बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ नलिँदै दुई सांसदलाई आइलाग्यो यस्तो ‘लफडा’ !

बिहीबार, ०६ पुस २०७४, १४ : २९
बिहीबार, ०६ पुस २०७४

काठमाडौँ, ६ पुस– भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन जितेर सिंहदरबारको यात्रा तय गरेपनि रेशम चौधरी र नवराज सिलवाल शपथ नलिँदै विवादमा तानिएका छन् ।  

आईजीपी बन्ने महत्वकाङ्क्षासहित पटक–पटक सर्वोच्च अदालत पुगेका नवराज सिलवाललाई सरकारले एआईजीमा समेत बढुवा नगरेपछि राजनीतिमा हाम्फालेका थिए । उनले राजनीतिमा यति चाँडै छलाङ मार्न सफल भए कि एकाध महिनामै नेकपा एमालेबाट प्रतिनिधि सभाको टिकट लिँदै प्रतिनिधिसभामा जन–अनुमोदित हुन सफल भए । यसरी पूर्वडीआईजीको उनको छवि एकाएक निर्वाचित प्रतिनिधिसभा सदस्यको रूपमा फेरियो । 

चुनावमा भोट माग्न जाँदा सर्वसाधारणको खेतमा धान काट्न पुगेका सिलवाल चुनाव जितेपछि घोडा चढेर ‘राजसी शैलीमा’ जनतालाई अभिवादन गर्दै हिँडेको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । घोडा चढेको चर्चा सेलाउन नपाउँदै सर्वोच्च अदालतले उनको मुद्दाको पूर्णपाठको फैसला सार्वजनिक गर्दै ‘कार्य सम्पादन मूल्याङ्कन कीर्ते प्रकरण’मा दोषी रहेको भन्दै कारवाहीका लागि सरकारलाई आदेश गरेसँगै सिलवाल विवादको घेरामा तानिएका छन् । 

बुधबार मात्रै सरकारको तर्फबाट महानगरीय प्रहरी परिसर काठमाडौँमा  सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएँसगै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रवीन्द्र धानुकले सिलवालमाथिको कारबाही प्रक्रिया अगाडि बढिसकेको रातोपाटीलाई बताएका छन् । 

के थियो, कीर्ते प्रकरण ? 
२०७३ चैत २८ गते सरकारले प्रकाश आर्याललाई आईजीपी नियुक्त गरेसँगै उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका सिलवालले प्रकाश अर्यालको भन्दा केही नम्बर थप गरिएको कीर्ते कपी अदालतमा बुझाएका छन् ।

कार्यसम्पादन मूल्याङ्कन फाइल प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र लोकसेवा आयोगमा सक्कलप्रति मात्र रहन्छ । कानुनअनुसार कासमु फाइल फोटोकपी गर्न पाइँदैन तर सिलवालले नियमविपरीत कासमुको फोटोकपी गराएर त्यसैलाई नक्कली बनाउँदै आफ्नो रिटमा अट्याच गरेका थिए ।  
सिलवालले आर्थिक वर्ष २०६९÷७० देखि ०७२÷७३ समेत चार वर्षको आफ्नो र प्रकाश अर्यालको समेत कार्यसम्पादन मूल्याङ्कनको फोटोकपी अदालतमा बुझाएका थिए । ‘जसमा आर्थिक वर्ष २०७२÷७३ को कार्य सम्पादन मूल्याङ्कन कीर्ते गर्दै उनले आफ्नो नक्कली कार्यसम्पादन मूल्याङ्कनलाई सक्कली दाबी गरेको कुरा असअघि नै सार्वजनिक भइसकेको छ । 

जसमा सिलवालले आफ्नो कुल अङ्क २६३ र अर्यालको २६२ भएको उल्लेख गरेका छन् । आर्थिक वर्ष २०७२÷७३ मा ३८ नम्बर मात्रै पाएका सिलवालले दुई नम्बर थपेर ४० बनाइएको कीर्ते कपी अदालतको मिसिलमा पेश गरेको सार्वजनिक भएसँगै तत्कालीन मन्त्रिपरिषद्को बैठकले उनीमाथि छानविन गर्ने निर्णय गरेको थियो । 

सिलवालले सर्वोच्चमा बुझाएको कासमुको फोटोकपीमा कपीमा दुईवटा फन्ट प्रयोग भएको पाइएको थियो । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका तत्कालीन एआईजी वीरेन्द्रबाबु श्रेष्ठले हस्ताक्षर गरेको कासमुको तल्लो भागमा उत्साह फन्ट प्रयोग भएको थियो भने फारमको माथिल्लो भागमा कालिमाटी फन्ट प्रयोग गरिएको थियो ।  जुन फन्ट सिलवालले कीर्ते गरेको फरेन्सिक रिपोर्टले समेत पुष्टि गरिसकेको छ । 

सर्वोच्च अदालत र फरेन्सिक रिपोर्टले ‘कीर्ते प्रमाणित’ गरिसकेको हुनाले नवराज सिलवाललाई तत्काल पक्राउ गरेर कारवाही अगाडि बढाउने कानुनी अधिकार छ । ‘प्रहरीले पक्राउ गर्छ कि गर्दैन, पक्राउ गरेर थुनामा राखेमा सिलवालको सांसद पद निलम्बन हुन्छ’ सिलवाल प्रकरणलाई नजिकबाट नियालेका पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ भन्छन्, ‘मुद्दा दर्ता हुँदैमा सांसद पद निलम्बन हुँदैन, किनकि ज्यान मुद्दा र भ्रष्टाचारबाहेक अन्यमा निलम्बन गर्ने व्यवस्था छैन ।’ 

‘कीर्ते जाहेरी’ दर्ता भए पनि प्रहरीले आँखा चिम्लिदिएमा सिलवालले शपथ लिन र सांसदको हैसियतमा काम गर्न पाउँछन् । तर, पक्राउ गरेमा उनको सांसद पदसमेत निलम्बन हुनेछ । 

 ‘मोस्ट वान्टेड’ सांसदलाई शपथ लिनै सकस !

‘टीकापुर हत्याकाण्ड’का फरार अभियुक्त रेशम चौधरीले नेपाल–भारत सिमानामा बसेर चिर्वाचन परिचालन मात्रै गरेनन्, विपक्षीलाई करिब २१ हजारको मत अन्तरले पछार्दै सिंहदरबारको यात्रा तय गरेका छन् । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले वाम गठबन्धनका उम्मेदवार गरिमा शाहलाई पराजित गर्दै, विजयको सगरमाथा त चुमे तर उनको सिंहदरबारको यात्रा भने महँगो पर्ने देखिएको छ । 

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालक हत्या अअियोग लागेका चौधरी त्यतिवेलादेखि नै नेपाल प्रहरीको फरार अपराधी हुन् । उक्त घट्नामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाइसकेको छ । उनीहरू हाल जेलमा छन् । प्रहरीले चुनाव जिते पनि रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले भने– ‘कानुन तः रेशम चौधरी पक्राउ परेर अदालत पेश गर्नुपर्ने व्यक्ति हुन्, भेटेको ठाउँमा जहाँ पनि समातेर अदालत पेश गर्छौं ।’ 

प्रहरी प्रवक्ताको यस्तो चेतावनी आएसँगै निर्वाचत जितेको प्रमाणपत्रसमेत लिनबाट वञ्चित भएका चौधरीलाई शपथ लिनसमेत सकस हुने देखिएको छ । 
‘रेशम चौधरी अदालती डकुमेन्टमा फरार अपराधी हुन्’ पूर्वमहान्याधिवक्ता रमन श्रेष्ठ भन्छन्, ‘फरार अभियुक्तले कसरी शपथ लिन मिल्छ ?’ 

के थियो टीकापुर घटना ? 
थरुहट आन्दोलन उत्कर्षमा पुग्दै थियो, त्यस्तोमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरी अधिकृतहरू कैलालीको मुनुवा–६ सिलम चौराहामा पुगेका थिए । सीमाङ्कनको विरोधमा भएको आन्दालनका क्रममा त्यस दिन आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा ‘थरुहट स्वायत्त प्रदेश’को बोर्ड राख्ने कार्यक्रम राखेका थिए । 

आन्दोलनकारीहरू निषेधाज्ञा तोडेर अघि बढेपछि प्रहरी र आन्दोलनकारीको बीचमा झड्प सुरु भयो । करिब १० हजारको सङ्ख्यामा छुरा, भाला र वञ्चरोसहितका घरेलु हतियार बोकेका आन्दोनलका प्रहरीमाथि खनिए । त्यस्तोमा ‘भीडलाई सम्झाएरै निन्त्रणमा लिन सकिन्छ, दमन गर्नुहुँदैन’ भन्ने मान्यतका एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरी अधिकृतहरू फिल्डमा थिए । आन्दोलनकारीको आक्रमणबाट एसएसी न्यौपाने, इन्सपेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भयो ।

घट्नामा प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवल्दा रामबिहारी थारु, सहायक हवल्दार ललित साउद र दुई वर्षीय बालक टेकबहादुरको साउदको पनि गोलीको छर्रा लागेर मृत्यु हुन पुग्यो । दुई वर्षीय बालक टेकबहादुर सहयाक हवल्दार नेत्र साउदको छोरा हुन् । प्रहरीले रेशमलाई यो हत्याकाण्डको मुख्य अभियुक्त किटान गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । 

को हुन रेशम ? 
रेशम चौधरीले कैलालीमा सामाजिक कार्यकर्ताको छवि बनाएका थिए । समाजिक कार्यकर्ताका रूपमा टीकापुरमा सक्रिय रेशमले ‘टीकापुर हत्याकाण्ड’ हुनुअघि विभिन्न समाजिक गतिविधि गरेर आफूलाई स्थापित गरिसकेका थिए । 

टीकापुरमा फूलबारी महोत्सव गरेर देशभरिका कलाकारको कुम्भमेला गराउनु, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नु त्यहाँका लागी नौलो काम थियो । स्थानीय एफएम समेत सञ्चालन गरेका रेशमले टीकापुरमा हात्तीको फुटबल खेल प्रदर्शन गर्नुका साथै रेस्लिङको आयोजना गरेर चर्चा कमाएका थिए ।

‘थारु मसिहा’को रूपमा आफूलाई प्रस्तुत गर्ने रेशम थरुहट आन्दोलनको अग्रपङ्क्तिमा थिए । थारुको पक्षमा दिलो ज्यान दिएर लागेको कारण पनि थारु बाहुल्य क्षेत्रमा वारेसनामा मार्फत उम्मेदवारी दिएको भरमा उनले प्रतिनिधिसमा सदस्यको निर्वाचन जित्न सफल भएको बताइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप