शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमभर उत्साहजनक मतदान

बुधबार, १४ असार २०७४, २० : ४०
बुधबार, १४ असार २०७४

शेर बहादुर सिंह
भीमदत्तनगर – स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुदूरपश्चिममा मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ । बुधबार सम्पन्न निर्वाचनमा यहाँका नौवटै जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयहरुले सार्वजनिक गरेका छन् । 

प्रारम्भिक जानकारी अनुसार सबैभन्दा बढी मतदाता रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा ७० प्रतिशत मतदाताले मतदान गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकृत प्रेमराज भट्टले कुल चार लाख ३ हजार २८० मतदाता रहेको कैलालीमा ७० प्रतिशतले मतदान गरेको प्रारम्भिक जानकारी आएको बताए । 

त्यसैगरी, दुई लाख ३५ हजार ७३५ मतदाता रहेको कञ्चनपुरमा ६८ प्रतिशतले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ । कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी केशबसिंह भण्डारीले ६५ प्रतिशतभन्दा बढी मत खसेको बताए। 

पहाडी जिल्ला डडेल्धुरामा ७५ देखि ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले अनुमान गरेको छ । निर्वाचन अधिकृत कृष्णसिंह नायकले कुल ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा राम्रै मत खसेको बताए । त्यसैगरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको डोटीमा ७० प्रतिशतले मतदान गरेका छन् । एक लाख एक हजार २१ जना मतदाता रहेको डोटीमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । 

अर्को पहाडी जिल्ला दार्चुलामा करिब ८० प्रतिशत मतदान भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । बहत्तर हजार २९५ मतदाता रहेको दार्चुलामा पनि निर्वाचन शान्तपूर्ण वातारवणमा सम्पन्न भएको छ । एक लाख २७ हजार ४४७ मतदाता रहेको अछाम जिल्लामा पनि ७० प्रतिशतभन्दा बढीले मतदान गरेका छन् । 

जिल्ला निर्वाचन कार्यालय अछामले केही स्थानमा सामान्य विवादबाहेक जिल्लाभर उत्साहका साथ मतदाताहरुले मतदान गरेको जनाएको छ । 

विकट पहाडी जिल्ला बाजुरामा भने ८० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकृत मानबहादुर थापाले बाजुरामा ८० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरेको बताए । बाजुरामा ६४ हजार ९५० मतदाता रहेका थिए । त्यसैगरी पहाडी जिल्ला बैतडीमा भने ६५ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। एक लाख २५ हजार २८३ मतदाता रहेको बैतडीमा निर्वाचन विरोध समूहले एउटा स्थानमा बम विष्फोट गरेको थियो । बैतडीमा पनि मतदाताहरुले शान्तपूर्ण वातावरणमा मतदान गर्ने अवसर पाएका थिए । त्यस्तै, बझाङमा पनि ७० देखि ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ । 

बझाङका जिल्ला निर्वाचन अधिकारी धुव्र भण्डारीले एउटा मतदान केन्द्रमा दलीय विवादका कारण निर्वाचन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–३ मा रहेको पाण्ड मावि पडेँसमा भने नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको विवादका कारण मतदान स्थगित भएको हो । सन्तानब्बे हजार ६१० मतदाता रहेको यस जिल्लाका बाँकी मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप