केन्द्रीय संस्करण

के बाबुराम माओवादीमा फर्केलान् ?

person access_timeजेठ २९, २०७४ chat_bubble_outline0

बाबुराम भट्टराई माओवादी आन्दोलनको एउटा अभिन्न नाम हो । जनयुद्धमार्फत हजारौँको बलिदानी सङ्घर्षबाटै उनी देशको कार्यकारी प्रमुख बने । संविधान निर्माणका सुप्रिम कमान्डर भट्टराई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधान घोषणा लगत्तै माओवादी पार्टीबाट बाहिरिए । वैकल्पिक राजनीतिक शक्ति निर्माणमा होमिए । यद्यपि, उनले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल जनतामाझको पहिलो परीक्षणमा सफल देखिएन । ‘इनिङ’ नै ‘झुर’ भयो । आफ्नै गृह जिल्लामा समेत अनेपेक्षित रुपमा पराजित भए । जहाँबाट बाबुरामले आफ्नो विरासत जोगाउने र इतिहास रच्ने अभिलाषामा थिए । सोहीअनुसार नै उनी चुनावभर नै घरदैलो अभियानमा सरिक देखिन्थे ।
पढाइमा सधैँ पहिलो भएका बाबुराम राजनीतिमा भने पहिलो हुन सकेनन् । पहिलो बन्ने आशमा नयाँ पार्टी खोले । पार्टीको पहिलो नेता त बने तर, उनको पार्टी पहिलो हुन सकेन । गोरखामै उनी तेस्रो बने । देशैभरमा पाँचौँ । 
तर, उनमा आत्मग्लानी भएजस्तो देखिँदैन । उनका अभिव्यक्तिबाट यो प्रष्ट हुन्छ । उनले सामाजिक सञ्जालमा नयाँ शक्तिपछि फर्कदैन, अघि बढ्छ भनेर पोस्ट गरेका छन् । बाबुरामले दिएको यस्तो अभिव्यक्तिले एउटा जब्बर प्रश्न उव्जिएको छ– के बाबुराम पुरानै घर फर्केलान् ? ठूलो अभिलासा र आत्मविश्वास बोकेर नयाँ शक्ति स्थापनामा लागेका बाबुराम सहजै रुपमा माओवादीमा फर्कने छाँटकाँट भने देखिँदैन । हुन त माओवादीभित्रको दमन र सङ्कुचित सोच भएका व्यक्तिहरुका कारण पनि बाबुराम माओवादीबाट अलग भएको बुझिन्छ । 
नेपाली राजनीतिमा अझै पनि फरक विचार बोक्ने समूह र व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण सङ्कुचित र घिनलाग्दो छ । यो मानेमा नेपालमा अझै राजनीतिक सोच र व्यवहारको विकास भएको छैन । अझ विशेष गरेर वामपन्थी पार्टीहरुमा यसखाले प्रवृत्ति हावी छ । बाबुरामले माओवादी पार्टीमा आत्मसम्मानपूर्वक नेतृत्व गर्न पाएनन् । विभिन्न आरोप खेप्दैमा हैरान थिए । देखिएका र लुकेका निम्न कारणले बाबुराम माओवादीमा फर्कने सम्भावनालाई कमजोर पारेको छ ।

बाबुरामको आफ्नै स्वभाव
विद्वान भए पनि बाबुराममा एकमनावादी चिन्तन देखिन्छ । यो कुरा बाबुराम आफैले पटक–पटक स्वीकार पनि गरेका छन् । घमण्डी र एकाङ्की स्वभावकै कारण उनले माओवादी पार्टीभित्र खासै प्रभाव जमाउन सकेनन् । उनी आफ्नै परिवार, नातागोता र सचिवालयको मुठ्ठीभित्र थिए । जुन घेरा नयाँ शक्ति निर्माण गरिरहँदा समेत तोडिएन । उनका हरेक निर्णयहरु तिनै घेराबाट सम्प्रेषण हुने गरे, गर्छन् । त्यसैले उनी आफ्नै स्वभाव, पारिवारको निर्णय र सानो झुण्डको बीचमै फसिरहेका छन् । पार्टी नयाँ बनाए पनि उनले आफ्नो सोच, परिवारका सदस्य र निकटका सहयोगीलाई नयाँ बनाउन सकेनन् । उनले गर्ने हरेक निर्णयमा सचिवालयकै स्वार्थ मिसिने गरेको छ । उनको राजनीतिक यात्रामा उनका नजिकैकाहरुले नै पाइला मेटाउँदै गएका छन् । त्यसैले माओवादीमा फर्केने कि नफर्कने भन्ने निर्णयहरु पनि परिवारको सदस्य र सहयोगीका हातमा रहेको छ । 

बाबुरामको भ्रम 
नयाँ शक्ति बाबुरामको सपना थियो । देशलाई आवश्यक पनि हो । सुरुवाती दिनहरुमा मानिसको आकर्षण र झुकाव पनि पार्टीभित्र निकै थियो, तर बाबुरामले पार्टीमा नयाँ अनुहार र जनताले पत्याएका व्यक्तिलाई पार्टीमा भित्र्याउन सकेनन् । उल्टै केही नाम चलेका व्यक्तिले उनलाई साथ दिन छाडे । बाबुरामबाहेक अन्य नाम चलेका र आसलाग्दा अनुहार पार्टीमा देखिएनन्  । मूलतः पार्टीको सिद्धान्त र कार्यदिशा अस्पष्ट देखियो । पार्टीले विचारमा वाम व्यवहारमा प्रजातान्त्रिक हुने भनियो तर पार्टी कम्युनिस्ट कि अरु कुनै भन्नेमा मानिस स्पष्ट बन्न सकेनन् । धेरै मानिस कार्यदिशा स्पष्ट नभएका कारण बीचैमा अलमलिए ।  नयाँ प्रयोगका नाममा विचारमा स्पष्ट बन्न सकेन । अर्काेतर्फ नयाँ शक्ति भनिरहदा पुरानै अनुहार पार्टीमा हावी भएकाले जनताले पार्टीलाई विश्वास गरेनन् । बरु बाबुरामको नयाँ शक्तिभन्दा रवीन्द्रको साझा र विवेकशील पार्टीलाई जनताले नयाँ पार्टीको रुपमा स्विकारे ।
अर्काेतर्फ चुनावी तालमेल नयाँ पार्टीहरुसँग गर्ने कि पुरानै पार्टीहरुसँग ? भन्ने विषयमा नयाँ शक्ति पार्टी स्पष्ट बन्न सकेन । यदि बाबुरामले नयाँ प्रयोग र साच्चै नयाँ शक्ति नै निर्माण गर्ने हो भने चुनावी तालमेल साझा र विवेकशीलसँग गर्नुपर्ने थियो । कस्तोसम्म भने राजनीतिमा दशकौँ बिताइसकेका बाबुरामको पार्टीलाई भन्दा आलाकाँचा विवेकशीलकी रञ्जुलाई जनताहरुले नयाँ शक्तिका रुपमा स्विकारे । उपेन्द्र यादवलाई बाबुरामले नयाँ देखेका कारण जनताहरुले झनै पछिल्लो समय नयाँ शक्तिप्रति हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याएको छ । पछिल्लो समय बाबुराम उपेन्द्रसँग पार्टी एकता गर्ने तयारीमा रहेको कारण पनि उनी माओवादीमा फर्कने सम्भावना न्यून बन्दै गएको छ । त्यसैले यति बेला बाबुरामले नयाँ शक्तिको सपना देख्नु र उपेन्द्रलाई नयाँ देख्नु नै ठूलो भ्रम सावित बनेको छ ।

मनोवैज्ञानिक
ठूलो आशा र सपना बोकेर नयाँ शक्ति निर्माण गरेका बाबुराममा पछिल्लो समय मनोवैज्ञानिक त्रास हावि बन्दै गएको देखिन्छ । माओवादीमा हँुदादेखि नै आफूलाई साथ दिएका र नाम चलेका सहयात्रीहरु यति बेला नयाँ शक्ति नबन्ने निष्कर्षसहित पुरानै पार्टीमा फर्कनका लागि खुट्टा उचालेर बसेका छन् । उनीहरु विस्तारै शिथिल बन्दै गइरहेका छन् । बाबुराम आफैँभित्र पनि पराजित मानसिकता विकाश हँुदै गएको देखिन्छ । राजनीतिक क्रान्ति सक्कियो अब आर्थिक क्रान्ति गर्ने भनेर लागेका बाबुराम देशमा कार्यकारी प्रमुख हुनुपर्छ भन्दै १० लाखको हस्ताक्षरको पोको बोकेर प्रधानमन्त्री प्रचण्डलाई हस्तान्त्रण गर्न लैजानुले पनि पराजित मानसिकता हावि बन्दै गएको प्रष्टि हुन्छ । उनको त्यो व्यवहारले पनि नयाँ शक्तिका लागि अझै समय अनकुल बनेको छैन भन्ने स्पष्ट हुन्छ । कुनै बेलाका सहयात्री प्रचण्डलाई तथानाम गाली गर्नु र यो देशमा लोकतन्त्र रैनछ भन्ने जस्ता अभिव्यक्ति दिँदै हिँडेकाले पनि उनमा पराजीत मानसिकता हावि भएको प्रष्टै देख्न सकिन्छ ।

माओवादीभित्रको अराजक राजनीति
माओवादीभित्र क्षमतालाई नस्वीकार्ने रोग छ । फरक विचार राख्नेहरुलाई निषेध गर्ने प्रवृति युद्धको समयदेखि नै देखिन्छ । पार्टीभित्र फरक विचार राख्नेलाई सामान्य कार्यकर्ताहरुले समेत गन्दैनन् । बाबुरामले पनि यो समस्या पार्टीभित्र निकै झेले । यतिसम्म कि प्रचण्ड निकटका सामान्य कार्यकर्ताहरुले बाबुरामलाई नेताको दार्जा त के सामान्य मानिसको दर्जाभित्र समेत राखेनन् । भट्टराईले पार्टी छोड्नुको एउटा कारकत्व पार्टीभित्रको अराजक राजनीतिलाई पनि हो । माओवादीमा फर्किए पनि पहिलेजस्तै अपमान खेप्नुपर्ने डर र चिन्ताले पनि बाबुराम माओवादीमा फर्कने सम्भावना झिनो मात्रै देखिन्छ ।

लोकलाज
नेपालका नेताभन्दा जनता धेरै अराजक छन् । पार्टी फुटाउँदा गाली गर्छन् । एकता गर्दा कुरीकुरी गर्छन् । कुरा काट्न र खिस्याउन सामान्य विषय नै पर्याप्त बन्छ । बाबुरामको हुति देखियो भन्दै उनीहरुले गर्ने आलोचनाको सम्भावनाका कारण पनि उनी फेरि पार्टीमा फर्कन मनोवैज्ञानिक रुपमा त्रसित रहेकोले झट्टै निर्णयमा पुग्न गाह्रो देखिन्छ ।

कार्यकारीको लोभ 
बाबुरामलाई धेरै समय अगाडिदेखि आस लागेको र चाहेको विषय हो कार्यकारी पद । अझै पनि बाबुराममा संविधान संशोधन भएर कार्यकारीको लागि जनताहरुले चुनेर पदमा पु¥याउने झिनो आशा उनीभित्र जीवितै छ । नयाँ शक्ति असफल भए पनि कुनै कोणबाट, कार्यकारीको मुद्दाले न्याय पाउनेमा आशावादी छन् । नयाँ शक्ति असफल बने पनि कार्यकारीको मुद्दाले ठाउँ पाउनेमा उनी विश्वस्त छन् । त्यसैले पनि उनी माओवादीमा फर्कन चाहन्नन् । किनभने, एउटै पार्टीमा रहँदा सोको सम्भावना पनि घट्ने उनको बुझाइ छ ।


अहिलेकै अवस्थामा बाबुरामम माओवादीमा फर्कने सम्भावना भने कुनै कोणबाट पनि देखिन्न । उनको सचिवालय, परिवार र कार्यकर्ताको चौतर्फी दबाब भयो भने यसै भन्न सकिन्न । उनलाई प्रचण्ड स्वयंले आधार दिएमा एकताबद्ध हुन सक्छन् । बाबुरामको घेरामा अवसरवादी र खुरापाती प्रभावशाली छन् । तिनले बाबुरामलाई माओवादीमा फर्कन दिँदैनन् । किनभने, एउटै पार्टी हुँदा उनीहरुको हालीमुहाली चल्दैन । उनीहरुको राजनीति जनतामा सामाजिक सञ्जालमा मात्रै सीमित छ । तेस्रो घेरामा बाबुरामलाई वास्तविक मायाँ गर्ने र राजनीति बुझेको तप्का छ । तर विडम्वना ! तिनलाई घेरा तोडेर बाबुरामकोमा पुग्न जेलब्रेक गर्नुभन्दा गाह्रो छ । बाहिरी दबाबले मात्रै बाबुराम अवसरवादी खेमाको घेराबाट मुक्त होलान् कि ?
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