शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिक कोटा : काङ्ग्रेसका धेरै पुरुष उम्मेदवारलाई सांसद बन्ने मौका

शुक्रबार, २९ मङ्सिर २०७४, १५ : ०८
शुक्रबार, २९ मङ्सिर २०७४

काठमाडौं–प्रतिनीधिसभामा एमाले र माओवादीको तुलनामा समानुपातिकतर्फ काँग्रेसका पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन् । प्रत्यक्षतर्फको तुलनामा काङ्ग्रेसल झन्डै दोब्वर सांसद समानुपातिक तर्फबाट पाउनेछ, जसको लाभ काङ्ग्रेसका पुरुष उम्मेदवारलाई हुनेछ ।

संविधानमै प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत महिलाका लागि ३३ प्रतिशत सिट सुरक्षित गरेको छ । यसले दलहरुलाई त्यो संख्या व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । प्रमुख दलहरु एमाले, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेको सिट संख्याको आधारमा ३३ प्रतिशत महिला अनिवार्य गर्दा अब उनिहरुले त्यसको पुर्ति समानुपातिकबाट गर्नुपर्ने हुन्छ ।

यसो गर्दा समानुपातिकमा उनीहरुले पाएको मतबाट महिलालाई पहिलो प्राथमिकता पनि दिनुपर्ने हुन्छ । यसरी हेर्दा एमाले माओवादीको तुलनामा काङ्ग्रेसबाट समानुपातिकमा रहेका धेरै पुरुष उम्मेदवारले सांसद बन्न बढी मौका पाउने भएका छन् ।      

काङ्ग्रेसका धेरै पुरुष उम्मेदवारलाई मौका
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेपाली काङ्ग्रेसले २३ सिट मात्र जितेको छ । अहिले उसले पाएको समानुपातिकको मत हेर्दा काङ्ग्रेसबाट पनि झण्डै ४० जना सांसद समानुपातिकबाट छानिनेछन् । यसलाई जोड्दा उसका सांसद ६३ जना हुनेछन् ।

यसको ३३ प्रतिशत भनेको २१ हुन आउँछ । काङ्ग्रेसबाट प्रतिनिधि सभा सदस्यमा एकजना महिला पनि निर्वाचित भएका छैनन । तर, पनि काङ्ग्रेसले समानुपातिकमा पाउने ४० मध्ये २१ महिला पठाएर बाँकी रहेका १९ सिटमा पुरुषले मौका पाउने भएका छन् ।

एमालेबाट समानुपातिकमा थोरै पुरुषले मौका पाउने
सार्वजनिक मत परिणाम अनुसार एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेको छ अव उसले समानुपातिकतर्फ पाएको मतका आधारमा ४० सिट पाएको खण्डमा उसको प्रतिनिधिसभामा सांसद संख्या १२० पुग्छ ।

त्यसको ३३ प्रतिशत भनेको ३९ जना हुन्छ । एमालेबाट २ महिलाले प्रत्यक्षमा चुनाव जितेका छन् । अव उसले समानुपातिकबाट ३८ महिला पठाउनुपर्ने हुन्छ । त्यसो गर्दा  बाँकी रहेका दुई सिटमा मात्रै एमालेले समानुपातिकतर्फ आएको मतमा पुरुष उम्मेदवारलाई सांसद बनाउन सक्नेछ ।

माओवादीका ४ पुरुषले पाउने
प्रत्यक्षतर्फ प्रतिनिधि सभासदस्यमा माओवादीले ३६ सिट जितेको छ । यसमा ३ जना महिला निर्वाचित भैसकेका छन् । उसले समानुपातिक तर्फको जम्मा मतसंख्याबाट अरु महिला लगेर ३३ प्रतिशत पुर्याउनुपर्ने हुन्छ ।

जुन अहिलेको मत परिणाम अनुसार माओवादीले समानुपातिकमा १८ सांसद पाए उसको जम्मा सांसद संख्या ५१ हुन आउँछ । त्यसको ३३ प्रतिशत भनेको १७ महिला हुन्छ । यसमध्ये ३ जना निर्वाचित भैसकेपछि बाँकी १४ जना समानुपातिकबाट पदपुर्ति गर्नुपर्ने हुन्छ । यसरी हेर्दा उसको मतको आधारमा १८ मध्ये ४ जना पुरुषले समानुपातिकमा स्थान पाउनेछन् । 

यसरी हेर्दा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकोले दलहरुले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्ने देखिन्छ । दलहरुले प्रत्यक्षमा उम्मेदवार बनाउँदा नै थोरै महिलालाई उम्मेदवार बनाएका थिए । त्यसमध्ये पनि विजयी महिला सांसदहरुको संख्या न्यून छ ।

प्रत्यक्षबाट निर्वाचित १६५ र समानुपातिकाबाट ११० गरी प्रतिनिधिसभामा २७५ सदस्य हुनेछन् । त्यस्तै गरी राष्ट्रिय सभा ५९ सदस्यीय हुनेछ । राष्ट्रिय सभाका लागि ७ वटा प्रदेशबाट ८–८ जनाको दरले चयन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिद्वारा ३ सदस्य मनोनित गर्ने व्यवस्था छ । संविधानअनुसार अब बन्ने संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटको ३३ प्रतिशत अर्थात ११० सदस्य महिला हुनु अनिवार्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप