केन्द्रीय संस्करण

५० वर्षअघिको ठमेल

person access_timeपुस ४, २०७४ chat_bubble_outline0

स्याल कराउँथ्यो ।

‘५० वर्षअघि ठमेल सुनसान थियो,’ पर्यटनविद् कर्ण शाक्यले सम्झे, ‘साँझ पर्दै गएपछि स्याल कराउँथ्यो ।’

घर पातला थिए । यहाँ एउटा घर, पर अर्को हुन्थ्यो । एकबाट अर्को घर पुग्न बीचमा बाँसघारी नै बाँसघारी भेटिन्थ्यो । कसैको घरमा शौचालय थिएन । दायाँबायाँ छलिएर खाली जग्गामा दिसापिसाब गरेको देखिन्थ्यो । मानिस पाँच बजेपछि ठमेलको बाटो आवतजावत गर्दैनथे । साँझ पर्दै गएपछि ट्याक्सीसमेत गुड्दैनथे । तर, धानखेत रहरलाग्दो देखिन्थ्यो । 

‘त्यतिबेला ?,’ पर्यटनविद् शाक्यले भने, ‘घर दुईतलेसम्मका थिए । इँटाको गारो, इँटाकै छानो हुन्थ्यो ।’ ठँहिटीमा भने अलि–अलि घर थिए । ठँहिटीदेखि अहिलेको ठमेल चोकसम्म पुग्दा १०÷१२ घर भेटिन्थे । यो संवत् २०१३÷०१४ सालको कुरा हो । 

‘म जेपी स्कुल पढ्थें । ठँहिटीदेखि ठमेल हुँदै विद्यालय जानुपथ्र्यो,’ उनले अतीत सुनाए, ‘बीचमा बाँसघारी नै बाँसघारी थियो । विद्यालय जाँदा ठमेल भएर गए पनि त्यही बाटो घर फर्कन डर लाग्थ्यो । ठमेल हुँदै विद्यालय गएका हामी पक्नाजोल, क्षेत्रपाटी हुँदै घर फर्कन्थ्यौं ।’ पक्नाजोलमा अलि बाक्लो बस्ती थियो । त्यही भएकाले त्यो बाटो हिँड्न सहज लाग्थ्यो । शाक्यमात्रै नभएर उनका दिदीबहिनीसमेत विद्यालयबाट फर्कंदा ठमेलको छोटो बाटो नभएर पक्नाजोल, क्षेत्रपाटी हुँदै घुमाउरो बाटो हिँड्थे । 

त्यतिबेला अहिलेको काठमान्डू गेस्टहाउसअघि भजनकीर्तन गाइन्थ्यो । ‘०१४/१५ सालतिर ठमेल क्षेत्रमै छुरी प्रहार गरी एक ट्याक्सी ड्राइभरको हत्या गरिएको थियो,’ उनले विगत कोट्याए, ‘अज्ञात समूहले ट्याक्सी ड्राइभर हत्या गर्दा ठमेलमात्रै होइन, मुलुक नै काँपेको थियो । सांस्कृतिक सहानुभूति, धार्मिक सहिष्णुता भएको मुलुकमा त्यतिबेला मानिस मारेको सुन्दा सबै अचम्मित हुन्थे । त्यतिबेला मानिस पिट्दासमेत समाचार बन्थ्यो । 

५० वर्षअघिसम्म ठमेलमा १०/१२ हजार रुपैयाँमा एक रोपनी जग्गा आउँथ्यो । 

यतिबेलाको ठमेल
काठमान्डू गेस्टहाउस खुलेपछि ठमेलमा मानिसको चहलपहल देखिन थाल्यो । गेस्टहाउसपछि दुई÷चारवटा रेष्टुरेन्ट खुले । पर्यटक देखिन थाले । बिस्तारै बाक्लिँदै गए । ‘विश्व पर्यटनको मानचित्रमा ठमेलको छुट्टै पहिचान बनिसकेको छ,’ पर्यटनविद् शाक्य दाबी गर्छन्, ‘ठमेल पुगेपछि बाह्य पर्यटकले आफ्नै समाज भेटेजस्तो अनुभूति गर्न सक्छन् ।’ 

दस वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ठमेल पर्यटकको रोज्जा ठाउँ बन्नुको थुप्रै कारण छन् । दैनिकजसो एक लाख मानिस जमघट हुने ठमेलमा सबैखाले मालसामान किन्न पाइन्छ । त्यतिमात्रै होइन, ठमेलमा चालीस हजार स्वदेशी तथा विदेशी व्यापारीले व्यवसाय गर्दै आएका छन् । उनीहरूले सबै किसिमका व्यवसाय गर्छन् । व्यापार फस्टाएकै छ । 

‘ठमेलमा संसारका सबैप्रकारका खाना खान पाइन्छ,’ शाक्यले थपे, ‘दस वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ठमेलमा होटलैहोटल छन् भन्दा जोकोही आश्चर्यमा पर्छन् । उल्लिखित होटलले नेपाली, भियतनामी, चिनियाँ, भारतीय, युरोपियन, अमेरिकीलगायत संसारका सबैखाले खानाको स्वाद पस्कन्छन् ।’ 

स्वदेशी तथा विदेशी लेखक राम्रा–राम्रा किताब किन्न, खोज्न परे ठमेल पुगिहाल्छन् । नाम चलेका कतिपय लेखक ठमेलकै कुनै होटलमा बसेर किताब लेखेका थिए, लेख्दै आएका छन् । अन्त कतै नपाइने चीज ठमेलमै पाइने शाक्यको भनाइ छ । 

ठमेलको आकर्षण भनेकै यहाँको विविधता हो । दस वर्गकिलोमिटरभित्र चार हजार घर हुनु भनेको त्यत्तिकै अनौठो मानिन्छ । पर्यटन व्यवसायीहरूका अनुसार काठमाडौं आर्लेकामध्ये ७५ प्रतिशत पर्यटक ठमेलमै बस्न रुचाउँछन् । बाँकी २५ प्रतिशतले समेत ठमेल नटेके यात्रा अधुरो हुने सुनाउँछन् । 

मनोरञ्जनका सबैखाले साधन उपलब्ध हुनु र संसारभरिका मानिस ठमेलमा भेटिनु त्यत्तिकै आश्चर्य मानिन्छ । दस वर्गकिलोमिटर क्षेत्रफलमा दस हजार मानिस बसोबास गर्छन् भन्ने सुन्दा जोकोही अचम्मित हुन्छन् । ५० वर्षमै ठमेल यस्तो होला भनेर शाक्यले सोचेका थिएनन् । असनमै जन्मेर हुर्केका उनी ५० वर्षअघि र पछिको ठमेल देख्दा कम्ती खुसी छैनन् । 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X