बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुडान काण्डका दोषी राणा जेल चलान

बुधबार, १४ असार २०७४, १४ : १५
बुधबार, १४ असार २०७४

काठमाडौँ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । 

सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ । 

राणाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ । 

राणालाई कसुरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जनही छ महिना कैद र रु ३० हजार जरिवाना ठहर गरेको सर्वोच्च अदालतले फैसला सुनाएको थियो । 

त्यसैगरी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा यही असार ११ गते सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान हुनुभएको थियो । उहाँलाई एक वर्ष कैद र रु ४० हजार जेल सजाय ठहर भएको थियो । 

सोही प्रकरणका आरोपित पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो । चारैजनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप