शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी नेता एमाले पार्टीकै  हुन् ?

मङ्गलबार, ०४ पुस २०७४, १० : ५७
मङ्गलबार, ०४ पुस २०७४

नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीका कतिपय उपल्ला तहका नेताहरू एमाले नीति, सिद्धान्त र सङ्गठन विपरीत सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । केही दिनअघि एमाले नेता प्रदीप नेपालले मिडियामा मनोगत लिखित मौखिक दिएका थिए । यही मङ्सिर ४ गते एमाले नेता राधाकृष्ण मैनालीले सगरमाथा टेलिभिजनमा अन्तर्वार्ताका क्रममा बोलेको सुन्दा मैनाली नेता एमाले हुन् भन्नेमा गम्भीर आशङ्का उत्पन्न हुन गयो । यी विषयमा बेलिबिस्तार गर्नुभन्दा पहिले विगत प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीबाट उम्मेदवारीको टिकट आफूले नपाएकामा  आम सञ्चारका माध्यमबाट रुवाबासी गर्ने एमाले नेताका बारेमा कुरा सुरु गरौँ ।

पार्टी केन्द्रीय सदस्य तथा बुद्धिजीवी इन्चार्ज टङ्क कार्कीले २०७४ कात्तिक २१ गते अन्नपूर्ण दैनिक पत्रिकामा प्रकाशित लेखमा अद्वन्द्ववादी निक्कै रापिलो रोइलो गरेका थिए । एक जुगमा एकपल्ट र एक दिन आएको वाम तालमेल र भावी एकताको महत्वलाई कार्कीले चटक्कै बिर्सिएछन् ।  नेपालको राजनीतिमा स्थिरता र आर्थिक समृद्धिसम्बन्धी सवालको अत्यन्त दूरगामी चेत र चिन्तनसहितको वाम तालमेल र भावी एकताको महत्वभन्दा आफूले टिकट नपाएको विषयलाई कार्कीले शीर्ष स्थानमा राखेर जबजको अन्तर्य नबुझ्नेको नेतृत्वले एमाले पार्टीमा हालीमुहाली गरेको फतुर लगाएका छन् ।

एमाले पार्टीका कैयौँ सकारात्मक र दूरगामी  सिद्धान्त र कार्यक्रम पटक्क नदेखी नेमकिपाको स्तुतिगान  गर्ने कार्की आफैँले जुन बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मा लिएका छन्, त्यसमा उनको राप, ताप र प्रभाव निख्लाम देखियो । संविधान निर्माण र पारित गरी यसलाई लागू गर्ने सवालसित सम्बन्धित भारत प्रायोजित नेपाल नाकाबन्दीजस्तो अत्यन्त अमानवीय गतिविधिको संवेदनशील घडीमा परिषद्का राष्ट्रिय स्तरका गतिविधिहरू शून्य जस्तै थिए ।  कार्की इन्चार्जको परिषद् मुलुकका सङ्गीन सवालका बेला काम छाडेर आफ्नै आङको छारो उडाएर  पार्टीगत निकृष्ट गुटगत कोठे बैठक र क्रियाकलापमा मात्र रमाएको देखिन्थ्यो । अर्का नेता डा. विजय पौडेलले पनि प्रतिनिधि सभाका निर्वाचनमा आफूले टिकट नपाएकामा रुष्ट र क्रूद्ध हुँदै २०७४ कात्तिक २२ गते अन्नपूर्ण दैनिकमा प्रकाशित लेखमा मनोगत भँडास प्रस्तुत गरिएको छ  ।

पौडेलले सभासद्मा टिकट पाउने  सबैलाई अयोग्य र बेइमान भन्न खोजेको देखिन्छ । अझ पौडेलले त मनाङ्गेले पार्टीबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेदवारी दिएको र त्यहाँ एमालेबाट टिकट पाएर उठेकी प्रतिनिधि सभा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्थानीय जातीय, पारिवारिक विशिष्ट परिस्थिति जन्य गतिविधिलाई उछाल्दै पार्टीमाथि गुन्डाहरूलाई नीति निर्माण तहमा पुर्याएको परोक्ष आक्षेप लगाएका थिए । अनि पौडेलेले अहिलेको आर्थिक हिसाबले अत्यन्त महँगो परिपाटीको दोष एामले वा ओलीको नै हो ? पार्टीमा सैद्धान्तिक वैचारिक सघन शिक्षण र प्रशिक्षण गर्ने कुरामा पटक्क ध्यान नदिएर निकृष्ट गुटगत कृत्यमा रमाएपछि कार्यकर्ता परिचालन गर्न पनि अलि बढी खर्च त हुने नै भयो नि होइन र ? यो दलाल पुँजीवादी निर्वाचन पद्धतिको दोष होइन ? प्रतिकूलतालाई अनुकूलतामा बदल्न छाडेर अहिलेको  निर्वाचनबाट एमाले पार्टी  भाग्न मिल्छ ? तर भावी दिनमा वाम तालमेल र एकताको सरकारले यस्तो चुनावी प्रणाली फेर्न कडा कानुनी प्रक्रिया र दण्ड विधान लागू गर्नुपर्छ भन्ने कुरा पनि यो जाबो लेखकले केन्द्रीय, पोलिटब्युरो र स्थायी समिति सदस्यलाई सिकाउनुपर्छ र ? तपाईं आफैँ ०६९ सालमा कर्मचारी फाँट हेर्ने प्रमुख हुँदा राष्ट्रिय वाणिज्य बैङ्कका २७० जना इमानदार, अगुवा तथा स्वाभिमानी अधिकृत तहका कर्मचारी किन असन्तुष्ट भएर पार्टीबाट अलग भए ? यस क्षेत्रको प्रमुख तपाईंले यसमा अहिलेसम्म आत्ममूल्याङ्कन गर्नुभएको छ ? जाबा केही कर्मचारी मित्रहरूको मन जित्न नसकेर के गर्न सकिन्छ र कमरेड ?

  कमरेड ओलीले भनेझैँ सबै नेता र कार्यकर्तामा खासै फरक नहुनसक्छ । सबै नेता र कार्यकर्ता समान हुन् तर पदीय जिम्मेवारी र दायित्वका कारण  मात्र कुनै पनि मानिस ठूलो हुन्छ । यसको मतलब जिम्मेवारी अनुसार बोल्नु, लेख्नु र व्यवहार गर्नुपर्छ नेताले ।  वरिष्ठ र ज्येष्ठ नेता भएर पनि सामान्य कार्यकर्ताझैँ व्यक्तिगत रिस र आवेगमा सदन र सडकमा  सार्वजनिक रोइलो गरेपछि कसरी नेता भइन्छ कमरेड ? अझ पौडेल त पार्टीका इमानदार नेता र कार्यकर्ताहरूले सभासद् नपाउँदा पार्टीमा विद्रोहसमेत गर्न सक्ने हुङ्कारसमेत लेखमा गरे ।

वाम तालमेल र भावी एकता विषयको विशिष्ट बेलामा नितान्त निजी विषय उछालेर सडकमा भक्कान्निएर रुद्र अवतारमा रोइलो गर्न सुहाउँदैन । यस्तै हो भने तमाम इमानदार आम कार्यकर्ता र नेताले राजकीय र राजनीतिक कुनै पनि तहको औसर नपाउँदा पनि देश र दुनियाँका खातिर निस्वार्थ रूपमा  सङ्घर्षरत रहनुभएन । अवसर सीमित हुन्छन् आकाङ्क्षी धेरै हुन्छन् । पटक पटक एउटैले मात्र अवसर पाउनु पर्छ भन्नु कुन न्याय हो ? सामान्य  चेत र चिन्तनका आधारमा महान नेता भइँदैन ।  पुष्पलालले जुन उदात्त चेत चिन्तन तथा दूरदृष्टिका आधारमा संयुक्त जनआन्दोलनको नीतिगत मान्यता अघि सार्नुभयो । त्यही कुरा तपाईं हामीलाई बुझ्न तीस वर्ष लाग्यो । जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्दा आफू एक्लै भए पनि यही विचारमा अडिग रहन्छु भनेका थिए । उस बेला जबजलाई बुझ्ने कति पो थिए र तर धेरै समयपछि मात्र कति उपल्ला तहका नेताले बल्ल बुझे ।  जबजलाई सशर्त स्वीकार गर्ने नेता पनि एमालेमा विद्यमान छन् । यस्तो हुन्छ । अज्ञानीसित झट्ट रिसाइहाल्नु पनि हुन्न ।  एमाले केन्द्रीय सदस्य  ठाकुर गैरैले पनि यसपालि  प्रतिनिधि सभा  सदस्यको टिकट नपाउँदा नेपालका हरेक टीभी अन्तर्वार्ता मार्फत् गम्भीर आक्रोश व्यक्त गरिरहेको देखियो । राधाकृष्ण मैनाली जस्ता आन्दोलनको सैद्धान्तिक र व्यावहारिक अनुभव हासिल गरेका नेताको  कुरा त झन्  टिठलाग्दो देखियो । उनले यस चुनावको औचित्यमाथि प्रश्न बर्साउँदै थिए ।

वम र बारुद पड्काउँदै चुनाव विरोधी उग्रगतिविधि र अग्रगमनकारी शक्तिका बीचमा मैनालीले कुनै फरक देखेनन् । मैनाली चुनावी वाम तालमेल र एकता विरोधी असंयमित विचार व्यक्त गर्दै थिए । राप्रपा र मधेसवादी दल आबद्ध नेताहरूसमेत सूर्य चिन्हबाट निर्वाचनमा उम्मेदवार बनेको विषयलाई पनि मैनाली हाँसोमा उडाउँदै थिए । यस खालका गठबन्धन सत्ता स्वार्थमा मात्र रहेको भनी मैनाली बरु उपहास पो  गर्दै थिए । मैनालीको सरमाथा टिभीको अन्तर्वार्ता पिँधविनाको लोटा सरह थियो ।  मैनालीले त नेपालका सबै पार्टी र नेता खराब सबै खराब भन्नसम्म पनि भ्याए । देशको स्वाधीनताको सुरक्षाका लागि आवश्यक पर्दा तमाम नेपाली एकताबद्ध हुनुपर्छ,  मिल्नुपर्छ भन्ने पनि उनले सोच्न सकेनन् । विगत कालमा भारतीय नाकाबन्दीका बेला ओली सरकारमा सहभागी सबै दल एक ढिक्का भएर देशको अखण्डता पक्षधर शक्तिहरूको तालमेललाई मैनालीले भुसुक्कै बिर्सिदिए । राष्ट्रिय अस्तित्व, अखण्डता र स्वाधीनता अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेको कुरामा बेवास्ता गर्दै मैनाली आफ्ना नितान्त निजी भँडास पोख्तै  थिए । राधाकृष्ण मैनालीका विचारमा कुनै र कत्ति पनि सकारात्मक सोच देखिएन । जसरी पनि बाउँठो र बिब्ल्याँटो कुरा गरेर समय खेर फाल्न उनी उद्यत देखिए । वर्ग पक्षधर पार्टी र सिद्धान्तका अनुयायी र पार्टीका अनुभवी मैनालीमा वर्ग स्खलन तीव्र देखियो । एमालेका आदरणीय र अनुभवी मानिएका वरिष्ठ भनाउँदा नेताका कुरा सुन्दा अचम्म लाग्छ । एउटा अमुक परम्परावादी र पश्चगामी चिन्तन र चरित्रको पार्टीको नेता र कार्यकर्ता पार्टीभित्रका गलतै कुरालाई पनि यसरी सडकमा छताछुल्ल पोख्तैन तर एमाले पार्टीका तमाम सकारात्मक पक्षहरू हुँदाहुँदै पनि शत्रुवत् सार्वजनिक अभिव्यक्ति दिने मैनाली एमाले पार्टीका नेता त  हुन् ? प्रदीप नेपाल नेपालका मात्रै होइन दक्षिण एसियाका महान् आख्यानकार हुन् ।

नेपालको सर्जक, लेखक तथा विचारक भूमिकालाई यो लेखक सश्रद्धा सलाम गर्छ । प्रदीप नेपाल जस्ता पठन संस्कृतिका धरोहर तथा सिर्जनाका प्राणलाई बुझ्ने एमाले नै कति होलान् र ? कम्युनिस्ट आन्दोलनमा उनको अपूर्व त्याग, समर्पण र बहुआयामिक योगदान अविस्मरणीय रहेको छ । उनै प्रदीप नेपालले कमरेड मुकुन्द न्यौपानेसहित भएर नवौँ महाधिवेशनमा के.पी. ओलीलाई पार्टी अध्यक्ष बनाउन निर्वाह गरेको अपूर्व भूमिकाकै कारण मुलुकले कायापलट गर्ने औसर पाएको हो । नवौँ महाधिवेशनमा सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न प्रदीप नेपालहरूले पार्टी अध्यक्ष पदका लागि हत्तेहाल्ने नेता नेपाललाई कटुवचन बोल्नुपरेको पनि पाइयो । त्यति हुँदाहुँदै पनि प्रतिनिधि र प्रदेश निर्वाचनका सम्मुख भएको वाम तालमेल र भावी एकता विषयमा प्रदीप नेपालको अभिव्यक्तिको आलोचना गर्ने पर्ने खालको देखिन्छ ।

ओली र प्रचण्डप्रति आफूले बोलेका कूटनीतिक तथा मर्यादित बोलीलाई सामान्य भाषामा अझै स्पष्ट पार्दै नेपालले दुवै नेतालाई  चोट्टासमेत भन्न भ्याए । केही एमाले नेताहरू देश र जनता र जनजीविका जस्ता सबाललाई शीर्ष स्थानमा राखिरहेको देखिन्न । उहिल्यै तत्कालीन एमाले उपाध्याक्ष अशोक राईलाई केन्द्रीय नेता गुरु बरालका सामु यस लेखकले तपाईहरूले व्यक्तिगत रूपमा  सबैथोक पाइसक्नुभयो । अब तपाईंहरूलाई देशका लागि केही गर्नुपर्छ भन्ने नै छैन भनेका थियो । यो प्रवृत्ति पार्टीमा बलशाली देखिन्छ । तर पार्टी अध्यक्ष के.पी शर्मा ओलीमा रत्तिभर नहुँदा उनका नेतृत्वमा यतिका उपलब्धि हासिल हुन सकेको हो । पार्टीका जे कुरामा पनि अर्घेलो थापेर निकृष्ट निजी शुभ लाभमा मात्र केन्द्रित नेतासित वाम एकताका माध्यमबाट देश र जनताको  सुदूर र सुन्दर भविष्य निर्माण गर्ने महान् उद्देश्य नदेखेर कति खुराफात गर्ने हो, त्यो भने नहेरी नभनौँ तर यस  प्रवृत्तिका एमाले नेताहरूलाई एमाले पार्टीका नेता हुन् भन्न सकिन्छ  र ?

लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् । 

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप