बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियामा खाद्यान्नको खाँचो भएको राष्ट्रसंघको ठहर

शुक्रबार, २९ मङ्सिर २०७४, १६ : २९
शुक्रबार, २९ मङ्सिर २०७४

एजेन्सी – सोमालियाली नागरिकलाई यहाँको आन्तरिक द्वन्द्व र खडेरीका कारण खाद्यान्नको खाँचो पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । 

आन्तरिक द्वन्द्व, खडेरी लगायतका कारण नागरिकको आधारभूत आवश्यकताको उपलब्धतामा समस्या उत्पन्न भएको सो प्रतिवेदनमा देखाइएको छ । 
जसका कारण सोमालियाको ठूलो जनसङ्ख्याले मानवीय सहयोगका लागि विश्व समुदायको भर पर्नुपर्ने अवस्था रहेको पाइएको छ । 

सोमालियाको मानवीय आवश्यकता समिक्षा समूहले केही समय पहिले जारी गरेको प्रतिवेदनमा अर्को बर्ष मुलुकको झण्डै आधा जनसङ्ख्या अर्थात् ६२ लाख जनतालाई आधारभूत मानवीय सहयोगको खाँचो हुने जनाइएको थियो । 

संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि संयोजक पिटर डे क्लर्कले सोमालियामा खासगरी यहाँको आन्तरिक द्वन्द्व र खडेरी नै मानवीय सहायताका लागि मुख्य कारक मानिएको जानकारी दिएका छन् । 

सोमालियामा गएको चार बर्षसम्म आवश्यक मात्रामा वर्षा भएको छैन । कम बर्षाका कारण यहाँको द्वन्द्वबाट विस्थापित भएर बसेका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ । 

यसरी विस्थापित जनतामध्ये करिब एक तिहाईलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको राष्ट्रसङ्घको भनाई रहेको छ । यो आवश्यकता आगामी वर्ष झनै बढ्दै जाने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप