बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आप्रवासी कामदार कमजोर, व्यवसायी मालामाल

सन्दर्भ : आप्रवासी कामदार दिवस
सोमबार, ०३ पुस २०७४, १२ : ३५
सोमबार, ०३ पुस २०७४

 रमेश पण्डित तुफान

आज १८ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस । आप्रवासी कामदारहरू र उनीहरूका आश्रित परिवार तथा शरणार्थीहरूका मुद्दामा मानव अधिकारको बहस आज विश्वमै ‘हट केक’ बनेको छ । विश्व बजारमा मानव ओसारपसारका कानुनी गैरकानुनी व्यापार व्यवसायमामा संलग्नहरू पनि रातारात समृद्धि र प्रसिद्धी कमाउन पुगेका छन् । 

यो दिन रोजगारका लागि विदेसिएका कामदार, शरणार्थी र सुवर्ण अवसरका लागि अस्थायी तथा स्थायी आप्रवासी बनेका करिब २३ करोड ५० लाख मानिसहरूको भाग्य र भविष्यप्रति सरकार (राज्य) अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसस्था एवम् आप्रवाससँग सम्बन्धित सङ्घसंस्थाहरूले आफूलाई कतिको जिम्मेवार छु भनेर आत्मसमीक्षा गर्ने गराउने दिन पनि हो । 
आज नेपाली आप्रवासी कामदारहरू कुन अवस्थामा पुगेका छन् हेरौँ । 

गन्तव्य मुलुकको अवस्था
१. वैदेशिक रोजगारीका लागि कामदार माग्ने देशहरूले त्यहाँका नागरिकहरूले गर्न नचाहेको तल्लो स्तरको काम, नसक्ने, जोखिमयुक्त, कठिन र सस्तो श्रमका लागि मात्र विदेशी कामदार लाने गर्दछन् । परिणामत प्रवासबाट धेरै मात्रामा रोग, मृत्यु र अपाङ्ग भएर फिरेका छन् ।

२. हालसम्म कामदार लाने, पठाउने निकायहरू भनेको नागरिकलाई सामान ओसारपसार, भण्डारण र बिक्रीवितरण भइरहेको छ ।

३. गन्तव्य मुलुकको विभिन्न धार्मिक अतिवादी, उग्र पुँजीवादी, भ्रष्टचारमा लिप्त सत्ताका कारण सामाजिक, प्रशासनिक, औद्योगिक श्रम शोषण र हिंसाको शिकार आप्रवासी कामदारहरू एक नम्बरमा पर्ने गर्छन् । प्रवासमा भाषा, कानुनी, प्रशासनिक पद्धति, प्रकृया आदिको जानकारीको अभावमा उनीहरू अन्यायमा पर्ने र जेल, श्रम शोषण, शारीरिक शोषण, यातनाका शिकार हुने गरेका छन् ।

४. काम तथा जिम्मेवारीको मूल्याङ्कन, स्तोरोन्नोति, पारिश्रमिक तथा दक्षता, पदन्नोति जस्ता औद्योगिक श्रम अभ्यास नगरी सीप अनुभव, उचित पारिश्रमिक एवम् बोनस, उपदान (कामदार हित कोष) लिएर फर्कने वातावरण गन्तव्य मुलुकबाटै लुटिने गर्छ । जसले गर्दा दशौं वर्ष काम गरेका प्राविधिकहरू ती सुविधाबाट मात्र वञ्चित भएका छैनन् पुनः साधारण कामदार नै रहने अवस्था छ ।

पठाउने मुलुकहरूको अवस्था
१. सरकारको नीति, सूूचना प्रवाहमा सञ्चार माध्यमको व्यापक पहुँच र म्यानपावर व्यवसायको व्यापक सञ्जालका कारण वैदेशीक रोजगारीप्रति बढ्दो आकर्षण छ । 

२. बेरोजगारी, आम नागरिकहरूमा सरकारी जागिरमा पहुँच नहुनु र अव्यावहारिक शिक्षा नीति भएकाले पनि वैदेशिक रोजगार शीघ्र कमाइ गर्ने माध्यम बनेको छ ।
३. सरकार स्वयम् दलाल बनेर बहकिएको अवस्था छ । वैदेशी रोजगार व्यवसायी र नीति निर्देशनको कानुनी अभ्यास आग्रह पूर्वाग्रहमा कार्यन्वयन गर्ने गर्दछ । गैरकानुनी कार्य गर्नेहरूमाथि व्यापक नियन्त्रण गर्ने इच्छा शक्ति राख्दैन । अन्य मन्त्रालय र सङ्घ संस्थाप्रति पर्याप्त समन्वय राख्न सक्दैन । अपराधलाई सम्झौतामा टुङ्गयाउँछ । 

४. यस व्यवसायमा जोडिएका म्यानपावर व्यवसायी, बैङ्क, रेमिट्यान्स, हवाई कम्पनी, बिमा, होटल, ट्राभल्स, रातारात धनी भएका छन् ।

५. श्रम तथा कूटनीतिक क्षेत्रका कर्मचारीहरू श्रम शोषण, भ्रष्ट र अपराध धन्दाका दलाल मतियार बन्न पुगेका छन् ।

६. गैरसरकारी सङ्घ संस्थाहरू यस क्षेत्रलाई समाज सेवाका नाममा जीविकोपार्जन र व्यापार व्यवसायमुखी बन्दै गएको छ ।

७. सरकारसँग पुनःस्थापना नीति तथा कार्यक्रम नहुनु र उनीहरूको कमाइ परिवारको आर्थिक सामाजिक विकासमा सदुपयोग नहुनु अर्को समस्या हो । फर्किएकाहरूको सीप, अनुभवलाई पहिचान गर्नु र पेशा व्यवसाय एवम् सामाजिक क्षेत्रमा पुनः स्थापित गर्न नसकेको अवस्था छ । 

८. यस क्षेत्रमा कार्यरत कर्मचारी गैरजिम्मेवार एवम् राज्यको नीति तथा कार्यान्वयन हल्का र सतही देखिन्छ ।

९. पीडित आप्रवासी कामदारहरूको दुर्बलताको फाइदा उठाउँदै भेस्टेड इन्ट्रेस्ट विभिन्न मिसनरी सङ्घसंस्थाहरू समेत छिर्ने गरेको पाइन्छ ।
यस दिवसको सन्दर्भमा नेपालमा पनि केही विदेशी नक्कलका सुधारात्मक प्रयासहरू त भएका छन् तर नेपाली आप्रवासीहरूको आर्थिक, मानसिक, सामाजिक जीवन भने दलदलमा डुब्दै गइरहेको छ । यसका प्रभाव र असर ठूलो सङ्कट बनेर हाम्रा अगाडि आइरहेको छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप