शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजा महेन्द्रले मन पराएको पाउरोटी

बिहीबार, २८ मङ्सिर २०७४, १० : ३९
बिहीबार, २८ मङ्सिर २०७४

‘राजा महेन्द्रले पहिले अरूलाई खान लगाउँथे,’ कृष्ण पाउरोटी भण्डार अध्यक्ष घनश्याम राजकर्णिकारले सुनाए, ‘त्यसपछि मात्रै आफूले खान्थे ।’ दैनिकजसो चार÷पाँच प्याकेट कृष्ण पाउरोटी तात्कालिक राजदरबार पुग्थ्यो । काठमाडौंको कमलपोखरीमा रहेको कृष्ण पाउरोटी संवत् २०१७ पछि ०२५÷०२६ सालसम्म दरबार पुग्थ्यो । 

बीपी कोइरालासमेत कृष्ण पाउरोटी भण्डार पुग्थे । कृष्ण पाउरोटीमा चियासमेत पाइन्थ्यो । कोइराला चिया पिउन त्यहाँ पुग्थे । यो ००६ सालतिरको कुरा हो । बीपीले कृष्ण पाउरोटीमा चिया पिएको आफ्नै आँखाले देखेको कृष्ण पाउरोटी भण्डार अध्यक्ष कर्णिकारले बताए । 

त्यतिबेला काँग्रेस नेता तथा कार्यकर्ता कृष्ण पाउरोटी भण्डारमा बाक्लै पुग्थे । बलदेव (त्रिभुवनका हजाम) र बीपी कोइरालाबीच पटक–पटक कृष्ण पाउरोटीमै भेटघाट भएको थियो । उनीहरू चिया पिउने बहानामा भेटघाट गर्थे । कृष्ण पाउरोटी भण्डार भेटघाट गर्ने चौतारी भएको थियो । ००७ तिर कृष्ण पाउरोटीमा सीआईडी छाडेको हल्ला चल्यो । त्यसपछि देखिइरहने अनुहार देखिन छाडे ।

राजा महेन्द्रले मन पराएको कृष्ण पाउरोटी भण्डार पहिले जहाँ थियो, अहिले पनि त्यहीं छ । संवत् २००५ मा स्थापित कृष्ण पाउरोटी हिजोआज विस्तारिँदै गएको छ । ६९ वर्षे इतिहास बनेको कृष्ण पाउरोटी नेपालकै पहिलो हो । यसका संस्थापक कृष्णबहादुर राजकर्णिकार हुन् । राजकर्णिकारका कान्छा छोरा हुन्– घनश्याम राजकर्णिकार । बुवाप्रति गौरव गर्दै घनश्यामले भने, ‘नेपालकै पहिलो पाउरोटी उद्योग सञ्चालकमात्रै नभएर चियामा पाउरोटी चोपेर खान मेरै बुवाले सिकाउनुभएको हो ।’ 

हिजोआज बजारमा विभिन्न ब्रान्डका पाउरोटी उपलब्ध छन् । चलेका छन् । तर पनि कृष्ण पाउरोटी खोज्नेको कमी छैन । भण्डारमा १५÷१६ जनाले रोजगारी पाएका छन् । जहाँ ५÷६ प्रकारका पाउरोटी पाइन्छन् । ह्वाइट, ब्राउन, मल्टिग्रेड, फापर, आँटा ब्रेड कृष्ण पाउरोटीका उत्पादन हुन् । स्वास्थ्यका लागि ब्राउन र आँटा ब्रेड लाभदायी हुन्छ । तर पनि ह्वाइट ब्रेड खोज्नेको कमी छैन । त्यतिबेला २५ पैसा पर्ने ह्वाइट ब्रेड हिजोआज ८० रुपैयाँ पर्छ भने ब्राउन ब्रेड ११० रुपैयाँमा पाइन्छ ।

कृष्ण पाउरोटीका ग्राहक मध्यमवर्गका छन् । ‘चिनीभन्दा सख्खर हालेको पाउरोटी राम्रो हुन्छ,’ ७६ वर्षीय कर्णिकारले वास्तविकता सुनाए, मैदाले स्वास्थ्यलाई राम्रो गर्दैन । मैदाबाट निर्मित ह्वाइट ब्रेड पनि त्यस्तै हो । केक र कुकिज पनि स्वस्थबद्र्धक मानिँदैन । मैले खान हुँदैन भन्न त भएन । तर, आँटाले राम्रो गर्छ । आँटा ब्रेड प्रयोग गर्ने कमै छन् । सकेसम्म ब्राउन ब्रेड खानु राम्रो मानिन्छ ।’ कब्जियत गर्ने भएकाले विदेशमा ह्वाइट ब्रेड खाँइदैन । 

कर्णिकारका दुई छोरी प्रज्ञा श्रेष्ठ र सृष्टि श्रेष्ठले बैंकको जागिर छाडेर कृष्ण पाउरोटी भण्डार सम्हाल्दै आएका छन् । ‘एक छोरी त बैंकको मेनेजनर नै थिइन् । अर्की अफिसर,’ उनले थपे, ‘मेरो शेषपछि पाउरोटी भण्डार बन्द गर्ने कि चलाउने ? तिमी (छोरी) हरूले हेरेनौ भने बन्द भइहाल्छ । चलाउने हो भने बैंक जागिर छाडेर कृष्ण पाउरोटी सम्हाल । बुवाको कुरा सुनेर दुवैले छँदाखाँदाको जागिर छाडे ।’ हुन पनि हो, जागिर खानु भनेको हात थाप्नु हो । व्यवसाय गर्नु भनेको अरूलाई दिने हो । अर्थात् हात माथि हुनु हो । हात तल र माथि हुनुमा फरक छ । 

पाउरोटी बनाउन मैदा, घ्यु, तेल, चिनी, नुन, इस्ट (पाउरोटी फुलाउने वस्तु) लगायत चाहिन्छ । त्यतिबेला इस्टको सट्टा हब्स प्रयोग गरिन्थ्यो । हब्स कलकत्ताबाट ल्याउनुपथ्र्यो । हब्स प्रयोग गर्दा पाउरोटी अमिलो हुन्थ्यो । पाउरोटीमा हब्स राख्दा जाँड प्रयोग गरेको हल्ला चलाइयो । हब्स पाउरोटी फुलाउने वस्तु हो भनेर कृष्णबहादुर राजकर्णिकारले पाउरोटी बनाएको हेर्न आउनेलाई देखाउँथे । त्यतिमात्रै होइन, पाउरोटी बनाउँदा मैदा खुट्टाले मुछिन्छ भनेर अर्को हल्ला चलाइयो । भारतमा बुट लगाएर मैदा मुछे पनि आफूले टेबलमा राखेर मुछ्ने बुवाले प्रस्टीकरण दिएको घनश्यामले बिर्सेका छैनन् । 

कृष्णबहादुर राजकर्णिकारले कृष्ण पाउरोटी भण्डार ०१६ सम्म सम्हाले । कृष्णको निधनपछि उनकै जेठो छोरा गणेशबहादुर राजकर्णिकारलगायत चारै भाइको संयुक्त प्रयासबाट कृष्ण पाउरोटी सञ्चालनले निरन्तरता पायो । लोभलाग्दो तरिकाले चल्दै गर्दा ०३० मा पदमबहादुर राजकर्णिकार (कृष्णका माइला छोरा) ले व्यवसायबाट हात झिके । ०४५ मा गणेशको निधनपछि उनका छोराहरू व्यवसायबाट अलग्गिए । त्यतिन्जेलसम्म बजारमा धेरैथरीका पाउरोटी आइसकेका थिए । 

‘त्यसपछि साइँला दाइ महाजन राजकर्णिकारसँगको साझेदारीमा कृष्ण पाउरोटी भण्डारले निरन्तरता पायो,’ जर्मनीबाट बेकरी म्यानेजमेन्टमा एकवर्षे कोर्स गरेका घनश्यामले दुःख व्यक्त गरे, ‘साइँला दाइ बित्नुभएपछि साइँला उहाँका छोराहरूसँग पुनः भागबन्डा गर्नुपर्यो ।’ 

पाउरोटीको माग बढ्दै गए पनि पटक–पटकको भागबन्डा र त्यतिबेला १६ लाखमा किनेको सेमिअटोमेटिक मेसिन, १४/१५ सालमा बेलायतबाट झिकाएको २५ हजारको मिक्सचर र ०२३ मा बेलायतबाट पुनः ल्याइएको अत्याधुनिक मेसिन कवाडीमा बेच्नुपर्दा व्यवसाय पुनः शून्यबाट सुरु गर्नुपर्ने बाध्यता आइलागे पनि आफूले पाउरोटी उद्योगलाई निरन्तरता दिन प्रयास गरिरहेको घनश्याम राजकर्णिकारले बताए । 

त्यही निरन्तरताले कृष्ण पाउरोटी भण्डार इतिहास बनेको हो । कृष्ण पाउरोटी भण्डारको पृष्ठभूमि त्यत्तिकै रोचक छ । घनश्यामका बराजु गजराज राजकर्णिकार र जंगबहादुर राणाबीच सम्बन्ध राम्रो थियो । जंगबहादुर महाराज भएपछि गजराजलाई निजी हुलुवाई (मिठाइ, रोटी बनाउने) बनाए । 

‘बराजुको मिठाइ पसलमा आएर वीरशमशेर (मूलमा परेका, आमाबाबुको टाउको खान्छ भन्ने) ले जे मन लाग्यो त्यही खाइदिँदारहेछन्,’ घनश्यामले इतिहास जोडे, ‘बज्यैचाहिँ झर्किन्थिन् । बराजुले गाली नगर्नू, यो ठूलो मान्छे बन्छ भन्दै सम्झाउँथे रे ।’

अन्ततः १९४२ मा वीरशमशेर श्री ३ भए । घनश्यामको बाजे हीरामान र वीरशमशेर खेल्ने साथीसाथी रहेछन् । श्री ३ हुनासाथ सुरक्षाकर्मीलाई वीरशमशेरले हीरामानलाई आफूकहाँ ल्याउन आदेश दिए । सुरक्षाकर्मी हीरामान राजकर्णिकारको घर पुगे । सुरक्षाकर्मी देखेपछि हीरामान बैगल (घरको सबैभन्दा माथिको भाग) गए । त्यसताका बैगलवास हुँदा कसैले केही गर्न पाउँँदैनथे । 

हीरामान बैगलवास भएको सुरक्षाकर्मीले वीरशमशेरलाई सुनाए । ‘बैगलवास भए पनि समातेर ल्याउनू भने वीरशमशेरले पुनः आदेश दिए,’ घनश्यामले इतिहास बताए, ‘बाजेलाई समातेर वीरशमशेरकहाँ पुर्याइयो । बाजे डराएर काँपेका थिए । त्यतिबेला वीरशमशेरले हेरहेर नेवार भएर काँपेको भनेर बाजेलाई डरपोकको संज्ञा दिएका थिए रे ।’

म महाराज भएको थाहा पाइस् भनेर वीरशमशेरले हीरामानलाई सोधेछन् । थाहा पाएँ हजुर भनेर हीरामानले उत्तर दिए । तँलाई पैसा, मान इज्जत के चाहिन्छ भनेर वीरशमशेरले सोध्दा बाजे हीरामानले ‘केही चाहिँदैन हजुर, सुरक्षाकर्मीबाट छुट्कारा पाऊँ भनेको घनश्यामले सुनाए । लगत्तै वीरशमशेरले हीरामानलाई निजी हलुवाई बनाए । 

यसैगरी, कृष्णबहादुर राजकर्णिकार तेजशमशेर (वीरशमशेरको नेवारपट्टिका छोराका) निजी हलुवाई बने । तेजशमशेर बितेपछि कृष्णबहादुर इन्दुशमशेरको हलुवाई बने । जुद्धशमशेरले ल्याइतेपट्टिका राणालाई काठमाडौंबाट लखटे । त्यहीबेला इन्दुशमशेर इलामको बडाहाकिम बनाइए । कृष्णबहादुर इन्दुशमशेरसँग इलाम पुगे । इन्दुशमशेरसँग प्रशस्त हीरा जवाहरत थिए । इलाम पुग्दा हीरा जवाहरत राखिएको एउटा कन्तुर हरायो । चारैतिर खोजिए भेटिएन । इन्दुशमशेरका एक सेवकले हरायो भनिएको कन्तुर एक कुन्युमा रहेको कृष्णबहादुरलाई जानकारी गराए । नभन्दै कन्तुर कुन्युमा भेटियो । त्यतिन्जेलसम्म सेवक भागिसकेका थिए । कन्तुर फेलापरेपछि इन्दुशमशेरले कृष्णबहादुरलाई बाराका ५० बिघा जग्गा बकस दिए । तीन÷चार वर्ष बित्दासमेत बकस पाएको जग्गा कृष्णबहादुरको नाममा नामसारी भएन । त्यो जग्गामा इन्दुशमशेरको ठकुरी ज्वाईं तपेन्द्रले आँखा गाडेका रहेछन् । 

जग्गा नपाएको रिसमा कृष्णबहादुर भारतको कलकत्ता पुगे । केही सिकेर घर फर्कने भनेका उनी कलकत्ता पुगेको १०/१२ दिनसम्म यत्तिकै बसे । घर (नेपाल) फर्कने अघिल्लो दिन कालीघाटको कालीमन्दिर दर्शन गर्न पुगे । मन्दिरमा भीडभाड थियो । उनले त्यही भीडमा आठ/दस वर्षीया बालिका रोइरहेको देखे । उनले त्यहाँबाट उद्धार गरेर ती बालिकालाई सुरक्षित ठाउँमा पुर्याएको बालिकाका बुवाले हेरिरहेका रहेछन् । बालिकाका बुवाले उनलाई धन्यवाद दिए । त्यसपछि परिचय गरे । नयाँ काम सिक्न कलकत्ता आएको जानकारी गराएपछि बालिकाका बुवाले कृष्णलाई पाउरोटी बनाउन सिकाए । उनी फर्पोस बेकरीका पाउरोटी बनाउने मिस्त्री रहेछन् । मिस्त्रीसँग काम सिकेर कृष्णबहादुर राजकर्णिकार नेपाल फर्के । फर्केपछि आफ्नै घरमा कृष्ण पाउरोटी व्यवसाय थाले । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप