बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने मागसहित धर्ना

आइतबार, ०२ पुस २०७४, १८ : १५
आइतबार, ०२ पुस २०७४

धनकुटा– प्रदेश नं १ को राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटावासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन् । यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए । 

धनकुटाको मदनचोकबाट अघि बढेका जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो । सुरक्षा,भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले यसमा सरकारलाई दबाब दिन कार्यालयमा धर्ना दिएको बताए । 

धनकुटालाई प्रदेश नं १ को केन्द्र बनाउन गएको ३ दिनदेखि आन्दोलनको अगुवाइ गरिरहेका धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले यहाँ प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र पर्याप्त सरकारी जमिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै आएको छ । 

जिल्लावासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिका लागि राजधानी बनाउन आवश्यक रहेको उल्लेख छ । धनकुटामा ३ सय ९१ वटा सरकारी भवन र शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा रहेको छ ।

यस अतिरिक्त विद्युत् प्राधिकरण र धनकुटा नगरपालिकाका स्वामित्वमा पनि थुप्रै जग्गा रहेको छ । ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहालले जिल्लावासीको मागलाई प्रधानमन्त्रीको कार्यालय समक्ष पुर्याइदिने वचन दिएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप