शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशमा काङ्ग्रेसको साख जोगाउने पाँच हस्ती : मुन्नाभाइको करामतदेखि सञ्जयको शक्तिसम्म

बुधबार, ०५ पुस २०७४, १३ : ४४
बुधबार, ०५ पुस २०७४

तेजेन्द्र के.सी.
 

बुटवल– पाँच नम्बर प्रदेशको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धन २ तिहाईभन्दा अगाडि रहेको छ । प्रतिनिधि सभाका कुल २६ सिटमध्ये २० सिट वाम गठबन्धनले आफ्नो पोल्टामा पारेको छ  ।

 यस्तै ५ सिट नेपाली काङ्ग्रेसले फेला पारेको छ भने १ वटा सिट फोरमले जितेको छ  । यस्तै ५० वटा प्रदेश सभाको सिट रहेको प्रदेश नम्बर ५ मा ४० वटा सिट वाम गठबन्धनले जितेको छ ।

देशभर वाम गठबन्धनको बाढी आएको बेला ५ नम्बर प्रदेशमा प्रतिनिधि सभातर्फ ५ जना नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले बाजी मारेका छन् ।
वाम गठबन्धनको बाढीलाई छल्दै नेपाली काङ्ग्रेसको साख जोगाउने नेताहरूले कसरी चुनाव जितेका हुन् ? उनीहरूले चुनाव जित्नुमा पार्टीको आधार बलियो छ कि व्यक्तिगत प्रभाव ।  

नवलपरासीका मुन्ना भाइ अर्थात् देवेन्द्रराज कँडेल
नवलपरासी २ मा लोकतान्त्रिक गठबन्धनबाट देवेन्द्रराज कँडेल र वाम गठबन्धनबाट घनश्याम यादव चुनावी प्रतिस्पर्धामा  थिए । स्थानीय तहको मतको आधारलाई मान्दा यहाँ ३ हजार २ सय ८१ मतले वाम गठबन्धन अगाडि रहेको थियो । तर त्यो पासा कँडेलले पल्टाइदिए ।
मुन्ना भाइका नामले परिचित कँडेल पूर्वगृहराज्य मन्त्रीसमेत हुन् ।

उनले चुनाव जित्नुमा व्यक्तिगत प्रभाव नै धेरै रहेको पत्रकार गोपी ज्ञवालीको बुझाइ छ । मुन्ना भाइको व्यक्तिगत प्रभावसँग वाम उम्मेदवार यादव निकै कमजोर देखिए ।

मुन्नासँग आर्थिक स्रोत र अन्य सबै शक्ति थियो । यादव ६४ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर १ बाट चुनाव जितेर पछि नवलपरासी पुगेर राजनीति गरेका हुन् । तर मुन्नाको नवलपरासीका मतदातसँग पुरानो सम्बन्धले पनि काम गरेको थियो । अर्कोतिर मुन्नाले मतदाताको साना कामदेखि विकासको काम लामो समयदेखि नै गर्र्दै आएकोले मत पाउन सफल भएको दाबी गरे ।

 गत स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले २६ हजार ३ यस ४५ मत पाएको थियो । लोकतान्त्रिक गठबन्धनले २३ हजार ६४ मत पाएको थियो । यहाँ ३ हजार २ सय ८१ मतले वाम गठबन्धन अगाडि रहेको ठाउँमा मुन्ना भाइले झन्डै ११ हजार मत अन्तर पारेर अहिले यादवलाई हराएका छन् । उनले ३४ हजार १ सय ३० मत ल्याएका छन् भने वाम उम्मेदवार घनश्याम यादव अहिरले २३ हजार ८ सय ९८ मत ल्याएका थिए ।  यति ठूलो अन्तरले जितेर लोकतान्त्रिक गठबन्धनको साख जोगाएका छन् ।

नवप्रवेशी यादवले आफ्नो रक्षा गरे  
रूपन्देहीमा राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाको वर्चस्व पन्छाउँदै नेपाली काङ्ग्रेसका प्रमोद यादवले प्रदेश नम्बर ५ मा नेपाली काङ्ग्रेसको पहिलो खाता खोलेको थिए ।

युवा व्यवसायीको पहिचान बनाएका यादवले काङ्ग्रेस प्रवेशसँगै रूपन्देहीमा जित हात पार्न सफल भएका छन् । यसअघि मधेसी दल तथा राप्रपाले चुवान जितेको ठाउँ हो । नवप्रवेशी यादवले नयाँ पार्टीमा पुगेर चुनाव जित्दा पार्टीभित्र पनि र बाहिर दुवैतिर शान बढाएका छन् ।  

निर्वाचनको मनोनयन गर्नुभन्दा करिब एक महिना पहिले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका यादव प्रतिनिधि सभामा विजयी मात्रै भएनन् क्षेत्र नम्बर ४ का दुईवटै प्रदेशमा पनि नेपाली काङ्ग्रेसका उम्मेदार विजयी बनाउन सफल भएका छन् । रूपन्देहीको मर्चबार क्षेत्र विकास दृष्टिकोण निकै पछाडि परेको ठाउँ मानिन्छ ।

उक्त ठाउँमा ठूला पार्टीका सङ्गठन निकै कमजोर छन् । यादवले व्यक्तिगत प्रभाव नै जितको मुख्य आधार हो । स्थानीय रामपति यादव भन्छन्– यहाँ चेतना कम छ, पैसाको चलखेल र धनीले नै चुनाव जित्ने हुन्छ, नीति सिद्धान्त हेरिँदैन ।’

काङ्गे्रसका युवा उम्मेदवारसमेत रहेका यादवलाई उक्त ठाउँ व्यावसायिक सफलतासँगै खानदानले समेत प्रभाव पारेको छ ।

अर्कोतिर उक्त क्षेत्रमा प्रायः मतदाताले एकपटक जिताउने र अर्को हराउने गरेका छन् । सवेन्द्रनाथ शुल्लाको कमजोरीमाथि प्रहार गर्नसक्नु पनि उनको जितको आधार रहेको बुझाइ जानकारहरूको रहेको छ ।

काङ्ग्रेसका प्रमोदकुमार यादवले ३१ हजार ७ सय १८ मत ल्याएका थिए भने शुक्लाले २० हजार ४ सय १६ मत ल्याएका थिए । शुक्ला चिफ साहेवको रूपमा चिनिएका सर्वेन्द्रनाथले विकासमा कम ध्यान दिएको भन्दै चुवानी मुद्दा उठाएका यादवले करिब ११ हजार मत अन्तरले विजयी बन्न सफल भएका हुन् ।
 
 विकासप्रेम नै शाहको जितको आधार
रूपन्देही ५ मा लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका भरत शाह  पुनः विजयी बनेका छन् । २०७० मा विजयी बनेका शाहले अहिले वाम गठबन्धनका उम्मेदवार डिलाराम आचार्यलाई पराजित गर्दै आफ्नो क्षेत्र जोगाएका छन् । स्थानीयबीच विकासप्रेमी छवि बनाएका शाहले स्थानीय तहको मत वाम गठबन्धनको धेरै भए पनि झन्डै १० हजार अन्तर पार्दै आचार्यलाई हराएका हुन् ।

पूर्वअर्थ राज्यमन्त्रीसमेत बनेका शाहले पार्टी सङ्गठन र विकास दुवैलाई एकसाथ अगाडि बढाउने काम गरेका कारण चुवान जित्न सफल भएका हुन् । उनले आफ्नो क्षेत्रबाट एउटा प्रदेश सभा सदस्य पनि जिताउन सफल भएका छन् । ससाना काम गर्न पनि गाउँ पुग्ने र कार्यकर्ताको व्यक्तिगत समस्यासमेत हल गरिदिन पछि नपर्ने शाहको छवि राम्रो भएको मानिन्छ ।
 
कपिलवस्तुमा अभिषेकप्रताप साहको पुख्र्यौली राजनीति कायमः
कपिलवस्तु ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि पूर्वसांसदसमेत रहेका अभिषेकप्रताप साह, एमालेका ईश्वरदयाल मिश्र र समाजवादी फोरमका मङ्गलप्रसाद मिश्र चुनावी मैदानमा थिए ।

चुनावको मुखमा नै फोरम त्यागेर नेपाली काङ्ग्रेस प्रवेश गरेका अभिषेकप्रताप शाहले २० हजार १ मत प्राप्त गरेर विजयी बनेका छन् भने  निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवार मङ्गलप्रसाद गुप्ताले १५ हजार ८ सय २६ मत ल्याएका थिए ।

स्थानीय स्तरमा प्रभाव छोडेका युवा नेता अभिषेकप्रतापले राम्रो मत पाएका हुन् । बुबा २०५६ सालमा सोही क्षेत्रबाट  सांसद बनेका थिए । शाहले  ०६४।०७० दुवै चुनाव जितेका हुन् भने ७४ मा पनि शानदार चुनाव जितेर नेपाली काङ्ग्रेसको साख जोगाएका छन् ।
 
वामदेवलाई पल्टाउने सञ्जयको शक्ति
बर्दिया क्षेत्र नं. १ मा एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री वामदेव गौतमको शक्ति कम होेइन । वाम गठबन्धनका सूत्रधारमध्येका एक गौतमलाई पल्टाउने काङ्ग्र्रेस नेता तथा हालका सिंचाइ मन्त्री सञ्जयकुमार गौतमकोे पनि ठूलो शक्ति रहेको मानिन्छ । उनको व्यक्तिगत कारणले विजयी भएको मानिन्छ ।
सो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत आएको थियो  ।

 यो हिसाबमा २९ हजार १ सय ६३ मतले अगाडि देखिएका वामदेवलाई नेपाली काङ्ग्रेसका सञ्जयकुमार गौतम  पल्टाउँदै आफ्नो शान देखाए । सञ्जय ४४ हजार ८ सय २९ मतसहित विजयी बनेका छन् ।

उनका प्रतिद्वन्द्वी एमालेका वामदेव गौतमले ४४ हजार ७६ मत ल्याउँदै पराजय भोगेका छन् । वामदेवले आफ्नै गुटले हराएको सञ्चार माध्यमलाई  पटक पटक बताएका छन् । कुनै न कुनै रूपमा वामदेवले भनेको सत्य हुनसक्ने अनुमान स्थानीय तहको मत फरकले पनि  देखाउँछ ।
 
राजदूत र सीईओ पद छाडेर चुवान आएकालाई झड्का
५ नम्बर प्रदेशमा नेपाली काङ्ग्रेसबाट जित्नेहरूसँगै हार्नेहरू चर्चामध्ये दुई जनाको धेरै चर्चा छ  । राजदूत र सीईओ पद छाडेर चुनावको मैदान आएर  कपिलवस्तु–१ मा काङ्ग्रेस नेता दीपकुमार उपाध्याय र प्युठान १ बाट पराजित भएका भूकम्प पुनःनिमार्ण आयोजनको सीईओ पद छाडेर आएका डा. गोविन्द पोखरेल यस क्षेत्र चर्चा धेरै छ ।


 
काङ्ग्रेस नेता दीपकुमार उपाध्याय कपिलवस्तु–१ बाट पराजित भएका छन् । माओवादी सेनाका पूर्वडेपुटी कमान्डर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका चक्रपाणि खनाल ‘बलदेव’ले उपाध्यायलाई झण्डै ९ सय मतान्तरले पराजित गरेका हुन् ।

यस्तै भूकम्प प्राधिकरणका सीईओ पद छाडेर प्युठानमा चुनाव लड्न पुगेका डा. गोविन्द पोखरले वामगठबन्धनकी उम्मेदारी दुर्गा पौडेलसँग  पराजित हुन पुगेका छन् । 
राष्ट्रिय जममोर्चा उपाध्यक्षसमेत रहेकी पौडेयल कपिलवस्तु, काठमाडाँै हुँदै अन्ततः गृह जिल्ला प्युठानमा चर्चामा रहेको भूकम्प प्राधिकरणका सीईओ गोविन्द  पोखरेललाई हराउँदै आफ्नो राजनीति हाइट बढाइन् । पराजित पोखरले भने अब के अन्यौलमा छन् ।

उपाध्याय भारतका लागि नेपालको राजदूत छँदाछँदै राजीनामा दिएर चुनाव लड्न फर्केका थिए । केपी ओली प्रधानमन्त्री छँदा फिर्ता बोलाइएका राजदूत उपाध्यायलाई काङ्ग्रेस–माओवादी केन्द्रको सरकारको पालामा पुनः राजदूत बनाएर राजदूत नयाँदिल्ली पठाइएको थियो ।

भलाद्मी नेताको छवि बनाएका उपाध्यायलाई फिर्ता बोलाउने ओली सरकारको निर्णयलाई कूटनीतिक–राजनीतिक वृत्तमा जति असहज रूपमा लिइएको थियो, काङ्ग्रेसको जोडबलमा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः राजदूत बनाएर पठाउने निर्णयलाई झन् असहज रूपमा लिइएको थियो । कपिलवस्तुबाट गाविस अध्यक्ष हुँदै राजनीति गरेको उपाध्यक्ष राजदूत छाडेर चुवान आउँदा नै  पार्टीभित्र र बाहिर सानो स्वरमा आलोचना सुरु भएको थियो । कपिलवस्तुबाट कहिले हार कहिले जितको स्वाद भोगेक उपाध्यायलाई अहिले भोगाइ छ ।

परिणामअनुसार पराजित उपाध्यायले २८ हजार ८ सय ५३ मत पाएका छन् भने वामगठबन्धनबाट विजय हासिल गरेका माओवादी केन्द्रका खनालले २९ हजार ७ सय ९९ मत पाएका छन् । ०७० को निर्वाचनमा उपाध्याय र खनाल दुवै यसै क्षेत्रमा एमालेका बलराम अधिकारीबाट पराजित भएका थिए । उपाध्याय अधिकारीका निकटतम प्रतिद्वन्द्वी थिए भने उपाध्यायलाई खनालले पछ्याएका थिए ।

४ नम्बर प्रदेशमा एक्लो विजेता डा. कोइराला
 प्रदेश नम्बर ५ मा ५ जना विजेता बन्दा नेपाली काग्रेसको ४ नम्बर प्रदेशमा महामन्त्री शशांक कोइराला मात्र विजेत बनेका छन् ।
 हालै विभाजन भएको  नवलपरासीपूर्वको क्षेत्र नम्बर १ का काङ्ग्रेस उम्मेदवार डा. शशांक कोइराला मात्र काङ्ग्रेसबाट जित्ने उम्मेदवार हुन् । प्रदेश नम्बर ४ मा कुल १८ वटा निर्वाचन क्षेत्रमध्ये उनले मात्रै जित्न  सफल भएका हुन् ।

वामगठवन्धनका उम्मेदार भविस्वर पराजुलीलाई पराजति कोइराले तेस्रो पटक यो क्षेत्रबाट विजेता  बनेका हुन् । ४ नम्बर नेपाली काङ्ग्रेस हेभिवेटका नेताहरू पराजित हुँदा डा. कोइरालाई लगातर जित्नुका पछाडि विकास प्रेम नै मानिन्छ । अर्को आफ्नो क्षेत्रमा पार्टीभित्रको सन्तुलन पनि राम्रोसँग मिलाउने नै मानिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप