शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकारको एक प्रश्नमा ओली–प्रचण्डको ‘आधा–आधा’ जवाफ !

आइतबार, ०२ पुस २०७४, १७ : ०४
आइतबार, ०२ पुस २०७४

काठमाडौं–  वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले अब पार्टी एकीकरणमा लाग्ने बताएका छन् । तर, एकीकृत पार्टीको अध्यक्षसहित शक्तिको बाँडफाँड कसरी हुने  भन्नेमा चाहिँ अन्यौल कायमै रहेको छ । 

आइतबार राजधानीको  दरबारमार्गमा आयोजित    वाम गठबन्धनको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  पार्टी एक हुने बताएपनि नेतृत्व कसले लिने भन्नेमा  स्पष्ट जवाफ दिएनन् । 

पत्रकार सम्मेलनमा एकीकृत पार्टीको अध्यक्षबारे सोधिएको प्रश्नमा प्रचण्ड र ओलीले स्पष्ट जवाफ नदिएका हुन् । 

सुरुमा बोल्दै एमाले अध्यक्ष ओलीले अहिले आफूहरु निर्वाचननको सन्दर्भमा रहेको भन्दै निकट भविष्यमा पार्टी एकता हुने बताए । 
उनले अध्यक्ष ठूलो कुरा नभएको बताउँदै नेतृत्व भन्दा पनि आफूहरुको ध्यान देशले भोगेको समस्या र  त्यसको समाधानतिर केन्द्रीत रहेको बताए । 

 ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ’,  ओलीले भने, ‘हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ । जनताको इच्छा आकांक्षा पूरा गर्नेतिर छौं ।’

 अध्यक्ष ठूलो कुरा नभएको दाबी गर्दै ओलीले सञ्चारकर्मीलाई भने, ‘नेतृत्वको विषयमा  छलफल गरेर निर्णय गरेका बखतमा  तपाईहरुलाई जानकारी दिन्छौं । समयभन्दा अगाडि एकताको सन्र्दभमा केही भनेका छैनौँ ।’

 त्यसलगत्तै  बोलेका  प्रचण्डले ओलीको भनाईमा आफ्नो समर्थन  रहेको बताए । ‘केपीजीले सवै कुरा बताउनु भएको छ । ती सवै कुरामा मेरो सहमति छ, दोहोर्याउन परेन ।’

उनले अध्यक्षको मात्रै नभई प्रधानमन्त्री को बन्ने भन्नेमा समेत प्रश्न आएको भन्दै  आफूहरुलाई पदको लोभ नभएको बताए । 

प्रचण्डले भने, ‘ प्रश्न सोद्धा प्रधानमन्त्रीको कुरा पनि थियो । प्रधानमन्त्री त हामी भै नै सकेका छौँ । म त्यो कुरा दोहोराउन चाहन्छु । हामीलाई त्यसको लोभ छैन । फेरि हामी सजिलै प्रधानमन्त्री छाडेका मानिस पनि हौँ । हाम्रो चिन्ता र चासो राजनीति स्थायीत्व, सुशासन र विकाम निर्माण र मृद्धि हो । त्यो कसरी गर्ने भन्ने हो ।’

एकीकृत पार्टीको अध्यक्षसहित भागबण्डाको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला पत्रकारले अाेली र प्रचण्डसँग जवाफ मागेका थिए ।  तर, अाफ्नाे जवाफमा उत्तर खुलाएनन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप