शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा ४२ उम्मेदवारको जमानत जफत

शनिबार, ०१ पुस २०७४, ०८ : ४४
शनिबार, ०१ पुस २०७४

तनहुँ - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका ४२ जनाको जमानत  जफत भएको छ । 

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारी दिएका तनहुँका ५४ जनामध्ये ४२ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा उनीहरुको जमानत जफत भएको हो ।

तनहुँ प्रतिनिधिसभा १ बाट उम्मेदवार बनेका मध्ये ९ जनाको जमानत जफत भएको छ । 

तनहुँ प्रतिनिधिसभा १ मा ६७ हजार ८ सय ३ मत खसेको थियो । जसमध्ये नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ ३४ हजार ४ सय ९२ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका रामचन्द्र पौडेलले २७ हजार ६ सय ९० मत प्राप्त गरेका थिए । 

त्यस्तै प्रतिनिधि सभा १ प्रदेश सभा १ मा ७ जनाको जमानत जफत भएको छ । 

प्रदेश सभा २ मा ५ जनाको जमानत जफत भएको छ । प्रतिनिधि सभा २ मा ८ जनाको जमानत जफत भएको छ । ६८ हजार ४ सय ५८ मत खसेको यो क्षेत्रमा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मत प्राप्त गरी विजयी भएका थिए भने कांग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए । 

अन्य सबै उम्मेदवारले १० प्रतिशत मत कटाउन सकेनन् । प्रदेश सभा १ तर्फ ८ जनाको जमानत जफत भएको छ भने प्रदेश सभा २ तर्फ ५ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमध्ये २ स्वतन्त्र उम्मेदवार हुन् । 

नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा (राष्ट्रवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (मार्क्सवादी), मंगोल नेसनल अर्गनाइजेसन लगायत पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप