दारी हुन्छ नि ! –दीनानाथ शर्मा (अन्तर्वार्ता भिडियोसहित)

आइतबार, ०९ पुस २०७४, १४ : ५८
आइतबार, ०९ पुस २०७४

 
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अगाडि एमाले र माओवादीसहित दलले बामगठबन्धन बनाएर संयुक्त रुपमा चुनाव लडे । विकास र स्थिर सरकारको नारासहितको संयुक्त घोषणापत्र लिएर चुनावी मैदानमा उत्रेका ती दललाई सुविधाजनक बहुमत पनि प्राप्त भएको छ । तर, चुनावपछि विभिन्न कारण देखाएर सरकार गठनलगायतका काममा ढिलाई भैरहेको छ । चुनावलगत्तै पार्टी एकताको काम थाल्ने बताएका एमाले र माओवादीका नेताहरुवीच केही विषयमा विवाद देखिन थालेको छ । विवाद किन ? र बामगठबन्धनको सरकार बन्यो भने त्यसको चरित्र कस्तो होला ? यहीँ विषयमा नेत्र पन्थीले माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दीनानाथ शर्मासँग कुराकानी गरेका छन् ।  

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कम्युनिस्ट पार्टीले जसरी शानदार जित हासिल गरे यसको राजनीतिक सन्देश के ठान्नुहुन्छ ?
नेपाली जनताले परिवर्तन चाहेका हुन् । उनीहरूले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् । हामीले परिवर्तनका लागि भनेर लामो सङ्घर्ष गर्याँै । २०४६ सालमा परिवर्तन आयो । अहिले पनि आइरहेको छ । तर, व्यवहारमा मूर्त रूपमा परिवर्तन रूपान्तरण भएको नेपाली जनताले महसुस गरेका छैनन् । जसरी शिक्षा स्वास्थ्यमा परिवर्तन आएन, न्यायमा परिवर्तन आएको छैन । रोजगारी, जनजीविकासँग जोडिएका विषय, महँगीका विषयहरू सहज रूपमा हल भएका छैनन् । गाँसबाससँग जोडिएका विषयहरू हामीले सम्बोधन गर्नसक्नु पर्छ ।

यसको सहज समाधानका लागि जनताले हामीलाई मत दिएका हुन् ।

समानुपातिक मतमा नेपाली काङ्ग्रेस एमालेभन्दा ५० हजार मतले कम छ । अङ्कगणितमा काङ्ग्रेस कमजोर देखिएन । बरु, दोस्रो संविधानसभाको दोस्रो र तेस्रोशक्ति मिलेर काँग्रेसलाई प्राविधिक रुपमा हराएको जस्तो देखिन्छ । बामगठबन्धनको जित अङ्कगणितको हो कि एजेन्डाको हो ?

यो दुवै चीज हो । एमाले र हाम्रो मत एउटै हो । घोषणा पत्रमा हामी एक भएर गएका हौँ । प्राविधिक रूपमा हामी एउटै चुनाव चिन्हमा जान सकेनौँ । तर मत हामी दुवैको एउटै हो । एजेन्डा हाम्रा फरक छैन । यसमा एमाले र काङ्ग्रेसको मात्र अन्तर हो भन्न मिल्दैन ।

अहिले जे मत आएको छ यो साझा हो । बहुमतमा हामी छौँ । नेपालका सबै वामपन्थी र अझ माओवादीले आफ्नो हैसियत कायम गरेको छ । यो सबै मिलाएर हामी अगाडि छौँ । यसबाट हौसिनु हँुदैन । उत्तेजित हुनु हुँदैन । सङ्घर्षमा काँग्रेसको पनि योगदान छ । तर यो योगदानलाई संस्थागत गर्न सकेन । जनताले ०४७, ५७ लगायत विभिन्न समयमा काँग्रेसलाई जिताए । तर उसले जनमतको भावना अनुकूल काम गर्न सकेन । नेपाली जनताले अब वामपन्थीहरू तिमीहरू मिलेर अहिलेसम्मका उपलब्धिहरूलाई संस्थागत गर भनेको हो । हामीले जे प्रतिबद्धता घोषणा पत्रमा भनेका छौँ, त्यो पूरा गर्ने जिम्मा दिएका छन् ।

मतपरिणाम आएपछि मलाई धेरै दबाब महसुस भयो । हिजो हामीले भनेका प्रतिबद्धता पूरा गन सक्छौँ कि सक्दैनौँ भनेर चिन्ता लागेको छ । हाम्रो जनप्रतिनिधिहले आफूले गरेका प्रतिबद्धता पूरा गर्न सक्छन् कि सक्दैनन । यो चुनौतीको कुरा पनि छ । अब जनताका अगाडि बोलेका वाचा पूरा गर्ने समय आएको छ । शीर्षस्थ नेतृत्व र हामी सबैले यसमा जिम्मेवार बन्नुपर्छ ।

चुनाव जितेपछि दबाबको महसुस गर्नुभएको छ ?
बिल्कुलै गरेको छु । जिम्मेवारप्रति सजग, सर्तक बन्नुपर्ने भएको छ ।

अहिलेको शक्ति सन्तुलनमा धेरै राजनीतिक दलहरू बढारिए । त्यसमा पनि कम्युनिस्ट पार्टीको झण्डा बोकेका पार्टीहरू पनि बढारिए । यसले नेपालको राजनीतिक देखिएको प्रदूषणलाई मुक्त गर्न लाभदायक छ कि त्यस्ता मान्छे छुट्दा केही कमी हुन्छ ?
परिवर्तनमा भूमिका खेलेका मान्छे छुट्नु हुँदैन । कुनै समयमा त्यो शक्ति सानो नि हुन सक्छ । अहिलेको प्रजातन्त्र भनेको इन्क्लुसिब हो । यहाँ सबैको सम्मान गर्नुपर्छ । नेता त्यो हो जसले प्रतिपक्षलाई साथमा लिएर शासन सत्ता सञ्चालन गर्छ । भिन्न मतलाई विश्वासमा लिनुपर्छ । समान प्रकारले सम्मान गर्नुपर्छ । लोकतान्त्रिक प्रणालीमा भिन्न विचारलाई सम्मान गर्नुपर्छ । राष्ट्रिय बनेका हुन कि न हुन सबैका विचार सुन्नुपर्छ । आवश्यक परेमा सुन्नु पनि पर्छ । राष्ट्रिय हितका पक्षमा भएका सबैका कुरा लागू गर्नु पर्छ ।
 

तपाईंहरुको केन्द्रीय कार्यालय बैठकमा पार्टी एकताका विषयमा छलफल भयो । पार्टी एकताको कुरा कहाँ पुगेको छ ?
हामीले वामपन्थी तालमेल गर्दा नै पार्टी एकता गर्छौ भनेर गएका छौँ । निर्वाचन भइसकेपछि पार्टी एकता गर्छौ भनेर जनतामाझ पनि गएका हाँै । अब नेपालमा कम्युनिस्ट पार्टीका पछाडि पुच्छरको आवश्यक छैन । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी बनाए हुन्छ । एउटै कम्युनिस्ट केन्द्र बनाए हुन्छ भनेर नेतृत्वले पनि चाहेको छ । अब समाजवाद उन्मुख राज्य बनाउन, आर्थिक समृद्धिको खाका, उत्पीडित वर्गको राज्य बनाउने सङ्कल्प गरेका छौँ । यो कुराबाट कोही पनि विचलित हुँदैनन । मैले त अब एउटै कम्युनिस्ट पार्टीको झण्डा ओडेर मर्ने भनेको छु  ।

पार्टी एकता जस्तो गहन विषयलाई त्यति फराकिलो बनाएको देखिँदैन । जसरी बहस छलफल हुनुपथ्र्यो त्यो भएन भन्दा के हुन्छ, तल्लोभन्दा तल्लो कमिटीमा बसेका मान्छेहरूले स्वामित्व लिन सक्ने अवस्था भएन कि ?
यस्तो होइन । धेरै छलफल भयो फराकिलो भयो भनेर त जनताले भनिसके । यो जनमत भनेको त फराकिलो बनेर आएको हो । ६५ प्रतिशतभन्दा माथिको जनमत हुँदाहुँदै हामी सधँै शासित भयौँ । कम्युनिस्ट फुटेर बरबाद भएका हौँ भनेर जनताले भने । यो कुराको अन्त्यका लागि नेपाली जनताको आदेश हो यो जनमत । हामी यति छिटो माथिबाट निर्णय गरेर गयौँ कि त्यसलाई जनताले छिटै आत्मसाथ गरे । हिजो लडेका नेता कार्यकर्ताहरू पनि छिटै घुलमिल भए । यो नेतृत्वले जनताको चाहनाअनुसार काम गरेको छ ।

अर्को महत्वपूर्ण कुरा हो सांगठनिक, राजनीतिक र वैचारिक समस्याको समाधान नगरी पार्टी एकता कसरी सम्भव होला भनेर चासो रहेको छ । अहिले हाम्रो अगाडि माक्र्सवाद लेनिनवादमा कुनै विमति छैन । हामी धेरै पटक फुट्यौँ र जुट्यौँ पनि । लामो अनुभव हामीसँग छ । छलफल गर्ने भनेर दुईचार वर्ष छलफल गर्ने तर कुनै निष्कर्षमा पुगनौँ । अर्को तलबाट छलफल गरेर पनि एकतामा जान सकिन्छ । त अहिले हामीले माथिबाट यसको निर्णय गरेका हौँ ।

जुन कुरा तलका नेता कार्यकर्ताहरूले सहज रूपमा लिए । अब यो पार्टी एकताबाट कसैले भाग्न पाउँदैन भन्ने सन्देश बलियो भएर आएको छ । खबदारी पनि गरेको छ । हामीले सबैको सम्मानजनक व्यवस्थापन गर्छौं । हामीलाई यसको अनुभव पनि छ । फुट र एकताको यात्राले यहाँसम्म पुगाएको छ । वैचारिक रूपमा त्यति भिन्नता पनि छैन । देशलाई समृद्धि बनाउने अभियानमा छौँ ।

समाजावाद उन्मुख देश बनाउने यात्रामा छाँै । दुईटा रङ्ग  एउटा सफा पानीमा रातोसँग हाले रातो हुन्छ ।  दुवै रङ्ग हाले नयाँ रङ्ग बन्छ  । यहाँ हामी नयाँ बनेर आउँछौँ माओवादी र एमाले । हिजो एकता कन्द्रसँग एकता गर्दा न हामी एकता केन्द्र जस्ता भयो । बरु नयाँ बनेर आयो । अब युद्धकालको माओवादी जस्तो पनि हुँदैनाँै । माले र माक्र्सवादी एकता हुँदा न माले बन्यो न माक्र्सवादी एमाले बनेको थियो । अब हामी दुवै पार्टीबीच एकता हँुद नयाँ पार्टी बन्ने छ ।
 
दुवैै पार्टीमा गुट उपगुट छन्, यी सबै गुट उपगुट सहजै नयाँ रङ्गको पार्टीमा मिल्छन् त  ?
यसबाट हामी आजित छौँ । एमाले पनि आजित छ । हामी पनि यसलाई कसरी मेटाउने भनेर बाटो खोजी रहेका छौँ । अब नयाँ घोल बनेपछि यी सबै मिसिन्छन् । गुटलाई बलियो बनाउने उद्देश्यसाथ पार्टी एकतामा गयौँ भने त्यो पार्टी एकता हँुदैन । यो सबै गुटहरू सकिन्छन् । अब यहाँभित्र समाहित भएपछि विभिन्न रङ्गहरू सकिन्छन् ।
 

नेतृत्वको विषयमा एमालेका नेताहरूको र तपार्इंका नेताहरूको फरक फरक व्याख्या  सार्वजनिक भइहेका छन् । यसमा के केही जेन्टलमेन एग्रिमेन्ट भएको छ र ? सरकार र पार्टीको विषयमा ?
नेता कसैले बनाएर बन्दैनन् । यो समयको माग हो । समयले बनाउने हो नेतृत्व । इतिहासले बनाउने कुरा हो । हामी पनि नेता हौँ । तर हाम्रो नेता प्रचण्ड नै हुन् । नेता भनेको देशको समस्या समाधान गर्ने हुन्छ । अड्को थाप्ने त धेरै हुन्छन् । राष्ट्रको समस्या समाधान गर्ने नेता हो या हैसियत राख्ने मान्छे नेता हो । हाम्रो बीचमा नेतृत्वको सम्मान जनक व्यवस्थापन हुन्छ । धेरै समस्या छैन ।
 
दुई ठूला कम्युनिस्ट पार्टीहरू एक हुँदा बाह्य पक्षहरूको पनि चासो हुन्छ । एउटा रोक्ने अर्को एक बनाउने । एकता हुनुपर्छ भन्ने पक्ष हाबी छ कि रोक्नु पर्छ भन्ने पक्ष हाबी छ ?
कुनै पनि कुराको विकास विनास हुदा आन्तकि कारण प्रमुख हुन्छ । बाह्य कारण सहयोगी हुन्छ । संविधान जारी हुदा पनि रोक्नुपर्छ भन्ने आवाज पनि आएकै हो तर त्यो जारी भयो । बलियो मत थियो । तर भएन । स्थानीय तहमा पनि वामगठबन्धन गर्नु हुँदैन भन्ने थियो । तर हामी आपसमा मिलेर गयौँ भने बाह्य शक्तिले केही पनि गर्न सक्दैन । हामी कति बलियो छौ भन्ने प्रमुख कुरा हो । हामी मिलेर निर्णय गर्याँै भने कसैको केही लाग्दैन । यदि हामीमा मेल भएन भने त्यसमा बाह्य शक्तिले खेल्ने हो । अहिले हाम्रो नेतृत्व यसमा सजग छ । अहिले हामी यसमा अडिग छौँ । हामीले सम्मानजनक सम्बन्ध बनाउनुपर्छ ।
 
बाह्य कोसिस त भइरहेका छन् नि ?
यस्ता कोसिस दुनियाँमा भइराख्छन् । एउटै घरमा त फरक विचार हुन्छन् नै । जसरी कम्युनिस्ट एक हुन थाले भनेर जुन प्रकारको प्रचारबाजीले राष्ट्रिय अन्तराष्ट्रिय रूपमा तरङ आएको छ । यसको फैसला जनमतले दिन्छ । जनताले जे फैसला गर्छ, त्यहीँ हुन्छ । दुईटा कुरा हुन्छन्, यसमा हामीले लिने राजनीतिक प्रणाली र अर्को विश्वराजनीतिको फ्रेमवर्कभन्दा फरक छ कि छैन भनेर । हामीले अहिले २१औँ शताब्दीको डेमोक्रेसीलाई समृद्ध बनाउदै छौँ । अर्को हामी जनताबाट जनमतबाट अनुमोदित भएर आएका छौँ । यसका लागि अब जुनसुकै अप्ठेरोको समाधान जनताले गर्ने छन् । तर, यसको अर्थ दम्भ होइन सबैसँंग सम्मान जनक रूपमा सम्बन्ध राख्नुपर्छ ।
 
तपाईंहरूको कार्यलयको बैठकमा प्रचण्डले मलाई ५ वर्षका लागि प्रधानमन्त्रीको अफर आएको छ भन्नुभयो, यो भनेको के हो ?
यस्ता चलखेल गर्ने कुरा त हुन्छन् नै । माओवादी, काङ्ग्रेस र मधेसी मिलाए पनि सरकार बनाउने भन्ने होला । तर यस्तो नेपाली जनताप्रतिको गद्दारी हो । वामपन्थीका लागि जनमत हो । यस्तो सपना कसैले नदेखे हुन्छ । हामी कु प्रपञ्चको पछि लाग्दैनौँ । ती साथीहरूले यस्ता कूप्रपञ्च नगरे हुन्छ । बरु जनतामा जाने । हामी वामपन्थीहरू सरकार बनाउँछौँ । प्रतिपक्षले आफ्नो भूमिका निभाउने । हामी पार्टी एकता र सरकार बनाउँछौँ ।
 
तपाईंको पार्टी अध्यक्ष प्रचण्डले त बारम्बार भन्नु हुन्छ नि राजनीतिक सम्भावनाको खेल हो भनेर ?
अहिले यस्तो खेलमा जानु हुँदैन । गएमा हामी सकिन्छौँ । यसमा अझ प्रचण्ड धेरै बुझ्नु भएको छ । सिपालु र सचेत पनि हुनु हुन्छ । अरुसँग सहकार्य गछौँ । यस्तो प्रकारको खेल हामी खेल्दैनौँ । अझ प्रचण्ड यसमा इमानदार छन् । वामगठबन्धन गर्दा सबैलाई भनेर गएका हौँ । अन्तर्राष्ट्रिय जगतलाई पनि भनेर नै गएका हौँ ।
 
सबैभन्दा सजिलो राजनीतिमा मित्र बदल्न हुन्छ नि ?
मित्र बदल्ने कोर्स सधैँ खुल्ला हुन्छ नि, होइन । हिजोको परिस्थितिमा हो अहिले हामी पार्टी एकता गर्ने भनेर आएका छाँै । एमालेलाई माओवादीले र माओवादीले एमालेलाई भोट दिएर बनेको सङ्ख्या हो । अब हामीलाई यसरी भोट दिने जनतालाई के भन्ने । त्यसकारण यसमा तलमाथि हँुदैन अब ।


 
तपाईंहरुको गठबन्धनको सोच समाजवाद उन्मुख राज्य निमार्ण भन्ने छ । आजको दिनको राजनीतिक शक्ति सन्तुलनले हाम्रो अर्थनीति र अहिलेसम्मको शासन प्रणालीमा सुधार गर्न सकिन्छ ?
घोषणापत्रको प्रस्थावना पढ्नुभयो भने लोकतान्त्रिक मूल्यमान्यतासहितको प्रतिबद्धता जनाएका छौँ सबै राजनीतिक दलहरूले । समाजवादको व्याख्या काङ्ग्रेसले आफ्नै तरिकाले गर्ला तर हामी जाने भनेको वैज्ञानिक समाजवादमा नै हो । यो भनेको सबैभन्दा बढी जनतालाई अधिकार दिने भनेको हो । यो लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिरको कुरा होइन । यसमा सबै जाति लिङ धर्मको, क्षेत्रको आर्थिक, सामाजिक, राज्यका हरेक अङ्गमा पुगाउने भनेका हाँै । आर्थिक नियन्त्रणलाई स्थानीय तहसम्म, प्रदेशमा पुर्याउने भनेका हाँै । हाम्रो संविधानले पनि त्यही भनेको छ । यसमा सबै सहमत छौँ । नेपाली काङ्ग्रेस हामी । अधिनायकवाद भन्छन् भने यो नारा मात्र हो ।
 
कम्युनिस्ट पार्टीको सरकारले समाजवादको यात्रा गर्छु भन्छ भने शिक्षा स्वास्थ्य निःशुुल्क हुनुपर्छ, रोजगारीको सुनिश्चिताको कुरा होल । तर, कम्युनिस्ट नेताहरू नै शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रलाई लाइसेन्स बाँड्छन्, यो विचार र व्यवहारमा भिन्नता भएन र ?  
२०४७ सालपछि खुल्ला अर्थनीतिको नाममा जे कुरा भित्र्याइयो त्यो ठीक थिएन । निजीकरणको नाममा भएका उद्योगधन्दाहरू कौडीको भाउमा कमिसन खाएर बेचे । यसमा सरकार जिम्मेवार छ । यसमा स्वार्थ सिद्ध गरे । यो पोलिसी करप्सन हो । खुल्ला अर्थनीतिको नाममा, खुल्ला बजार व्यवस्थापनको नाममा सम्पूर्ण चिजलाई भ्रष्टीकरण गरेको हो । यातायातमा, आयल निगममा सकारको नीति लागू गर्न नसक्ने अवस्था छ । स्वास्थ्य सेवामा त्यस्तै छ । समद्ध पुँजीवादी देशहरूले त स्वास्थ्य र शिक्षाको जिम्मा सरकारकाले लिन्छ । तर यहाँ नेपाली काङ्ग्रेसको सरकार र त्यसका अर्थमन्त्रीहरूले यस्तो निजीकरण गरे कि सबैको भ्रष्टीकरण भयो । हामीले यो सबै उल्टाउनुपर्छ । यस्तो गर्न काङ्ग्रेस पनि तयार हुनुपर्छ । पुँजीवादी प्रजातन्त्रका हिमायतिहरू आउनुपर्छ ।
 
पाँच वर्षमा शिक्षा र स्वास्थ्यलाई राज्यको नियन्त्रणमा ल्याउन सम्भव हुन्छ ?
यसलाई प्रयत्न गरेर सम्भव बनाउनुपर्छ । यसमा कसैले विमति राख्नु हँुदैन । यसमा व्यवसायी पनि तयार हुनुपर्छ । राजनीतिक दलहरू सबै तयार हुनु पर्छ । नयाँ किसमले परिवर्तन गर्न तयार हुनुपर्छ । रामराज्य बनाउन सबै तयार हुनुपर्छ । नेपाली जनताले यसका लागि जनमत पनि दिएको छ ।
 
यसका लागि नेताहरू सुध्रिनुपर्छ कि अन्य केही हुनुपर्छ ?
अहिलेसम्मको संस्कार र संस्कृतिमा परिवर्तन आउनुपर्छ । नेपाली जनताले पनि यही चाहेका छन् । पारदर्शिता, स्वच्छता र भ्रष्टाचारमुक्त समाज । तर यहाँ पोलिसीयुक्त भ्रष्टाचार छ । नीतिलाई निर्णय गरिदिए आजीवन जनतालाई दोहन गर्ने चलन छ । यसबाट नेताहरूले पनि माथि उठ्नुपर्छ । यो पुरानो संस्कारबाट माथि आउनपर्छ ।
 
हाम्रा कम्युनिस्ट नेताहरूले राष्ट्रियताको विषयमा कहिले ढुलमुल हुने, कहिले सम्झौता परस्त भइदिने गर्छन । अब बन्ने सरकार र पार्टी नेतृत्वलाई यो विषयमा ढुक्क भएर विश्वास गर्न सक्ने अवस्था छ कि फेरि पनि निगरानी गरिरहनुपर्ने छ ?
 
राष्ट्रियताको विषयमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौँ । अहिले प्रकट भएको जनमत पनि राष्ट्रियताको संरक्षण गर भनेर दिएका छन् । कसैका अगाडि नझुक भनेर दिएको जनमत हो । भारतले १० महिनासम्म नाकाबन्दी लगायो । जनताले पीडा भोगेका थिए । अब जनताले यसबाट उन्मुक्ति चाहेका छन् ।
 
राष्ट्रियता एक पक्ष हो । २१औँ शताब्दीमा अन्तर्राष्ट्रिय रूपको सम्बन्धमा सबैको मत एक हुनुपर्छ । कूटनीतिक सम्बन्ध सुमधुर र सम्मानजनक सम्बन्धका लागि राष्ट्रिय सहमति आवश्यक छ । यहाँ फरक दलहरूको फरक सोच छन् । तर भारतमा विदेश नीति एउटै हुन्छ । सेक्युरिटीको विषयमा एक छन् । अब हाम्रो फोरियन पोलिसी  र डिब्लोमेटिक पोलिसी पनि एउटै हुनुपर्छ । समानधारणा बनाएर जानुपर्छ । आजसम्म भिन्न भिन्न हुँदा त्यही भित्र पसेका छन् आआफ्ना स्वार्थ पूरा गर्दै आएका छन् ।  अब एक हुनुपर्छ ।
 
अन्तर्राष्ट्रिय मिडियाले वामगठबन्धनलाई प्रोचाइनिज एलाइन्स भनेका छन्, यो तपाईंहरूका लागि चुनौती होला नि ?
 
यो विषयमा भारतमा पनि ठूलो बहस भएको छ । त्यहाँका बौद्धिकहरूबीचमा पनि । सुरक्षा निकायका व्यक्तिहरूमा पनि बहस भएको छ । ती विद्वानहरूले के बुझेका छन् भने हामी संविधानभन्दा बाहिर गएका छैनौँ । हाम्रो घोषणापत्र पनि संविधानभन्दा बाहिर छैन । आन्दोलन पनि छैन । यसबाट आतङ्कित हुनुुपर्ने र डराउनुपर्ने केही कारण छैन । चुनौती त छन् तर हामी यसबाट विचलत हुँदैनाँै । जनमतको आधारमा चल्छाँै ।
 
तपार्इंले ढुक्क भएर भन्नुभयो तर (प्रचण्ड र केपी ओली) पार्टी नेतृत्व समय समयमा जुवा खेल्नुहुन्छ, यस्तो गर्दा त समस्या आउला नि ?
राष्ट्र हितको पक्षमा राष्ट्रियताको पक्षमा जनताको हित गर्ने पक्षमा समान दृष्ट्रिकोण छ । त्यही भएर पार्टी एकता हँुदै छ ।


 
यो नेतृत्वबाट अन्तराष्ट्रिय सम्बन्ध तलमाथि हुन्छ भनेर डराउनुपर्दैन अब ?
किन डराउनु ? प्रचण्ड कसैको अगाडि कहिल्यै झुकेनन् । न कसैलाई गालीगलौज नै गरे । न राष्ट्रहित विपरीत कुनै सम्झौता गरेका छन् न आत्मसमपर्ण नै गरे । अरूले प्रचार गरेको आधारमा केही हुँदैन । कौवाले कान लग्यो भनेर होइन कान छाम्नुपर्छ । सबैसँग सम्बन्ध सुधारर्नु पकर्छ भन्ने छ । कुरा सबैका सुन्छ तर निर्णय आफै गर्छांै ।

हतियार उठाएका शक्तिको दुई विकल्प हुन्छ । एक जित्नु अर्को सकिनु । तर हामी न जितेका हौँ न हारेका । हामीबीचको बाटो भएर यहाँ आइपुगेका हाँै । राष्ट्रको हितको लागि जनताको हितको लागि आफ्नै मौलिकतामा अगाडि बढेको शक्ति हो । प्रचण्ड यसको नेतृत्व हो ।
 
घोषणा पत्रमा धेरै महत्वकाङ्क्षी योजनाहरू छन् । यसका लागि लगानी चाहिन्छ । सामाजिक न्यायका कुरा गर्नुभएको छ, यसले धेरै पैसाको माग गर्छ, राज्यले यसमा खर्च गर्नुपर्छ । सीमित साधन स्रोतबाट विकास गर्ने, पूर्वाधार निमार्ण गर्नुपर्ने हुन्छ । यसका लागि अन्तर्राष्ट्रिय लगानी र आन्तरिक लगानीको परिचालन कसरी गर्ने हो  । यसको म्यानेज कसरी हुन्छ ?
हामीले धेरै पूर्वाधारहरूका आधार बनाएका छौँ । उत्तर दक्षिण जोड्न बाटाहरू बनाएका छाँै । कालिगण्डकी कोरिडोर निमार्ण गरेका छौँ । मध्यपहाडी लोकमार्ग बनाउँदै छौँ । पाँच वर्षभित्र भएका आयोजना पूरा गर्यौँ भने लोडसेडिङ मुक्त हुन्छ । फ्रेमवर्क गरेका छौँ । बुढीगण्डकी परियोजना, फास्टट्र्यकको कुरा पाँच वर्षमा तयार गर्नुपर्छ । यो तयार पनि हुन्छ, लगानीको खाँचो छैन । मान्छेले गरिब देश गरिब देश भन्यो तर सबै मिलेर देश बनायौँ भने बन्छ ।

भारतले सहयोग गर्दै आएको छ । सहयोगलाई घटाएको अथवा कोही आउँदैमा घटाउँदैन । चीन पनि समृद्ध बनिरहेको छ । हामी दुई देशको बीचमा छौँ । यी दुवैै देशको समृद्धिबाट फाइदा लिनुपर्छ । अन्य देशहरू पनि लगानी गर्न तयार भएर आउँदै छन् । यहाँ लगानीमैत्री वातावण चाहिन्छ । अर्को प्रोफिट, हामीले हाम्रो आवश्यकतामा आमन्त्रण पनि गर्छौं । आर्थिक अवस्थाले विकास गर्न समस्या छैन ।
 
पुच्छर झुण्डाएको पार्टीको झण्डा मरेपछि नओड्ने बताउनुभयो । प्रदेश र सङ्घमा तपाईं जानुभएन । राष्ट्रिय सभामा जाने बारे केही सोच्दै हुनुहुन्छ ?
 
निर्वाचनमा जाँदा अध्यक्षले सोध्नुभएको थियो । मैले यूवालाई दिऔँ भने । यूवा नेता देवेन्द्र पौडेललाई लिएर जाऊ भने । उनलाई पार्टीले सम्बोधन पनि गर्नुपर्ने थियो । युवा पुस्तालाई लिएर जाँदा राम्रो हुन्छ भन्याँै । समानुपातिकमा राखौँ भन्नुभएको थियौँ । त्यसमा पनि एक नं.मा नै राख्छु भन्नुभएको थियो । तर मत कति आउँछ भनेर छलफल भयो । यसकारण सिनियर नेताहरूले राष्ट्रिय सभामा जानुपर्छ भन्ने भएको थियो । अब पार्टीले जुन जिम्मा दिन्छ त्यो निभाउन तयार छु । सक्रिय राजनीतिमा छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप