बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

देउडा गायक किन गुमनाम

आइतबार, ०९ पुस २०७४, १३ : २०
आइतबार, ०९ पुस २०७४

लोकेश धामी

कुनै जमाना भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशीलगायत प्रसिद्ध देउडा गायकका गीतले गाउँ सहर गुन्जायमान थिए । उनीहरूका हरेक गीत सबैका ओठमा झुण्डिएका थिए । तर, अहिले आएर त्यस्ता  चर्चित देउडा गायकका गीत ओझलमा परेका छन् । साथै देउडा गायक पनि गुमनाम छन् । देउडा गीत सुदूरपश्चिमको प्रमुख पहिचानका रूपमा चिनिन्छ । देउडा गीतले यहाँको परिचय बोेकेको छ भन्दा फरक नपर्ला ।
केही वर्ष पहिले देउडा गीतका पारखी धेरै थिए र अहिले पनि छन् । तर पहिलेका जति अहिले छैनन् । किन देउडा पारखी दिनहुँ कम हुँदै गएका छन् त ? यो प्रश्नको जवाफ खोज्न अब ढिला गर्नु हुन्न । पारखी मात्रै होइनन्, सर्जक, स्रष्टा पनि कम हुँदै गएका छन् । आधा दशक पहिले जस्तो देउडा गायकको सङ्ख्या नि छैन, गीत पनि बजारमा आएका छैनन् । 
अहिले पनि देउडा गीत बजारमा नआएका होइनन् । तर ती देउडा गीत देउडा गीत जस्ता छैनन् । केही वर्ष पहिले भारतबाट आउने हरेक प्रवासी सुदूर तथा मध्यपश्चिमेलीको हातमा एउटा क्यासेट बज्ने टेप हुन्थ्यो । त्यो टेपमा निकै मार्मिक देउडा गीत घन्किन्थे । तर अहिले समयले निकै कोल्टे फेरिसक्यो । अहिले भारतबाट आउने नेपालीको हातमा देउडा बज्ने टेप होइन महँगो मोबाइल हुन्छ । त्यसमा देउडा गीत होइन आधुनिक शैलीका पप गीत बजेको सुनिन्छन् । हुन त यो समय परिर्वतनको माग होला तर समय क्रम फेरिए पनि देउडा गायक नहराउनुपर्ने ।
किन यसरी अचानक देउडा गायक लुके त ? यस्तो प्रश्नको सरल जवाफ छ–देउडा गित व्यावसायिक हुन सकेनन्, क्यासेटको जमाना हट्यो, माग अनुसारका गित गाउन सकेनन् इत्यादि । यस्ता कारणले गर्दा एकताका चर्चित देउडा गायक गायिक हराए । हराएका भए के खोज्न सकिन्न ? यस्तो प्रश्न पनि उठ्छ । अवश्य सकिन्छ तर, अब समयको मागअनुसारका गीत गाउन सक्नुपर्छ । गीत गाउनु मात्रै होइन त्यस्तै सङ्गीत, त्यस्तै शब्द दिन सक्नुपर्छ । अनि मात्रै पुराना चर्चित देउडा गायक कम ब्याक भएको अर्थ रहन्छ ।
अहिलेका दर्शक तथा स्रोता गालामा हात लगाएर सुन्ने देउडा गीतमा रुचि कम राख्ने गरेका छन् । त्यस कारण देउडा गायकले अलि–अलि भए पनि कर्मर मर्काउने गीत ल्याउन सक्नुपर्छ । अहिले नाच्न सकिने गीतले मात्रै बजार पाएको छ । यो समयमा दुःख परेका गीत ल्याएमा त्यो नचल्ने अवस्था आएको छ । देउडा गीतलाई व्यावसायिक धारमा समयमै नढाल्नाले एक समयमा चर्चित देउडा गायक अहिलेका युवा पुस्ताले नचिन्ने अवस्था आएको छ ।
आगामी युवा पुस्तालाई पनि देउडा गीत यस्तो हुन्छ है भन्ने सन्देश दिन पुराना देउडा गायकले नयाँ गीत ल्याउनुपर्छ । नयाँ गीतले युवाको मन जित्न सक्नुपर्छ । अब युवालाई रमाइलोसँगै सन्देशसहितको गीतको खाँचो छ । यस्ता गीत गाउनमा पुरानो पुस्ताका गायक गायिकाले जोड दिन सक्नुपर्छ । मनोरञ्जन रहितको गीत भएकाले नयाँ पुस्ताले देउडा गीत कम सुन्ने गरेका छन् । त्यसैले अब मनोरञ्जनसहितका देउडा गीत आवश्यक छन् ।
झण्डै आधा एक दशकअघि भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशी, हरिना साउँदा, डिग्रा बदेनीलगायत शीर्ष देउडा गायक गायिका हरेक मेला महोत्सवमा पुग्ने गर्दथे । आफ्ना लोकप्रिय देउडा गीत गाउँथे । तर, उक्त गायक गायिकाहरू आजकल आयोजना हुने मेला महोत्सवमा आक्कल–झुक्कल देखिन्छन् । मेला महोत्सवमा उनीहरूले त्यही पुरानै देउडा गीत गाएर दर्शक तथा स्रोतालाई सुनाउँछन्, देखाउँछन् ।
देउडा गायक गायिकाले अहिले बजारको माग अनुसारका देउडा गीत आउन सकेका छैनन् । बजारले पुराना देउडा गायक गायिकाका नयाँ देउडा गीत खोजेको छ । तर देउडा गायक गायिकाले भने नयाँ देउडा गीत ल्याउने सुरसार देखिन्न । देउडा गीत ल्याए पनि बजारमा खासै सुन्न पाइनन् । केही वर्ष पहिले देउडा गत चर्चासँगै व्यावसायिक रूपमा पनि सफल बन्दै गएका देखिन्थे । तर अहिले भने देउडा गीत व्यावसायिक रूपले सफलता हासिल गर्न सकेको छैन । यसको प्रमुख कारण देउडा गायकले बजार अनुसारका गीत ल्याउन नसक्नु हो ।
घाँस, दाउरा गर्दा अहिले गुमनाम भएका देउडा गायकका गीत खुब सुनिन्थ्यो । उनीहरूका गीतमा भिज्दै घरायसी काम गर्दा समय गएको पत्तो नै हुन्थेन । तर अहिले त्यो समय फेरिएको छ । अहिले घाँस–दाउरा गर्दा कमै सुदूरपश्चिमेली देउडा गीत सुन्छन् । उनीहरू देउडा गीतभन्दा बढ्ता अन्य शैलीका गित सुन्न रुचि राख्छन् । यस्तो हुनुका धेरै कारण छन् । जस्तै– देउडा गायकले बजारको माग अनुसारका गीत ल्याउन नसक्नु, समयको परिर्वतन, देउडा गीत लोप हुँदै जानु आदि ।             
केही वर्ष पहिलेका चर्चित देउडा गायिका अहिले विभिन्न क्षेत्रमा समर्पित भएका छन् । उनीहरूले देउडा गीत गाउन छोडेर कोही अमेरिका, कोही जापान, बेलायत भासिएका छन् । बजारमा देउडा गीत नचल्ने भएपछि नै सायद उनीहरू एकपछि अर्को गरी पलायन भएका हुन सक्छन् । यस्तै, देउडा गीत गाएर बाँच्न नसकिने भएर पनि अधिकांश देउडा गायक गायिका विदेश हानिएका छन् । पहिले विदेशमा गएका प्रवाशी नेपालीका दुःख, वेदना गीतमा उतार्ने देउडा गायक गायिका आफैं विदेश जानुका बाध्यता कसैले बुझ्न सकेका छैनन् ।
देउडा गीतले सुदूर तथा मध्यपश्चिमको मौलीकपन बोकेको छ । तर पनि राज्यले देउडा गीतमा समर्पित भएका व्यक्तिका लागि बाँच्ने आधार तय गरेको छैन । देउडा गायक गायिकाले न राम्रोसँग स्टेज कार्यक्रम पाउँछन् न त अन्य सुवधा नै । विभिन्न मेला महोत्सवमा देउडा गायक गायिकालाई अवसर दिइने भए पनि उनीहरू थोरै समय र न्यून पारिश्रमिक पाउँछन् । यस कारण पनि देउडा गायक  गायिकालाई बाँच्न गाह्रो छ । त्यही भएर पुराना देउडा गायक गायिका पनि गुमनाम जस्तै छन् ।   
पहिले बेलाका नाम र दाम कमाएका देउडा गायकलाई मेला महोत्सवले खासै चाँसो राख्दैनन् । दर्शक तथा स्रोताको दबाबका कारणले आयोजकले देउडा गायकलाई मेला महोत्सवमा ल्याएका हुन भनेर सजिलै अनुमान लगाउने अवस्था छ । यस क्षेत्रमा हुने मेलामहोत्सवले पनि देउडा गायकलाई यस्तै व्यवहार गरेको महसुस गर्न सकिन्छ । महोत्सवमा आयोजकले खासै देउडा गायकलाई स्थान दिएको पाइँदैन । स्थान दिए पनि त्यही दश, पन्ध्र मिनेट । यस क्षेत्रको कला, संस्कृतिको जेगर्नाका निमित्त आयोजना हुने मेला महोत्सवमा देउडा गायकलाई स्थान नदिएको देख्दा आयोजकले केवल व्यवसायका लागि मात्रै आयोजना गरेको महसुस हुन्छ ।  मेला महोत्सवका आयोजकले देउडा गायकलाई नजिकको तीर्थ हेला भन्ने भनाइलाई अख्तियार गरेको पाइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप