शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिपी मैनालीको आरोप : गठबन्धनमा आउन खोज्दा ओलीले निषेध गरे

बिहीबार, २८ मङ्सिर २०७४, १९ : ०८
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौँ । दुई चरणमा भएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम आउने क्रमसँगै राजनीतिक दलको आकार पनि स्पष्ट रुपमा देखिन थालेको छ । २०७० मा भएको दोश्रो संविधान सभाको निर्वाचनबाट संसदमा सहभागी ३० दल खुम्चिएर नौ दलमा सिमित हुने अवस्था आएको छ । 
अघिल्लो निर्वाचनमा समानुपातिक प्रणालीबाट ६ जना सदस्यसहित संसदमा प्रतिनिधित्व गर्ने नेकपा माले अहिले संकटमा परेको छ । प्रत्यक्ष निर्वाचनमा एक सिट पनि जित्न नसकेको मालेले समानुपातिक तर्फ पनि राम्रो मत ल्याउन सकेको छैन । चुनाव अघि बाम गठबन्धनको घोषणासँगै चुनावी गठबन्धन बनाएर जान खोजेपनि एमाले नेतृत्वले स्वीकार गर्न नसक्दा माले अहिले ‘ओल्लो घाट न पल्लो तिर’ भएको छ । अन्य साना दलले जस्तै थ्रेस होल्डको मार मालेले पनि बेहोरेको छ । 

‘चुनावी अवस्था प्रतिकुल भयो, अब तपाईहरु के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा माले माहासचिव सिपी मैनालीले भने–‘हाम्रो सिंगो पार्टी छ, केन्द्रमा कार्यालय छ, हामीले केही मत नपाएको न हो, यसले हाम्रो राजनीतिलाई बाधा पुग्दैन । संख्याले राजनीतिलाई सिध्याउन्न, २०२६ सालतिर पनि हामी औँलामा गन्न सकिने अवस्थामा थियौँ, अहिलेको परिघटना बुझ्न नसक्नु हाम्रा पनि दोष होलान्, हाम्रो अगामी बैठकले यसबारेमा समिक्षा गर्छ ।’ 

केपीले निषेध गर्न खोजे : झापा २ मा एक सिट माग्दा पनि दिएनन् 
 

असोज १७ गते बाम गठबन्धनको घोषणा भएको दिन उत्साहित भएका सिपी मैनाली असोज १८ गते बिहान केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका थिए । बाम गठबन्धनमा सहकार्य गर्न आफू पनि इच्छुक रहेको र चुनावी तालमेल गरेर जाने आफ्नो दलको पनि इच्छा रहेको उनले ओलीलाई सुनाए । छलफलका क्रममा प्रतिनिधी सभामा ५ र प्रदेश सभामा प्रदेशको आकार हेरी ठूलामा ५ र सानामा ३ सिटमा तालमेल गर्न चाहेको मैनालीले प्रस्ताव गरेका थिए । तर ओलीले तालमेलको प्रस्ताव अस्वीकार गर्दै पार्टी विगठन गरेर एमालेमा आउन प्रस्ताव गरे तर मैनालीले स्वीकार गरेनन् । माले अध्यक्ष मैनालीले रातोपाटीसँग भने–‘पार्टी भनेको देउसी भैलो पार्टी जस्तो होइन, पार्टीका आफ्नै सिद्धान्त हुन्छन्, मुल्यमान्यता, नीति हुन्छन्, कसैले बिगठन गरेर आउनुस भन्दैमा जाने कुरा हुँदैन ।’

एमाले अध्यक्ष ओलीले केही दिन पछि फेरी छलफल गरौँ, अरु दलहरुले पनि सहकार्य गर्ने इच्छा राखेका छन् भनेपछि त्यस बिहान मैनाली फर्किए । चुनावी तालमेलमा एमाले र माओवादीबीच ६०–४० को भागबन्डा गर्ने सहमती भएको र सबैलाई समेटेर जाने भनेपछि यो राम्रो कुरा हो भन्दै आफूले स्वागत गरेको मैनालीले स्मरण गरे । 

बाम तालमेलको घोषणाको ४ दिनपछि फेरि एमाले अध्यक्ष ओलीसँग छलफलका लागि भेटेको माले अध्यक्ष मैनालीले बताए । सो भेटमा पनि अरु साना बाम दलपनि सूर्य चिन्हमा चुनाव लड्न सहमत होलान्, तालमेल मिलाउने हो भने तपाईंहरु पनि सूर्य चिन्हमा चुनाव लड्न आउनुहोस् भनेर ओलीले प्रस्ताव गरे । मैनालीले एमाले र मालेका बीचमा सैद्धान्तिक र राजनीतिक बिचार फरक रहेको बताँउदै पार्टी एकताको टुङ्गो नलागी सूर्य चिन्हमा चुनाव लड्न नसक्ने बताए । मिल्नेसम्म गरी हँसिया तारा चुनाव चिन्हमा सहमतिका लागि आग्रह गरे पनि ओलीले नमानेको मैनालीले गुनासो गरे । 

फेरि अर्को भेटमा प्रचण्ड, केपी ओलीसँग संयुक्त रुपमा पनि तालमेलका लागि मैनालीले कुरा राखे । त्यतिबेला एमाले नेताहरु ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि सँगै थिए । त्यसबेला पनि ओलीले सूर्य चिन्हमा चुनाव लड्ने हो भने तालमेल हुन्छ नत्र हुँदैन भनेर मैनालीलाई पठाए । 

३ चरणमा कुरा गर्दा पनि ओलीले नमानेको र मालेको सिद्धान्तलाई समान्त गर्न चाहेको आफूले बुझेको उनले बताए । मैनालीले भने–‘त्यसपछि हामीले आफ्नै तरिकाबाट चुनावमा जाने निर्णय ग¥र्यौँ । बाम गठबन्धन साँच्चै देशका लागि हो की भन्ने आश गरेको थिएँ तर त्यस्तो पाइँन’ । 

राप्रपासँग गाई, जनमोर्चासँग गिलासमा तालमेल, किन हँसिया तारा बिभेद ?
 

२०५४ सालअघि एउटै पार्टीका सहयोद्धा रहेका माले महासचिव मैनाली र एमाले अध्यक्ष केपी ओली पार्टी फुट पछि फरक बाटो लागेका थिए । महाकाली सन्धीको बिरोध गर्दै पार्टी फुटपछि बामदेव गौतम, सिपी मैनालीले माले गठन गरेका थिए तर २०५८ मा बामदेवसहित धेरै नेता कार्यकर्ता एमालेमै फर्किए । मैनाली भने मालेको संयोजक भएर बसे । २०६४ सालको संविधान सभाको निर्वाचनमा मालेले समानुपातिकबाट ८ सिट जितेको थियो भने २०७० को चुनावबाट ५ सिट जितेको थियो । निर्वाचन प्रणालीमा थ्रेस होल्डको ब्यवस्था पछि मालेले आफ्नो राजनीतिक बचाउका लागि बाम गठबन्धनसँग तालमेल गरेर जान खोजेको थियो तर यसमा एमाले अध्यक्ष ओली बाधक भएको स्वयं मैनालीको ठहर छ । 

मैनाली भन्छन् : 
‘आफू प्रधानमन्त्री हुँदा ओलीजीले हाम्रो पार्टीको महत्व देखेर नै मलाई उपप्रधानमन्त्री पनि दिए । आज आएर किन फेरी उनले यसरी ब्वाइकट गरे ? अन्तिममा आएर मैले प्रतिनिधि सभाका लागि १ सिटमा मात्रै भएपनि तालमेल गरौँ, एक जनालाई ठाँउ दिन्छन् भने पनि ठीक छ, झापा २ मा मैले उम्मेवारी दिने सोच बनाएको छु, यसका लागि भएपनि आफूले गठबन्धनमा आबद्ध भएर अघि बढ्ने बताए । यसरी गठबन्धनबाट चुनावमा जान मैले झलनाथ खनाल र माधव नेपालमार्फत् पनि पहल गरँे । झलनाथजीले तालमेलको वातावरण आफूले बनाउन नसकेको जवाफ दिए । माधव नेपालले पनि घुमाउरो पाराले नसक्ने बताए ।

झापामा राप्रपासँग गाई चुनाव चिन्हमा गठबन्धन गरे, प्युठान, बाग्लुङमा जनमोर्चासँग गिलास चिन्हमा गठबन्धन गरे तर हाम्रो पार्टीलाई हँसिया तारा चिन्ह दिन चाहेनन् । जानी जानी हाम्रो राजनीतिलाई सिध्याउने ओलीजीको नियत रहेछ । 

अहिले निर्वाचनमा पहिलो र तेश्रो दल मिले, बहुमत ल्याए, यो कुन ठूलो कुरा भयो र ? नियत र उद्देश्य गलत भयो भने जति भोट ल्याए पनि त्यसले राम्रो गर्दैन् । जसरी अर्मुत सिद्धान्तका आधारमा गठजोड बनाएका छन्, यसले दीर्घकालीन राम्रो गर्छ लाग्दैन । २०३५ साल पुस ११ गतेदेखि हामी माले थियौँ अझै पनि रहन्छौँ, निर्वाचन परिणामबाट हामी नेता कार्यकर्ता आत्तिएका छैनौँ, पुसको दोश्रो सातातिर केन्द्रीय कमिटीको बैठकमा समिक्षा गर्छौैँ ।’ 

  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप