शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रमिक महिलाहरू

बिहीबार, ०६ पुस २०७४, ११ : ४१
बिहीबार, ०६ पुस २०७४

१०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पुनः प्रकाशन गरिएको छ ।
 

क्लारा जेटकिन महिला मुक्ति आन्दोलनकी अगुवा तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक हुन् । विश्वमा महिलाहरूको मुक्तिको विषयमा आवाज उठाउने महिलाहरूमा जेटकिनको नाम दरिने गर्छ । जर्मनीको एउटा सामान्य परिवारमा जन्मिएकी (सन् १८५७ जुलाई ५–१९३३ जुन २०) उनले विश्वभर पुँजीपतिहरूले चलाएको युद्धविरुद्ध मुखर भएर आवाज उठाइन । उनको यो लेख ‘श्रमिक महिलाहरू’ शीर्षकमा सन् १९१५ अप्रिल ३ मा ‘बर्लिनर ट्यागवाच’मा प्रकाशित भएको थियो । 
 

आज विश्व पुँजीवाद र तिनका मतियारहरूले विभिन्न नाममा विश्वलाई इराक, अफ्गानिस्तान र सिरिया बनाउन लागि रहेको सन्दर्भमा क्लारा जेटकिनको यो लेख जसमा उनले युद्धको विरुद्ध महिलाहरूको भूमिकाका लागि आह्वान गरेकी छन्, फेरि एक पटक सान्दर्भिक भएको छ । हामीले यो लेख ‘माक्र्सिस्ट डट ओआरजी’बाट सम्पादनसहित पुनः प्रकाशित गरेका छौँ ।

तपाईंहरूका श्रीमानहरू खै ?

तपाईंहरूका छोराहरू खै ? 

विगत आठ महिनादेखि उनीहरू युद्धमोर्चामा छन् । उनीहरू आफ्नो जागिर र घरबाट खेदिएका छन् । किशोरहरू, आफ्ना बुबा आमाका भरोसा तथा आशाका केन्द्रहरू, अधवैंसे मानिसहरू, कपाल पाकेकाहरू परिवारको पालनपोषण गर्नेहरू, ती सबै सैनिक बर्दी पहिरेर सुरुङहरूमा निरस जीवन बिताइरहेका छन् र कडा परिश्रमद्वारा निर्मित हरेक वस्तुलाई ध्वंश गर्ने आदेश पालन गर्न विवश छन् ।

लाखौँ लाख मानिसहरू, आम चिहानमा निदाइरहेका छन् । सयौँ हजारौँ मानिसहरू सैनिक अस्पतालमा हात–खुट्टा भाँचिएर या शरीर अङ्गभङ्ग भएर, अन्धा भएर, क्षतविक्षत मष्तिष्क तथा महामारीबाट आक्रान्त या शक्तिहीन अवस्थामा लडिरहेका छन् । आगो लागेर डढेका गाउँ तथा शहरहरू, भत्केका पुलहरू, उजाडिएका वनजङ्गल तथा बरबाद भएका खेतहरू तिनीहरूको कामका निशानी हुन् ।

सर्वहारा महिलाहरू हो ! कसैले तपाईंलाई भनेको हुन् सक्छ– तपाईंका श्रीमान् तथा छोराहरू आफ्ना कमजोर श्रीमती र बच्चाहरूको रक्षा गर्न र घरपरिवारको सुरक्षा गर्न लडाइँमा गएका हुन् भनेर । तर वास्तविकता के हो त ? 

अहिले दुर्बल महिलाहरूको काँधले दुई गुणा बोझ खेप्नुपरेको छ । संरक्षणको गुन्जाइस नभएका तपाईंहरू दुःखमय कठिन जीवन भेगिरहनुभएको छ । तपाईंका बच्चाहरू भोकभोकै जाडोले कठ्याङ्ग्रिएका छन् । तपाईंहरूको टाउको ओत्ने छानालाई भत्काइदिने धम्की दिइएको छ । तपाईंहरूको चुलो चिसो र खली छ ।

कसैले तपाईंहरूलाई भाइभतिजा तथा उचनीचबीच भाइचारा कायम हुने, धनी र गरिबबीचको सङ्घर्ष अन्त्य हुनेबारे भनेका होलन् । ठीक छ, सङ्घर्षको अन्त्य भन्नुको अर्थ त उद्यमीले तपाईंहरूको ज्याला घटाएको, व्यापारी तथा अविवेकी सट्टेवाजले मूल्य बढाएको तथा जमिनदारले तपाईंलाई बेदखल गर्ने धम्की दिएकोलाई पो बुझाउने रहेछ । राज्यले तपाईंलाई कङ्गाली बनाउँछ भने बुर्जुवा कल्याणकारी कुरा गर्ने अधिकारीहरूले तपाईंलाई असाध्यै थोरै खोले खाएर लोभी र लालची बन्न जोड दिन्छन् ।

तपाईंलाई यस्तो भयङ्कर युद्धको पीडा भोगाउने युद्धको उद्देश्य के हो त ? तपाईंलाई भनेका होलान पितृभूमिको भलाई र रक्षाका लागि हो भनेर । पितृभूमिको रक्षा केलाई भनिन्छ ?

यसले युद्धद्वारा मारिएका, अपाङ्ग, बेरोजगार, माग्ने तथा टुहुरा बनाइएका दशौँ लाखको भलाइ भन्ने बुझाउँदैन र ? पितृभूमिको भलाइमा कसले खतरा पुर्याउँछ ? सीमा पारि उभिएका बर्दीधारी मानिस, जसले तपाईंका आफ्ना मानिसले चाहेजस्तो युद्ध कत्ति चोहेका थिएनन् । उनीहरूलाई थाहा छैन किन आफैले आफ्ना दाजुभाइको हत्या गर्नुपरेको छ ? अहँ, होइन । विशाल जनसमुदायले भोग्नुपरेको कठिनाइबाट फाइदा उठाउन खोज्नेहरू तथा दमनमाथि आफ्नो प्रभुत्व कायम गर्न खोज्नेहरूबाट पितृभूमिलाई खतरा पुगेको छ ।

यो युद्धबाट कसले फाइदा उठाउँछ ? हरेक देशका केवल सानो अल्पसङ्ख्यकले । राइफल र तोपहरू, कवचहरू, पनडुब्बी, युद्धपोत उत्पादन गर्नेहरू, जहाज कम्पनीका मालिकहरू एवं सैनिक आवश्यकता सामग्री आपूर्ति गर्ने ढुवानीकर्ताहरूले फाइदा उठाउँछन् । उनीहरूलाई फाइदा पुर्याउने स्वार्थमा जनताबीच आपसमा यसरी युद्ध भड्काउने घृणास्पद काम हुँदैछ । 

यो युद्ध केवल पुँजीपतिहरूका लागि मात्र फाइदाजनक छ । जसले ती वस्तुहरूको उत्पादन गर्यो तिनैले त्यसलाई उपभोग गर्न नपाएपछि ती केही नभएको बुङ्गा तथा शोषित समुदायको श्रमको सङ्ग्रह होइन र ? ती वस्तु किन्न उनीहरू अत्यन्तै गरिब छन् । श्रमिकको पसिनाले यी वस्तुहरूको निर्माण गर्यो तथा तिनै श्रमिकको रगतले यी वस्तुका लागि नयाँ विदेशी बजार निर्माण गर्नुपर्ने थियो । 

पुँजीपतिहरूले जहाँ प्राकृतिक सम्पदाहरू लुट्न तथा अत्यन्तै सस्तो श्रम शक्तिको शोषण गर्न चाहन्छन् । त्यहाँ उपनिवेशहरू जितेको नौटङ्की गरिन्छ । पितृभूमिको सुरक्षा होइन कि बरू यिनै कुराहरूको वृद्धि गर्नु युद्धको उद्देश्य हो । पुँजीवादी व्यवस्था यहीँ चाहन्छ । मानिसले मानिसको शोषण र उत्पीडन नगरी त्यो व्यवस्था टिक्नै सक्दैन ।

यो युद्धबाट मजदुरहरूलाई कुनै फाइदा छैन । बरू उनीहरूले आफ्नो सर्वस्व तथा सबैभन्दा प्यारो वस्तु समेत गुमाउनुपर्ने अवस्थामा आइपुगेका छन् । श्रमिकका श्रीमतीहरू, महिला मजदुरहरू हो ! द्वन्द्वरत देशका पुरुषहरूको मुखमा ताल्चा लगाइएको छ । युद्धले तिनको बुद्धि भुटिदिएको छ । तिनको इच्छालाई टुक्र्याइदिएको छ र तिनको अन्तरहृदयलाई कुरूप पारिदिएको छ ।

तर तपाईं महिलाहरूले मोर्चामा रहेका आफ्ना प्रियजनहरूको चिन्ताले ग्रस्त हुँदाहुँदै अझ ठगिनु र कष्टसमेत सहनुपरेको छ भने आफ्नो शान्तिको चाहना तथा युद्ध विरोधी भावना व्यक्त गर्न के पर्खिरहनुभएको छ ?  तपाईंहरू के कुरामा अकमक्की रहनुभएको छ ? 

अहिलेसम्म त तपाईंहरू आफ्ना प्रियजनहरूका लागि धैर्य बन्नुभयो । अब भने अपाईंहरूले आफ्ना पति र छोराहरूको लागि केही गर्नैपर्छ । हत्या अति नै भो ! यो भनाइ धेरैको मुखबाट निस्किएको छ । लाखौँ लाख महिलाहरूले यो कुरा उठाएका छन् । ती सुरुङहरूमा यो प्रतिध्वनित भाइरहेको छ, जहाँ जनताका छोराहरूको विवेक यो हत्याविरुद्ध उत्तेजित भएको छ ।

जनताका महिला श्रमिकहरू ! यी कठिन दिनहरूमा, जर्मनी, बेलायत, फ्रान्स तथा रुसका समाजवादी महिलाहरू एकत्रित भएका छन् । तपाईंका कठिनाइ र पीडाहरूबाट तिनको हृदय विचलित भएको छ । उनीहरूले तपाईंहरूलाई आफ्नै र आफ्ना प्रियजनहरूका लागि शान्तिको काम गर्न अनुरोध गरिरहनुभएको छ । जसरी उनीहरूको सोच लडाइँका मैदानहरू नाघ्दै आपसमा मिलेको छ । त्यसरी नै सबै देशबाट तपाईंहरू पनि शान्ति ! शान्ति ! को आवाज उठाउन एकत्रित हुनुपर्छ ।

विश्वयुद्धले तपाईंहरूबाट असाध्यै ठूलो बलिदानको माग गरेको छ । तपाईंले दुःखकष्ट सहेर हुर्काउनुभएका छोराहरू, कठिन सङ्घर्षहरूमा तपाईंलाई साथ दिएका श्रीमानहरू तपाईंहरूबाट खोसिएका छन् । यी बलिदानको तुलनामा अन्य सबै बलिदानहरू तुच्छ र निरर्थक देखिन्छ ।

सम्पूर्ण मानव जातिले तपाईं द्वन्द्वरत देशका सर्वहारा महिलाहरूतिर आशाको नजरले हेरिरहेका छन् । तपाईंहरूलाई वीरङ्गना र मुक्तिदाता बन्ने सौभाग्य प्राप्त भएको छ । एउटै इच्छा, एउटै कर्ममा जुट्नुहोस् । तपाईंहरूका श्रीमान् र छोराहरूले अहिलेसम्म भन्न नसकेका कुरालाई लाखौँ–लाख स्वरहरूमा एकैचोटि भन्नु होस् । सबै देशका श्रमिक जनताहरू भाइभाइ हुन् ।

ऐक्यबद्ध जनताको शक्तिले मात्र हत्यालाई रोक्न सक्छ । समाजवादले मात्र मानव जातिको भावी शान्ति सुनिश्चित गराउन सक्छ । हुने खाने वर्गको धन तथा शक्तिको लागि जनताको बलि चढाउने पुँजीवादी महायज्ञ– मूर्दावाद ! 

युद्ध मूर्दावाद ! समाजवादतर्फ अघि बढौँ !

अनुवाद : शोभा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

क्लारा जेटकिन
क्लारा जेटकिन
लेखकबाट थप