शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थ्रेस होल्डले तितरबितर साना दल : कोही ठूला दलभित्र, कोही सडकमा !

शनिबार, ०१ पुस २०७४, ११ : ०१
शनिबार, ०१ पुस २०७४

काठमाडौं– २०७० को दोस्रो संविधान सभा निर्वाचनबाट संसद आएका ३० राजनीतिक दलहरु मध्ये धेरैजसो हराएका छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनसम्म आउँदा अव संसदमा ५ दल सहित स्वतन्त्र सांसदले मात्र प्रतिनिधित्व गर्ने भएका छन् ।

निर्वाचनपछि संसदमा जाने हैसियत बनाएका दलहरु बाहेक अन्य अधिकांश साना दलहरु ठूला दलमा एकिकरण तथा विलय भएका छन् । निर्वाचनमा राखिएको थ्रेस होल्ड प्रावधान पछि बढारिएका साना केही साना दलहरु अहिले के गर्दैछन् त ? 

संसदमा एक सिट भएको नेकपा संयुक्त माओवादी केन्द्रमा प्रवेश गरेको छ । गएको असोज २५ गते काठमाडौैंमा एक कार्यक्रम गरी नेकपा संयुक्तका अध्यक्ष गणेश साहसहित सो दल माओवादीमा बिलय भएको थियो ।  

२०७० को निर्वाचनमा समानुपातिक प्रणालीबाट २ सिट ल्याएर संसदमा प्रतिनिधित्व गर्ने  एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल एमालेको छातामुनी गएको छ । एमालेले समानुपातिक सूचिको अग्रभागमा सो पूर्व मन्त्री समेत रहेका ढकालको नाम राखेको छ ।

परिवार दलबाट अघिल्लो पटक सांसद बनेकी मिलन कुमारी राजबंशी झापा १ मा बाम गठबन्धनका उम्मेदवार राम कार्कीलाई जिताउन खटिएकी थिइन् । पार्टीको अगामी यात्राबारे छलफल नभएपनि सक्रियपूर्वक नयाँ तरिकाबाट राजनीतिमा लाग्ने राजबंशीले बताईन् ।

२०७० को निर्वाचनबाट संसदमा प्रवेश पाएका शिबलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र विश्वेन्द्र पासवान नेतृत्वबाट फुटेर बनेको यशोदा कुमारी लामाले छुट्टै गठन गरेको दलित जनजाती पार्टी २०७३ चैत १३ गते विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग एकीकरण भएको थियो । एकीकरण पछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको थियो ।

गच्छदार कांग्रेस प्रवेश गरेपछि सह अध्यक्ष रहेका शिवलाल थापा र भानुराम थारुले आलोपालो पार्टीको अध्यक्षता गरेको शिवलाल थापाले रातोपाटीलाई बताए । उनले पार्टीका अन्य सदस्यहरुलाई जानकारी नै नदिई गच्छदारले पार्टीलाई कांग्रेसमा बिलय गराएको आरोप लगाए ।

पार्टीमा रहेका ३ सय ३५ केन्द्रीय सदस्य मध्ये १ सय ९७ जना नेपाल लोकतान्त्रिक फोरमसँगै रहेकाले अब संगठन बिस्तार गरेर अघि बढ्ने थापाले जानकारी दिए ।

यता बिश्वेन्द्र पासवानसँग फुटेर गच्छदार नेतृत्वको पार्टीमा सहमाहित भएकी यशोधा कुमारी लामा अहिले भूमिसुधार राज्यमन्त्री छिन् । गच्छदार कांग्रेस प्रवेश गरेपछि कांग्रेसमा पुगेकी लामालाई कांग्रेसले कुनै जिम्मेवारी दिएको छैन् ।

रातोपाटीसँगको कुराकानीमा उनले आफू कांग्रेसमा गएपनि तटस्थ रहेको बताईन् । यसपटकको चुनावमा समेत आफू नखटिएको उनले बताइन् । उनले भनिन्–‘कांग्रेसलाई नैतिक समर्थन त गरियो । तर, भुमिका केही छैन्, आगामी दिनमा के गर्ने निर्णय गर्न बाँकी छ, अहिलेलाई न्यूर्टल नै छु ।’

यता अघिल्लो संसदमा १ सिट पाएका समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह भने माओवादीमा गएका छन् । गत असोजमा सिंहको पार्टी र लोकमणी ढकालको जनजागरण पार्टी बाम एकताको स्वागत गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।  

यता मधेस समाता पार्टी एमालेमा विलय भएको छ भने थरुहट नेता गोपाल दहित कांग्रेसमा पुगेका छन् ।

मधेसकेन्द्रीत ६ दल मिलेर राष्ट्रिय जनता पार्टी नेपाल बनेपछि मधेशमा क्रियाशिल पार्टीको संख्या पनि घटेको छ ।  

मधेशमा क्रियाशील दल एक ठाँउमा आइरहेका बेला नेपाल जनता दल भने कुनै पार्टीसँग एकीकरण नगर्ने बिचारमा छ । सो दलका अध्यक्ष हरिचरण साहले अब पार्टीले जनता जागरण अभियान चलाउने बताए ।

रातोपाटीसँग कुरा गर्दै उनले नयाँ योजनाका साथ पार्टीलाई अगाडि बढाउने उनले बताए । ठूला दलले साना दलको बिचारलाई बञ्चित गरेको बताँउदै साहले ठूला दल धनीमानीको जमात भएको बताँउदै साना दललाई निषेध गरेको बताए ।

उनले रौतहट क्षेत्र नं. १ मा आफुले ३ करोडको विकास गरेपनि ठूला पार्टीले माछामासु बितरण गरेर आफ्नो भोट खरिद गरेको दावी गरे । उनले भने–‘कांग्रेसले दुई दुई केजी माछा बाँड्यो, माओवादीले तीन केजी, राजपाले पाँच पाँच किलो माछा बाँड्यो, धनीहरुको पार्टीले भोट किनेर हामीलाई हरायो ।’ उनले ठुला पार्टीहरुको धरासायी निश्चित भएकोले कुनै दुःख नमानी अर्को निर्वाचनका लागि पार्टी बलियो बनाँउने अभियान थाल्ने साहले बताए ।

यता २०७० को चुनावमा समानुपातिकबाट ५ सिट ल्याएर संसदमा प्रतिनिधित्व गरेको नेकपा माले पनि थ्रेसहोल्डको मारमा प¥यो । चुनावअघि बाम गठबन्धनमा सामेल भएर अगाडि बढ्ने सोच बनाएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण संभव नभएको माले महासचिव सीपी मैनालीले रातोपाटीलाई बताए ।

उनले आफ्नै  चुनाव चिन्ह लिएर झापा २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि एक सिट माग्दा पनि नदिएपछि बाम गठबन्धनमा सामेल हुन नसेकेको बताए । एमाले अध्यक्ष ओलीले सुर्य चिन्हमा चुनाव लड्ने भएमात्र तालमेल हुने बताएपछि माले आफ्नै तरिकाबाट चुनावमा गएको थियो । तर, आवश्यक मत नआएपछि  माले पनि संसदबाहिरको दल बन्न पुगेको छ ।

तत्काल कुनै पार्टीसँग एकीकरण गर्ने सोच नबनाएको मालेले पुसको दोश्रो सातातिर केन्द्रीय कमिटीको बैठक डाकेर समिक्षा गर्ने योजना बनाएको छ ।

२०७० को निर्वाचनबाट समानुपातिकबाट १ सिट ल्याएको संघीय समाजवादी पार्टी नेपाल २०७२ जेठमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकीकरण भएको थियो । खस समाजवादी पार्टी सहित उक्त पार्टीको एकीकरण भएको निर्वतमान सांसद डिल बहादुर नेपालीले बताए ।

यस्तै थरुहट पार्टी फुटाएर अध्यक्ष बनेकी गंगा चौधरी सत्गौवा नयाँ शक्ति हँदै एमालेमा पुगेकी छिन् । नयाँ शक्तिले समेत समानुपातिक सूचिमा राखेको उनलाई एमालेले पनि समानुपातिक तर्फ पहिलो स्थानमा राखेको छ । नयाँ शक्तिको सूचिबाट पछि उनले आफ्नो नाम हटाउन आयोगमा निवेदन समेत दिएकी थिइन् ।

यस्तै राजपाबाट बिद्रोह गरेका नेता हृदयेस त्रिपाठी पनि एमालेको छातामुनी आइपुगेका छन् । उनले नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं. १ बाट चुनाव समेत जितिसकेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणनाको अन्त्यपछि पनि साना दलहरु बिच ध्रुविकरण हुने संभावनाहरु त्यत्तिकै जिवित छन् ।

अखण्ड पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय थरहट पार्टी, नेपाल जनता दल जस्ता अन्य केही साना दलहरुबिच बिचार मिल्ने एक अर्कासँग एकता हुन सक्ने संभावहरु रहेको साना दलका नेताहरु बताँउछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप