शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एडिबीको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

सोमबार, ०३ पुस २०७४, २२ : २६
सोमबार, ०३ पुस २०७४

धुलिखेल – काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालयको भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । 

एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोग, जिल्ला आयोजना कार्यान्वयन इकाई र जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकको समन्वयमा निर्माण कार्य सम्पन्न भएका विद्यालयका चारवटा भवन आज हस्तान्तरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले उक्त विद्यालयको भवन क्षति भएपछि बालबालिकालाई अध्ययन गर्न समस्या हुँदै आएको थियो । 

एशियाली विकास बैंक ९एडिबी०को आर्थिक सहयोगमा शिक्षा मन्त्रालय, जिल्ला आयोजना कार्यान्वयन इकाई र जिल्ला शिक्षा कार्यालयको समन्वयमा ‘भूकम्प आपत्कालीन सहायता आयोजना’ परियोजनाअन्तर्गत २०७३ साल साउन ३१ गते कार्यक्रम सम्झौता गरी निर्माण गरिएको हो । 

सोही अनुरुप आज भएको विद्यालय हस्तान्तरण कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले २०७२ को महाभूकम्पले सबैभन्दा बढी विद्यालय भवन क्षति पु¥याएको उल्लेख गर्नुहुँदै त्यसको पुनःनिर्माण गर्न दाताहरुले धेरै सहयोग गरेको बताए । 

उनले देश संघीयतामा गइसकेको उल्लेख गर्दै अब विद्यालयको भवन पुनःनिर्माणको कार्य सँगसँगै आधारभूत र माध्यमिक तहका विद्यालय स्थानीय तहलाई नै जिम्मा दिने तयारीमा रहेको बताए । 

कार्यक्रममा एशियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक मक्थोर खामुदखानोभले भूकम्पबाट क्षति पुर्याएको नेपालका विभिन्न जिल्लाका विद्यालय भवन पुनःनिर्माणका लागि काम भइरहेको बताए । त्यसमध्येमा काभ्रेको मण्डन देउपुरस्थित नौविसेमा निर्माण गरेको विद्यालय भवन तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।  

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले जिल्लामा भएका ग्रामीण भेगका धेरैजसो विद्यालय शिक्षक दरबन्दी कम र विद्यार्थी सङ्ख्या बढी रहेको अवस्थामा रहेको बताए । शिक्षक सङ्ख्या नै अपुग भएको अवस्थामा समयानुकूल गुणस्तरीय शिक्षाको कुरा गर्नु अस्वाभाविक भएको उल्लेख गर्दै शिक्षक सङ्ख्या व्यवस्थापनका लागि शिक्षा मन्त्रालयको ध्यान जान आवश्यक रहेको बताए । 

सुविधासम्पन्न विद्यालय भवन 

एडिबीको सहयोगमा निर्माण भएको सो विद्यालयका कक्षा कोठा आधुनिक सुविधा सम्पन्न रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सोभित श्रेष्ठले बताए ।
एडिबीको रु दुई करोड ७२ लाख ७५ हजार १६२ लागत सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो । त्यसरी निर्माण गरेको विद्यालयको चारवटा भवनमा कक्षा सञ्चालन, बाल विकास केन्द्र र संगीत कक्षा, कार्यालय, पुस्तकालय, किचेन र सुरक्षा गार्ड कोठा रहेका छन् । 

यसरी निर्माण गरिएको भवन अपांगमैत्री, भूकम्प प्रतिरोधी किसिमको, फर्निचर, सोलार ब्याकअप सिस्टम र कम्प्युटर ल्याब लगायतको सुविधा सम्पन्न रहेको छ । भूकम्प अतिप्रभावित आठवटा जिल्लामा भइरहेको विद्यालय भवन निर्माण मध्येको सो विद्यालय भवन सम्बन्धित निकायलाई हस्तान्तरण गरेको पहिलो विद्यालय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप