शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बर प्रदेशमा चुनाव नहुँदा के भन्छन् त्यहाँका मतदाता ?

बुधबार, १४ असार २०७४, १८ : ०८
बुधबार, १४ असार २०७४


सिरहा– प्रदेश नम्बर १, ५ र ७ मा बुधबार मतदान सम्पन्न हुँदा  प्रदेश नम्बर दुईमा भने चुनाव भएन ।   यसअघि बैशाख ३१ मै प्रदेश नम्बर ३, ४ र ६ मा पनि चुनाव सम्पन्न भएर जनप्रतिनिधिले काम थालिसके । 


दुई नम्बर प्रदेशका ८ जिल्लामा चुनावी प्रचार  चलिरहेकै बेला सरकारले राजपाको माग अनुसार असोज २ का लागि  चुनाव सारेको हो । 

   २० वर्षपछि हुन लागेको चुनाव अन्तिम समयमा  आएर सरेसँगै  दुई नम्बर प्रदेशका मतदाता भने निराश भएका छन् । 

छिमेकी जिल्ला उदयपुरमा स्थानीय तहको चुनाव सकिएर मतदानको  तयारी हुँदैगर्दा  दुई नम्बर प्रदेशमा पर्ने एक जिल्ला सिरहाका जनता खिन्न भएका छन् । 

रौनकताका साथ जिल्लाका चुनावी चहल पहल भइरहेकै बेला  चुनाव सरेपछि उनीहरुले खिन्नता प्रकट गरेका हुन् । 

अधिकार माग्ने नाममा आफ्नै जनताको अधिकार असुरक्षित हुने गरी आन्दोलन गर्ने पक्ष र राज्य दुवैको अदुरदर्शीताका कारण आफ्नो अधिकारै हनन् हुन पुगेको सिरहा गोलबजार १ मुक्सारका निरोज यादवले बताए । उनले भने, ‘आन्दोलनकारीको हठ र सरकारको अदुरदर्शिताका कारण आज २ नम्वर प्रदेशको चुनाव स्थगन भयो, यसले हामीलाई निराश बनाएको त छँदैछ, राज्यको खर्चपनि बढेको छ ।’

 उनले थपे, ‘हामी सधैं पछाडी परेकै थियौं, अहिले यहाँको चुनाव सारेर झन् हामीलाई दुवैपक्षले पछाडि धकेल्यो, स्थानीय तहको चुनाव बाँकी रहेको सबै प्रदेशमा यसैपटक गर्नुपथ्र्यो ।’


गोलबजार २ कै संजित नायकले सवैतिर चुनाव भईरहेको वेला आफ्नो जिल्लाका चुनाव नहुँदा आफ्नो खिन्नता महशुस भएको बताए । 


 सवैतिर उत्साहका साथ चुनाव भईरहेको छ, हामीलेमात्र चुनाव भाग नलिंदा के आन्दोलनकारीको माग पुरा हुन्छ र ? भन्दै आक्रोश व्यक्त गरे । 


उनले आन्दोलनकारीको ढिपी र राज्यले २ नम्वर प्रदेशलाई वेवास्ता गरेको भन्दै यस प्रदेशका जनतालाई राज्यले पनि बदमास सावित गरेको आरोप लगाए । 

उनले दुवै पक्षमाथि व्यङ्गय गर्दै भने, ‘चुनाव वहिस्कार गरेर यहाँका नेताहरुले माथिबाटै सिधै पद लिएर आउन होला स्थानीय चुनाव वहिस्कार गरेको, जनतालाई विश्वास नै गरेनन् ।’

यता चुनाव सरेपछि असारमा मज्जाले धानै रोपौंला भनेर बसेकी गोलबजार ४ कि अनिता सदा भने पानी नपरेपछि धान रोपाई गर्न पनि नपाएर चिन्तित देखिइन् । 


उनले भनिन्, ‘चुनावमा मत खसाल्न तयार थियौं तर चुनाव रोकियो   । धान पनि रोप्न पाइएन।  सवैतिर आज भोट हाल्ने चटारो भएपनि २ नम्वर प्रदेश अन्तर्गतको सिरहाका जनता थक थकी भएर वसेका छन् । ’


पटक पटक चुनाव सरेपछि यहाँ अव चुनावै नहुने हो की भन्नेमा शंका समेत व्यक्त गर्न थालेका छन्, स्थानीयबासी  । 


आन्दोलनकारीको हर्कत र राज्यको व्यवहारले आफूहरुलाई अहिले दोस्रो दर्जाको व्यवहार गरिएको जस्तो महसुश भइरहेको  पनि उनीहरुले बताए । 

    सवैतिरको चुनाव भईसकेको अवस्थामा आफ्नो प्रदेशमा मात्र चुनाव रोकिएपछि सवैक्षेत्रबाट पछाडी परिएजस्तो गोलबजार ८ का राजदेव यादवले बताए । 
उनी भन्छन्, ‘अव सवैठाउँमा चुनाव भयो । चुनाव भएका ठाउँहरुमा विकास निर्माणको कामले पनि त्यही अनुसारको गति लिने छ । हामी त्यसै पछाडी परेकाहरु चुनाव सरेपछि थप पछि परेका छौं ।’ 


उनले थने, ‘राज्यले चाहन्छ र सक्छ भने  २ नम्वर प्रदेशको चुनावपनि चाँडै गराओस् ।’


यता चुनावको विरोधमा देखिएको राजपाले भने संविधान संशोधन नभएसम्म आफूहरुलाई चुनाव अस्वीकार्य हुने यसअघि नै घोषणा गरिसकेको छ । 


राजपाले संविधान संशोधन लगायतको  विषय उठाइरहँदा सरकारले असोज २ को लागि चुनावको मिति तोकेको छ तर राजपा त्यो चुनावमा पनि सहभागि हुने नहुने टुंगो छैन । यस्तो अवस्थामा मतदाता भने कुनै पनि हालतमा चुनाव हुनुपर्छ भन्ने पक्षमा  रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप