शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फोरम नेपालको नेतृत्वमा 'मधेश सरकार', मुख्यमन्त्री पनि तय !

बिहीबार, २८ मङ्सिर २०७४, १५ : ३६
बिहीबार, २८ मङ्सिर २०७४

काठमाडौँ । प्रदेशसभाको मतगणना सम्पन्न भएसँगै कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने यतिबेला चर्चा शुरु भएको छ । ७ मध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएको छ ।

प्रदेश दुईमा भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त सरकार बन्ने निश्चित भएको छ । प्रतिनिधि र प्रदेशसभाको चुनावमा मधेशी दलको नेतृत्वमा मधेश सरकार बनाउने नारा दिएर मत तान्न सफल राजपा र फोरम मिलेर सरकार बनाउने भएको छ ।

राजपा–फोरमले गठन गर्ने प्रदेश सरकारको नेतृत्व फोरम नेपालले गर्ने भएको छ । प्रदेशसभामा राजपाभन्दा फोरम नेपालले बढी सीट ल्याएको कारणले स्वभाविक रुपमा उसले नै सरकारको नेतृत्व गर्नेछ ।

प्रदेशसभामा फोरम नेपालले २० सीट ल्याएको छ भने राजपा नेपालले १५ सीट ल्याएको छ । समानुपातिकको मत परिणाम आउन बाँकी नै छ । यी दुई दलले पाएको मत अनुसार कम्तिमा १०–१० वटा सीट समानुपातिकमा पनि पाउने सम्भावना रहेको बुझिन्छ । त्यसलाई जोड्दा फोरम नेपालले ३० सीट र राजपा नेपालको २५ सीट हुने देखिन्छ ।

दुई नम्बरको प्रदेशसभामा एमालेले १४ र माओवादी केन्द्रले ३ सीट ल्याएको छ । दुईटै दलको जोडेर पनि फोरम नेपाल जतिको पुग्दैन । वामगठबन्धन र काँग्रेस मिले पनि दुई नम्बर प्रदेशमा सरकार बन्ने सम्भावना देखिदैन । वामगठबन्धन र काँग्रेसको जोडेर प्रदेशसभामा २० सीट रहेको छ । हालसम्मको समानुपातिक परिणाम हेर्दा राजपा–फोरम जतिको सीट वामगठबन्धन र काँग्रेसको आउँदैन ।

यदि राजपा र फोरममध्यको कुनै दलले वामगठबन्धनसँग मिलेर सरकार बनाउन खोज्यो भने त्यो एउटा सम्भावना हुनसक्छ तर अहिले नै मधेशवादी दलले त्यो चुनौति नलिने विश्लेषकहरुको भनाई छ । दुईवटै दल मिलेर चुनाव लड्दा मधेशमा सकारात्मक सन्देश गएको छ । त्यही कारणले मधेशवादी दलले प्रदेश नम्बर दुईमा राम्रो मत ल्याएको छ । अहिले नै सरकार निर्माणका लागि अरु कुनै दलसँग गठबन्धन गरे, मधेशवादी दलका लागि त्यो प्रत्युत्पादक हुनसक्छ । किनभने यसबाट मधेशी जनता भड्कन सक्छन् । त्यही भएर यो चुनौति लिन मधेशवादी दल तयार हुने अवस्था तत्काललाई छैन ।

फोरमले कसलाई बनाउला मुख्यमन्त्री ?

प्रदेश तथा प्रतिनिधिसभाको चुनाव सकिए लगतै मुख्य मन्त्रीका लागि विभिन्न व्यक्तिको नाम चर्चामा आएको छ । फोरम नेपालबाट विजय यादव, अभिषेक यादव, मोहम्मद लालबाबु राउतको नाम चर्चामा रहेको छ भने राजपा नेपालबाट जितेन्द्र सोनल, मनिष सुमन, सरोज यादव, नवलकिशोर साह, सुरिता साह, रानी शर्मा तिवारीलगायतको नाम चर्चामा छ ।

फोरम नेपालभन्दा राजपा नेपालमा मुख्यमन्त्रीको दाबेदारहरु धेरै छन् ।

तर फोरम नेपालले नै प्रदेश सरकारको नेतृत्व गर्ने भएपछि विजय यादवको नाम लगभग निश्चित भएको छ । फोरम नेपालका कोषाध्यक्ष रहेका विजय यादव सिरहा २ (ख) बाट प्रदेशसभाको चुनाव जितेका हुन् ।

