बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमाञ्चल पर्यटन मेला शुरु

शुक्रबार, २९ मङ्सिर २०७४, १९ : २८
शुक्रबार, २९ मङ्सिर २०७४

कैलाली – ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नारासहित सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेला आजदेखि यहाँ शुरु भएको छ । 

कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीस्थित संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा आयोजना गरिएको महोत्सवको उद्घाटन कैलाली निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित सांसद नारदमुनि रानाले गरे । 


उद्घाटनका क्रममा सांसद रानाले अब ७ नं प्रदेशको समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताए । नेता रानाले आफ्नो पाँचवर्षे कार्यकालमा यस क्षेत्रको विकासका लागि आफू कटिबद्ध भई लाग्ने प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकरबहादुर बोगटीले ७ नं प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित उक्त महोत्सवको आयोजना गरिएको हो । 

पहिलो पटक विसं २०६३ मा सुदूपश्चिमको विकासका सवाल समेटेर प्रमुख २१ बुँदे मागसहित महोत्सवका प्रमुख अतिथिलाई २१ किलो फूलको मालासहित सालीन आन्दोलनको शुरुआत गरिएको थियो । 

सुदूरपश्चिमका विकासका मुद्दालाई सम्बन्धित निकाय तथा सरकारमा पुर्याएर ध्यानाकर्षण गर्नका लागि उक्त परिपाटीको शुरुआत गरिएको थियो । 

सुदूरपश्चिम महोत्सव १२औँ संस्करणसम्म आइपुग्दा २१ बुँदे मागमध्ये गेटा विमानस्थल धावनमार्ग कालोपत्र, अप्टिकल फाइबर विस्तार, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना, छैटौँ राष्ट्रिय खेलकुद आयोजना र रंगशाला निर्माण, सघन उपचार कक्षको स्थापनालगायतका छ वटा माग पूरा भइसकेको छ भने यस वर्ष भने १६ किलोको फूलको माला लगाएर उद्घाटन सत्रका प्रमुख अतिथिसमक्ष १६ बुँदे माग पत्र हस्तान्तरण गरिएको छ । 

स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति खानपान, रमाइलो मेला, बालउद्यान, कृषिउपज प्रदर्शनी मुख्य आकर्षण रहेको महोत्सवमा १७० व्यापारिक कक्ष, कृषि, होटल रेस्टुराँसहित २५० कक्ष रहेका छन् । 

यस वर्षको महोत्सव सञ्चालनमा करिब रु ८० लाख खर्च हुने तथा महोत्सव अवधिभर करिब रु १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा करिव पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप