मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् निर्वाचन पछिका सुरक्षा चुनौती

बिहीबार, ०६ पुस २०७४, ११ : ०६
बिहीबार, ०६ पुस २०७४

सम्प्रभु नागरिकको सर्वोत्तम हितको मुद्दालाई अवमूल्यन गर्ने, लत्याउने, भ्रष्टाचारी, तस्करीको हितको विषयलाई मात्र पत्याउने राजनीतिक संस्कार र चरित्रकाविरुद्ध आमनागरिकले मतादेशका माध्यमबाट देखाएको चेतनायुक्त सकृयताले मुलुकमा नयाँ परिस्थिति निर्माण हुन गएको छ ।

 निर्वाचन विजय र पराजयको विषय मात्र होइन, यसले सम्प्रभु नागरिकको चेतना र जागरुकताको स्तर पनि निर्धारण गर्ने गर्छ ।  प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत र वैधानिक रूपमा स्थापित गर्न निर्वाचन एक महत्वपूर्ण प्रकृया मात्र हो । 

यो प्रकृयाको सफल प्रयोगबाट मुलुकले आफ्नो राजनीतिक मार्ग स्पष्ट पारेको छ तर आमनागरिकका हित सरोकारका विषयको लामो सूचीको व्यवस्थापन के कसरी गर्न सकिन्छ सकिँदैन, समाजिक सद्भाव बनाइराख्न आन्तरिक, अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका विषयमा के कसरी सन्तुलन कायम गर्न सकिन्छ सकिँदैन भन्ने आधारमा सुरक्षा चुनौती बढ्ने वा घटने देखिन्छ ।

 निर्वाचन राजनीतिक प्रकृया र छनौटको विषय भएकाले निर्वाचनमा आफ्नो सफल्तामा आर्काको असफलताका कारण पनि सकृय रहने गर्छ । त्यसैले आफू योग्यतम भएकै कारण विजयी भएको हुँ भन्ने दम्भ राख्नु उपयुक्त हुने छैन । बरु यो योग्य बन्ने अवसर हो भन्ने रूपमा लिन आवश्यक छ । यस अवसरको सदुपयोग सुशासनको शैली र संस्कारबाट मात्र हासिल गर्न सकिन्छ ।

कसैको पराजय हर्ष वा विस्मातको विषय बन्नु हुँदैन । यसलाई अनुभव र प्रेरणाको विषय बनाउन आवस्यक छ । आमनागरिकको चेतना र जागरणको स्तरलाई अवमूल्यन गर्ने धृष्टता कसैले नगरे हुन्छ । यसो गर्दा के हुन गयो, परिणाम निर्वाचनले देखाएकै छ । लोककल्याणकारी राज्यमा लोकको हितको मुद्दालाई सरकारले अवहेलना गर्दा नागरिक आक्रोशित हुन पुगे । यस पटक नागरिकको आक्रोश र घृणा मतपत्रका माध्यमबाट प्रकट हुन गयो । 

आक्रोश र घृणाले क्षय गराउँछ भन्ने वैज्ञानिक तथ्य नै फेला परेको छ, अफ्रिकि महादेशको सोलोवन भन्ने स्थानका जनतामा एक प्रकारको अनौठो प्रचलन रहेकोछ त्यहाँ जङ्गलमा रहेका रुखलाई काट्नुको सट्टा सबैजाना भेला भई रूखलाई घृणापूर्वक गाली गर्ने गर्छन् । केही दिनपछि उक्त रूख गालीकै कारण सुकेर जाने गरेको तथ्य फेला परेको छ । हामीकहाँ निर्वाचनमा रहेको रूख चिन्ह पनि नागरिकको गाली र आक्रोशमा पर्यो कि भन्नेहरूको कमी छैन । खैर विजय, पराजय लोकतन्त्रवादीका लागि सहज परिणाम हो तर पराजयको कारणमा सकृय तर सापेक्ष हस्तक्षेप हुन सकेन भने राज्य शक्तिको सन्तुलनमा तलमाथि हुन गई सुरक्षा चुनौती थपिने विषय मात्र पङ्क्तिकारको सरोकारको विषय हो ।   

मुख्यतः समाजिक, राजनीतिक सन्दर्भ र परिवेशले सुरक्षा मार्ग निर्धारण गर्छ  । त्यसैले सुरक्षा जहिले पनि परिपेक्षयुक्त हुने गर्छ । कुनै पनि सन्दर्भ र परिस्थितजन्य परिप्रेक्षमा राज्य र जिम्मेवार राजनीतिक दलले निर्वाह गर्ने सापेक्ष वा निरपेक्ष भूमिकाले नै मुलुकको आन्तरिक र बाह्य सुरक्षालाई सहज वा चुनौतीपूर्ण बनाउने गर्छ । मुख्यतया नयाँ राजनीतिक सिद्धान्तको प्रयोगका क्रममा विभिन्न राजनीतिक दलले उत्सर्गमा पुर्याइएको जातीय, क्षेत्रीय पहिचानको मुद्दा र आवेगलाई राज्यले कसरी व्यवस्थापन गर्न सक्छ भन्ने विषय नै सुरक्षा चुनौतीका दृष्टिले सर्वाधिक महत्वको विषय हुनेछ । सुरक्षाविद्हरूले गरेको सुरक्षा खतराको पूर्वानुमानका अनुसार सन् २०२५ सम्म विश्वभरमा पहिचानको मुद्दा चाहे त्यो धार्मिक होस वा भगौलिक वा जाती यी पहिचानका मुद्दाको सम्मानजनक र सन्तुलित व्यवस्थापन गर्न नसकेमा सुरक्षा चुनौती बढ्ने र अनन्ततोगत्वा राष्ट्रिय एकता र अखण्डता धरापमा पर्न सक्ने घोषणा गरेका छन्,  जुन घोषणा कतिपय मुलुकमा सत्य सावित भएको देखिन्छ । 

सन् २०२५ पश्चात भने प्राकृतिक स्रोत र ऊर्जा मुख्य सुरक्षा चुनौतीका रूपमा रहने अनुमान गरिएको छ । हाम्रो सन्दर्भमा पनि पहिचानको विषय नै सुरक्षा सरोकारको महत्वपूर्ण विषय रहने भनी स्वीकार गर्दै तत् सम्बन्धमा राष्ट्रिय सुरक्षा नीतिमा समेत अवलम्बन गरिनुपर्ने सुरक्षा रणनीतिले केही उपाय पनि सुझाएको देखिन्छ मुख्यतः नागरिकबीचको सामथ्र्यमा देखिएको भिन्नता, असन्तुलित विकास, राज्य सेवा र सुविधामा समान पहुँचमा निषेध वा असमान वितरणका कारण यी समस्या पहिचानका माध्यमबाट प्रकट हुन खोजेको देखिन्छ । 

उक्त समस्याको समाधनमा अब बन्ने सरकारले कस्तो सुरक्षा रणनीतिको प्रयोग गर्छ भन्ने विषय पनि सर्वाधिक महत्वको विषय हुने छ ।  निर्वाचन सफलरूपमा सम्पन भएसँगै बल अब सरकार अर्थात वाम गठबन्धनको कोर्टमा पुगेको छ । निर्वाचनका समयमा प्रयोग गरिएको गठबन्धनको तालमेलको सफल रणनीति सम्भावित सुरक्षा चुनौतीको व्यवस्थापनमा कसरी प्रयोग गरिन्छ, त्यो परीक्षण हुन बाँकी नै छ ।

सुरक्षा व्यवस्थापन एक प्रकारको तालमेल नै भएकाले ताल मिलाउन सक्ने अनुभव हाँसिल गरेका वाम गठबन्धनले सयथरी बाजा एउटै ताल भनेझैँ ताल र शुर मिलाउन सक्ने विश्वास गर्न सकिन्छ । तर सुरक्षा व्यवस्थापनमा तालमेल मात्र परियाप्त हुँदैन । यसका लागि चाल अर्थात उपयुक्त सुरक्षा रणनीति पनि मिलाउनुपर्ने हुन्छ भन्ने हेक्का पनि राख्न आवश्यक छ । 
 

–लेखक नेपाल प्रहरीका पूर्वएआईजी हुन्
 


    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्रसिंह भण्डारी
राजेन्द्रसिंह भण्डारी
लेखकबाट थप