उनले सिरहा २ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका थिए । २०६४ सालमा त्यहीबाट चुनाव जितेका विजय यादव २०७० सालको चुनावमा पराजित भएका थिए । त्यसपछि उनले त्यहाँबाट प्रतिनिधिसभाको चुनाव जित्नका लागि निकै गृहकार्य पनि गरेका थिए ।

सोही मेहनतको परिणाम स्थानीय तहको चुनावमा देखियो । प्रतिनिधिसभा चुनाव लड्ने विजय यादवको तयारीसँग जितको पनि त्यतिकै चर्चा थियो । फोरम नेपालबाट सबै शीर्ष नेताहरु प्रतिनिधिसभामा गएपछि प्रदेश सरकारको नेतृत्व कसले लिने खोजी हुँदा विजय यादवलाई रोजिएको पार्टी स्रोतले जनाएको छ ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई स्वयम्ले विजय यादवलाई संयुक्त रुपमा भेटेर प्रदेशसभामा उठ्न लगाएका थिए । टिकट वितरण गर्नुभन्दा पहिले यी दुई नेताले विजय यादवलाई बसाएर ‘तपाईं प्रतिनिधिसभा पनि जित्नुहुन्छ । तर, तपाई जस्ता व्यक्ति प्रदेशसभामा जानुपर्छ । प्रदेशसभाबाट पनि धेरै काम गर्न सकिन्छ,’ भन्दै उनीहरुले विजय यादवलाई सम्झाएर प्रदेशसभामा उठ्न लगाएको स्रोतले बतायो ।

पार्टीका एकजना नेताले भने, ‘उपेन्द्र यादवले त संविधान नै पल्टाएर मुख्यमन्त्रीको काम कर्तव्य अधिकार र त्यसको सेवा सुविधाको बारेमा विजय यादवलाई सम्झाउनु भएको थियो ।’

मधेशको भावना बुझेको र जातीय हिसाबले पनि बाहुल्य भएको व्यक्ति प्रदेश प्रमुख भयो भने चलाउन सजिलो हुने पनि आन्तरिक रुपमा छलफल भएको बताइन्छ । दुई नम्बर प्रदेश यादव समुदायको बाहुल्य भएको क्षेत्र हो । र, विजय यादव शुरुदेखि मधेश आन्दोलनमा संलग्न रहेकाले मुख्यमन्त्रीमा सजिलो हुने भनि पार्टीमा पनि लगभग सहमति भएको बताइन्छ ।

४५ वर्षीया विजय यादव भारत विहारको पटनाबाट सिभिल इन्जिनियरिङ् पढेका हुन् । पहिलो मधेश आन्दोलनको सिरहा संयोजकसमेत रहिसकेका विजय यादव २०६४ सालमा आपूर्तिमन्त्री समेत भएका थिए । उनी फोरम नेपालको जिल्ला इन्चार्ज पनि हुन् ।

मुख्य मन्त्रीको निर्णयबारे विजय यादवसँग जिज्ञासा राख्दा उनले पार्टीले जिम्मेवारी दिए आफू सो पदका लागि तयार रहेको बताए । ‘भर्खर निर्वाचन सम्पन्न भएको छ । नेताहरु आ–आफ्नै क्षेत्रमा हुनुभएको कारणले त्यस विषयमा ठोस छलफल भएको छैन,’ उनले रातोपाटीसँग कुरा गर्दै भने ।

यता राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झासँग ‘राजपा नेपालले फोरम नेपाललाई नै प्रदेश सरकारको नेतृत्व गर्न दिने हो त ?’ भन्ने जिज्ञासा राखेका थियौं । उनले यस विषयमा पार्टीभित्र कुनै छलफल नभएको प्रतिक्रिया दिँदै भने, ‘फोरम नेपालले प्रदेशसभामा बहुमत ल्याएको कारणले स्वभाविक रुपमा नेतृत्व गर्ने अधिकार उसैलाई छ । यद्यपी यस विषयमा दुई दलको बीचमा सहमति हुन बाँकी छ ।’ सहमति भयो भने राजपा नेपाल पनि सरकारको नेतृत्व लिन तयार रहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप